काठमाडौं । युवापुस्ताको ऊर्जा, सिर्जनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा प्रस्तुत गर्दै आयोजना गरिएको पल्सर आरपीएम बुटवल सफलतापूर्वक सम्पन्न भएको छ ।
बुटवलस्थित ढुंगा स्केट–एड स्केट पार्कमा आयोजित कार्यक्रममा करिब २ हजार ५०० जनाको उत्साहपूर्ण सहभागिता रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा बाइक स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, बिबोइङ, ग्राफिटी तथा डिजे प्रस्तुतिलगायत सडक संस्कृतिसँग सम्बन्धित विभिन्न गतिविधि प्रस्तुत गरिएको थियो । पल्सर एन१६० मार्फत गरिएको स्टन्ट प्रदर्शनले कार्यक्रमको आकर्षण थप बढाएको थियो ।
कार्यक्रममा स्थानीय कलाकार, राइडर तथा विभिन्न विधाका प्रतिभाको सहभागिता रहेको थियो । स्थानीय डिजे पिज्जा र डिजे नकआउटको प्रस्तुतिले पनि सहभागीलाई मनोरञ्जन प्रदान गरेको थियो ।
त्यस्तै, पल्सर एन१६० र एनएस२०० का डिस्प्ले तथा टेस्ट राइड जोन राखिएको थियो । यसमार्फत सहभागीले मोटरसाइकललाई नजिकबाट हेर्नुका साथै टेस्ट राइडको अनुभव लिन पाएका थिए । कफी, खानाका परिकार तथा गिफ्ट पप–अप स्टलले कार्यक्रमलाई थप अन्तरक्रियात्मक बनाएको थियो ।
पल्सर आरपीएम मनोरञ्जनमा मात्र सीमित नभई स्थानीय प्रतिभा तथा युवा समुदायलाई आफ्नो सीप, रुचि र सिर्जनशीलता प्रस्तुत गर्ने मञ्च उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको हो ।
काठमाडौंमा सुरु भएको पल्सर आरपीएमको यात्रा बुटवलसम्म विस्तार हुँदै स्थानीय युवा समुदाय र सडक संस्कृतिसँग जोडिएको कम्पनीले जनाएको छ ।
कार्यक्रम सफल बनाउन योगदान पुर्याउने कलाकार, राइडर, डिजे, साझेदार, सञ्चारमाध्यम, आयोजक टोली, विक्रेता तथा सहभागी सबैलाई बजाज पल्सरले धन्यवाद दिएको छ ।
कम्पनीका अनुसार बुटवलसम्म आइपुगेको पल्सर आरपीएमको यात्रा अब नयाँ सहर र नयाँ समुदायसँग जोडिँदै अघि बढ्नेछ ।