विकासन्युज

तोकिएको समयमै निर्माणाधिन फोहोरपानी प्रशोधन केन्द्रको निर्माण सक्न निर्देशन

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयद्वारा ललितपुरको धोविघाटमा निर्माणाधिन फोहोरपानी प्रशोधन केन्द्रको मंगलबार निरीक्षण गरेका छन् । निरीक्षण गर्दै मन्त्री चौधरीले फोहोरपानी प्रशोधन केन्द्रमा भएको निर्माणको प्रगति, विद्यमान समस्या र समाधानका सम्भावित उपयायहरुका बारेमा जानकारी लिएका थिए । दुईवटा निर्माणाधिन फोहोरपानी प्रशोधन केन्द्रमध्ये प्रतिदिन ३ करोड ७० लाख लिटर फोहोरपानी प्रशोधन क्षमताको एउटा केन्द्रको निर्माण कार्य आगामी डिसेम्बरभित्र सम्पन्न गर्ने लक्ष रहेको छ । साथै प्रतिदिन ३ करोड ७० लाख लिटर फोहोरपानी प्रशोधन क्षमताकै अर्को केन्द्रको निर्माण कार्यमा समस्या देखिएको छ । निरीक्षण गर्नेक्रममा मन्त्री चौधरीले अन्तिम चरणमा रहेको फोहोरपानी प्रशोधन केन्द्र छिटोभन्दा छिटो संचालन गर्नेगरी तयारी अगाडि बढाउन र निर्माणमा समस्या देखिएको केन्द्रको निर्माण कार्य केकसरी अगाडि बढाउन सकिन्छ भनि एकिन गरी कार्ययोजना बनाई अघि बढ्न निर्देशन दिएका थिए । कुनै पनि विकास आयोजना तथा कार्यक्रम तोकिएको समयभित्रै सम्पन्न गर्नुपर्ने बताउँदै मन्त्री चौधरीले आयोजनाका अधुरा काम पूरा गर्नका लागि विकल्प सहितको कार्ययोजना बनाएर अघि बढ्न र स्थानीय वासिन्दासँग गरेका प्रतिवद्धताहरु पूरा गर्नका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन दिए । कार्यक्रममा पीआइडी आयोजना निर्देशक राजेन्द्र सापकोटाले निर्माण सम्पन्न हुने चरणमा रहेको फोहोरपानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न हुनासाथ संचालनमा ल्याउन साझा संरचनाका रुपमा रहेको फोहोरपानी प्रशोधन क्षमता केन्द्र अन्तर्गतको इन्लृट स्ट्रक्चरको निर्माण कार्य सम्पन्न गर्न पहल भइरहेको जानकारी गराएका थिए । ललितपुर महानगरपालिकाका ४ का वडाध्यक्ष सन्तोष खड्काले फोहोरपानी प्रशोधन केन्द्र निर्माणका क्रममा आयोजनाबाट गरिएका सडक, ढल तथा खानेपानी सुविधा उपलब्ध गराउने प्रतिवद्धता पूरा गर्न आग्रह गर्दै आयोजनामा आइपर्ने समस्या समाधानमा वडाको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीवविक्रम राणाले काठमाडौं उपत्यकाका नगरपालिकाहरुमा फोहोरपानी व्यवस्थावनको अवस्था, विद्यमान समस्या र समाधानका सम्भावित उपाय तथा पीआइडीका आयोजना प्रवन्धक राजेश कुशवाह र डोस्वा इन्जियरिङ्ग कम्पनीका कन्सल्ट्यान्ट राजनारायण गुप्ताले फोहोरपानी प्रशोधन केन्द्रहरुका बारेमा आफ्नो प्रस्तुतीकरण गरेका थिए ।

लिलाममा परेका यी ‘भिआईपी प्रोजेक्ट’, अदालतले अड्कायो, ब्यालेन्ससिटमा असर

काठमाडौं । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको कारण सबै क्षेत्रलाई असर परेको छ । व्यापार नभएपछि धेरै उद्योगी व्यवसायीहरूले बैंक तथा वित्तीय क्षेत्रबाट लिएको ऋण पनि तिर्न सकेका छैनन् । कोरोनाको कारण सबैभन्दा ठूलो समस्यामा परेको क्षेत्र हो पर्यटन । पर्यटन व्यवसायीहरू कोरोनाको कारण व्यवसाय थला परेको गुनासो लामो समयदेखि गर्दै आएका छन् । उनीहरूले ब्यापार व्यवसाय नचलेकै कारण बैंक तथा वित्तीय संस्थाहरुको सावाँ ब्याज तिर्न नसकेको धारणा पनि राख्दै आएका छन् । अर्बौंको लगानी रहेको पर्यटन क्षेत्र समस्यामा पर्दा व्यवसायीहरूले राहातको मागसँगै बैंक तथा वित्तीय संस्थालाई तिर्नु पर्ने सावाँ ब्याजको भाका सार्न पनि माग गर्दै आइरहेका छन् । समस्यामा रहेकै बेला बैंकहरूले पटक–पटक सावाँ ब्याजका लागि ताकेता गर्दा आफुलाई समस्या भएको पर्यटन व्यवसायीको गुनासो छ । ब्यापार व्यवसाय नचलेकै कारण संकटमा परेको एक उदाहरण हो पोखराको दी फूलबारी रिसोर्ट । पर्यटन व्यवसायीहरुले गर्वका साथ नाम लिने पर्यटन पूर्वाधार हो फूलबारी रिसोर्ट । १३८ रोपनी क्षेत्रफलमा बनेको यो रिसोर्ट अहिले लिलामीको प्रक्रियामा छ । फूलबारी रिसोर्टले कर्जा तिर्न नसकेपछि नेपाल बैंकले होटलको सबै पूर्वाधार लिलाम गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ । यो रिसोर्टले २०५५ सालमा बैंकबाट १ अर्ब ३१ करोड रूपैयाँ कर्जा लिएको थियो । २० वर्ष अघिदेखि होटलले ब्याज तथा किस्ता बैंकलाई बुझाएको छैन । ‘२०७६ कात्तिकमा हामीले कर्जा पुर्नसंरचना गरेर ३ अर्ब ४५ करोड रुपैयाँ बनाएका थियौं, त्यसपछि पनि फूलबारीले रकम बुझाएन’ नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले भने, ‘पुर्नसंरचना भएपछि पनि ऋणिले पैसा बैंकलाई तिरेको छैन, हामी २०५९ सालदेखिकै हिसाबमा फर्कन सक्छौं, त्यसअवस्थामा बैंकले ऋणिसँग लिनु पर्ने साँवा, व्याज, हर्जना हिसाव गर्दा २० अर्ब हुन सक्छ ।’ फूलबारी रिसोर्टमा नेपाल बैंकको अगुवाईमा राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी संचय कोषले फूलबारी रिर्सोटमा २०५५ सालमा १३१ करोड रुपैयाँ कर्जा लगानी गरेको थिए । बैंकले पटक–पटक कर्जा पुर्नसंरचना गर्दै ऋणिलाई सहजीकरण गरेपनि फूलबारी रिसोर्टले आफ्नो वित्तीय व्यवस्थापन गर्न नसकेको र पटक–पटक गरिएको समझदारी पनि पालना नभएपछि होटलको चल–अचल सम्पत्ति सबै बिक्रीमा राखिएको बैंकले जनाएको छ । अमात्य ग्रुपले लगानी गरेको यो होटलको मूल्य लगानीकर्ता पिउस बहादुर अमात्य हुन् । यो ग्रुपले विगत दुई दशकदेखि आर्थिक संकट झेल्दै आएको छ । बैंकले साउन ५ गतेसम्म कति मूल्यमा किन्न तयार हुने हो सो खुलाई आवेदन माग गरेको थियो । तर, रिसोर्टले जिल्ला अदालल काठमाडौंमा मुदद दर्ता गरेपछि लिलामिको प्रक्रिया रोकिएको छ । सीईओ अधिकारीका अनुसार अदालतले दुवै पक्षलाई भोलि अर्थात् बुधबार बोलाएको छ । भोलिको बहसपछि मात्रै फुलबारीलाई लिलामी गर्ने वा नगर्ने भन्ने अदालतको फैसलाले निर्धारण गर्नेछ । बैंकका अनुसार सो रिसोर्ट खरिद गर्नका लागि चार वटा बिजनेस ग्रुपले इन्ट्रेस्ट देखाएका छन् । यस्तै, गत आर्थिक वर्षमा बैंक तथा वित्तीय क्षेत्रमा लिलाम भएको अर्को ठूलो प्रोजेक्ट अर्थात सम्पत्ति हो सीटीसी मल । इच्छाराज तामाङले आफ्नो २१ करोड रुपैयाँ कर्जा नतिरेको भन्दै कर्मचारी संचय कोषले सो मललाई लिलामी गर्ने सूचना निकालेको थियो । कोषले काठमाडौँ महानगरपालिका वडा नम्बर ११ सुन्धारा स्थिति कित्ता नम्बर २४२४ को ६ रोपनी क्षेत्रफलमा फैलिएको तथा सिभिल स्टेट्स्को नाममा रहेको १३२पसल कवलहरु लिलाम गर्नको लागि सूचना जारी गरेको थियो । सिभिल ग्रुपका अध्यक्ष तथा सिभिल सहकारीका संचालक इच्छाराज तामाङले सिभिल स्टेट्स्को नामबाट लिएको कर्जा नतिरेपछि बैंकले धितोको मूल्यांकन गरेर बिक्री गर्ने अन्तिम तयारीमा थियो । तर, तामाङ लगायत सेयरधनी र सिभिल सहकारीबाट पनि केही व्यक्तिले अदालतमा मुद्दा दर्ता गरेपछि सीटीसी मलको लिलामी प्रक्रिया रोकिएको छ । कर्मचारी सञ्चय कोषका प्रशासक जितेन्द्र धितालले अहिले जिल्ला अदालत काठमाडौं र सर्वोच्च अदालतमा मुदद परेको कारण धितो लिलाम गर्ने प्रक्रिया रोकिएको बताए । ‘हामीले धितोको लिलाम सकिसकेका थियौं तर, विभिन्न पक्षबाट अदालतमा मुद्दा परेपछि अदालतबाट काम अगाडि नबढाउनु भन्ने आदेश छ, त्यसैले पनि लिलामको प्रक्रिया रोकिएको हो,’ उनले भने । ठूलो धितोमा प्रवाह भएको ऋणको सावाँ तथा ब्याज असुल नभएपछि र धितो नै बिक्री गर्न नपाएपछि कम्पनीको वित्तीय विवरणमा असर परेको सम्बन्धित कम्पनीहरूको गुनासो छ । अदालतले समयमै निक्र्यौल नगर्दा पनि कम्पनीहरूलाई समस्या भएको छ ।

भीसीटीएसको फन्दामा २७ व्यापारी, साढे ४४ करोड जरिवाना

काठमाडौं । मालबस्तु तथा ढुवानी साधानको अनुमगन प्रणाली (भीसीटीएस) को सहायतामा राजश्व अनुसन्धान विभागले कर छलि गर्ने २७ व्यापारीलाई समातेको छ । विभागले ती व्यापारीबाट विगोसहित ४४ करोड ३८ लाखभन्दा बढी असुल गर्नु पर्ने जनाएको छ । राजस्व अनुसन्धान विभागले ती २७ जना व्यापारी विरुद्ध उच्च अदालत पाटन ललितपुरमा मुद्धा दायर गर्दै उनीहरुलाई ६ महिनादेखि ५ वर्षसम्म कैद सजाय तोकिएको पर्ने माग गरेको छ । उनीहरुले झण्डै २२ करोड १९ लाख रुपैयाँभन्दा बढी रकम राजस्व छली गरेको आरोपमा अदालतमा मुद्धा दायर गरेको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी दीपेश लेखकले जनाएका छन् । उनीहरुबाट विगो ४४ करोड ३८ लाख ९३ हजार ४०६ रुपैयाँ असुल गर्नु पर्ने देखिएको विभागले जनाएको छ । व्यवसायीहरुले मालबस्तु आयात गर्दा भन्सार नाका छलेको, प्रज्ञापन पत्र नभरेको, भन्सार, अन्तशुल्क, मूल्य अभिवृद्धि कर, लाभांश कर लगायत सबै प्रकारका कर छल्दै व्यवसाय गरेको विभागले जनाएको छ । पशुपति रोड क्यारियर नेपाल प्रालि बुटवल शाखाले बिक्रेता न्यू मनकामना सप्लायर्स रुपन्देही र क्रेता सांग्रीला एक्सपोर्ट तथा राज फेन्सी कर्नर उल्लेख गरि मालवस्तु तथा ढुवानी साधनको प्रणालीमा प्रविष्ट गरि पठाएको तर उक्त मालवस्तुहरु अन्य फर्महरुले बिना बिलबिजक बुझिलिएकोले पशुपति रोड क्यारियर नेपाल प्रालि लगायतका विभिन्न फर्महरुको कारोबारमाथि छानविन हुँदा राजश्व छलि पुष्टि भएको विभागले जनाएको छ । जसमा विभागले सबैभन्दा धेरै पशुपति रोड क्यारियर नेपालका संचालकहरु महेन्द्र प्रसाद गुप्ता, राजेन्द्र प्रसाद गुप्ता र मधु कुमारी गुप्ता, कर्मचारीहरु भारतिय नागरिक ओमप्रकाश भनिने उपेन्द्र कुमार सिंह र अन्जियन आलम, न्यू मनकामना सप्लायर्सका प्रोप्राइटर रेखा जैसवाल र मुख्य कारोबारी रोकश प्रसाद जैसवाललाई २१ करोड ८५ लाख १३ हजार २०२ रुपैयाँ जरिवाना माग गरिएको छ । उनीहरुलाई ३ देखि ५ वर्ष कैद सजाय पनि माग गर्दै मुद्धा दायर गरिएको छ । त्यस्तै, सुद्रानिया इम्पेक्सका प्रोप्राइटर भरत कुमार अग्रवाललाई ३ करोड ७ लाख ३६ लाख २७ हजार ४१ रुपैयाँ जरिवाना र ६ महिनादेखि १ वर्षसम्म कैद सजाय माग गरिएको छ । त्यस्तै, श्री आर एण्ड एस इण्टरनेशनलका संचालक अमित प्रधान, व्यवस्थपाक सुजित महर्जन र कर्मचारी श्याम प्रसाद वस्याललाई ६ महिनादेखि १ वर्षसम्म कैद सजाय र २ करोड ८९ लाख २५ हजार ६५२ रुपैयाँ जरिवाना मागदावी रहेको छ । अरुण क्लोथ सपका प्रोप्राइटर चन्द्र बहादुर श्रेष्ठ, मुख्य कारोबारी भारतिय नागरिक टिंकु भनिने अभिषेक कुमार डालमिया र कर्मचारी जय वहादुर भट्टलाई ६ महिनादेखि १ वर्षसम्म कैद सजाय र ५ करोड ३२ लाख ९४ हजार ५८४ रुपैयाँ जरिवाना, एनए इम्पेक्सका प्रोप्राइटर रिमा केडिया र मुख्य कारोबार सुभाष चन्द्र अग्रावाललाई ६ महिनादेखि १ वर्षसम्म कैद र १ करोड ८१ लाख ७२ हजार १४६ रुपैयाँ जरिवाना, एआर साडी कलेक्सनका प्रोप्राइटर सोहन शाह र नन्दन कुमार भारतीय नागरिकलाई ६ महिनादेखि १ वर्ष कैद सजाय र १ करोड ३१ लाख ४३ हजार ५२६ रुपैयाँ जरिवाना तोकिएको छ । अन्य ब्यक्तिहरुलाई भने १ करोड भन्दा कम रकम जरिवाना तोकिएको छ भने अधिकांशलाई ६ महिनादेखि १ वर्षसम्म कैद सजाय तोकिएको छ । राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ निषेधित कार्य गरेकोले उनीहरुलाई सोही ऐन अनुसार कारवाही माग गरिएको विभागले जनाएको छ ।

गभर्नरलाई बर्खास्त गर्न माग गर्दै थप आन्दोलनको घोषणा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध तीन विद्यार्थी संगठनले थप आन्दोलनको घोषणा गरेका छन् । मंगलबार नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष डुजाङ शेर्पा, अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले संयुक्त विज्ञप्ति निकाल्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । अधिकारी नेकपा एमालेको अर्थ समिति सदस्यमा रहेको भन्दै सत्तारुण गठबन्धनका विद्यार्थी संगठनहरुले उनलाई बर्खास्त गर्नपर्ने मागसहित आन्दोलन सुरु गरेका हुन् । विज्ञप्तिका अनुसार साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिनिधिसभाका सभामुखलाई ज्ञापनपत्र बुझाउने, ४ गते राष्ट्र बैंक केन्द्रीय कार्यालयसहित देशैभरीका कार्यालयहरूमा कालो ब्यानर राख्ने, ५ गते प्रज्ञा भवन डबलीमा कार्टुन प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम गर्ने, ६ गते देशैभरी क्याम्पसहरूमा आफ्नो सापेक्षतामा विरोध कार्यक्रम गर्ने कार्यतालिका छन् ।

५ अर्बको ऋणपत्र बिक्री गर्दै सिभिल बैंक, ११ प्रतिशत ब्याज पाइने

काठमाडौं । सिभिल बैंकले ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेवोन) मा आवेदन दिएको छ । बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिन दिएको हो । बैंकले असार १६ गते बोर्डमा आवेदन दिएको थियो । बोर्ड अनुपति पाएपश्चात बैंकले ११ प्रतिशत ब्याजदर भएको ‘सिभिल बैंक डिबेञ्चर–२०८४’ निष्काशन तथा बिक्री खुला गर्नेछ । बैंकको उक्त ऋणपत्रको अवधि ५ वर्षको रहेको छ । बैंकले १ हजार अंकित मूल्यका कूल ५० लाख इकाइ निष्काशन गर्नेछ । जसमध्ये २० लाख इकाइ सर्वसाधारणका लागि र ३० लाद इकाइ ब्यक्तिगत तवरबाट बिक्री गर्नेछ । बैंकको उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

तारागाउँको सम्पत्ति संरक्षण गर्न अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन

काठमाडौं । सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लामो समयदेखि विवादमा रहेको तारागाउँ विकास समितिको सम्पत्ति संरक्षण व्यवस्थापनका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र तरागाउँ विकास समितिका पदाधिकारीसँग छलफल गर्दै समिति मातहत रहेको जग्गा कौडीको भाउँमा निजी क्षेत्रलाई दिइएको राज्यको सम्पत्ति संरक्षण र व्यवस्थित गर्न आग्रह गरेको हो । समितिका सभापति पवित्रा निरौलाले बहूमूल्य सरकारी सम्पत्ति कौडीको भाउँमा निजी क्षेत्रलाई दिएर सरकारी सम्पत्तिको दुरुपयोग भएको भन्दै समितिको जग्गा संरक्षण र काम कारबाहीलाई प्रभावकारी बनाउन दीर्घकालीन गुरुयोजना बनाएर अघि बढ्न निर्देशन दिइन् । उनले राज्यको सम्पत्ति संरक्षण व्यवस्थापन गर्नका लागि समितिले दिएको पटकपटकको निर्देशन कार्यान्वयन नभएकामा मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराइन् । विसं २०७५ मा नै समितिले तारागाउँका नाममा तीन महिना लामो अध्ययन गरी प्रतिवेदनमार्फत गम्भीर ध्यानाकर्षण गराएको निरौलाले स्मरण गराए । त्यस सम्बन्धमा समितिले हालसम्म १४ पटक निर्देशन दिएको छ भने यस अवधिमा सात पर्यटनमन्त्रीले नेतृत्व गरेको भन्दै सभापति निरौलाले छानबिन समितिको प्रतिवेदन चाँडो टुङ्ग्याएर आगामी रणनीति तयार गर्न मन्त्रालयलाई निर्देशन दिइन् । ‘नेपालको यो सम्पत्ति जगेर्ना गर्न सबै लाग्नुपर्छ, सरकारी सम्पत्ति फिर्ता गरी त्यहाँ कहीँ भ्रष्टाचार भएको पाइए समितिले निष्पक्ष छानबिन गरी प्रतिवेदन दिनुपर्छ’, सभापति निरौलाले भनिन् । उनले उक्त सम्बन्धमा छानबिन समितिको प्रतिवेदनपछि थप छलफल गरेर समितिले उपयुक्त निर्णय लिने बताइन् । तारागाउँको जग्गाबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन पर्यटन मन्त्रालयले मन्त्रालयका सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । उक्त समितिको समयावधि गत असार ३२ गतेसम्म रहेकाले छानबिनलाई अझ प्रभावकारी बनाउन साउन मसान्तभित्र प्रतिवेदन पेश गर्नेगरी समयावधि थपिएको मन्त्रालयले जनाएको छ । पर्यटनमन्त्री श्रेष्ठले लामो समयदेखि जटिल बनिरहेको तारागाउँको जग्गा र यसको समग्र अवस्थाबारे छानबिन गरी प्रतिवेदन तयार गर्न गठित समितिले काम गरिरहेको उल्लेख गर्दै साउनभित्रै समितिले प्रतिवेदन पेश गरेपछि सोही अनुरुप आवश्यक निर्णय लिइने बताए । तारागाउँ विकास समितिको नाममा ३०४ रोपनी जग्गामध्ये १५० रोपनी ह्यात रिजेन्सी होटलको नाममा रहेको मन्त्री श्रेष्ठले जानकारी दिए । जसमध्ये ४९.७७ प्रतिशत तारागाउँको र ६०.३३ प्रतिशत निजी क्षेत्रको नाममा रहको छ । बाँकी १४८ रोपनी जग्गा होटलले लिजमा लिएको बताइएको छ । उक्त जग्गाको लिजमा दिएको कानुनी प्रक्रिया ढिक छकी छैन भनेर समितिले अध्ययन प्रतिवेदन दिनेछ । पर्यटनमन्त्री श्रेष्ठले सरकारको बहुमुल्य सम्पत्ति कसरी अहिलेको अवस्थामा पुग्यो भनेर यसरी जग्गा उपभोगमा दिएको कानुनीलगायत सबै प्रक्रियाको यथार्थ अध्ययन गरेर आवश्यक निर्णय लिइने उल्लेख गरे। सांसदहरुले तारागाउँका सम्बन्धमा धेरै छलफल र निर्देशन दिइएको भए पनि सम्बन्धित निकायले कार्यान्वयन नगरेको भन्दै आपत्ति प्रकट गरेका छन् । उनीहरुले समितिको नामको जग्गामा लामो बिवाद रहनुले त्यहाँ भ्रष्टाचार भएको अनुमान गर्न सकिने भन्दै निश्पक्ष छानबिन गरी दोषीलाई कानूनी कार्बाही गरिनुपर्ने खाँचो औंल्याए । सांसद चाँदतारा कुमारीले सरकारी सम्पत्ति व्यवस्थापन गर्न मन्त्रालयले तत्काल कदम चाल्नुपर्नेमा जोड दिइन् । सांसद रेनुका गुरुङले समितिले पटकपटक गरेको निर्देशन सरोकारवाला निकायले कार्यान्वयन नगरेको भन्दै समितिको नाममा रहेको काठमाडौं, पोखरालगायत स्थानको जग्गाको सही सदुपयोग र संरक्षण गर्न गराउन मन्त्रालयको ध्यानाकर्षण गराइन् । सांसद नारदमणि रानाले समितिको नामको बहुमूल्य जग्गा कौडीका भाउँमा निजी क्षेत्रलाई बुझाएको भन्दै तत्काल सम्पत्ति फिर्ता गरेर प्रभावकारी व्यवस्थापन गर्न आग्रह गरे । सांसद मोहन बाँनियाले राज्यको सम्पत्ति संरक्षण गर्न मिनी संसद्को रुपमा रहेको समितिले पटक–पटक गरेको निर्देशन कार्यान्वयन नभएको गुनासो गरे । सांसद देवप्रसाद तिमल्सिनाले तारागाउँको ३० वर्षदेखिको विवाद चाँडो समाधान गर्नेतर्फ सरोकारवालाक निकायको ध्यानाकर्षण गराए । तारागाउँ विकास समितिका अध्यक्ष सुरेश जोशी र सदस्य सचिव महेन्द्र थापामगरले हालसम्मको प्रगतिबारे समितिलाई जानकारी गराएका थिए । रासस

एभरेष्ट बैंकलाई एकैपटक २ वटा ऋणपत्र निष्काशन गर्न अनुमति, वार्षिक ब्याज कति ?

काठमाडौं । एभरेष्ट बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ४ अर्ब रुपैयाँ बराबरको २ वटा ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न अनुमति पाएको छ । सेबोनले बैंकलाई एकैपटक २ वटा ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न अनुमति दिएको हो । बोर्डले साउन २ गते बैंकलाई २ वटा ऋणपत्र निष्काशनको अनुमति दिएको हो । बोर्डले बैंकलाई २ अर्ब रुपैयाँ बराबरको ‘एभरेष्ट बैंक ऋणपत्र-२०८५’ र २ अर्ब रुपैयाँ बराबरको ‘एभरेष्ट बैंक ऊर्जा ऋणपत्र-२०८९’ निष्काशन तथा बिक्री खुला गर्न अनुमति दिएको हो । अब बैंकले एभरेष्ट बैंक ऋणपत्रको १ हजार अंकित दरका कूल २० लाख इकाइ ऋणपत्र बिक्री गर्नेछ । जसमध्ये १२ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ८ लाख इकाइ सर्वसाधारणका लागि बिक्री गर्नेछ । बैंकले अनुमति पाएको ऋणपत्रको एभरेष्ट बैंक ऋणपत्रको अवधि ६ वर्ष रहेको छ भने वार्षिक १०.५ प्रतिशत ब्याजदर तोकिएको छ । त्यस्तै, बैंकले एभरेष्ट बैंक ऊर्जा ऋणपत्रको १ हजार अंकित दरका कूल २० लाख इकाइ ऋणपत्र बिक्री गर्नेछ । जसमध्ये १२ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ८ लाख इकाइ सर्वसाधारणका लागि बिक्री गर्नेछ । बैंकको ऊर्जा ऋणपत्रको अवधि १० वर्ष तोकिएको छ भने वार्षिक ५.५ प्रतिशत ब्याजदर तोकिएको छ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ ।

दुई मिडियाविरुद्ध बालेनले दिए उजुरी, क्षतिपूर्तिको माग

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दुई मिडियाविरुद्ध उजुरी दिएका छन् । उनले हिमालय टीभी र नेपाल समाचारपत्र दैनिकविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका हुन् । उनले कारबाही सहित क्षतिपूर्तिको माग गर्दै निवेदन दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । सञ्चार माध्यमहरूले व्यवसायिक पत्रकारितालाई ख्याल नगरी एकतर्फी रूपमा प्रकाशन र प्रसारण गरेको तथ्यहीन समाचारहरूले भ्रम सृजना हुनाको साथै यसबाट व्यक्तिगत र संस्थागत आँच पुगेको उनले बताएका छन् ।