पुरानो साटेर नयाँ टीभिएस चढ्ने मौका, भृकुटीमण्डपमा ५० भन्दा बढी भ्यालुएटरसहित महा एक्सचेन्ज मेला

काठमाडौं । नेपालका लागि टीभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले भृकुटीमण्डपमा 'अचम्मैको महा एक्सचेन्ज' मेलाको आयोजना गरेको छ । असोज १२ गते देखि असोज १८ गतेसम्म सञ्चालन हुने उक्त मेलाको उद्घाटनसँगै टीभिएसका दुई नयाँ मोडल- एन्टोर्क १५० र एपाचे आरटीआर २०० ४भी युएसडीसहितको प्रोजेक्टर हेडल्याम्प मोटरसाइकलको अनावरण गरिएको छ । 

कार्यक्रममा जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियार, निर्देशक दीपा अग्रवाल, टीभिएस इन्डियाका एसिया रिजनल बिजनेस हेड अनुभव बाली तथा ब्रान्ड म्यानेजर प्रसाद सुन्दरमले नयाँ सवारी साधनहरूको संयुक्त रूपमा अनावरण गरेका थिए । 

आगामी दशैं-तिहारलाई लक्षित गर्दै प्रिमियम र रेसिङ डीएनमा आधारित एन्टोर्क १५० को मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ र अपसाइड-डाउन फोर्क तथा प्रोजेक्टर हेडल्याम्पयुक्त नयाँ एपाचे आरटीआर २०० ४भीको मूल्य ४ लाख ५९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

उद्घाटन समारोहमा चर्चित कलाकार व्योमाको सांगीतिक प्रस्तुति, लो मान्थाङ विशेष भिडियो र रोमाञ्चक स्टन्ट शोले भृकुटीमण्डपको माहोल ऊर्जामय बनाएको थियो । 

कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवाल र टीभिएसका एसिया रिजनल बिजनेस हेड अनुभव बालीले नेपाली ग्राहकहरूलाई विश्वस्तरीय प्रविधि र पर्फर्मेन्स उपलब्ध गराउन दुवै मोडल कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे । 

मेलामा ग्राहकका लागि पुरानो दुईपाङ्ग्रे सवारी साधनको उच्चतम मूल्याङ्कनका लागि ५० भन्दा बढी भ्यालुएटरहरू खटाइएको छ ।

साथै १०० प्रतिशत क्यासब्याक, १० लाखसम्मको नगद छुट वा गोल्ड की जित्ने अवसर, नागरिकता र लाइसेन्सकै आधारमा सरल फाइनान्स, र दैनिक दुई जनालाई ५ वर्षसम्म निःशुल्क सर्भिस जस्ता सुविधाहरू राखिएका छन् । 

जिमखाना स्टन्ट, टेस्ट राइड, गेम जोन र फुड स्टलसहित बिहान १० बजेदेखि साँझसम्म सञ्चालन हुने यो मेलाले चाडपर्वको माहौललाई अझ विशेष बनाउने अपेक्षा गरिएको छ ।

Share News