सकियो १८औं नाडा अटो शो, बीवाईडी, यामाहा र माछापुच्छ्रे बैंक बने उत्कृष्ट स्टल
काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आइतबार सम्पन्न भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ५०औं स्वर्णजयन्तीको अवसरमा आयोजित १८औं संस्करणको शोले नयाँ सवारीसाधन, विद्युतीय प्रविधि, वित्तीय सुविधा र नेपाली अटोमोबाइल बजारमा देखिएको नयाँ सम्भावनालाई एकै ठाउँमा प्रस्तुत गरेको छ । भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको शोमा २०० भन्दा बढी स्टलमा सवारीसाधन, अटो पार्टपुर्जा, टायर, लुब्रिकेन्ट्स, वित्तीय सेवा तथा अन्य अटोमोबाइलसम्बन्धी उत्पादन र सेवा प्रदर्शन गरिएको थियो । नाडाका अनुसार यस वर्षको प्रदर्शनीमा २५ वटा प्यासेन्जर भेहिकल, १७ वटा लाइट कमर्सियल भेहिकल, १३ वटा दुईपांग्रे ब्रान्ड तथा १५ वटा बैंक तथा वित्तिय संस्थाहरु तथाा बीमा सेवा प्रदायकको सहभागिता रहेको थियो । शोको मुख्य आकर्षण नयाँ मोडलका चारपांग्रे तथा दुईपांग्रे सवारीसाधन बने । विभिन्न ब्रान्डले नेपालमा पहिलोपटक नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गरे । विद्युतीय सवारीसाधनको उल्लेख्य उपस्थिति रहेको प्रदर्शनीमा नयाँ पुस्ताका ईभी, मोटरसाइकल र स्कुटरसँगै नेपालमै उत्पादन तथा एसेम्बल भएका सामग्रीले समेत उपभोक्ताको ध्यान ताने । बीवाईडी, टाटा, दीपल, नामी, अवतार, जेइकु, चेरी, डङफेङलगायतका ब्रान्डका नयाँ मोडल शोका आकर्षण बनेका थिए । अटो शोमा सवारीसाधन बिक्रीसँगै बैंक तथा वित्तीय संस्थाबीच अटो कर्जामा प्रतिस्पर्धा देखियो । बैंकहरूले उपभोक्तालाई आकर्षित गर्न सस्तो ब्याजदर, सेवा शुल्क तथा ब्याजदरमा लाग्ने प्रिमियममा छुटलगायतका विभिन्न अफर सार्वजनिक गरेका थिए । केही बैंकले विद्युतीय सवारीसाधनका लागि विशेष कर्जा सुविधा र कम ब्याजदरका योजना अघि सारेका थिए ।यस वर्षको अटो शो बाढीपहिरोको पीडाका बीच आयोजना गरिएको थियो । शो सञ्चालन भइरहेकै समयमा भोटेकोशी, त्रिशूलीलगायतका नदी प्रणालीमा आएको बाढी तथा पहिरोका कारण जनधनको ठूलो क्षति भएको थियो । यस्तो अवस्थामा पनि अटो शो निरन्तरता पाउनु उद्योगी-व्यवसायी, सहभागी कम्पनी, सञ्चारमाध्यम र सर्वसाधारणको सहयोग तथा विश्वासको परिणाम भएको नाडाले जनाएको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विपत्तिका कारण उत्सवको भन्दा पीडाको अनुभूति बढी भए पनि जीवन सधैं एउटै ठाउँमा रोकिन नसक्ने बताए । ‘विपत्तिले हामीलाई कमजोर बनाउन सक्छ । तर, हाम्रो संकल्पलाई कमजोर बनाउन सक्दैन,’अध्यक्ष उप्रेतीले भने, ‘यही विश्वासका साथ हामीले अटो शोलाई निरन्तरता दियौं । कठिन परिस्थितिका बाबजुद सबै पक्षले अटो शोप्रति देखाउनुभएको सहयोग, सद्भाव र विश्वासले हामीलाई मजबुत बनाएको छ ।’ उनले अटो शो केवल सवारीसाधन बिक्री गर्ने थलो मात्र नभई नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको भविष्यबारे बहस गर्ने, नयाँ प्रविधि प्रदर्शन गर्ने र उद्योगका विभिन्न पक्षलाई एउटै मञ्चमा जोड्ने महत्वपूर्ण माध्यम भएको बताए । नाडाले यस वर्षको शोमा ‘उद्योगदेखि रोजगारसम्म भन्ने अवधारणालाई समेत प्राथमिकता दिएको थियो । नाडा अटो शो २०२६ मा उत्कृष्ट स्टलको उपाधि विभिन्न पाँच विधामा प्रदान गरिएको छ । चारपांग्रे प्यासेन्जर कारतर्फ साईमैक्स इन्क प्रांलिको बीवाईडीले उत्कृष्ट स्टलको उपाधि पाएको छ । त्यस्तै, दुईपांग्रे सवारीसाधनतर्फ एमएडव्लु राइड्स प्रा.लिको यामाहा, कमर्सियल चारपांग्रेतर्फ एनइभि नेपालले विक्री गर्दै आएको दिगोले उत्कृष्ट स्टलको उपाधि पाएको छ । त्यसैगरी अटो कम्पोनेन्टतर्फ सिप्रदि अटोपार्टस् प्रालिले राखेको मिशेलिन टायर र बैंक तथा वित्तीय संस्थातर्फ माछापुच्छ्रे बैंकको स्टल उत्कृष्ट घोषित भएको छ । उत्कृष्ट स्टल छनोटका लागि नाडाले सम्बन्धित क्षेत्रका प्रतिनिधिसहित तीन सदस्यीय समिति गठन गरेको थियो ।
नाडा अटो शोको अन्तिम ३ घण्टाको टिकट बिक्रीबाट उठेको रकम बाढीपीडितलाई
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले जारी नाडा अटो शोको अन्तिम तीन घण्टाको टिकट बिक्रीबाट प्राप्त सम्पूर्ण रकम बाढी तथा पहिरोपीडितको राहतमा सहयोग गर्ने घोषणा गरेको छ । नाडाका अनुसार आज साँझ ४ बजेदेखि ७ बजेसम्म बिक्री हुने सबै टिकटको रकम विपद्बाट प्रभावित नागरिकको राहत तथा सहयोगमा खर्च गरिनेछ । देशका विभिन्न क्षेत्रमा अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भइरहेको अवस्थामा अटो शोको अन्तिम समयलाई राहत अभियानसँग जोड्ने निर्णय गरिएको नाडाले जनाएको छ । नाडाका प्रतिनिधिले अटो शोमार्फत सवारीसाधन र प्रविधिको उत्सव मनाइरहँदा देशका विभिन्न भागमा नागरिकहरू प्राकृतिक विपत्तिको सामना गरिरहेको भन्दै अन्तिम तीन घण्टामा संकलन हुने टिकट शुल्क पीडितको सहयोगमा समर्पित गर्ने बताए । काठमाडौंको भृकुटीमण्डपमा जारी नेपालकै ठूलो अटोमोबाइल प्रदर्शनीमा सहभागी हुँदै राहत अभियानमा योगदान पु‍र्याउन नाडाले सर्वसाधारणलाई अपिल गरेको छ । संकलित रकम आधिकारिक राहत कोषमार्फत निष्पक्ष र पारदर्शी ढंगले प्रभावित क्षेत्रका पीडितसम्म पु‍र्याइने नाडाले जनाएको छ ।
बाढीको छायामा नाडा अटो शो
काठमाडौं । भृकुटीमण्डपको प्रदर्शनी हल झिलिमिली छ । बाहिर खासै भीड देखिँदैन, भित्र केही मानिसहरूको चहलपहल छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को १८औं संस्करण र स्थापनाको ५०औं वर्षगाँठ (स्वर्ण जयन्ती) का अवसरमा आयोजित यो मेला बाढीको छायामा परेकाे छ । अटो व्यवसायीहरूले यसपटकको नाडा अटो शोलाई निकै ठूलो तडकभडक र लगानीका साथ सुरु गरेका थिए । पाँच दशकको इतिहासलाई उत्सवका रूपमा मनाउने योजना थियो । मंगलबार मेलाको विधिवत उद्घाटन हुँदा व्यवसायीहरूमा बेग्लै उत्साह थियो । तर, त्यो उत्साह २४ घण्टा पनि टिक्न पाएन । बुधबार बिहानै विपत्तिले नेपालको अटोमोबाइल क्षेत्रलाई मात्र होइन, सिंगो देशलाई नै शोकमा डुबायो । बुधबार बिहान रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले नाडा अटो शोको रौनकलाई खल्लो बनाइदियो । बाढीले नाडाको रौनकमा मात्र धक्का दिएन, नेपालमा ईभी भित्रिने मुख्य मार्ग रसुवागढी नाका नै तहसनहस बनाइदियो । अटो व्यवसायीहरूका अनुसार रसुवागढी नाकामा रहेका करिब ८ सय वटा नयाँ गाडीहरू बाढीले बगाएको छ । स्टलमा बसेका एक व्यवसायी भावुक हुँदै भन्छन्, ‘भृकुटीमण्डपमा त गाडीको शो मात्र भइरहेको छ । हाम्रो ध्यान त उतै रसुवा र नुवाकोटतिर छ । देश रोइरहेको बेला हामी यहाँ मुस्कुराएर व्यापार गर्न सकिरहेका छैनौं ।’ व्यवसायीहरूका अनुसार कतिपय गाडीहरू बाढीले बगाएर कता पुर्यायो पत्तो छैन । कतिपय हिलोले पुरिएका छन् । यो क्षति अटोमोबाइल क्षेत्रका लागि अपूरणीय छ । नाडाका कोषाध्यक्ष पंकज अग्रवालका अनुसार मेलाको सुरुवाती दिनहरूमा उत्साहजनक सहभागिता थियो । पहिलो दिन ३० हजार र शनिबार ३५ हजारभन्दा बढी अवलोकनकर्ताको उपस्थिति रह्यो । व्यापारिक दृष्टिले बुकिङ पनि राम्रो भयो । तर, देशमा परेको ठूलो विपत्तिका कारण आयोजकले मेलालाई उत्सवका रूपमा मनाउन सकेनन् । विपत्तिका कारण नाडाले मेलाका सबै प्रचारप्रसारका कार्यक्रमहरू बीचमै रोकेको थियो । ठूलो भौतिक संरचना तयार भइसकेकाले र करोडौंको लगानी भइसकेकाले मेला स्थगित गर्न सम्भव थिएन, तर समापन समारोहसमेत नगरेर नाडाले राष्ट्रिय शोकप्रति ऐक्यबद्धता जनायो । ‘२०७२ को भूकम्पपछिकै यो सबैभन्दा ठूलो विपत्ति हो, यस्तो बेला हाम्रो मन यहाँ मेलामा हुनै सकेन,’ अग्रवालले थपे । विपत्तिका बाबजुद पनि उपभोक्ताहरूको ध्यान भने विद्युतीय गाडीले खिचेको देखियो । नाडा अटो शोमा सधैं झैं यसपटक पनि बीवाइडी सबैभन्दा बढी आकर्षणको केन्द्र बन्यो । बीवाइडीले एटो १, एटो २, एटो ३, सार्क सिक्स र सिलायन सेभेन जस्ता मोडलहरू प्रदर्शनमा राखेको थियो । कम्पनीका अनुसार यीमध्ये हालै सार्वजनिक भएको एटो २ लाई ग्राहकले सबैभन्दा बढी मन पराएका छन् । मेला अवधिभर बीवाइडीले ८ सय भन्दा बढी गाडीको बुकिङ लिन सफल भएको छ, जुन यो मन्दीको बजारमा उत्साहजनक उपलब्धि हो । त्यस्तै, टाटाको स्टलमा पनि ग्राहकको बाक्लो उपस्थिति रह्यो । टाटाले पन्च ईभी, नेक्सन ईभी, टियागो ईभी र नेपालमै पहिलोपटक सिएरा ईभी प्रदर्शनमा राखेको थियो । सिप्रदी ट्रेडिङका अनुसार पन्च ईभीको बुकिङ सोचेभन्दा बढी भएको छ । टाटाको नयाँ प्लेटफर्ममा बनेको पन्च ईभीले मध्यम वर्गीय परिवार र युवा पुस्तालाई निकै आकर्षित गरेको पाइएको छ । यस वर्षको अटो शोमा चिनियाँ ब्राण्डहरूको बाहुल्यता देखियो । नयाँ ब्राण्ड चेरी ले ग्राहकको निकै ध्यान तान्यो । ओमोडा र जेकोमार्फत नेपाल भित्रिएको यो ब्राण्डका नाडा अटो शोमा ५ सय ५० भन्दा बढी गाडीहरू बुकिङ भइसकेका छन् । आधुनिक फिचर र आकर्षक डिजाइनका कारण चेरीले नेपाली सडकमा आफ्नो बलियो उपस्थिति देखाउने संकेत गरेको छ । त्यस्तै, एमएडब्लु वृद्धि मोटर्सले ल्याएको दिपल ब्राण्डमा पनि ग्राहकको घुइँचो थियो । दिपलको नेभो क्यु जिरो फाइभ र दिपल एस०५ मोडललाई अवलोकनकर्ताले निकै चासोका साथ हेरेका थिए । नामी ब्राण्डको नामी बक्स इ२ मा पनि ग्राहकको उत्तिकै रुचि देखियो । स्कोडा, सुजुकी, लिपमोटर, जीडब्लुएम, प्रोटोन इमास र स्काईवेल लगायतका ब्राण्डका स्टलहरूमा पनि ग्राहकको सक्रिय सहभागिताले नेपाली बजार बिस्तारै ईभीमय बन्दै गएको पुष्टि गर्छ । मेलामा गाडीको बुकिङ राम्रो भए पनि व्यवसायीहरूका अगाडि अब अर्को ठूलो चुनौती खडा भएको छ । गाडीको डेलिभरी । देशभरका प्रमुख राजमार्गहरू बाढी र पहिरोले क्षतिग्रस्त भएका छन् । रसुवागढी नाका ठप्प छ । चीनबाट आउन ठिक्क परेका र नाकामा आइपुगेका सयौं गाडीहरू उतै रोकिएका छन् । व्यवसायीहरूका अनुसार ग्राहकलाई गाडी हस्तान्तरण गर्न अहिलेको सडक पूर्वाधार बाधक बनेको छ । एकातिर गाडीको अभाव र अर्कोतिर सडकको दुरावस्थाले गर्दा बुकिङ भएका गाडीहरू समयमै पुर्याउन कठिन हुने देखिएको छ । यदि बाढी नआएको भए नाडा अटो शो २०२६ एउटा ऐतिहासिक संस्करण बन्न सक्ने आयाेजकले जनाएकाे छ । ५०औं वर्षगाँठको उत्साह, नयाँ प्रविधिको आगमन र ईभीप्रतिको बढ्दो आकर्षणले अटो बजारमा नयाँ आशा जगाएको तर बाढीले यसपटककाे नाडा अटाे शाेलाई खल्लो बनाइदिएकाे आयाेजककाे भनाइ छ ।