काठमाडौं । ग्रेट वाल मोटर (जीडब्लूएम) ले बुटवलमा आफ्नो विद्युतीय सवारीसाधनको बिक्री तथा सेवा विस्तार गरेको छ । बुटवलको कालिकानगरमा जीडब्लूएमको नयाँ शोरुम सञ्चालनमा आएसँगै ओरा ५ ईभी एसयूभी र हाभाल जोलियन म्याक्स ईभी एसयूभी पनि सार्वजनिक गरिएको छ ।
भीजी इम्पेक्स प्रालि अन्तर्गत जीडब्लूएमको अधिकृत क्षेत्रीय साझेदार सहर्सा इन्टरप्राइजेजले नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । शोरुमबाट सवारीसाधनको बिक्रीसँगै सर्भिस तथा स्पेयर पार्ट्सको सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
बुटवल तथा लुम्बिनी प्रदेशमा विद्युतीय सवारीसाधनको माग बढ्दै गएपछि ग्राहकलाई सहज रूपमा बिक्री तथा बिक्रीपछिको सेवा उपलब्ध गराउने उद्देश्यले शोरुम विस्तार गरिएको कम्पनीको भनाइ छ ।
जीडब्लूएम ओरा ५ मा एनईडीसी मापदण्डअनुसार ५२० किलोमिटरसम्मको रेन्ज रहेको कम्पनीले जनाएको छ । यसमा ५ स्टार एएनक्याप तथा युरो एनक्याप सुरक्षा रेटिङ, २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र २० भन्दा बढी लेभल–२ एडीएएस अर्थात् उन्नत चालक सहायता प्रणालीका फिचर उपलब्ध छन् ।
ओरा ५ को सुरुवाती मूल्य ४८ लाख ४९ हजार रुपैयाँ रहेको छ ।
त्यसैगरी, हाभाल जोलियन म्याक्स ईभीमा ५८.३ किलोवाट घण्टाको ब्याट्री रहेको छ । यसले डब्लूएलटीपी मापदण्डअनुसार ४०० किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीको दाबी छ ।
यसमा १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, १४.६ इन्चको टचस्क्रिन र भीटुल सुविधा उपलब्ध छ । यसको अफर मूल्य ५९ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
सहर्सा इन्टरप्राइजेजका अध्यक्ष केहर सिंह खड्काले बुटवल तथा लुम्बिनी प्रदेशका ग्राहकलाई सवारीसाधनको बिक्रीसँगै भरपर्दो सर्भिस र स्पेयर पाट्र्स सुविधा उपलब्ध गराउने उद्देश्यले शोरुम सञ्चालनमा ल्याइएको बताए ।
त्यस्तै, जीडब्लूएमका महाप्रबन्धक–बिक्री तथा सञ्चालन अधिरकुमार श्रेष्ठले ओरा ५ र हाभाल जोलियन म्याक्स ईभीमार्फत बुटवल तथा आसपासका ग्राहकलाई आधुनिक विद्युतीय मोबिलिटीको विकल्प उपलब्ध गराइएको बताए ।
कम्पनीले दुवै मोडलका लागि बुकिङ तथा टेस्ट ड्राइभ खुला गरेको छ । ग्राहकले कालिकानगरस्थित शोरुममा पुगेर सवारीसाधनबारे जानकारी लिनुका साथै टेस्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार शोरुम आइतबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म खुला रहनेछ ।