नाडा अटो शोमा नयाँ नामी बक्स ई२ सार्वजनिक, सुरुवाती मूल्य २९ लाख ९९ हजार

काठमाडौं । नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले नाडा अटो शो २०२६ का अवसरमा नयाँ विद्युतीय कार नामी बक्स ई२ को बिक्री तथा बुकिङ सुरु गरेको छ ।  कम्पनीले बक्स ई२ ३३० र बक्स ई२ ४३० गरी दुई भेरियन्टमा यो कार बजारमा ल्याएको हो । नाडा अटो शोको अवधिभरका लागि बक्स ई२ ३३० को विशेष मूल्य २९ लाख ९९ हजार र बक्स ई२ ४३० को मूल्य ३१.९९ लाख रुपैयाँ कायम गरिएको छ । प्रदर्शनीपछि यी भेरियन्टको मूल्य क्रमशः ३० लाख ९९ हजार र ३२ लाख ९९ हजार रुपैयाँ हुनेछ भने सिल्भर तथा डुअल–टोन रङका लागि थप ५० हजार रुपैयाँ लाग्नेछ । सन् २०२४ मा नेपाली बजारमा प्रवेश गरेको नामी बक्सले आफ्नो आकर्षक डिजाइन, फराकिलो क्याबिन र व्यावहारिक रेन्जका कारण राम्रो पहिचान बनाएको थियो ।  सोही सफलतालाई निरन्तरता दिँदै परिमार्जित फिचरसहित ल्याइएको नयाँ बक्स ई२ ले युवा, सहरी प्रयोगकर्ता र पहिलो कार खोजिरहेका परिवारलाई लक्षित गरेको छ ।  नयाँ संस्करणमा अघिल्लो मोडलका लेभल २ एडास, अटोमेटिक पार्किङ र एम्बियन्ट लाइटिङ हटाइए पनि डार्क मोड, इन–बिल्ट कारप्ले र सुरक्षाका लागि ६ वटा एयरब्याग समावेश गरिएको छ । रेन्जका हिसाबले बक्स ई२ ३३० ले २३७ किलोमिटर र बक्स ई२ ४३० ले ३१७ किलोमिटर (डब्लुएलटीपी) रेन्ज प्रदान गर्छन्, जसले ग्राहकलाई आवश्यकता अनुसार रोज्ने सुविधा दिएको छ ।  हाल नेपालका सडकमा २ हजार भन्दा बढी नामीका विद्युतीय गाडी सञ्चालनमा रहेका छन् । इच्छुक ग्राहकले भदौ ९ गतेदेखि जारी नाडा अटो शोको स्टल नम्बर ए६ र ए७ मा गई नयाँ नामी बक्स ई२ को अवलोकन, अनुभव र बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।

बाढीले बगायो ७८३ नयाँ गाडी, सयौंको जीवन संकटमा

काठमाडौं । दशैं र तिहारको संघारमा देशभर एउटा बेग्लै उत्साह हुनुपर्ने थियो । सडकहरूमा नयाँ गाडीका ताँती हुनुपर्ने थियो र बजारहरू सामानले भरिभराउ हुनुपर्ने थियो । तर, नियतिको खेल अर्कै भयो । तिब्बटबाट आएको भीषण बाढीले नेपाली भौतिक पूर्वाधार, अटोमोबाइल क्षेत्र र सयौं परिवारको खुसीलाई एकै झट्कामा बालुवामा मिलाइदिएको छ । यो केवल बाढी थिएन, यो त नेपाली अर्थतन्त्रको मेरुदण्डमाथि प्रकृतिको एउटा क्रूर प्रहार थियो । नेपालीहरूका लागि यो वर्षको दसैं उत्सव होइन, एउटा दुस्वप्न बनेर आएको छ । सडक विभागको प्रारम्भिक विवरणअनुसार बाढीले नदी तटीय क्षेत्रमा रहेका कम्तीमा ४० किलोमिटर सडक र १९ वटा पुलहरूमा क्षति पुर्याएको छ भने १६ वटा जलविद्युतका आयोजनाहरुमा क्षति पुर्याएको छ ।  स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले १६ जलविद्युत आयोजनामा ठुलो क्षति पुगेको र ती आयोजनामा कार्यरत कर्मचारीहरु सम्पर्कबिहीन रहेको बताएको छ । यसैगरी, चिनियाँबाट दशै र तिहारका लागि लक्षित गरेर ल्याएका ७ सय ८३ नयाँ गाडीहरू बगाएको छ । रसुवा नाकालाई चिनियाँ गाडी आयातको मुख्य केन्द्रका रूपमा लिने गरिन्छ तर अहिले त्यहाँको दृश्य हेर्ने नसकिने भएको छ ।  बाढीमा सबैभन्दा बढी गाडी बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकका रहेका छन् । कम्पनीका अनुसार २५० गाडीहरू बाढीले बगाएको छ ।  त्यसैगरी, एमजी गाडीको आधिकारिक विक्रेता प्यारामाउन्ट मोटर्सका १८० गाडी बगेका छन् । ओमोडा गाडीको आधिकारिक एपीजी अटोमोबाइल्सका ६५ वटा, फोटोनका ६० र एमएडब्लु वृद्धिका ८० वटा गाडी बाढीले बगाएको छ । यसैगरी, शशीला मोटर्सका ३३ वटा गाडी, बीएआइसी, आर्कफक्स, स्काइवेल र म्याक्ससलगायत ब्रान्डका करिब ४० वटा गाडीहरू बाढीमा बगेका छन् । भौतिक क्षति त ढिलोचाँडो पुनःनिर्माण होला, तर मानवीय क्षतिको भर्पाई असम्भव छ । यो बाढीले सयौं परिवारको काख रित्याएको छ । नेपाल पर्यटन बोर्डका अनुसार ३८४ जना आन्तरिक र बाह्य पर्यटकहरू अहिले सम्पर्कविहीन छन् ।  उनीहरू कहाँ छन्, कस्तो अवस्थामा छन्, कसैलाई थाहा छैन । रसुवा भन्सारमा कार्यरत ४० कर्मचारीमध्ये १४ जना अझै बेपत्ता छन् । यस्तै, लाङटाङ खोला हाइड्रोपावरमा कार्यरत करिब ७० जना कर्मचारी तथा कामदारहरू हालसम्म सम्पर्कविहीन छन् भने उत्तरगया गाउँपालिकाकाको एउटै गाउँका १८ जना सम्पर्कविहीन छन् ।  अहिले आकाशमा हेलिकप्टरहरूको आवाज गुन्जिरहेको छ । सरकारले एक दर्जनभन्दा बढी हेलिकप्टरहरू उद्धार र खोजीका लागि परिचालन गरेको छ । तर, भौगोलिक विकटता र प्रतिकूल मौसमले उद्धार कार्यलाई चुनौतीपूर्ण बनाएको छ ।

रसुवा बाढी : प्रभावित व्यवसायीलाई सहजीकरण गर्न नाडाको अनुरोध

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी, त्रिशूलीलगायत क्षेत्रमा भएको जनधन तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । नाडाले बाढीबाट प्रभावित नागरिक, व्यवसायी, श्रमिक तथा सुरक्षाकर्मीप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै बेपत्ता व्यक्तिको खोज, उद्धार र सुरक्षित स्थानान्तरणलाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै त्यसको प्रशंसा गरेको छ । साथै विपद्को यस घडीमा सरकार र प्रभावित नागरिकसँग नाडा साथमा रहेको जनाएको छ  । नाडाका अनुसार रसुवा–केरुङ नाका नेपालको उत्तरी व्यापारिक मार्ग तथा अटोमोबाइल आपूर्ति शृंखलाका लागि अत्यन्त महत्वपूर्ण क्षेत्र हो । बाढीका कारण नाडामा आबद्ध व्यवसायीका सवारीसाधन तथा सामान भन्सार क्षेत्रमा प्रभावित भएको प्रारम्भिक जानकारी आएको भए पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको जनाएको छ । सडक, पुल, भन्सार, व्यापारिक संरचना तथा अन्य पूर्वाधारमा पुगेको क्षतिले सवारीसाधन आयात र समग्र आपूर्ति व्यवस्थामा प्रत्यक्ष असर पर्न सक्ने भन्दै नाडाले घटनाको विस्तृत क्षति मूल्यांकन तत्काल गर्न सरकारसँग आग्रह गरेको छ । नाडाले बाढीबाट प्रभावित सडक तथा यातायात पूर्वाधारको यथाशीघ्र पुनःस्थापना गर्न, सुरक्षित आवागमनको वातावरण बनाउन र रसुवा–केरुङ नाकाबाट हुने व्यापारिक गतिविधि छिटो सञ्चालनमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । यस्तै, सवारीसाधन, अटोमोबाइल व्यवसाय, भन्सार क्षेत्र तथा अन्य व्यापारिक सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी प्रभावित व्यवसायीलाई आवश्यक सहजीकरण गर्न पनि नाडाले सरकारसँग अनुरोध गरेको छ । नाडाले क्षतिग्रस्त सवारीसाधनको पहिचान, मूल्यांकन, बीमा दाबी तथा भन्सारसम्बन्धी प्रक्रिया विपद्को विशेष परिस्थितिलाई ध्यानमा राख्दै सरल र छिटो बनाउनुपर्ने धारणा राखेको छ । विपद्को यस कठिन घडीमा सरकार, सुरक्षा निकाय, स्थानीय तह, व्यवसायी तथा सम्बन्धित सबै पक्षबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै नाडाले राहत, उद्धार तथा पुनःस्थापनामा निजी क्षेत्रबाट आवश्यक सहयोग र सहकार्य गर्न आफू तयार रहेको जनाएको छ ।