विकासन्युज

बन्दाबन्दी नभए कोभिड-१९ संक्रमण दैनिक ११ हजार नाघ्ने

काठमाडौं । कोभिड-१९ को संक्रमण दैनिक ११ हजार ६०० को हाराहारीमा पुग्न सक्ने अनुमान गरिएको छ । कोरोना संक्रमण बढ्दै जाँदा बन्दाबन्दी नभएमा, सरकारले तोकेका स्वास्थ्य मापदण्डहरुको पालना पूर्ण रुपमा नभए यस्तो अवस्था आउन सक्ने अनुमान गरिएको छ । कोरोना महामारीको पहिलो र दोस्रो लहरको तथ्याङ्क विश्लेषण र पछिल्लो समयमा देखिएको संक्रमणको ट्रेनका आधारमा यस्तो अनुमान गरिएको नीति अनुसन्धान प्रतिष्ठानले जनाएको छ । यो पूर्ण सरकारी स्वामित्वको सरकारी थिङ ट्याङ्क हो । विभिन्न मुलुकमा कोभिड-१९ महामारीको अवस्था, व्यवस्थापनको अनुभव र सिकाइहरूबारे गरिएको अनुसन्धान प्रतिवेदनमा आगामी डिसेम्बरसम्म खराव, मध्यम र राम्रो हुँदा कस्तो असरपर्ला भनेर व्याख्या गरिएको छ । यसअघिको महामारीमा दैनिक ८ हजार भन्दा बढी नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । कोभिड-१९ सङ्क्रमणको विगत १८ महिनाभन्दा बढी अवधिको शृङ्खलाबद्ध तथ्याङ्क हेर्दा सङ्क्रमण बिस्तारै सुरु भएर निश्चित बिन्दुमा पुगेपछि ह्वात्तै बढ्न थाल्ने र करिब ४५ देखि ५० दिनको अवधिमा सङ्क्रमणदर उच्च रहने प्रवृत्ति देखिएको प्रतिष्ठानले जनाएको छ । ‘कोभिड-१९ को सङ्क्रमण दर कम गर्न आवागमन, बन्दाबन्दी तथा अन्य कार्यमा गरिएको कडाइ, बढ्दो सङ्क्रमण र मृत्युदरको सूचना प्रसारणसँगै मानिसहरूले अपनाउने संयम र सतर्कताले कोभिड-१९ को सङ्क्रमण फैलावटको साङ्लो तोडिने भएको हुँदा सङ्क्रमण दर मत्थर हुँदै जाने प्रवृत्ति देखिएको छ । कोभिड-१९ को सङ्क्रमणको सम्बन्धमा हामीले ध्यान दिनुपर्ने पक्ष भनेको पहिलो लहरमा सङ्क्रमण बढ्ने र घट्ने दर उस्तैउस्तै रहे पनि दोस्रो लहरमा भने सङ्क्रमणको वृद्धिदर तीव्र भयो र घट्ने दर बढ्ने दरभन्दा ढिलो देखियो । यस प्रवृत्तिको विश्लेषण गर्दा एक पटक कोभिड-१९ सङ्क्रमणमा ह्रास आएपछि पुनः अर्को लहर आउन केही समय लाग्ने देखिन्छ’ प्रतिस्ठानको प्रतिवेदनमा भनिएको छ ।

२ वर्षदेखि हुन नसकेको फर्निचर एक्स्पो भदौ अन्तिम साता हुने

काठमाडौं । आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ भदौ अन्तिम साता आयोजना हुने भएको छ । कोभिड १९ ले उत्पन्न महामारीका कारण पछिल्ला २ वर्ष आयोजना हुन नसकेको एक्स्पो अगामी भदौ २३ देखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको हो । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेण्ट सोलुसन प्रालिको व्यवस्थापनमा एक्स्पो आयोजना हुन लागेको हो । एक्स्पोले चलायमान हुन खोजिरहेको अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास आयोजकको छ । संघका अध्यक्ष शुभेन्द्र जोशीका अनुसार झण्डै डेढ वर्ष फर्निचरजन्य व्यवसाय ठप्पप्राय अवस्थामा रहेर अहिले सामान्य अवस्थामा फर्किरहेको छ । ‘यो अवस्थामा एक्सपोले व्यवसायी र उपभोक्तालाई उचित प्लेटफर्मको भूमिका निर्वाह गर्ने छ,’ जोशीले भने, ‘यति मात्र नभई एक्स्पोले आर्थिक क्रियाकलाप चलायमान बनाउन पनि योगदान पुर्याउने विश्वास लिएका छौं ।’ फर्निचर व्यवसायमा आबद्ध उद्यमी तथा व्यवसायी एक्स्पोप्रति उत्साहित रहेको पनि जोशीले बताए । पछिल्लो पटक २०७६ भदौ अन्तिम साता सातौं संस्करणको एक्स्पो आयोजना भएकोमा कोरोना महामारीका कारण पछिल्ला २ वर्षसम्म एक्स्पो आयोजना हुन सकेको थिएन । ५ दिनसम्म चल्ने एक्स्पोमा १ सय २० भन्दा बढी स्टल रहने छन् । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षण रहने आयोजकको भनाई छ । आठौं संस्करणको एक्स्पोलाई प्रेस्टिज कार्पेटले मुख्य प्रायोजन गर्नेछ । एक्स्पोमा भारत बंगलादेश, पाकिस्तान लगायत मुलुकका प्रदर्शकहरुले समेत सहभागिता जनाउदैछन् । फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ । आधुनिक जीवनशैलीको चलन बढिरहेका बेला फर्निजन्य उत्पादनको बजार बिस्तारमा पनि एक्स्पोले महत्वपुर्ण भूमिका खेल्ने बताइएको छ । एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका अनुसार एक्स्पोमा सहभागि हुनका लागि बुकिङ खुल्ला गरिएको छ । साउन २३ गतेसम्ममा स्टल बुकिङ गर्नेहरुलाई कुल लागतमा १० प्रतिशत छुटको व्यवस्था गरिएको इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए ।

एशियन लाइफले बढाएर घोषणा गर्यो नयाँ बोनसदर

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । बीमा समितिको स्वीकृतिसँगै इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नयाँ बोनदर सार्वजनिक गरेको हो । यससँगै कम्पनीले नाफामा सरिक हुने सबै जीवन बीमालेखको लागि प्रतिवर्ष प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म दिने भएको छ । अघिल्लो वर्ष कम्पनीले बीमितलाई न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिएको थियो । नयाँ बोनसदर अनुसार इन्स्योरेन्सको सावधिक तथा आजीवन बीमालेखका बीमितले न्यूनतम ५० देखि अधिकतम ७५ रुपैयाँसम्म पाउने छन् । बालबालिकाको सावधिक जीवन बीमालेखमा न्यूनतम ४० देखि अधिकतम ६० रुपैयाँ निर्धारण गरिएको छ । यसअघि यो बीमालेखका बीमितले न्यूनतम ३८ रुपैयाँ बोनसदर पाएका थिए । त्यस्तै, सावधिक जीवन बीमालेखका बीमितले पनि न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस पाउने छन् । यो बीमालेखको १४ वर्ष अवधिको ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५३ रुपैयाँ र २५ वा सोभन्दा माथिको लागि ६० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । त्यसैगरी, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा प्रतिहजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाइने छ । त्यसैगरी, नव रत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस एशियन वार्षिक धनलाभ योजनाका बीमितले न्यूनतम ४० देखि अधिकतम ६० रुपैयाँसम्म बोनस पाउने कम्पनीले जनाएको छ । साथै, बीमा समितिबाट अर्को बीमाङ्कीय मूल्याङ्कन स्वीकृत नभएसम्म कम्पनीले भुक्तानी गर्ने उक्त दाबीहरुमा समेत सोही बोनसदर कायम हुने कम्पनीले जनाएको छ ।

२०७ स्थानीय तहले ल्याउनै सकेनन् चालु आवको बजेट

काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएको तीन दिन पूरा भए पनि हालसम्म २०७ स्थानीय तहले बजेट पेश गर्न सकेका छैनन् । संविधानअनुसार स्थानीय तहले असार दोस्रो साताभित्रै बजेट पेश गर्नुपर्ने व्यवस्था छ । संविधानअनुसार हरेक वर्षको जेठ १५ गते सङ्घीय सरकारले, असार १ गते प्रदेश सरकार र असार १० गते स्थानीय तहले बजेट पेश गर्नुपर्ने व्यवस्था छ । कूल ७५३ स्थानीय तहमध्ये ५४६ स्थानीय तहले चालु आवको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको भए पनि २०७ स्थानीय तहले विभिन्न कारणले गर्दा बजेट प्रस्तुत नै गर्न सकेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रदेश नं १ का कूल १३७ स्थानीय तहमध्ये १०७ स्थानीय तहले बजेट ल्याइसकेका छन् । सो प्रदेशका ३० स्थानीय तहले भने हालसम्म बजेट प्रस्तुत गर्न सकेका छैनन् । कूल १३६ स्थानीय तह भएको मधेस प्रदेशका ६५ स्थानीय तहमा विवादका कारण चालु आवको बजेट नै प्रस्तुत हुन सकेको छैन । उक्त प्रदेश मातहतका ७१ स्थानीय तहले भने असारको दोस्रो साता नै बजेट प्रस्तुत गरेका थिए । सङ्घीय राजधानीसमेत रहेको बागमती प्रदेशका पनि ३४ स्थानीय तहको बजेट तोकिएको समयमा पेश हुन सकेको छैन । सो प्रदेशको कूल ३४ स्थानीय तहमा बजेट पेश भएको छैन । कूल ११९ स्थानीय तहमध्ये ८५ स्थानीय तहले भने तोकिएको समयमा नै चालु आवको नीति तथा कार्यक्रम र बजेट पेश गरिएको थियो । गण्डकी प्रदेशका कूल ८५ स्थानीय तहमध्ये ७६ स्थानीय तहले बजेट प्रस्तुत गर्दा नौ तहको भने बाँकी देखिन्छ । लुम्बिनी प्रदेशका कूल १०९ स्थानीय तहमध्ये ८४ वटाले बजेट ल्याएका छन् भने २५ वटाको हालसम्म सुुरसार नै देखिँदैन । केहीको भने विवाद देखिएको छ । कर्णाली प्रदेशका कूल ७९ स्थानीय तहमध्ये ६० वटाले बजेट ल्याए भने १९ वटाको अझै बाँकी देखिन्छ । सुदूरपश्चिम प्रदेशको कूल ८८ स्थानीय तहमध्ये ६३ वटाले बजेट ल्याउँदा २५ वटाको अझै पनि बाँकी छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असार ३१ गते नै बजेट स्वीकृत भएको विवरण अध्यावधिक गराउन सबै स्थानीय तहलाई आग्रह गरिसकेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ उपदफा ६ बमोजिम नगर वा गाउँ सभाले असार मसान्तभित्र आगामी आवको बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ तर, ती स्थानीय तहले हालसम्म पनि यसअनुसार बजेट प्रस्तुत गरेका छैनन् । रासस

इस्लामाबादको सिन्धु नदीमा डुङ्गा दुर्घटना, २३ जनाको मृत्यु

इस्लामाबाद । एकसय जनाभन्दा बढी विवाहका पाहुना बोकेको डुङ्गा रहिम यार खान शहर नजिक सिन्धु नदीमा डुब्दा २३ जनाको मृत्यु भएको छ भने २६ जना हराइरहेका छन् । राज्य सञ्चालित उद्धार सेवाका ३५ जना गोताखोर खोजी तथा उद्धारमा खटिएका र उनीहरूले ९० जनालाई उद्धार गरेका सरकारी अधिकारीहरूले बताएका छन् । क्षमताभन्दा बढी यात्री बोकेका कारण डुङ्गा डुबेको अनुमान गरिएको छ । दुर्घटनामा ज्यान गुमाउने अधिकांशमा महिला छन् । आपत्काल व्यवस्थापन प्राधिकरणका अनुसार १९ जना महिलाको शव नदीबाट निकालिएको छ । डुङ्गामा धैरे महिला र बालबालिका सवार थिए । गत साता सरकारले निरन्तर वर्षा भइरहेकाले नदीतटमा नजान सर्वसाधारणलाई आग्रह गरेको थियो ।

मंगलबार ३५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । मंगलबार एकैदिन ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ३ हजार ३५७ वटा नमूना परीक्षण गर्दा ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएका हो । यस्तै आज ६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ ।

नवलपरासीमा सामुदायिक मिर्गौला डायलाइसिस सेवा केन्द्र बनाइने

परासी । नवलपरासी-बर्दघाट सुस्ता पश्चिम)मा पहिलो पटक सामुदायिक मिर्गाैला डायलाइसिस सेवा केन्द्र स्थापना हुने भएको छ । आगामी दसैँ अगाडि नै सञ्चालनमा ल्याउने गरी सुनवलमा सेवा केन्द्र स्थापना गर्न लागिएको हो । नवलपरासी सामुदायिक मिर्गौला डायलाइसिस सेवा केन्द्र स्थापना तथा सञ्चालनका लागि सुनवल नगरपालिका र बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालबीच दुईपक्षीय सम्झौता गरी तयारी थालिएको सुनवल नगरपालिकाकी प्रमुख बिमला अर्यालले जानकारी दिए । जिल्लामै मिर्गाैला डायलाइसिस सेवा नहुँदा यहाँका बिरामी बुटवल, भैरहवा, चितवन वा काठमाडौं जानुपर्ने बाध्यता थियो। हाललाई दश वटा उपकरणसहित सुनवलको बालमैत्री सिकाइ केन्द्रको भवनमा डायलाइसिस सेवा सञ्चालन गर्ने गरी काम थालिएको उल्लेख गर्दै उनले भने, ‘सेवा केन्द्रको स्थायी संरचना नहुँदासम्मका लागि सिकाइ केन्द्रको भवनमा सञ्चालन गर्न लागेका छौँ, यसबाट मिर्गाैलापीडित बिरामीले जिल्ला बाहिर गएर सेवा लिनुपर्ने बाध्यता हट्नेछ ।’ सुनवलमा स्थापना हुने सेवा केन्द्रबाट सुनवलसहित पश्चिम नवलपरासीका मिर्गाैलापीडित बिरामीले सेवा पाउने छन् । करिब पाँच करोडको लागतमा स्थापना हुने उक्त केन्द्रमा दैनिक बीस बिरामीको नियमित डायलाइसिस गरिने र बिरामीको चाप बढ्दै गए सेवा सुविधा पनि विस्तार गरिने गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए । उनका अनुसार पश्चिम नवलपरासी जिल्लाबाट ४२ बिरामी नियमित डायलाइसिसका लागि बुटवलको मुटु अस्पतालमा जाने गरेका छन् । त्यसमध्ये अधिकांश सुनवलका बिरामी रहेकोले पनि सेवा केन्द्र सुनवलमा सञ्चालन गर्न लागिएको होे । सेवा केन्द्रमा तालिम प्राप्त विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरिने नगरपालिकाले जनाएको छ । मिर्गाैलापीडित रेकबहादुर गुरुङ्ले जिल्लामै सेवा केन्द्र स्थापना हुनु खुसीको कुरा भएको र अब टाढा जान नपर्ने भएकोले राहत हुने बताए । रासस

अब प्रोग्रेशिभ फाइनान्सबाट पनि डिम्याट खाता खोल्ने सकिने

काठमाडौं ।  प्रोग्रेशिभ फाइनान्सले सीडिएस एण्ड क्लियरिङ ९सिडिएससि०सँग निक्षेप सदस्यता सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता पश्चात प्रोग्रेशिभ फाइनान्सका ग्राहकहरुलाइ डिम्याट खाता खोल्ने सुविधा उपलब्ध हुनेछ । आज भएको सम्झौतामा प्रोग्रेशिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँई तथा सीडिएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले हस्ताक्षर गरे । उक्त अवसरमा प्रोग्रेशिभ फाइनान्सका प्रमुख सञ्चालन अधिकृत प्रमोद भट्टराई तथा सीडिएससिका सञ्चालन विभाग प्रमुख कन्चन सापकोटाको पनि उपस्थिति रहेको थियो । एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, क्यू आर पेमेन्ट, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डीजीटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले हाल १७ वटा शाखा तथा ४ वटा विस्तारित काउन्टरहरु मार्फत सम्पूर्ण बैकिङ सेवाहरु प्रवाह गरिरहेको छ ।