काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले जारी नाडा अटो शोको अन्तिम तीन घण्टाको टिकट बिक्रीबाट प्राप्त सम्पूर्ण रकम बाढी तथा पहिरोपीडितको राहतमा सहयोग गर्ने घोषणा गरेको छ ।
नाडाका अनुसार आज साँझ ४ बजेदेखि ७ बजेसम्म बिक्री हुने सबै टिकटको रकम विपद्बाट प्रभावित नागरिकको राहत तथा सहयोगमा खर्च गरिनेछ ।
देशका विभिन्न क्षेत्रमा अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भइरहेको अवस्थामा अटो शोको अन्तिम समयलाई राहत अभियानसँग जोड्ने निर्णय गरिएको नाडाले जनाएको छ ।
नाडाका प्रतिनिधिले अटो शोमार्फत सवारीसाधन र प्रविधिको उत्सव मनाइरहँदा देशका विभिन्न भागमा नागरिकहरू प्राकृतिक विपत्तिको सामना गरिरहेको भन्दै अन्तिम तीन घण्टामा संकलन हुने टिकट शुल्क पीडितको सहयोगमा समर्पित गर्ने बताए ।
काठमाडौंको भृकुटीमण्डपमा जारी नेपालकै ठूलो अटोमोबाइल प्रदर्शनीमा सहभागी हुँदै राहत अभियानमा योगदान पुर्याउन नाडाले सर्वसाधारणलाई अपिल गरेको छ ।
संकलित रकम आधिकारिक राहत कोषमार्फत निष्पक्ष र पारदर्शी ढंगले प्रभावित क्षेत्रका पीडितसम्म पुर्याइने नाडाले जनाएको छ ।