जगदम्बा मोटर्सले ल्यायो विद्युतीय ट्रक, मूल्य २ करोड ५० लाख

काठमाडौं । यातायात तथा ढुवानी क्षेत्रलाई वातावरणमैत्री र आत्मनिर्भर बनाउने उद्देश्यका साथ शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले नयाँ विद्युतीय ट्रक शाकम्यान एक्स ५०००ई नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै शाकम्यान एक्स ५०००ई नेपाली बजारमा सार्वजनिक गरेको हो । 

कार्यक्रममा शंकर ग्रुपकी निर्देशक दीपा अग्रवालले नेपाल र शाकम्यानबीचको यो सहकार्य केवल व्यापारिक मात्र नभई दीर्घकालीन साझेदारिको रूपमा अघि बढेको बताइन् । 

उनले नेपालले बर्सेनि महँगो इन्धन आयात गर्दा खर्बौं रुपैयाँ बाहिरिएको र वातावरणमा समेत असर परेको चर्चा गर्दै अब स्वदेशी जलविद्युत्को प्रयोग गरी सामान ओसार्ने, उद्योगलाई गति दिने र सन् २०४५ सम्म नेट जेरोमा पुग्ने राष्ट्रिय लक्ष्यलाई टेवा पुर्याउने विश्वास व्यक्त गरिन् ।

यस्तै, शाकम्यानका दक्षिण एसिया इन्चार्ज स्यान्डर्स लीले नेपालको भौगोलिक अवस्था, भिरालो सडक र धेरै भार बोक्ने क्षमतालाई ध्यानमा राखेर नै शाकम्यान एक्स ५००० ई मोडल तयार पारिएको जानकारी दिए ।

उनका अनुसार यो ट्रकमा शक्तिशाली ब्याट्री र फास्ट चार्जिङको सुविधा हुनुका साथै भिरालो र लामा ओरालो सडकहरूमा रिजेनेरेटिभ ब्रेकिङ मार्फत ऊर्जा बचत हुने प्रविधि जडान गरिएको छ । 

उपभोक्ताको विश्वास जित्न कम्पनीले ब्याट्रीमा ८ वर्ष र मोटर तथा कन्ट्रोलरमा ५ वर्षको वारेन्टी दिएको छ । साथै, नेपालमै स्पेयर पाट्र्सको उपलब्धता, प्राविधिक तालिम र प्रभावकारी सर्भिस नेटवर्क विस्तार गर्न शाकम्यानले जगदम्बा मोटर्सलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता लीले जनाए ।

त्यसैगरी, जगदम्बा मोटर्सका कार्यकारी निर्देशक  गुप्ताले व्यावसायिक गाडीहरूको मुख्य आधार नै इकोनोमिक्स (आर्थिक बचत) र क्यास फ्लो हुने बताए ।

नेपाल शतप्रतिशत हरित ऊर्जा उत्पादन गर्ने र सस्तो बिजुली भएको देश भएकाले आयातित डिजेलको विकल्पमा विद्युतीय ट्रक अपनाउँदा दैनिक सञ्चालन खर्चमा उल्लेख्य बचत भई व्यवसायीहरूको नाफा र ब्यालेन्स शीट बलियो हुने धारणा उनले राखे । कम्पनीले यसको मूल्य २ करोड ५० लाख रुपैयाँ तोकिएको छ ।

कम्पनीका अनुसार यस ट्रकमा अधिकतम ३४० किलोवाटको पिक पावर र २८०० एनएमको पिक टर्क रहेको छ । यसमा ३१० किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ । 

ट्रकमा ब्याट्री स्वापको सुविधा रहेको छ । जसबाट करिब ५ मिनेटमै ब्याट्री परिवर्तन गर्न सकिने दाबी गरिएको छ । डुअल गन फास्ट चार्जरबाट करिब १ घण्टामा पूरा चार्ज गर्न सकिन्छ । ट्रकको ग्राउन्ड क्लियरेन्स २९५ मिलिमिटर रहेको छ ।  निर्माण तथा कठिन भू-भागमा सञ्चालनलाई लक्षित गरेर यसको डिजाइन गरिएको छ ।   

स्याकम्यानका ट्रकहरू विश्वका करिब १५० देशमा बिक्री हुँदै आएका छन् । सुरुवाती खरिद मूल्य मात्र हेर्दा विद्युतीय ट्रक महँगो देखिए तापनि नियमित सञ्चालनमा हुने इन्धन तथा मर्मत खर्चलाई जोडेर हेर्दा यसको आर्थिक लाभ महत्त्वपूर्ण रहेको कम्पनीको भनाइ छ । 

आधुनिक टेलिम्याटिक्स र मोबाइल एपमार्फत २४ सै घण्टा ब्याट्री अवस्था र गाडीको लाइभ अनुगमन गर्न सकिने यो इन्टेलिजेन्ट ट्रकले नेपालको व्यावसायिक यातायात क्षेत्रमा नयाँ क्रान्ति ल्याउने विश्वास कम्पनीको छ । 

कमिटमेन्ट तथा साइनिङ सेरेमनीमा शाकम्यानका दक्षिण एसिया जनरल म्यानेजर स्यान्डर्स ली, शंकर ग्रुपकी निर्देशक अग्रवाल र जगदम्बा मोटर्सका कार्यकारी निर्देशक गुप्ताले औपचारिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा दुवै कम्पनीका उच्च अधिकारीहरू, यातायात तथा हाइड्रोपावर क्षेत्रका व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
 

Share News