मेटलाइफ फाउण्डेसनले १५० करोड डलरको कोष निर्माण गर्ने
काठमाडौं । मेटलाइफ फाउण्डेसनले विश्वभरका अल्पसेवा र न्यून प्रतिनिधित्व भएका समुदायहरूको आवश्यकतालाई सम्बोधन गर्न समावेशी आर्थिक गतिशीलता सञ्चालन गर्ने भएको छ । कम्पनीले बुधबार उक्त योजना सञ्चालन गर्ने घोषणा गरेको हो । फाउण्डेसनको उक्त योजनाले मेटलाईफको २०३० विविधता, समता र समावेशिता प्रतिबद्धतालाई सहयोग पुग्ने विश्वास लिएको जनाएको छ । उक्त योजनामा फाउण्डेसनले १५० करोड डलर कोषको निर्माण गर्ने जनाएको छ । मेटलाइफले २०२१ देखि २०३० को अवधिमा सीमान्तकृत समुदायका परिवारहरूलाई समर्थन गर्न ८ लाख कर्मचारी स्वयंसेवक पनि खटाएको जनाएको छ । फाउण्डेशनले आर्थिक समावेशीकरणका लागि अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाई उच्च दक्षता र पुनः सीप गर्ने प्रतिभाको विकास गर्ने बताएको छ । साथै, वित्तीय स्वास्थ्यका लागि बजेट व्यवस्थापन, बचत, र क्रेडिट र लाभहरूमा पहुँचलाई सम्पत्ति निर्माण योजनाको रूपमा सक्षम पार्दै लैजाने फाउण्डशनको भनाइ छ । फाउण्डेशनले अनुसार स्वास्थ्य स्रोतहरूमा पहुँच विस्तार गर्दै जलवायु–केन्द्रित अनुदानहरू मार्फत वातावरणलाई दिगो र स्वस्थ बनाई बलियो समुदाय निर्माण गर्ने जनाएको छ । मेटलाइफका कर्पोरेट मामिला प्रमुख तथा मेटलाइफ फाउण्डेसनका अध्यक्ष माइक जारकोन १५४ वर्षदेखि मेटलाइफले आर्थिक सुरक्षा सिर्जना गरिरहेको र स्रोतसाधनको फराकिलो प्रयोग गरि सकारात्मक प्रभाव पारेको बताउँछन् । मेटलाइफ फाउण्डेसनले विश्वभरका कमजोर र सीमान्तकृत समुदायहरूका लागि अझ बढी न्यायपूर्ण र विश्वस्त भविष्यलाई अगाडि बढाउने लक्ष्य राखेको उनले बताए । २०२१ मा मेटलाइफका २५ हजारभन्दा बढी कर्मचारीहरूले ३७ देशहरूमा ६१ हजारभन्दा बढी घण्टा सेवा गरेका थिए । यस योजना अन्तर्गत फाउन्डेसनले २५ करोड डलर बढीको अनुदान जारी गरेको जनाएको छ ।
नेपालको पासपोर्ट ३ स्थान माथि उक्लियो, अझै पनि कमजाेर
काठमाडौं । नेपालको पासपोर्ट (राहदानी) ३ स्थान माथि उक्लिएको छ । ११२ वटा देशका राहदानीहरुका बारेमा गरिएको एक सर्वेक्षणले नेपालको पासपोर्ट गत वर्षको भन्दा ३ स्थान माथि उक्लिएको देखाएको हो । यद्यपि, नेपालको पासपोर्ट अझै पनि कमजोर अवस्थामै रहेको छ । लन्डनको हेन्ली कम्पनीले गरेको ‘पासपोर्ट इन्डेक्स’ नामक अध्ययन तथा सर्वेक्षणमा जापानको राहदानी सबैभन्दा शक्तिशाली अर्थात् पहिलो स्थानमा रहेको देखाएको छ । ११२ वटा देशमा गरिएको उक्त सर्वेक्षणले नेपालको राहदानी १०६ औं स्थानमा राखेको हो । गत वर्ष नेपालको राहदानी १०९ औं स्थानमा रहेको थियो । नेपालीले ३८ देशमा मात्रै भ्रमण गर्न पाउँदछन् । सबैभन्दा शक्तिशाली पासपार्टमा जापानपछि दोस्रोमा सिंगापुर र दक्षिण कोरिया, तेस्रो स्थानमा जर्मनी र स्पेन, चौथौंमा फिनल्याण्ड, इटाली र लक्जमबर्ग र पाचौंमा अस्ट्रेलिया, डेनमार्क, नेदरल्याण्ड र स्वीडेन रहेका छन् । यस्तै, सबैभन्दा कमजोर पासपोर्टमा अफगानिस्तान ११२ औं स्थान, इराक १११ औं स्थान, सिरिया ११० औं स्थान, पाकिस्तान १०९ औं स्थान, यमन १०८ स्थान, सोमालिया १०७ औं स्थान र उत्तर कोरिया १०५ औं स्थानमा रहेको छ ।
मेयरका स्वकीय सचिवबाट नै पत्रकारलाई दुर्व्यवहार, अनलाइन पत्रकार संघले जनायो आपत्ति
काठमाडौं । पत्रकार सन्तोष भण्डारीलाई समाचार संकलनमा क्रममा भएको दुर्व्यवहारप्रति अनलाइन पत्रकार संघले आपत्ति जनाएको छ । पशुपति टाइम्स डटकमका सम्पादक समेत रहेका भण्डारीलाई समाचार संकलनका लागि बुढानिलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीको कार्यकक्षमा पुगेका भण्डारीलाई प्रमुखका स्वकीय सचिव रविन्द्र अधिकारीले धम्की पूर्ण भाषा प्रयोग गर्दै दुर्व्यवहार गरेको भन्दै संघले आपत्ति जनाएको हो । जनताका प्रत्यक्ष सरोकारसँग जोडिएका जनप्रतिनिधिबाट नै समाचार संकलन एवं प्रसारणका क्रममा पत्रकारमाथी दुर्व्यवहार हुनु खेदजनक भएको संघले जनाएको छ । संघले समाचार संकलन र सम्प्रेषण गर्न पाउने पत्रकारहरुको संवैधानिक र कानूनी अधिकार कुण्ठित गर्ने यस प्रकारका कार्य आगामी दिनमा नदोहोर्याउन र यसरी दुर्व्यवहार गर्ने जो कोहीलाई पनि कानूनी दायरामा ल्याउन माग गरेको छ ।
डुडुवा गाउँपालिकाका प्रत्येक छोरीको खातामा १० हजार, ५ लाखको दुर्घटना बीमा पनि
बाँके । डुडुवा गाउँपालिकाले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानमा कन्या मुद्दति खाता खोलेपछि अभिभावक खुसी भएका छन् । छोरीको पढाइलाई निरन्ता दिने र उमेर नपुगी विवाह गर्ने चलन हटाउन यो कार्यक्रम लागू गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुराम उपाध्यायले बताए । उनका अनुसार हरेक छोरीको खातामा १० हजार बैंकमा जम्मा हुन्छ । सो रकम छोरी २० वर्ष नपुगी निकाल्न पाइँदैन । ‘छोरीहरूको पढाइ पूरा होस् र उमेर नपुगी विवाह नहोस् भन्ने उद्देश्यले अभियान थालेका हौँ’, उनले भने, ‘छोरीहरूले हरेक किसिमबाट असुरक्षित महसुस गर्नुपर्ने वातावरण अन्त्य गराउनु हाम्रो प्रमुख उद्देश्य हो ।’ अभिभावकको मृत्यु भएमा वा आफैं कुनै कारणले अशक्त भए खाताको रकम निकाल्न पाउने गरी कार्यविधिसमेत बनेको छ । यसबाट अभिभावक निकै उत्साहित भएका छन् । डुडुवाका छ वडाभित्रका सबै बालिकाको नाममा कन्या मुद्दति शिक्षा कार्यक्रम लागू गरिएको प्रमुख उपाध्ययले जानकारी दिए । सोका लागि यस वर्ष ४० लाख छुट्याइएको छ । यो कार्यक्रममा समेटिन बालिका अस्पतालमा जन्मिएको, जन्मदर्ता गर्नुपर्ने, छोरी एसइईसम्म पढेको तथा वडा कार्यालयको सिफारिस हुनुपर्ने छ । उक्त कार्यक्रमअन्तर्गत पालिकाका सबै वडामा जन्मिने नवजात छोरीका नाममा कन्या मुद्दति खाता सञ्चालन गरिरहेको उनले जानकारी दिए । अभिभावकको रोहबरमा स्थानीय सरकारले सबै छोरीको खाता खोलिदिने र नगद पनि जम्मा गरिदिने व्यवस्था गरिएको छ । त्यसका साथै अभिभावकको क्षति कम गर्न पाँच लाखको दुर्घटना बीमा पनि गराइएको छ । उक्त गाउँपालिका शिक्षा तथा चेतनाका दृष्टिले पिछडिएको क्षेत्र मानिन्छ । शिक्षक गोपीचन्द्र बर्माले धेरै अभिभावकले छोरीलाई विद्यालय नपठाउने गरेको सुनाए । ‘कति त नाबालकमै विवाह गरेका कारण विद्यालय आउदैनन्,’ उनले भने, ‘पालिकाको योजना लागू भएसँगै छोरीहरुको उच्च शिक्षा पढ्ने चाहना पूरा हुनेमा विश्वास बढेको छ ।’ विसं २०७७ साउनपछि जन्मेका सबै छोरीको बैंकको खाता खोलिदिएको गाउँपालिकास्थित स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले जानकारी दिए । उनले कार्यक्रम आकर्षक र प्रभावकारी भएको बताए । रासस
चितवनमा रगतको अभाव, काठमाडौं र पोखराबाट ल्याइँदै
चितवन । जिल्लामा रगतको अभावपछि आज काठमाडौं र पोखराबाट ल्याइँदैछ । पोखराबाट ४०० र काठमाडौंबाट ४५ युनिट रगत ल्याउन लागिएको हो । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरमार्फत विगत १० दिनदेखि रक्तदान कार्यक्रम नभएपछि यहाँ रगतको चरम अभाव भएको हो । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार खेतीपाती मौसम र गर्मीका कारण सङ्घसंस्थाले रक्तदान कार्यक्रम नगरेका हुन् । यहाँ दैनिक १५० युनिट रगतको माग हुने गर्दछ । रगतको अभावमा बिरामीको उपचार नै कठिन हुन थालेपछि प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराबाट ओ, ए र बी समूहका चार सय युनिट रगत ल्याउन लागिएको हो । रगत लिनका लागि गाडी पठाइएको उनले जानकारी दिए । साँझसम्ममा पोखराबाट ल्याउने रगत आइपुग्नेछ । त्यस्तै बिहीबार यहाँको चितवन मेडिकल कलेजमा एकजना बिरामीको कलेजो प्रत्यारोपण हुँदैछ । त्यसका लागि केन्द्रीय रक्तसञ्चार सेवा काठमाडौंबाट ४५ युनिट रगत ल्याइँदैछ । एउटै बिरामीका लागि त्यो रगत जगेडामा राख्ने गरी ल्याउन लागिएको हो । काठमाडौंबाट जहाजमार्फत रगत ल्याउन लागिएको पौडेलले जानकारी दिए । रगत अभाव पूर्तिका लागि बिरामीका आफन्त र केन्द्रले जिल्लाका रक्तदातालाई डाकेर रगतको व्यवस्थापन गर्दै आएको छ । केन्द्रले बोलाएपछि रगत दिनेहरु तीन हजार हाराहारी रक्तदाता रहेको पौडेलको भनाइ छ । जिल्लामा सबैभन्दा बढी रगतको माग क्यान्सर अस्पतालमा हुने गर्दछ । रक्तक्यान्सर भएका एउटै बिरामीलाई ४०० युनिटसम्म रगत दिएको कार्यालयमा तथ्याङ्क रहेको पौडेलले बताए । यहाँको आधा रगत क्यान्सरका बिरामीका लागि जाने गर्दछ । क्यान्सरका अतिरिक्त यहाँ रहेका दुई मेडिकल कलेज, भरतपुर अस्पताल र दुई दर्जन निजी अस्पतालमा रगतको माग हुने गर्दछ । मेडिकल कलेजहरुमा अङ्ग प्रत्यारोपणसम्मका उपचार हुने हुँदा रगतको माग उच्च हुने गर्दछ । राजधानी काठमाडौंपछि धेरै प्रसूति भरतपुरमा हुने गर्दछन् । दुर्घटनाका बिरामीको सङ्ख्या पनि यहाँका अस्पतालहरुमा धेरै हुने गर्दछ । प्रसूति र दुर्घटनाका घाइतेहरुलाई पनि रगतको माग बढी हुने गर्दछ ।
सगरमाथा जलविद्युतले ५४ लाख कित्ता सेयर जारी गर्ने
काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनीले सर्वसाधारणको लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि अंकित मूल्य १०० रुपैयाँ दरको ५४ लाख ८८ हजार कित्ता सेयर जारी गर्ने भएको हो । यसको लागि कम्पनीले सेयर प्रत्याभुतिमा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ । सेयर प्रत्याभूतिकर्ता सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युतको तर्फबाट डा.भुषण गुरागाईले हस्ताक्षर गरेका छन् । योसँगै, कोषले कम्पनीको ५४ करोड ८८ लाख रुपैँयाको सेयर प्रत्याभूति गर्ने छ ।
आईपीओको अनुमति माग्दै ३ कम्पनी पुगे बोर्ड, सर्वोत्तम र रिलायन्स स्पीनिङ्गको ४० प्रतिशत
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) मा विभिन्न ३ कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै आवेदन दिएका छन् । सर्वोत्तम सिमेन्ट लिमिटेड, अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेड र रिलायन्स स्पीनिङ मिल्स लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् । सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पीनिङ्ग मिल्सले बुक बिल्डिङ्ग बिधिमार्फत आईपीओ निष्काशन गर्न अनुमति मागेका हुन् । यी दुई कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि ४० प्रतिशत शेयर जारी गर्ने भएका हुन् । सर्वोत्तम सिमेन्टले योग्य संस्थागत लगानीकर्ताका लागि २४ करोड रुपैयाँ बराबरको २४ लाख कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले असार २८ गते बोर्डमा आवेदन दिएको हो । त्यस्तै, रिलायन्स स्पिनीङ्ग मिल्सले योग्य संस्थागत लगानीकर्ताका लागि ७ करोड ७० लाख ६४ हजार रुपैयाँको ७ लाख ७० हजार ६४० कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । त्यस्तै, अप्पर स्याङ्गे हाइड्रोपावरले आयोजना प्रभावित वासिन्दा र सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ जारी गर्नेछ । कम्पनीले ८ करोड ७० लाख रुपैयाँको ८ लाख ७० हजार कित्ता शेयर बिक्री गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
विदेश भ्रमणमा जाँदा एयरपोर्टमै २ सय डलर साट्न सकिने, ८ लाखसम्म धरौटी राख्नु पर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा मनिचेञ्चर कम्पनीहरुका लागि जारी गरिएको इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ लाई संशोधन गरेकाे छ । राष्ट्र बैंकले बुधबार सो विनियमावलीलाई संशोधन गर्दै अब विदेश भ्रमणमा जाने नेपालीलाई विमानस्थलबाट २०० डलर सटही सुविधा प्रदान गर्न परिपत्र जारी गरेकाे छ । यसअघि याे व्यवस्था थिएन । बैंकबाट भने १५ सय डलरसम्मकाे सुविधा छ । याे व्यवस्थासँगै अब विदेश भ्रमणमा जाने नेपाली नागरिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ सय अमेरिकी डलरसम्मको सटही सुविधा पाउने भएका छन् । हाललाई त्रिभुवन विमानस्थलमा रहेको विदेशी मुद्रा बिक्रीका लागि इजाजतप्राप्त मनी चेन्जरले मात्रै यो सुविधा दिनेछ । ‘पहिले यो व्यवस्था थियो तर, केही वर्ष यता थिएन, बैंकभन्दा हुँदा पनि मनिचेञ्जरबाटै सटही सेवा पाइयोस् भनेर यो व्यवस्था गरेका छौं, यसले विदेशमा जानेलाई केही सहज हुनेछ,’ नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भने । उनका अनुसार २ सयको सीमा पनि १५ सय डलरभित्रै गणना हुनेछ । कुनै व्यक्तिले बैंकबाट १५ सय डलरको सटही सुविधा लिइसकेको छ भने उसले यो सुविधा पाउँदैन । तर, लिएको छैन भने विमानस्थलबाटै २ सय सटही गर्न सक्नेछ । बैंकबाट १३ सय डलर वा सोभन्दा कमको सटही सुविधा लिइसकेकाले विमानस्थलबाट थप २ सय डलरसम्मको सटही सुविधा पाउने भट्टले बताए । सो विनियमावलीको दफा ६ मा इजाजतपत्रको लागि धरौटी सम्बन्धि व्यवस्था पनि गरेको छ । मनिचेञ्जर कमपनीले भारतीय रुपैयाँ खरिद बिक्री कारोबारका लागि एक लाख, विदेशी मुद्राको खरिदका लागि पाँच लाख, भारतीय र डलर अर्थात् दुवै कारोबारका लागि ६ लाख रूपैयाँ धराैटी राख्नु पर्ने व्यवस्था विनियमावलीमा छ । विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी वापत तोकिएको बमोजिमको सटही सुविधा प्रदान गर्ने कारोबारका लागि थप दुई लाख अर्थात ८ लाख रूपैयाँ धारैटी राख्नु पर्ने व्यवस्था छ ।