फेरारीको ईभीलाई ६११ करोड रुपैयाँ , लिलामीमा नयाँ कीर्तिमान

काठमाडौं । फेरारीको पहिलो पूर्ण विद्युतीय कार एक च्यारिटीका लागि आयोजित लिलामीमा ४ करोड अमेरिकी डलर अर्थात् करिब ६११ करोड रुपैयाँमा बिक्री भएको छ । यससँगै यो कार लिलामीमा बिक्री भएको नयाँ कारमध्ये अहिलेसम्मकै सबैभन्दा महँगो बनेर नयाँ कीर्तिमान कायम गरेको छ । अमेरिकाको क्यालिफोर्नियामा भएको लिलामीमा ‘फेरारी लूचे’ नामको यो कार सामान्य मूल्यभन्दा ३५ गुणाभन्दा बढी रकममा बिक्री भएको हो ।  लिलामी आयोजकका अनुसार यो कार ‘पहिलो प्रोडक्सन चेसिस’ हो । यसमा विशेष फिनिसका साथै विभिन्न कस्टम पाट्र्स जडान गरिएको छ । लूचेको डिजाइन एप्पलका आईफोनका चर्चित डिजाइनर सर जोनी आइभको अवधारणाबाट विकसित भएको मानिन्छ । मे महिनामा सार्वजनिक गरिएपछि भने कारले केही आलोचना पनि खेपेको थियो । आलोचकहरूले यसको डिजाइन फेरारीको परम्परागत शैलीभन्दा फरक भएको बताएका थिए ।   त्यस्तै, ब्याट्रीबाट चल्ने र पाँच सिट भएको कार निर्माण गरेर फेरारीले आफ्नो परम्परागत पहिचान गुमाएको टिप्पणी पनि भएको थियो । आयोजकका अनुसार लिलामीबाट प्राप्त सम्पूर्ण रकम फेरारी फाउन्डेसनका शैक्षिक कार्यक्रमका लागि दान गरिनेछ । यो विशेष कस्टम लूचे खरिद गर्ने व्यक्तिको पहिचान भने सार्वजनिक गरिएको छैन ।  लूचेको सार्वजनिक प्रस्तुति पछिल्ला वर्षहरूमा नयाँ कारको सबैभन्दा चर्चित लन्चमध्ये एक मानिएको थियो । तर यसको सार्वजनिक प्रस्तुतिको भोलिपल्ट फेरारीको सेयर मूल्यमा गिरावट आएको थियो ।  कारको डिजाइनलाई लिएर भएको आलोचनालाई पनि सेयर बजारमा आएको गिरावटको एउटा कारण मानिएको थियो । कारको आलोचना गर्नेमा इटालीका उपप्रधानमन्त्री मातेओ साल्भिनी तथा फेरारीका पूर्वअध्यक्ष लुका कोर्डेरो दी मोन्टेजेमोलोसमेत थिए । मोन्टेजेमोलोले लूचेले फेरारीको ‘किंवदन्ती’ नै समाप्त हुने जोखिम निम्त्याएको टिप्पणी गरेका थिए । फेरारीका प्रमुख डिजाइन अधिकृत फ्लाभियो मान्जोनीले भने आलोचना नवप्रवर्तनको प्रक्रियाकै हिस्सा भएको बताएका थिए । उनले समयसँगै मानिसहरूले लूचेलाई मन पराउने विश्वास व्यक्त गरेका थिए । फेरारीले लूचेको बिक्री लक्ष्य सार्वजनिक गरेको छैन । यद्यपि, फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार चीनमा बलियो माग रहेकाले फेरारीले यस वर्षको आफ्नो बिक्री लक्ष्य लन्च भएको पहिलो सातामै पूरा गरिसकेको छ ।  लिलामीकर्ताले यो कारलाई लूचेको पहिलो प्रोडक्सन कार खरिद गर्ने ‘अद्वितीय अवसर’का रूपमा प्रस्तुत गरेको थियो । कारमा विशेष डिजाइनका पाङ्ग्रा, कस्टमाइज्ड ब्रेक तथा सेतो रंगको विशेष फिनिस दिइएको छ । फेरारीका कारहरूले विश्वका विभिन्न कार लिलामीमा प्रायः उच्च मूल्य हासिल गर्दै आएका छन् । यद्यपि, लिलामीमा बिक्री भएको अहिलेसम्मकै सबैभन्दा महँगो कारको कीर्तिमान भने १९५५ मा बनेको मर्सिडिज–बेन्ज ३०० एसएलआर उलेनहाउट कूपको नाममा छ ।  उक्त कार सन् २०२२ मा १४ करोड २० लाख डलरमा बिक्री भएको थियो ।

नामीले नेपालमा नयाँ भिगो ई२ ‘फुल एसयूभी’ सार्वजनिक गर्दै

काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले अगस्ट १९, २०२६ मा नयाँ नामी भिगो ई२ सार्वजनिक गर्ने भएको छ । कम्पनीले नयाँ भिगो ई२ लाई ‘फुल एसयूभी’का रूपमा नेपाली बजारमा प्रस्तुत गर्न लागेको जनाएको छ । नयाँ भिगो ई२ ले पर्याप्त ठाउँ, आधुनिक फिचर र व्यावहारिक प्रदर्शनमार्फत ग्राहकलाई पूर्ण एसयूभी अनुभव प्रदान गर्ने कम्पनीको जनाएको छ । नेपालमा नामी ब्रान्डले ग्राहकबाट राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीले जनाएको छ । हालसम्म देशभर २ हजारभन्दा बढी नामी गाडी सडकमा सञ्चालनमा रहेका छन् । भिगोले मनाङ, मुस्ताङ र शुक्लाफाँटालगायत चुनौतीपूर्ण गन्तव्यमा आफ्नो क्षमता प्रदर्शन गरिसकेको कम्पनीले जनाएको छ । यस्ता यात्राले भिगोलाई भरपर्दो तथा प्रमाणित विद्युतीय एसयूभीका रूपमा स्थापित गर्न सहयोग पुगेको कम्पनीको भनाइ छ । नयाँ भिगो ई२ ले भिगोको एसयूभी पहिचान, फराकिलो क्याबिन र व्यावहारिक प्रदर्शनलाई निरन्तरता दिनेछ । दैनिक प्रयोगदेखि लामो यात्रासम्मका लागि उपयुक्त विद्युतीय एसयूभी खोजिरहेका ग्राहकलाई लक्षित गरी यो मोडल तयार गरिएको कम्पनीले जनाएको छ । भिगो ई२ को आधिकारिक मूल्य तथा सम्पूर्ण उत्पादनसम्बन्धी जानकारी अगस्ट १९ मा हुने सार्वजनिक कार्यक्रममा घोषणा गरिनेछ ।

सुजुकीको ‘पर्वोत्सव’ योजना : १ लाखसम्म नगद छुटदेखि निःशुल्क बीमासम्म

काठमाडौं । सुजुकी नेपालले दशैं–तिहारलाई लक्षित गर्दै ‘सुजुकी पर्वोत्सव’ चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । सुजुकीको अधिकृत वितरक सिजी मोटोकर्पमार्फत ल्याइएको यो योजना कम्पनीका प्यासेन्जर, एसयूभी तथा लाइट कमर्सियल गाडीमा लागू हुनेछ । योजनाअन्तर्गत ग्राहकले १ लाखसम्म नगद छुट, १ लाखसम्म एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, निःशुल्क आवधिक मर्मत (पीएमएस) पार्ट्स तथा एक वर्षको निःशुल्क बीमा पाउनेछन् । मोडेलअनुसार सुविधा फरक हुने कम्पनीले जनाएको छ । यो योजना अल्टो के१०, वागनआर, सेलेरियो, इको कार्गो, इको भ्यान, ब्रेजा, जिम्नी, भिक्टोरिस, फ्रोन्क्स र ई–भिटारालगायत सुजुकीका विभिन्न मोडेलमा लागू हुनेछ । ‘सुजुकी पर्वोत्सव’ साउन २७ गतेदेखि कात्तिक मसान्तसम्म सञ्चालन हुनेछ । देशभरका सुजुकी शोरूमबाट ग्राहकले योजनाको सुविधा लिन सक्नेछन् । यसअघि सञ्चालनमा रहेको ‘ई–भिटारा पहिलो १०० युनिट प्रोमोसनल योजना’ भने छुट्टै अफरका रूपमा जारी रहने कम्पनीले जनाएको छ । पहिलो १०० युनिट बिक्री पूरा भएपछि मोडेलअनुसारको ‘सुजुकी पर्वोत्सव’ सुविधा ई–भिटारामा समेत लागू हुनेछ । ई–भिटारा खरिद गर्ने ग्राहकले गाडीसँगै उपलब्ध हुने मानक ३ किलोवाटको चार्जरका अतिरिक्त ७ किलोवाटको होम चार्जर निःशुल्क पाउनेछन् । होम चार्जर जडान भने ग्राहकको घरमा सम्भाव्यता रहेमा मात्र गरिने कम्पनीले जनाएको छ । सिजी मोटोकर्पका महाप्रबन्धक सिराज पन्तले ‘सुजुकी पर्वोत्सव’ले चाडपर्वको अवसरमा ग्राहकलाई थप मूल्य र पारदर्शिता प्रदान गर्ने बताए । उनले सम्भावित ग्राहकलाई नजिकको सुजुकी शोरूम तथा भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने नाडा अटो शोमा पुगेर मोडेलअनुसारका सुविधाबारे जानकारी लिन आग्रह गरेका छन् । सुजुकी नेपालले प्यासेन्जर, एसयूभी तथा लाइट कमर्सियल गाडीको बिक्री तथा बिक्रीपछिको सेवा देशभरका ४२ अधिकृत आउटलेटमार्फत प्रदान गर्दै आएको जनाएको छ ।