प्रभु बैंकका ग्राहकलाई स्टार हस्पिटलको सेवामा छुट
काठमाडौं । प्रभु बैंक र स्टार हस्पिटलबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स विभागका प्रमुख भेष राज धमला र स्टार हस्पिटलका तर्फबाट कार्यकारी अध्यक्ष किशोर कुमार महर्जनले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकले स्टार हस्पिटलको सेवा मध्य बेड चार्ज तथा अनुसन्धान सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् यस छुट सेवा लिन चाहाने ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
बागलुङ कालिका मन्दिरले एक वर्षमा कमायो साढे २ करोड
बलेवा । बागलुङ कालिका भगवती गुठीले एक वर्षमा दुई करोड ५७ लाख आम्दानी गरेको छ । गत माघ महिनादेखि हालसम्म उक्त आम्दानी भएको हो । माघसम्म तत्कालीन अध्यक्ष राजु खड्का नेतृत्वको र फागुनपछि कुमार खड्का अध्यक्ष रहेको समितिले काम गरेको थियो । अघिल्लो समितिको रकम अपनत्व लिएको गुठीले असार मसान्तसम्म उक्त अङ्कको आयव्याय भएको सार्वजनिक गरेको हो । खर्चतर्फ तलबका लागि १८ लाख ९१ हजार र बिजुली महसुल एक लाख १४ हजार खर्च भएको उल्लेख छ । हाल निर्माण सम्पन्न भएको सत्तलका लागि ६२ लाख ६५ हजार र पूजा खर्चतर्फ दुई लाख ९३ हजार देखाइएको छ । कर्मचारीको पोशाकका लागि तीन लाख ५९ हजार ६५०, मेसिनरी तथा उपकरण खरिद शीर्षकमा १२ लाख ४६ हजार खर्च गरेको देखिएको हो । खाद्यान्न तथा आवासतर्फ दुई लाख ४१ हजार, दैनिक भ्रमण भत्ता शीर्षकमा एक लाख ९६ हजार, सामान खरिदमा तीन लाख चार हजार र चैत्रास्टमी मेलाका लागि १८ लाख खर्च भएको हो । आम्दानीतर्फ भक्तजनले चढाएको चामलबाट दुई लाख ७९ हजार, बोकाको टाउको बिक्री सात लाख ३४ हजार, कुखुराको ८० हजार, राँगाको १७ हजार आम्दानी भएको हो । भाडामा दिएको सटरबाट १७ लाख ४७ हजार, आर्थिक सहयोगमार्फत १० लाख ७६ हजार कमाइ भएको देखिएको हो । आम्दानी र खर्चमध्ये बैंकमा ७८ लाख ९४ हजार र साना नगदी कोषमा आठ हजार ९०० रहेको देखिएको छ । उनले आजदेखि नै कालिका भगवती मन्दिरको गेट रातको समयमा बन्द गर्ने निर्णय गरेको सुनाए । ‘अनधिकृत मानिस प्रवेश गर्ने, सुरक्षामा चुनौती’ भएको र मन्दिरमा अन्य घटना पनि हुनसक्ने भन्दै गेट बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै हाल सवारीसाधन पार्किङ गरिरहेको स्थान मानव सेवा आश्रमको जिम्मामा दिने निर्णय गरेको छ । उक्त स्थानमा उठ्ने सवारी शुल्क आश्रमले व्यवस्थापन गरेर आम्दानीको रूपमा लैजान पाउने भएको हो । यहाँ शुल्क उठाउँदा बढी लिएको वा अन्य समस्या आएको भन्दै उजुरी आएपछि सेवामूलक काममा खर्चर्ने गरी व्यवस्थापन गरिएको उनले बताए । गुठीले मन्दिर परिसरभित्र रहेका पुराना जीर्ण संरचनालाई पुरातात्विक हिसाबले निर्माण गर्ने, मन्दिर बाहिर सुविधासम्पन्न विद्याश्रम र धर्मशाला बनाउने, ऐतिहासिक धार्मिक सङ्ग्राहलय बनाउने योजना अगाडि सारेको छ । मन्दिर परिसरमा अखण्ड धुनी निर्माण गर्ने, काठबाट निर्मित हवन कुण्ड बनाउने, भक्तजनलाई शुद्ध खानेपानीको व्यवस्थापन गर्ने, महिलामैत्री, फरक क्षमता भएका व्यक्तिको सहज हुने शौचालय बनाउने रणनीतिक योजना बनाइएको छ । नियमित भजनकीर्तनलाई निरन्तरता दिने, वेबसाइट निर्माण, भक्तजनको रेकर्ड सुरक्षित गर्न सकिने मेसिन जडान गर्ने, जङ्गली जनावरको संरक्षण गर्ने, गरिब जेहेन्दार, अनाथ र असहाय बालबालिकाको शिक्षा आर्जनमा अभिभावकत्व ग्रहण गर्ने उद्देश्यले शैक्षिक कोष निर्माण गर्ने लक्ष्यसमेत राखिएको छ । गुठीले सामाजिक एवं मानवीय हितका लागि कालिका भगवतीको नामअङ्कित गरेर एम्बुलेन्स, शववाहन तथा दमकलको व्यवस्थापन गर्ने लक्ष्यसमेत रणनीतिक योजनामा समावेश छ । यसअघिको समितिले बनाएको गन्तव्य कालिका अभियानलाई निरन्तरता दिएर बढीभन्दा बढी भक्तजन भित्र्याउनेसमेत लक्ष्य राखिएको छ । रासस
दुई दिन अधिकांश स्थानमा वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार र बिहीबार देशको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेकोे छ । मनसुनी न्यूनचापीय प्रणाली नेपालको भू–भाग नजिक रहेकाले यी दुई दिन मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको विभागका मौसमविद् मञ्जु बासीले बताए । उनका अनुसार उक्त प्रणालीको प्रभावले यी दुई दिन देशभर सामान्यदेखि पूर्ण बदली रही पहाडी भू–भागका धेरै स्थानमा र अन्य भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ । हाल देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षा भइरहेको छ । रातको समयमा देशभर सामान्यदेखि पूर्ण बदली भई देशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव दुई डिग्री र अधिकतम् तापक्रम ३० दशमलव एक डिग्री सेल्सियस रहेको छ ।
श्वेत गंगा हाइड्रोको आईपीओ खुल्यो, कति दिने आवेदन ?
काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आज (साउन ४ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका २३ लाख ८९ हजार ५ सय कित्ता साधारण शेयर बिक्री गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र २२ लाख ७० हजार २५ कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा साउन ८ गतेसम्म र ढिलोमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरोशेयर वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
बजेटमा छुटको व्यवस्थापछि उद्योगीहरू निर्यात गर्न हौसिए, सिमेन्टसँगै रड निर्यात पनि सुरू
काठमाडौं । सरकारले बजेटमार्फत् निर्यातमा छुटको घोषणा गरेसँगै नेपाली उद्योगीले सिमेन्ट र फलामे रड निर्यात सुरु गरेका छन् । पाल्पा सिमेन्ट उद्योगले गत असार २४ गते ३ हजार बोरा ‘तानसेन’ ब्राण्डको सिमेन्ट उत्पादन निर्यात सुरु गरेको थियो । त्यसलगत्तै श्री स्टीलले फलामे रड निर्यात सुरू गर्न लागेको छ । कम्पनीले निर्यात स्वरूप बुधबार भारतमा २ गाडी रड पठाउन लागेको कम्पनीका सञ्चालक राजेश अग्रवालले बताए । ‘सरकारले निर्यातमा छुटको घोषणा गर्नुभन्दा अगडि नै हामीले रड निर्यातका लागि भारत सरकारबाट गुणस्तर प्रमाणीकरणको अनुमति पाइसकेका थियौँ, सरकारले छुटको घोषणा गरेसँगै आज पहिलो चरणको निर्यात सुरु गर्न लागेका हौँ’, उनले भने । उनले सरकारले दिने भनेको ८ प्रतिशत अनुदान वितरण नगर्दासम्म स्टील तथा सिमेन्ट निर्यातको सम्भावना नभएको बताए । परीक्षण स्वरुप सिमेन्ट र रड निर्यातको थालनी गरिएपनि छुट नपाउँदासम्म पूर्ण रुपमा निर्यात गर्न नसकिने उनको भनाइ छ । ‘प्रक्रिया मिलाउनका लागि हामीले पहिलो चरणमा रड भारत पठाउन लागेका हौँ, ५० टनसम्म निर्यात गर्न लागेका हाँै’, उनले भने । उनका अनुसार श्री स्टीलले भारत सरकारबाट निर्यातको अनुमति पाउन (गुणस्तर प्रमाणीकरणको अनुमति) मात्रै १५ महिनाभन्दा बढी समय लागेको बताए । ‘हामीले लामो समयपछि अनुमति पाएका हौँ, सरकारले दिने भनेको नगद अनुदान नपाउँदासम्म हामीले निर्यात गर्न सोच्ने अवस्था छैन्, सरकारले घोषणा गरेअनुसार साउन १ गतेदेखि नै छुट दिने आश गरेर हामीले निर्यात सुरु गरेका हौँ’, उनले भने । उनले दुई देशका सरकार (नेपाल र भारत) बीच नेपालमा एनएस गुणस्तर पाएका कम्पनीलाई भारत सरकारले सहज रुपमा आइएसओ प्रमाणीकरणमा सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए । नेपाल सरकारबाट गुणस्तर प्रमाणीकरणको अनुमति पाएर उत्पादन सुरु गरेका कम्पनीलाई भारत सरकारले आइएसओ प्रमाणीकरणका दिन लामो समय लगाउने गरेको भन्दै उनले सरकारले उक्त व्यवस्था नै हटाउनका लागि पहल गर्नुपर्नेमा जोड दिए । उनले भारत सरकारले १५ महिनाभन्दा बढी समय लगाउने गरेको भन्दै सीमित अवधिमै अनुमति दिनुपर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए । सरकारले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै औद्योगिक क्षेत्रको विकास गर्न, वैदेशिक लगानी आकर्षित गर्न र उत्पादन एवं निर्यात पर्वद्धन गरी आयात प्रतिस्थापन गर्न योगदान पुग्ने गरी मासिक १० करोडभन्दा बढीको विद्युत् खपत गर्ने उद्योगलाई विद्युत महसुलमा दुईदेखि १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ । उत्पादन र निकासीको आधारमा कार्यबिधी बनाएर २ देखि १५ प्रतिशतसम्म छुट दिने तयारी गरेको छ । तत्कालीन अर्थमन्त्री जनादर्न शर्माले उच्च निर्यात सम्भावना भएको क्लिङकर, सिमेन्ट, स्टील, फुटवेयर र प्रशोधित पानी तथा सूचना प्रविधिमा आधारित पहिचान गरी निर्यात प्रबर्द्धन गरिने र यस्ता वस्तुमा ८ प्रतिशतसम्म नगद अनुदान उपलब्ध गराइने गरि बजेट सार्वजनिक गरेका थिए । नेपालका स्टिल उद्योगको जडित क्षमता ३५ लाख भएकोमा वार्षिक १४ लाख टन मात्रै उत्पादन हुँदै आएको उद्योगीहरुले बताउँदै आएका छन् । औद्योगिक क्षमताअनुसार थप २० लाख टन उत्पादन क्षमता स्टिल उद्योगसँग अझै कायमै छ । बजेट मार्फत् नै सरकारले निर्यातमा सहजीकरण गरेपछि सिमेन्ट, रड उद्योगीले निर्यात गर्न थालेका हुन । पाल्पा सिमेन्ट पछि अर्घखाँची, सर्वोत्तम, जगदम्बा र सौर्य सिमेन्टले नेपाली सिमेन्ट भारत निर्यातका लागि तयारी थालेको पाइएको छ । तयारी स्वरुप उक्त उद्योगहरुले भारत सरकारबाट गुणस्तर प्रमाणीकरण अनुमतिको पखाइमा रहेको जनाएका छन् ।
सयपत्री हाइड्रोपावरले साउन १३ गतेदेखि आईपीओ बिक्री खुला गर्ने
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले साउन १३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ६ लाख कित्ता शेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता शेयर समेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि, २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता कर्मचारीहरुका लागि र बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको छ । कम्पनीको आईपीओमा छिटोमा साउन १७ गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा साउन २७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
मेरो माइक्रोफाइनान्सका सीईओ दाहाल सम्मानित
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामहरि दाहाल सम्मानित भएका छन् । सीईओ दाहाल ‘कर्पोरेट बिजनेश एसीलेन्सी अवार्ड २०२२’ बाट सम्मानित भएका हुन् ।
सबै विद्युत आयोजनाका प्रवर्द्धकलाई काम सक्न एक वर्ष म्याद थप
काठमाडौं । कोभिड–१९ महामारीको समयमा निर्माणाधित जलविद्युत् परियोजनाहरुको लागि निर्माण कार्य सम्पन्न गर्न सरकारले थप एक वर्ष समय दिने निर्णय गरेको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र विद्युत् प्राधिकरणले यस्तो निर्णय गरेका हुन् । निजी क्षेत्रबाट निर्माणधीन विद्युत आयोजनाका प्रवर्द्धकहरुको माग अनुसार आयोजनाहरुको व्यापारिक उत्पादन गर्नुपर्ने मिति, वित्तिय व्यवस्थापन गर्नुपर्ने मिति र विद्युत उत्पादनको अनुमति पत्र बुझाउनु पर्ने मिति एक वर्ष थपिदिने निर्णय भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए । २०७६ चैत १० गतेदेखि २०१७८ चैत १० गतेसम्मको अवधिलाई कोभिड महामारीको अवधिको व्याख्या गर्दै प्राधिकरणले उक्त अवधिमा समस्या भोगेका परियोजनाहरुलाई मात्र यस्तो सुविधा दिने प्राधिकरणले जनाएको छ । यो सुविधा उपभोग गर्न सम्बन्धित कम्पनीले साउन १९ गतेसम्म प्राधिकरणमा निवेदन गर्नुपर्नेछ । महामारीको बेलामा निर्माणधीन अवस्थामा रहेका र म्याद थपको लागि माग गर्ने सबै परियोजनाको म्याद थप हुने प्रवक्ता भट्टराईले जानकारी दिए ।