सातामा ११३ अंकले बढ्यो नेप्से परिसूचक, सेयर कारोबार तीनदिन यताकै सर्वाधिक
काठमाडौं । पछिल्लो एक सातादेखि सेयर बजार निरन्तर रुपमा बढी रहेको छ । असार २७ गतेदेखि निरन्तर उकालो लागेको नेप्से परिसूचक हालसम्म ११३.८२ बिन्दुले बढीसकेको छ । साउन ३ गतेको बजारमा परिसूचक १६.२७ अंकले बढेर २०४५.६९ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.८० प्रतिशतले बढी हो । मंगलबारको बजारमा गत तीन दिन यताकै उच्च कारोबार भएको छ । दिनभरको कारोबारमा २ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक अर्थात १५ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सर्वाधिक कारोबारसँगै कम्पनीको सेयर मूल्य पनि १९.६० रुपैयाँले बढेर प्रतिकित्ता ७८४.६० रुपैयाँ पुगेको छ । त्यस्तै, एभरेष्ट बैंकको १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बैंकको पनि सेयर मूल्य १२.९० रुपैयाँले बढेर प्रतिकित्ता ४५७.९० रुपैयाँ पुगेको छ । मंगलबार इमर्जिङ नेपालको सेयर मूल्य सबैभन्दा बढी अर्थात ८.०१ प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ६२ रुपैयाँले बढेर प्रतिकित्ता ८३६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । पछिल्लो समय दोश्रो बजारमा ऋणपत्रको मूल्य घट्दो क्रममा रहेको छ । सबैभन्दा बढी गुमाउनेको सूचीमा सिभिल बैंकको डिबेन्चर २०८८ रहेको छ । जसको मूल्य एकैदिन ७.७५ प्रतिशतले घटेर प्रतिकित्ता ७७.५० रुपैयाँमा झरेको छ । बजारमा कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । जसमध्ये लघुवित्त समूह सबैभन्दा बढी अर्थात ८१.६२ अंकले बढेको छ ।
असार मसान्तमा बैंकहरुको रिकभरी राम्रो, नाफा प्रभावित नहुने, प्रोभिजन पनि बढेन
काठमाडौं । असार मसान्तमा बैंकहरूको ‘लोन रिकभरी’ (कर्जा असुली) सन्तोषजनक देखिएको छ । यसअघि धितो पनि बिक्न नसक्ने र सावाँ ब्याज पनि असुल हुन नसक्ने अवस्था रहेको बताउँदै आएपनि असार मसान्तमा भने बैंकहरूको रिकभरी राम्रो देखिएको हो । बैंक तथा वित्तीय संस्थामा तरलता समस्याको कारण बैंकहरूको खराब कर्जा बढ्ने अनुमान गरिएको बेला लोन रिकभरी राम्रो भएको बैंकरहरू बताउँछन् । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संकटमा परेको व्यवसाय र वर्तमान रुस–युक्रेनबीचको युद्धले समस्या हुँदा अर्थतन्त्रमा समस्या भइरहेको बेला त्यसको प्रत्यक्ष मार बैंकहरुलाई पर्दा रिकभरीमा पनि समस्या हुने आँकलन धेरैको थियो । रिकभरी नहुँदा प्रोभिजनिङ पनि बढ्ने अनुमान थियो । यही समयमा बैंकिङ क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकले नियमनमा कडाइ गरेपछि बैंकहरु तनावमा थिए । बैंकरहरू ऋण असुल गर्न नसकेर र धितो पनि बिक्री नहुँदा चौथो त्रैमासमा बैंकहरुको नन् बैंकिङ एसेट (एनपीए) पनि बढ्न सक्ने बताउँदै आएका थिए । तर, असार मसान्तमा बैंकहरुले अन्य विषयलाई खासै प्राथमिकता नदिई रिकभरीमै ध्यान दिँदा चौथो त्रैमास सोचेभन्दा राम्रो भएको बैंकरहरुको धाररणा छ । माछापुच्छ«े बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सर्जुकुमार थापा असार मसान्तमा ऋण असुली सन्तोषजनक रहेको बताउँछन् । उनका अनुसार बैंकहरुले असारमा रिकभरीमै केन्द्रीत हुँदा लक्ष्य अनुरुपको रिकभरी गर्न सफल भएका हुन् । ‘चौथो त्रैमासमा ओभरअल रिकभरी राम्रै भयो, असार मसान्तमा सबै बैंकहरू रिकभरीमा लागे, सबै हिसाब मिलाउनमै केन्द्रीत भए, हुन त अन्य त्रैमासको तुलनामा चौथो त्रैमास राम्रै हुन्छ, रिकभरी हुन नसकेर खराबकर्जा बढ्ने धेरैको अनुमान थियो तर, सोचेभन्दा फरक भयो,’ उनले भने । उनका अनुसार अटोलोन, निर्माण व्यवसाय र पर्यटन क्षेत्रमा प्रवाह भएको केही कर्जा बाहेक अन्य क्षेत्रमा प्रवाह भएको कर्जा राम्रै असुल भएको छ । बैंकहरूले प्रोभिजन पनि धेरै गर्नु नपरेको उनको धारणा छ । यसअघि खराबकर्जा बढेर धेरै प्रोजिन गर्नु पर्ने अनुमान गरिएको भएपनि रिकभरी राम्रै हुँदा प्रोभिजन पनि खासै धेरै गर्नु पर्ने अवस्था नदेखिएको उनको भनाइ छ । अहिले विभिन्न बैंकका सीईओहरू असार मसान्तमा आएर बैंकहरुको रिकभरी सन्तोषजनक नै भएको र प्रोभिजनको अवस्था हेरेर नाफाको तथ्यांक पनि बैंकहरुको राम्रै आउन सक्ने सम्भावना रहेको धारणा राख्छन् । उनीहरूका अनुसार होटेल तथा पर्यटन, निर्माण र अटो सेक्टरबाहेक अन्य क्षेत्रको रिकभरी राम्रो भएकोले पनि नाफामा खासै असर पर्ने छैन । यस्तै, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ पनि चौथो त्रैमासमा रिकभरी राम्रै भएको बताउँछन् । ‘यसअघिका त्रैमासहरूको मुल्यांकनका आधारमा र वर्तमान अर्थतन्त्रलाई केलाउँदा कर्जा असुल हुन नसकेर बैंकिङ क्षेत्रमा प्रोभिजन बढ्ने देखिएको थियो तर, अहिले तथ्यांक हेर्दा खासै बढ्ने अवस्था छैन, धेरैले राम्रै रिकभर गरेका छन्, उत्कृष्ट छैन तर, सन्तोषजनक छ, तथ्यांक आउन केही दिन लाग्ला तर, सबैको ठीकै भएको देखिन्छ,’ उनले भने । उनका अनुसार एभरेष्ट बैंकको पनि रिकभरी सन्तोषजनक छ । प्रोभिजन पनि खासै बढेको छैन । बैंकिङ क्षेत्रमा औसत २ प्रतिशतभन्दा कम नै गरी प्रोभिजन गर्नु पर्ने हुन सक्ने उनको अनुमान छ । साउन १५ गतेअघि नै बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/०७९ को अपरिष्कृत वित्तीय विवरण राष्ट्र बैंक पठाउनु पर्ने हुन्छ । साथै राष्ट्र बैंकको प्रवधानअनुसार आर्थिक वर्ष सकिएको महिना दिनभित्र वित्तीय विवरणसमेत सार्वजनिक गर्नुपर्ने प्रावधान छ । रिकभरी राम्रो भएसँगै नाफामा पनि खासै असर परेको छैन । बैंकहरुको नाफा पनि यसअघिको त्रैमासको हाराहारीमै भएको उनीहरुको भनाइ छ । सानिमा बैंकका सीईओ निश्चल पाण्डेयले पनि बैंकहरुको रिकभरी राम्रै भएको धारणा राखे । उनका अनुसार उत्साहजनक अवस्थामा नभएपनि पोष्ट कोभिडको अवस्थामा सन्तुष्ट हुने किसिमको रिकभरी रहेको धारणा राखे । ‘हुन त अहिले पनि बैंकिङ क्षेत्रमा दबाब कायमै छ तर, यो अवस्थामा पनि रिकभरी राम्रै देखिन्छ, आत्तिनु पर्ने अवस्था छैन, उत्साहजनक नभएपनि सन्तुलजन अवस्थामा बैंकहरु देखिन्छन्,’ उनले भने । वाणिज्य बैंकहरूले चैत मसान्तमा साढे ५४ अर्ब रूपैयाँ प्रोभिजन गरेका थिए । बैंकहरूको खराब कर्जा बढ्दा नाफामा पनि ह्रास आउने गर्छ भने प्रतिफल पनि राम्रो दिन सक्दैनन् । बैंक तथा वित्तीय संस्थाले निश्चित समयका लागि ऋणीलाई प्रदान गरेको ऋण तोकिए अनुसारको समय सीमामा असुल नभएमा बैंक तथा वित्तीय संस्थाले सो कर्जालाई खराब कर्जा रूपमा गणना गर्छन् ।
तातो हावाबाट स्पेनमा ५१० जनाको मृत्यु
स्पेनमा केही दिनदेखि प्रचण्ड गर्मी भएको छ । तातो हावाबाट धेरैजनाको ज्यान गइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थय मन्त्रालयका अनुसार सोमबारसम्ममा तातो हावाबाट ज्यान जाने संख्या पाँचसय १० पुगेको छ ।देशका विभिन्न भागको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ भने गर्मीका कारण मानिसहरुको ज्यान जाने क्रम पनि रोकिएको छैन। यही जुलाई १० तारिखदेखि गर्मी सुरु भएको हो । गर्मीका कारण यहाँको जनजीवन निकै कष्टकर बनेको छ ।स्वास्थ्य मन्त्रालयले तातो हावा सुरु भएको हप्ता जुलाई १० देखि १६ तारिखसम्ममा १५० जनाको ज्यान गएको जनाएको छ । त्यसयता पनि तातो हावाको असरले ज्यान जाने क्रम नरोकिएको भन्दै अधिकारीहरुले सोमबारसम्म ५१० जनाको मृत्यु भएको बताएका छन् । गर्मीका कारण ज्यान गुमाउने अकिांशमा ज्येष्ठ नागरिक छन् । उनीहरुमध्ये ३२१ जना ८५ वर्षभन्दा माथिका नागरिक हुन् । गर्मी अझै बढ्ने अनुमान गरिएको र त्यसबाट ज्यान जानेको संख्या थप बढ्न सक्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले सूचना जारी गरेको छ ।
हेटौँडा उपमहानगरमा कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम
बागमती । हेटौँडा उपमहानगरपालिकामा यही शैक्षिक सत्रबाट उपमहानगरपालिकाअन्तर्गतका विद्यालयमा कक्षा १ देखि कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम लागू गरिने भएको छ । ती कक्षामा ‘हाम्रो हेटौँडा’ नामक स्थानीय पाठ्यक्रम लागू हुने हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले जानकारी दिए । हाम्रो हेटौँडा नामको उक्त पुस्तकको छपाइ भइरहेको बताइएको छ । सो पुस्तकमा स्थानीयस्तरको शैक्षिक ज्ञान र सीप, प्रविधि, पेशा, संस्कृति, प्राकृतिक पक्ष, संरक्षण तथा प्रवद्र्धनको विषय समेटिएको छ । उक्त विषयको संरक्षणको जिम्मेवारी स्थानीय सरकारमा रहने भएकाले स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको उहाँको भनाइ थियो । उपमहानगरमा ७६ सामुदायिक र ५० निजी गरी १२६ विद्यालयका शिक्षकलाई नयाँ पाठ्यक्रमबारे जानकारी गराइएको उपमहानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख गङ्गाधर रिमालले जानकारी दिए । एक सय ६० पूर्णाङ्क रहेको सो पाठ्यक्रममा कक्षा १ देखि ३ सम्म हप्तामा पाँच घण्टा अध्ययन गर्नुपर्ने व्यवस्था रहेको प्रमुख रिमालले भने । त्यसमा ६० प्रतिशत सैद्धान्तिक तथा ४० प्रतिशत अङ्क प्रयोगात्मक रहने बताइएको छ । रासस
डुम्रे–बेँशीसहर सडक खुले पनि जोखिम कायमै
लमजुङ । गएरातिदेखि बाढीपहिराले अवरुद्ध बनाएको डुम्रे बेँशीसहर सडकखण्ड सञ्चालनमा आएको छ । उक्त सडकअन्तर्गत बेँशीसहर नगरपालिका– १ उदिपुरको देउरालीडाँडा पहिराले अवरुद्ध बनेको सडकको पहिरो हटाएसँगै आज बिहान साढे १० बजेदेखि सञ्चालनमा आएको हो । लमजुङस्थित डुम्रे–बेँशीसहर–चामे सडक योजना कार्यालयका प्रमुख अच्चुतविलास पन्तका अनुसार वैकल्पिक रुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजारसम्म जोडिने यस भागमा माथिबाट लेदो आएर अवरुद्ध भागको लेदो निकालेसँगै पुनःसवारी सञ्चालनमा आएको हो । यहाँ एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको उनको भनाइ थियो । माथिबाट लेदो आएको थियो भने तल मस्र्याङ्दी नदीले कटान गर्दा सडक नै भासिएको थियो । सडक सञ्चालनसँगै सवारीसाधन आवतजावत गरिरहेपनि यात्रा भने कष्टकर भइरहेको छ । सो स्थानमा सवारीसाधन फस्ने र निकाल्ने गर्दै सवारी सञ्चालन हुँदा यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य भइरहेका छन् । माथिबाट कुनै पनि बेला पहिरो खस्न सक्ने र तल सडक नै भासिन सक्ने अवस्थामा रहेको बताइएको छ । उक्त स्थानमा सडक तल र मस्र्याङ्दी नदी माथि भागमा तारजाली हाल्न र व्यवस्थित बनाउन लागिएको कार्यालय प्रमुख पन्तको भनाइ थियो । गतवर्ष र गत असारको पहिलो हप्ता गएको बाढीले डुम्रे बेँशीसहरको देउराली डाँडाको सडक नै बगाएपछि उक्त स्थान वैकल्पिक सडकको रुपमा सञ्चालन हुँदै आएको छ । सो सडक ४२ किलोमिटर दूरीको छ । रासस
जोरपाटीमा बोरिङ खनेको ठाउँबाट निस्कियो ग्यास
काठमाडौं । काठमाडौंको जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्याससहितको लेदोमाटो निस्किएको छ । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा बिहान ९ः३० बजेको समयमा लेदो माटोसहितको फोहरा निस्किएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जोरपाटी चोक नजिक बिहान ३०० फिट खनेपछि सुरुमा ग्यासजस्तो पदार्थ देखिएको र पछि लेदो मिसिएर आएको जानकारी दिए । उनका अनुसार यो क्रम अहिले पनि जारी रहेको छ । यसरी निस्किएको फोहरा घरभन्दा माथि पुगेकाले वरपरका अन्य केही घरमा समेत लेटोमाटो पुगेको छ । उक्त घटनाको अनुसन्धानका लागि खानी तथा भूगर्भ विभागका अधिकारीलाई बोलाइएको प्रहरीले जनाएको छ । अहिले सो क्षेत्र सुरक्षा सतर्कता अपनाइएको छ ।
प्राइम लाइफबाट विदा भए सीइओ मनोज भट्टराई
काठमाडौं । आठ वर्षसम्म प्राइम लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनको नेतृत्व गरेका मनोजकुमार भट्टराईले विदा भएका छन् । दुई कार्यकालभन्दा बढी प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुन नपाइने नियमअनुसार भट्टराईले कम्पनी व्यवस्थापनको नेतृत्व छाडेका हुन् । भट्टराईको दोस्रो कार्यकाल गत असार मसान्तसम्म थियो । बीमा र बैंकिङ क्षेत्रमा झण्डै तीन दशकभन्दा बढी काम गरिसकेका भट्टराईले व्यवस्थापकीय नेतृत्व समालेपछि प्राइम लाईफ इन्स्योरेन्सले गति लिएको थियाे । यस्तै, कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीइओ) चिरायु भण्डारी पनि विदा भएका छन् । भण्डारी दुई वर्षे करार अवधि पुरा गरि विदा भएका हुन् ।
कारबाहीको डरले बैंकहरूले एक सातामै कायम गरे सीडी रेसियो, कुनको कति ?
काठमाडौं । वाणिज्य बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८६.४१ प्रतिशत देखिएको छ । नेपाल बैंकर्स संघका अनुसार असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल सीडी रेसियो ८६.४१ प्रतिशत देखिएको हो । असार मसान्तसम्म सबैभन्दा बढी सीडी रेसियो नबिल बैंकको छ भने सबैभन्दा कम सीडी रेसियो प्रभु बैंकको छ । नबिल बैंकको सीडी रेसियो ८९.७९ प्रतिशत देखिएको छ भने सबैभन्दा कम सीडी रेसियो भएको प्रभु बैंकको ७८.३५ प्रतिशत छ । यस्तै, ग्लोबल आईएमई बैंकको ८९.२७ प्रतिशत, हिमालयन बैंकको ८८.८ प्रतिशत, कृषि विकास बैंकको ८८.७९ प्रतिशत र बैंक अफ काठमाण्डूको ८८.२१ प्रतिशत सीडी रेसियो देखिएको छ । कुनको कति ?