स्याङ्जाको मिर्मिमा नेपाल टेलिकमको एफटिटिएच सुरु, गल्याङ कपर फ्रि
काठमाडौं । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको मिर्मिमा अप्टिकल फाइबरमा आधारित उच्च गतिको फाइबर टु द होम एफटिटिएच सेवा सुरु गरेको छ । यसका साथै टेलिकमे गल्याङमा पुरानो तामाको तारबाट सञ्चालित सबै सेवाहरु पूर्ण एफटिटिएचमय बनाइ कपर फ्रि नेटवर्क बनाएको छ । कपर फ्रि नेटवर्क हुँदा अव्यवस्थित तारहरुलाई व्यवस्थित गर्न समेत सहज हुने गर्दछ । तामाको तारमा आधारित नेटवर्कको सट्टा अप्टिकल फाइबरमार्फत एउटै रेशाबाट ब्रोडब्याण्ड इन्टरनेट, भ्वाइस, टेलिभिजन तथा मोबाइल डेटा उपलब्ध हुनेगरि सेवा उपलब्ध गराइएकोले उपभोक्तालाई सहज भएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रमुख इन्दल यादवले बताए । गण्डकी प्रदेशका सहरी तथा ग्रामीण क्षेत्रका अधिकांश ठाँउहरुमा एफटिटिएच सेवा क्रमिक विस्तार गर्दै उपभोक्ता लक्षित सेवा उपलब्ध गराइने उनले बताए । त्यसैगरि, नेपाल टेलिकम सरकारी स्वामित्वको संस्था भएकाले सहुलियत दरअनुसारकै ुउच्च गति न्यून दर” को एफटिटिएच सेवा उपलब्ध गराईएको दूरसञ्चार कार्यालय पोखराका प्रमुख रवि मानन्धरले बताए । यस सेवामार्फत उपभोक्ताले आफ्नो इच्छा अनुसार इन्टरनेटको स्पिड प्राप्त गर्न सक्नेछन् । सामान्य घरमा प्रयोग हुने ८ एमबिपिएसदेखि लिएर स्कुल तथा कलेजलाई आवश्यक पर्ने ८० एमबिपिएस स्पिडसम्मको उच्च गतिको फाइबर इन्टरनेट सस्तो दरमा प्राप्त गर्न सकिने टेलिकम कार्यालय गल्याङका कार्यालय प्रमुख राम राज उपाध्यायले बताए । उनका अनुसार वार्षिक प्याकेज अनुसार यो सेवा लिने ग्राहकले पिएसटिएन टेलिफोनको न्युनतम मासिक महसुल वर्षैभरी निःशुल्क प्राप्त गर्नुको साथै अन्य छ प्रकारका सेवाहरु समेत निःशुल्क पाउने बताए ।
‘कार्ट्समान्डु सिलालम टुर्नामेन्ट’मा दिगविजय अधिकारी विजयी
काठमडाैं । धुलिखेलमा सम्पन्न कार्ट्स रेसिङ कम्पिटिसन ‘कार्ट्समान्डु सिलालम’ मा डिगविजय अधिकारीले बाजी मारेका छन् । यस्तै विवेश श्रेष्ठ र फेलिक्स भ्यान रिसन दाेस्राे र तेस्राे भएका छन् । वियजीलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टङक लाल घिसिङ, एफ आई ए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, राखेपका बोर्ड सदस्य अन्जन धमला र नासा नेपालका अध्यक्ष दशरथ रिसालले उपाधि र प्रमाण पत्र प्रदान गरेका थिए । यसअघि तालिम प्राप्त करिब ३० नेसनल ड्राइभरहरु सहभागी भएका क्वालिफाइङ्ग राउण्डमा विजय भएका उत्कृष्ट ८ ड्राइभरहरु फाइनल राउण्डमा पुगेका थिए । फाइनल राउण्डमा डिगविजय अधिकारी, बिबेश शेष्ठ ,फेलिक्स भ्यान रिसन, दिप्रस शाक्य, सन्जोक लामा तामाङ, जय प्रताप मास्के, रोनिस मर्हजन र अनुज श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । विजयी टोलीलाई सिङगापुरको के एफ वान सर्किटमा काटिर्ङको अवसर प्रदान गरिने नासा नेपालले घोषणा गरेको छ ।
एसवाई प्यानलले टिकटक प्रतियोगिता गर्दै, प्रथमलाई डेढ लाख रुपैयाँ पुरस्कार
काठमाडौं । कोरियन प्रविधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यान नेपालले टिकटक प्रतियोगिता गर्ने भएको छ । कम्पनीले साउन ६ गतेदेखि सो प्रतियोगिता गर्न लागेको हो । प्रतियोगीले कम्पनीको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियो बनाउनु पर्ने कम्पनीका महाप्रबन्धक बिमलराज गोसाईले जानकारी दिए । उक्त भिडियो टिकटकमा यही साउन ६ गतेदेखी आगामी भदौ ६ गतेसम्म पोष्ट गरिसक्नुपर्नेछ । कम्पनीका अनुसार पहिलो विजेताले डेढ लाख रुपैयाँ पाउने छन् । यस्तै, कम्पनीले दोस्रो हुने दुइ जनालाई प्रतिव्यक्ति १(१ लाख नगद रुपैयाँ, तेस्रो हुने ३ जना छानी प्रतिव्यक्ति ७५(७५ हजार, चौथो हुने ४ जनालाई प्रतिव्यक्ति ४० हजार र पाचौं हुने ५ जनालाई प्रतिव्यक्ति ३० हजार रुपैयाँका दरले नगद दिइने जनाएको छ । कम्पनीको अनुसार प्रतियोगिताबाट उत्कृष्ट भिडियोहरूलाई छनौट ३० प्रतिशत लाइकको आधारमा, ४० प्रतिशत सिर्जनात्मक तथा निर्णायकको आधारमा र ३० प्रतिशत धेरै भिउज, धेरै शेयर र कमेन्टको आधारमा गरिनेछ । छनोट भएका प्रतियोगिहरुलाई भदौ १० गते पुरस्कार वितरण गरिने कम्पनीले जनाएको छ ।
पोखरा महानगरले निजी शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउँदै
कास्की । पोखरा महानगरपालिकाले व्यक्ति तथा निजी कम्पनीका शौचालयहरूलाई सर्वसाधारणले निःशुल्क प्रयोगका लागि उपयोगमा ल्याउने भएको छ । देशकै पर्यटकीय सहर पोखराको मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेको अवस्थामा महानगरले निजी शौचालयलाई समेत सार्वजनिक प्रयोगमा ल्याउने तयारी गरेको हो । महानगरले सार्वजनिक सूचना जारी गरी सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिन इच्छुक व्यक्ति तथा संस्थालाई साउन मसान्तभित्रमा महानगरमा निवेदन दिन आग्रह गरेको छ । सार्वजनिकरूपमा निःशुल्क उपयोग गर्न दिएवापत त्यस्ता व्यक्ति वा संस्थालाई महानगरबाट उपलब्ध हुने सेवासुविधामा प्राथमिकता दिने गरी नीतिगत व्यवस्था महानगरले गरेको छ । सहरका मुख्य र व्यस्त सडकमा अवस्थित व्यक्तिका निजी घर, बैंक, वित्तीय संस्था, होटल, रेष्टुरेण्टलगायतका व्यावसायिक, गैरव्यावसायिक वा पेशागत संस्था र कम्पनीले आफ्नो स्वामित्वमा रहेका शौचालय सर्वसाधारणलाई प्रयोग गर्न दिनका लागि इच्छुकहरूसँग सूचना आह्वान गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले बताए । उनले भने, ‘महानगरले शौचालय प्रयोग गर्न दिन मञ्जुर व्यक्ति वा संस्थालाई साउन मसान्तसम्म निवेदन दिन भनेको छ, त्यस्ता शौचालयमा आवश्यक पर्ने सफाइ एवं स्यानिटरी सामग्रीमा महानगरले लागत सहभागिता जनाउने छ ।’ सार्वजनिक शौचालयका बारेमा सर्वसाधारणको जानकारीका लागि यस्ता स्थानमा विशेष पहिचानयुक्त लोगोे वा सङ्केत राख्ने गरी कार्यपालिका बैठकबाट निर्णय भएको छ । शौचालय प्रयोग गर्न दिने व्यक्ति, संस्था वा कम्पनीको विवरण महानगरको वेबसाइटमा राखिने बताइन्छ । पोखराका मुख्य सहरी क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणलाई असहज हुँदै आएको छ । महानगरले सार्वजनिक शौचालय निर्माणका लागि जग्गा नभएकाले काम अघि नबढेको जनाएको छ । रासस
हिमालयन एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा न्यौपाने नियुक्त
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको कम्पनी सचिवमा ध्रव प्रसाद न्यौपाने नियुक्त भएका छन् । साउन १ गते बसेको कम्पनी सञ्चालक समितिले नायव महाप्रबन्धक न्यौपानेलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । यससँगै न्यौपानेले नायव महाप्रबन्धक र कम्पनी सचिव दुबैको जिम्मेवारी सम्हाल्ने छन् । साविक हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार भएको हो ।
वित्तीय विवरण सार्वजनिक गर्नेमा आरएसडीसी लघुवित्त पहिलो, अधिकांश सूचकमा देखियो सुधार
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले गत वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । यससँगै आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण गर्नेमा आरएसडीसी लघुवित्त पहिलो बनेको छ । उक्त विवरण अनुसार संस्थाले एक वर्षको अवधिमा १३ करोड ५२ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ४८.५७ प्रतिशतले बढी हो । संस्थाले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ९ करोड १० लाख रुपैयाँ बराबरको नाफा कमाएको थियो । समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ४६.४० प्रतिशत बढेर २३ करोड ८२ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि १२ करोड ९० लाख रुपैयाँबाट बढेर १९ करोड ३१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संस्थाको प्रतिसेयर आम्दानी ४.३५ रुपैयाँले बढेको छ । अघिल्लो वर्ष १२.४४ रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी बढेर १६.७९ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ छ । हाल संस्थाको चुक्ता पुँजी बढेर ८० करोड ५१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, जगेडा कोषको रकम ६ करोड ७२ लाख रुपैयाँले बढेर ९ करोड ५० लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा ४१ प्रतिशतले बढी हो । समीक्षा अवधिमा लघुवित्तले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ४ अर्ब ६४ करोड रुपैयाँ लिएको छ भने ८६ लाख रुपैयाँ मात्रै कर्जा लगानी गरेको छ । जुन गत वर्ष क्रमशः ३ अर्ब ७ करोड रुपैयाँ र ४७ लाख रुपैयाँ थियो । यससँगै संस्थाको निष्कृय कर्जा पनि ०.९९ प्रतिशतबाट ०.४९ प्रतिशतमा झरेको छ ।
सरकारी कार्यालयले गाडी किन्न नपाउने, ठेकेदारले नै ५ वर्षसम्म आयोजनाको मर्मत गर्नुपर्ने
काठमाडौं । अर्थमन्त्रालयले चालु आर्थिक वर्षको लागि विनियोजित गरेको बजेट कार्यान्वयनको सन्दर्भमा नयाँ मार्गदर्शन जारी गरेको छ । ७० वटा बुँदामा जारी गरिएको मार्गदर्शनमा सरकारी कार्यालयले नयाँ सवारी साधन खरिद गर्न नपाइनेदेखि ५ करोड माथिका ठेक्काको ५ वर्षसम्म ठेकेदारले नै मर्मत सम्भार गर्नुपर्ने लगायतका धेरै विषयहरुलाई समेटिएका छन् । धेरै शिर्षकमा खर्च गर्नुपर्ने तर एकमुष्ट रुपमा बजेट विनियोजन गरिएको भए त्यस्तो बजेट असोज मसान्तभित्र बाँडफाँड गरिसक्नुपर्ने र सम्बन्धित शिर्षकमा विनियोजित गरिएको रकम फागुन मसान्तभित्र खर्च गर्न नसकेमा चैत १५ भित्र समर्पण(सरेन्डर) गरिसक्नुपर्ने मन्त्रालयद्वारा जारी मार्गदर्शनमा उल्लेख गरिएको छ । संघीय सरकारले प्रदेश तथा स्थानीय सरकारले कार्यान्वयन गर्नेगरी शसर्त रुपमा हस्तान्तरण गरेका कार्यक्रमहरुको प्रगति विवरण त्रैमासिक विवरण मंसिर १५, चैत १५ र असार १५ गतेभित्र कोष तथा लेखा नियन्त्रक कार्यालयमा बुझाउनुपर्ने छ । जारी गरिएको मार्गदर्शनअनुसार कार्यक्रम तथा आयोजनाहरुको निमित्त नियमावली, कार्यविधि, निर्देशिका र मापदण्ड जस्ता कुराहरु निर्माण गर्नुपर्ने भएमा साउन मसान्तभित्र बनाउनुपर्ने छ । योजना तथा कार्यक्रम कार्यन्वयन अवधिभरको लागि नयाँ जनशक्ति आवश्यक पर्ने भएमा साउन मसान्तभित्र स्वीकृत गराइसक्नुपर्ने र आयोजना कार्यान्वयनको लागि आवश्यक तयारी पूरा गरी साउन मसान्तभित्र बोलपत्र आह्वान गरिसक्नुपर्ने र असोज मसान्तभित्र ठेक्का सम्झौता गर्नुपर्ने कुरा मन्त्रालयद्वारा जारी मार्गदर्शनमा उल्लेख गरिएको छ । मार्गदर्शनअनुसार पुँजीगत खर्चको मासिक प्रगति अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्ने र स्वीकृत कार्यक्रममा नपरेका आयोजनाहरुमा रकमान्तर गर्न पाईंदैन । १० करोड भन्दा माथिका आयोजनाहरु राष्ट्रिय सतकर्ता केन्द्रबाट प्राविधिक रुपमा परिक्षण गराउनुपर्ने छ । त्यस्तै सरकारी भवनहरु निर्माण र सजावट सहरी विकास मन्त्रालयले निर्माण गरेको मापदण्डअनुसार गर्नुपर्ने छ । ५ करोड भन्दा माथिका आयोजनाको ठेक्का सम्झौता गर्दा निर्माण सम्पन्न भएको कम्तिमा ५ वर्षसम्म निर्माण व्यवसायीले नै मर्मत व्यवस्थापन गर्नेगरी ठेक्का सम्झौता गर्नुपर्ने कुरा मार्गदर्शनमा व्यवस्था गरिएको छ । मार्गदर्शनले सडक निर्माण गर्दा, खानेपानी, ढल, बिजुलीको पोल र तार व्यवस्थपन जस्ता कामहरुलाई एउटै प्याकेजमा बोलपत्र आह्वान गरी काम गर्न अनुरोध गरेको छ । मन्त्रीपरिषद वैठकले गरेको निर्णय र विशेष परिस्थितिमा बाहेक त्रैमासिक रुपमा मात्रै रकमको निकासा हुने मन्त्रालयको मार्गदर्शमा उल्लेख गरिएको छ । राष्ट्रिय गौरवका आयोजना, रुपान्तरणकारी आयोजना र बहुवर्षिय आयोजनाका लागि विनियोजित बजेटलाई रकमान्तर गर्न नपाइने भनी उल्लेख गरिएको छ । मन्त्रालयद्वारा जारी नयाँ मार्गदर्शनमा पुँजीगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम चालु खर्चमा रकमान्तर गर्न नपाइने, सरकारी कार्यक्रम सरकारी सभा हलमा नै गर्नुपर्ने र सरकारी कार्यालयको लागि नयाँ चारपांग्रे सवारी साधन खरिद नगरिने विषय लेखिएको छ । मार्गदर्शनमा अख्तियारी, कार्र्यक्रम स्वीकृति, बजेट बाँडफाँड, कार्यक्रम/योजना, हस्तान्तरण र कार्यान्वयनको विषयलाई समेटिएको छ । त्यस्तै बजेट खर्च, रकमान्तर, कार्यक्रम शंसोधन तथा प्रतिवेदन, वित्तीय पारदर्शिता, जवाफदेहिता र अनुगमन सम्बन्धी व्यवस्था विषयहरुलाई मार्गदर्शनमा समेटिएको छ । वित्तीय अनुशासन कायम गर्ने उद्देश्य प्राप्तिको लागि बजेट, निकासा, खर्च र नियन्त्रण लगायत उत्तरदायित्व कायम गर्न विनियोजन ऐन, २०७९, आर्थिक कारोबार तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को कार्यान्वयन गराउनका लागि विनियोजन ऐन, २०७९ को दफा ९ को उपदफा (४) अनुसार बजेट कार्यान्वयन गर्नको लागि मार्गदर्शन तय गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।
बीमाशुल्कमा नेको, सिद्धार्थ र एनएलजीबीच टक्कर, शिखर र सगरमाथाको अग्रता कायमै
काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएका ५ वटा इन्स्योरेन्स कम्पनीले कूल १५ अर्ब ९५ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । शिखर, सगरमाथा, नेको, सिद्धार्थ र एनएलजी इन्स्योरेन्स गत आर्थिक वर्ष २०७८/७९ मा सो मात्राको बीमाशुल्क संकलन गरेका हुन् । जुन अघिल्लो वर्षको तुलनामा १९.४८ प्रतिशतले बढी हो । यी कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा कुल १३ अर्ब ३५ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका थिए । हाल निर्जीवन बीमा क्षेत्रमा कुल २० वटा कम्पनीले व्यवसाय गर्दै आएका छन् । जसमध्ये शीर्ष ५ स्थानमा क्रमशः शिखर, सगरमाथा, नेको, सिद्धार्थ र एनएलजी रहेका छन् । यी कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा १२ देखि २७ प्रतिशतसम्म बीमाशुल्क वृद्धि गरेका छन् । जसमध्ये बढी बीमाशुल्क संकलन गर्नेमा शिखर इन्स्योरेन्सको अग्रता कायमै छ । इन्स्योरेन्सले निर्जीवन बीमा क्षेत्रमा हालसम्मकै सर्वाधिक प्रिमियम संकलन गरेको छ । इन्स्योरेन्सले एक वर्षको अवधिमा ५ अर्ब १ करोड रुपैयाँ बढी बीमाशुल्क संकलन गर्न सफल भएको छ । अघिल्लो वर्ष ३ अर्बको क्लबमा रहेको शिखर इन्स्योरेन्स एकाएक ५ अर्बको क्लबमा प्रवेश भएको छ । उक्त संकलित बीमाशुल्क अघिल्लो वर्षको तुलनामा करिब २८ प्रतिशतले बढी हो । शिखरले आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब ९२ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको थियो । ५ अर्बको क्लबमा प्रवेश गरेसँगै शिखरले केक काटेर आफ्ना सहकर्मीसँग खुशीयाली पनि साटिसकेको छ । त्यसैगरी, सगरमाथा इन्स्योरेन्स पनि २ अर्ब क्लबबाट ३ अर्बको क्लबमा प्रवेश गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब १० करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १८.७७ प्रतिशतले बढी हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ६१ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको थियो । बीमाशुल्क २ अर्बबाट ३ अर्ब पुगेको खुशीयालीमा सगरमाथाले पनि केक काटेर खुशीयाली बाढेको छ । कम्पनीले असार २८ मंगलबार आफ्ना कर्मचारीमाझ केक काटी खुशी साटासाट गरेको थियो । नेको इन्स्योरेन्सले गत वर्ष अघिल्लो वर्षको तुलनामा बीमाशुल्क संकलनमा सुधार गरेको छ । एक वर्षको अवधिमा नेकोले १८.२६ प्रतिशत बढी बीमाशुल्क वृद्धि गरेको छ । अघिल्लो वर्ष २ अर्ब ४१ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको इन्स्योरेन्सले यो वर्ष २ अर्ब ८५ करोड रुपैयाँ संकलन गरेको कम्पनीका सीईओ अशोक कुमार खड्काले बताए । जुन, कम्पनीको टार्गेटभन्दा केही कम रहे पनि कम्पनी निर्जीवन बीमा कम्पनीहरुको सूचीमा तेश्रो शीर्ष स्थानमा नै रहेको छ । कुनको कति ? त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सले एक वर्षको अवधिमा १२.०२ प्रतिशतले बीमाशुल्क बढाएको छ । सिद्धार्थले गत वर्षमा २ अर्ब ६१ करोड रुपैयाँ संकलन गर्न सफल भएको कम्पनीका सीईओ बिरेन्द्र बैद्यवारले विकासन्युजलाई बताए । अघिल्लो वर्ष भने इन्स्योरेन्सले २ अर्ब ३३ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको थियो । त्यसैगरी, निर्जीवन बीमा कम्पनीमध्ये पाचौं स्थानमा रहेको एनएलजी इन्स्योरेन्सको पनि बीमाशुल्क आर्जनमा सुधार देखिएको छ । इन्स्योरेन्सले एक वर्षको अवधिमा १४.४२ प्रतिशत बढी प्रिमियम संकलन गरेको छ । कम्पनीले गत आवमा २ अर्ब ३८ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको इन्स्योरेन्सका प्रवक्ता नौमिनाथ अधिकारीले विकासन्युजसँग भने । यससँगै कम्पनीले टार्गेट मीट गर्न सफल भएको समेत उनले जानकारी गराए । अघिल्लो वर्षमा एनएलजीले २ अर्ब ८ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको थियो ।