मुस्ताङको यात्रामा निस्किए ४० महिला राइडर, रोयल इन्फिल्डको राइड सम्पन्न

काठमाडौं । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले महिला राइडरहरूको सहभागितामा ‘मिस्टिक मुस्ताङ राइड २’ सम्पन्न गरेको छ ।

कात्तिक १२ देखि १५ गतेसम्म चार दिन सञ्चालन भएको उक्त राइडमा ४० महिला राइडर सहभागी भएका थिए । पोखरास्थित क्लासिक ड्राइभबाट सुरु भएको यात्रा मुस्ताङसम्म पुगेको थियो ।

चारदिने यात्राका क्रममा सहभागी महिला राइडरहरूले नेपालको हिमाली भूगोल, प्राकृतिक सौन्दर्य र साहसिक मोटरसाइकल यात्राको अनुभव लिएका थिए ।

महिला राइडरहरूलाई लामो दूरीको मोटरसाइकल यात्रामा प्रोत्साहन गर्ने, आत्मविश्वास बढाउने र राइडिङ समुदायमा महिलाको सहभागिता विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रमले महिला राइडरहरूबीच आपसी सम्बन्ध विस्तार गर्नुका साथै अनुभव आदानप्रदान र सामुदायिक भावनालाई समेत बलियो बनाएको कम्पनीको भनाइ छ ।

रोयल इन्फिल्डले आफ्नो ‘प्योर मोटरसाइक्लिङ’ अवधारणाअनुरूप नेपालमा राइडिङ संस्कृति, समुदाय निर्माण र साहसिक यात्रालाई प्रवर्द्धन गर्दै आएको छ । कम्पनीले विभिन्न राइड तथा समुदायकेन्द्रित कार्यक्रममार्फत मोटरसाइकल पारखीहरूलाई एकजुट गर्दै आएको छ ।

अल्फा अटोमोटिभले नेपालमा महिला राइडरहरूको सहभागिता बढाउने, सुरक्षित तथा जिम्मेवार राइडिङ संस्कृतिको विकास गर्ने र रोयल इन्फिल्ड समुदायलाई थप सशक्त बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ । 

Share News