काठमाडौं । सवारी साधन दर्ता प्रक्रियामा देखिएका समस्या समाधानका विषयमा काठमाडौं जिल्ला प्रशासन कार्यालय र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालबीच छलफल भएको छ ।
असोज १४ गते नाडाका महासचिव मिलनबाबु मल्लको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेट गरी सवारी साधन दर्ताका क्रममा देखिएका समस्या र समाधानका उपायबारे छलफल गरेको हो ।
भेटमा महासचिव मल्लले चाडपर्व नजिकिँदै गर्दा यातायात व्यवस्था कार्यालयमा सवारी साधन दर्तासम्बन्धी कामको चाप बढेको बताए । कार्यालयमा उपलब्ध जनशक्ति सीमित हुँदा सेवाग्राही तथा कम्पनीका प्रतिनिधिहरूको काम समयमै सम्पन्न गर्न कठिनाइ भइरहेको उनले बताए ।
कम्पनीका प्रतिनिधिहरूले आवश्यक कागजात पेश गर्ने र दर्तासम्बन्धी काममा सहजीकरण गर्ने भए पनि कार्यालयको नियमित प्रक्रिया तथा कर्मचारीको कार्यचापका कारण काम सम्पन्न गर्न अपेक्षाकृत बढी समय लाग्ने गरेको नाडाले जनाएको छ । यस्तो अवस्थामा तत्काल सहयोग र समन्वय गरिदिन नाडाले प्रशासनसँग आग्रह गरेको छ ।
छलफलका क्रममा नाडाका सचिव तथा दुईपाङ्ग्रे समिति सभापति मेघराज पौडेलले असोज ८ गते यातायात व्यवस्था कार्यालयका प्रमुख राजन पोखरेलसँग नाडाका प्रतिनिधिहरूले भेट गरी समस्या समाधानका विषयमा छलफल गरिसकेको जानकारी गराए ।
छलफलको अन्त्यमा प्रमुख जिल्ला अधिकारी पौडेलले सम्बन्धित यातायात व्यवस्था कार्यालयसँग आवश्यक छलफल तथा समन्वय गरी समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
भेटमा नाडाका केन्द्रीय कार्यसमिति सदस्य विमल साह तथा नाडा दुईपाङ्ग्रे समितिका सदस्य योगेन गुरुङ र दीपक रौनियारको पनि उपस्थिति थियो ।