यसकारण उकालो लाग्दैछ सङ्क्रमणको ग्राफ
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण एक हप्तादेखि उकालो लागेको छ । गत असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको सङ्क्रमितको सङ्ख्या आजसम्म आइपुग्दा सङ्क्रमण ४५७ पुगेको छ । असार २६ गते १२१ मा सङ्क्रमण र ६७८ सक्रिय सङ्क्रमित रहेकोमा आज सक्रिय सङ्क्रमित एक हजार ७७६ पुगेका छन् । आइतबार साउन १ गते र आज सङ्क्रमणका कारणले एक/एक सङ्क्रमितको ज्यान गएको छ । सङ्क्रमण असारदेखि उकालो लाग्न थालेको हो । असार २७ गते १६८, असार २८ गते १७७, असार २९ गते २०६ असार ३० गते २६०, असार ३१ गते २२९, असार ३२ गते २०५ र साउन १ गते १३५ मा सङ्क्रमण देखिएको छ । शून्य दशमलव पाँच प्रतिशतमा रहेको सङ्क्रमण अहिले ९.८२ प्रतिशत पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित काठमाडौं जिल्लामा रहेका छन् । शून्य सङ्क्रमित हुने जिल्ला पनि घटेर आठ मात्र पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दास भारतमा सङ्क्रमण बढेसँगै नेपालमा पनि सङ्क्रमण बढेको बताउँछन् । ‘भारतमा दैनिक सङ्क्रमण बढिरहेको छ । भारतबाट हजारौँ मानिस नेपालको सीमा हुँदै प्रवेश पनि गरिरहेका छन्,’ उनले भने, ‘ती सीमा नाकाबाट प्रदेश गर्नेमा दैनिक सङ्क्रमण देखिएको छ । ती मानिसले नै सङ्क्रमण सारिरहेका छन् ।’ उनका अनुसार भारतमा सङ्क्रमण बढ्नुका साथै नेपालमा जनस्वास्थ्यका मापदण्ड लागू नगर्नाले सङ्क्रमण बढेको हो । मानिसले जनस्वास्थ्यका मापदण्ड मास्क नलगाउने, भीडभाड गर्ने, साबुन पानीले हात नधुने, भौतिक दूरी कायम नगर्ने जस्ता कारणले पनि सङ्क्रमण फैलिएको बताइन्छ । नेपालमा पनि अणुवाङ्शिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा ओमिक्रोन भेरियन्ट ‘विएफाइभ’ प्रजातिको सङ्क्रमित भेटिएको छ । उनले बिएफाइभ प्रजातिको सङ्क्रमण फैलिने उच्च दर रहेकाले अहिले सङ्क्रमित बढेको बताए । महाशाखाका निर्देशक डा दासले सङ्क्रमित बढ्न थालेपछि अस्पताल र प्रयोगशालालाई तयारी अवस्थामा राखिएको बताए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा रावल गत हप्तादेखि बिरामी उपचारका लागि आउने गरेको बताउँछन् । उनका अनुसार अस्पतालमा तेस्रो लहरपछि पहिलो पटक असारमा बिरामी उपचारका लागि आएका थिए । अहिले अस्पतालमा पाँच जनाको उपचार भइरहेको छ । तीमध्ये सघन उपचार कक्ष (आइसियु) मा एक र चारले क्याबिनमा उपचार गराइरहेका छन् । अस्पतालमा हिजो साउन १ गते ३८ परीक्षण गर्दा १८ मा कोरोना पोजिटिभ देखिएको थियो । उनले अहिलेका बिरामीमा ज्वरो, रुघाखोकी भए पनि गम्भीर नरहेको र अक्सिजन नचाहिएको बताए । रासस
उद्योगहरुले बैंक तथा वित्तीय संस्थाबाट लिए ३१ प्रतिशत ऋण, घटाए उत्पादन क्षमता
काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरुको औद्योगिक गतिविधिको अध्ययन गरेर औद्योगिक अवस्थिति प्रतिवेदनको चौथो अङ्क सार्वजनिक गरेको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्र प्रसाद बडूले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् । चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक अवधिमा उत्पादनमुलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्यांक प्रतिवेदनमा समेटिएको छ । प्रतिवेदन अनुसार दोश्रो त्रैमासको तुलनामा यस अवधिमा व्यवसायको उत्पादन क्षमता उपयोग खस्केको देखिएको छ । यस अवधिमा उद्योगहरुले आफ्नो कुल उत्पादन क्षमताको ६६.८१ प्रतिशत उपयोग गरेको देखाएको छ । दोश्रो त्रैमासमा यस्तो क्षमताको उपयोग ७१ प्रतिशत थियो । अध्ययन (माघ, फागुन र चैत) अवधिमा उत्पादनमूलक उद्योगले औषतमा १०.९६ प्रतिशत (गत वर्षको सोही अवधिमा ९.४ प्रतिशत थियो) र सेवा क्षेत्रका उद्योगले औषतमा १०.९२ प्रतिशत ब्याज तिरेको पाइएको छ । उत्पादनमूलक उद्योगहरुले आफ्नो चालु पुँजीको ३१ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको अध्ययनले देखाएको छ । अघिल्लो त्रौमासमा चालु पूँजी ३४.४ प्रतिशत ऋण लिएका थिए । अध्ययनमा सहभागी मध्ये ८२.५ प्रतिशत उद्योगी नयाँ लगानीका लागि तयार रहेको बताएका छन् । प्रतिवेदनले चालु आर्थिक वर्ष २०७८(७९ को दोस्रो त्रैमासको तुलनामा चालु त्रैमासमा उद्योगको आय वृद्धिदर १२.८२ प्रतिशत रहेको देखाएको छ । दोश्रो त्रैमासमा उद्योगको आय वृद्धिदर २७.१ प्रतिशत थियो । यस अङ्कको औद्योगिक अवस्थिति प्रतिवेदन यस वर्षको मौद्रिक नीतिलाई केन्द्रित गरेर तयार गरिएको छ । मौद्रिक नीति र यसको उद्देश्य, तुलनात्मक अध्ययन, नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा दिएको सुझाव समेत प्रतिवेदनमा समावेश छ । प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री दिलेन्द्रप्रसाद बडूले यस प्रकारको नियमित औद्योगिक प्रतिवेदनले नेपालको औद्योगिक वातावरणको चित्रण गर्न सहयोग पुग्ने उल्लेख गरे। साथै मन्त्री बडूले उद्योगमा प्रयोग हुने जेनेरेटरले खपत गर्ने तेलको परिणाम प्रष्टायाउने र हाल उद्योगमा रहेका कोइलाबाट चल्ने बोइलरलाई बिजुलीबाट प्रतिस्थापन गर्न लाग्ने लागतको सन्दर्भमा समेत अनुसन्धान हुन जरुरी रहेको बताए । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजार मागमा उल्लेख्य गिरावट आएको र यसले उद्योगको आयमा ह्रास ल्याएको बताए । उनले यसप्रति संवेदनशिल हुन सरकारलाई आग्रह गरे । उनले निजी क्षेत्रको तर्फबाट नेपालमै पहिलो पटक परिसघंले सर्वेक्षण गरेर औद्योगिक प्रतिवेदन सार्वजनिक गर्ने गरेको बताए । परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले प्रतिवेदनले उद्योगको अवस्थाबारे जानकारी दिने र यसलाई हरेक त्रैमासमा प्रकाशन गर्दै लगिएको बताए । यस्ता प्रतिवेदनले निजी क्षेत्रमाथिको विश्वसनीयता अभिवृद्धि गर्न सहयोग गर्ने उनको भनाइ छ । परिसंघअन्तर्गतको रिसर्च सेलले उद्योगहरुसँगको सर्वेक्षणको आधारमा प्रतिवेदन तयार पारेको हो । यो प्रतिवेदनले नेपालमा तथ्यमा आधारित नीति निर्माणका लागि सहयोग गर्ने परिसंघको विश्वास छ । उद्योगसँग चासो राख्ने सम्पूर्ण सरोकारवालाका लागि प्रतिवेदन महत्वपूर्ण अध्ययन सामग्रीको रुपमा उपयोगी हुने विश्वास परिसंघको छ ।
अघि बढ्दै निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको काम, विज्ञ टोली गठन गरिने
काठमाडौं । सरकारले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका काम अगाडी बढाउन विज्ञ टोली गठन गर्ने भएको छ । सोमवार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिको बैठकले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विज्ञ टोली गठन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । सोमवार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री श्रेष्ठले प्राधिकरणको सञ्चालक समितिको सिफारिस अनुसार मन्त्रालयले विज्ञ टोली गठन गर्ने सम्बन्धी प्रस्ताव मन्त्रीपरिषद्मा लौजाने तयारी गरेको जानकारी दिए । उनले मुलुकको जेम चेन्जर आयोजनाको रुपमा हेरिएको निजगढ विमानस्थल बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै सर्वोच्च अदालतको आदेश अनुसार नै विज्ञ समूह गठन गरी पुनः अध्ययन गरिने बताए । मन्त्री श्रेष्ठले विज्ञ टोलीबाट आएका प्रतिवेदन अनुसार नै अगाडी बढ्ने स्पष्ट पार्दै वातावरणको कुरामा सरकार संवेदनशील रहेको पनि बताए । उनले प्रधानमन्त्रीसहित स्थानीय निकायका पदाधिकारीहरुसँगै गरिएको स्थलगत निरीक्षणको क्रममा हाल प्रस्तावित स्थानमै विमानस्थल निर्माण गर्न उपयुक्त हुने देखिएको पनि बताए । मन्त्री श्रेष्ठले विमानस्थलको प्रश्तावित रन वे र टर्मिनल भवन निर्माण गर्ने ठाउँ खालि मैदान रहेको जिकिर गर्दै विमानस्थल निर्माणका लागि धेरै रुख कटान गर्नुपर्ने अवस्था नरहेको समेत जनाए । उनले २०७२ सालको आँकडाका आधारमा मात्रै अहिले बाहिर आएको भन्दै वास्तविकतामा वातावरणको क्षति हुने अवस्था नहरकोसमेत दाबी गरे । त्यस्तै समितिको बैठकमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विगतमा भएका केही त्रुटीलाई छोडेर अब सरकारले निजगढ विमानस्थललाई प्राथमिकता दिएर अगाडी बढ्न सुझाव दिए । उनले अन्य विमानस्थल निर्माण गर्दा पनि आवश्यकताको अध्ययन गरेर मात्रै निर्माणको काम अगाडी बढाउनु पर्ने बताउँदै सर्वोच्च अदालतले निजगढ विमानस्थल बनाउनको लागि अवरोध नभएर निर्माण कार्य अगाडि बढाउने ढोका खोलिदिएको दाबी गरे । त्यस्तै नेकपा एमालेका नेता डा.भीमबहादुर रावलले ठोस योजनाका साथ निजगढ विमानस्थल निर्माणको काम अगाडी बढाउन उचित हुने बताए । सरकार विमानस्थल बनाउनको लागि रकम पनि विनियोजन गर्नुपर्ने र त्यसै अनुसार कामलाई तीब्र रुपमा अगाडी बढाउनुपर्ने उनको भनाई छ । बैठकमा समितिका सदस्य सुरेन्द्रकुमार कार्कीले वातावरणको अध्ययन र श्रोतको सुनिश्चतता बिना वाहवाही बटुल्नका लागि मात्रै निर्माणको काम अगाडी नबढाउन सुझाव दिए । त्यस्तै, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले मन्त्रीपरिषद्ले केही दिनमा विज्ञ समूह गठन गरेपश्चात अदालतको फैसला अनुसार पुनः अध्ययन गरेर निजगढ नै उपयुक्त भनेमा विमानस्थल बनाउनुपर्ने बताए । उनले अदालतको फैसलाअनुसार कसरी विमानस्थल बनाउने भनेर प्राधिकरणले पनि काम गरिरहेको जानकारी गराए । सरकारले चालु आर्थिक वर्षको बजेटमाफत पनि निजगढ विमानस्थल निर्माणको काम अगाडी बढाउने घोषणा गरेको छ । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै विमानस्थल र्निर्माणको लागि ढाँचा निर्माण गरी लगानी बोर्ड नेपालमार्फत आयोजना विकास कार्य अगाडि बढाइने घोषणा गरेका थिए । तर यता सर्वोच्च अदालतको बहुमत न्यायाधीशहरुको रायले लेखेको फैसलाको पूर्णपाठमा वन, वातावरण, वन्यजन्तु, हवाई व्यवस्थापन, समाजशास्त्री, अर्थशास्त्री र अन्य आवश्यक क्षेत्रसँग सम्बन्धीत विज्ञ समूह गठन गरी उपयुक्त स्थानको पुनः पहिचान गरी वातावरणीय क्षति कम हुने गरी विमानस्थल निर्माण गर्न भनिएको छ ।
सिभिल बैंकका ग्राहकलाई बिराट मेडिकल कलेजमा विशेष छुट
काठमाडौं । सिभिल बैंकका ग्राहकले बिराटनगरको बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा विशेष छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले उक्त हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका हुन् । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका प्रदेश नं. १ का प्रमुख राजेश ढकाल र हस्पिटलको तर्फबाट अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार ग्राहकहरुले ओ.पि.डि, बेड चार्ज तथा अपरेसनमा लाग्ने शुल्कमा १० प्रतिशत छुट पाउने व्यवस्था छ । यसका साथै आगामी दिनहरुमा अन्य संघ संस्थाहरुसँग पनि यस्ता सम्झौताहरु गर्दै जाने बिराटनगर शाखाका प्रवन्धक प्रशान्त कार्कीले जनाएका छन । हाल सिभिल बैंकको १२ एक्सटेन्सन काउन्टरहरु र ९९ एटीएम रहेका छन् । साथै बैंकले हालसम्म करीब ९५ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ८७ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।
सगरमाथा इन्स्योरेन्स २७औं वर्षमा प्रवेश, गर्यो रक्तदान कार्यक्रम
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले २६औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले आफ्नो स्थापनाको २६औं वर्ष पार गरी २७औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा सो कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो । उक्त कार्यक्रम साउन २ गते कम्पनीको प्रधान कार्यालय, नक्सालमा भएको थियो । कार्यक्रममा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले रक्तदान गर्ने सबैलाई धन्यवाद पनि दिए ।
हनी ट्रयापमा पारेर व्यवसायीलाई धम्क्याउन श्रीमान्/श्रीमति नै सक्रिय, नक्कली प्रहरी निरीक्षक बनेर बार्गेनिङ
काठमाडौं । काठमाडौंमा हनी ट्रयापमा पारेर व्यवसायीलाई धम्क्याउने नक्कली प्रहरी निरीक्षकको जोडीसहित तीन जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुले एक व्यवसायीलाई धम्की दिएर पैसा मागेको आरोपमा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सिन्धुलीकी ३१ वर्षीया कल्पना बस्नेत, उनका श्रीमान् कृष्णहरि खड्का र नक्कली प्रहरी निरीक्षक सञ्जय कार्की छन् । नक्कली प्रहरी निरिक्षक गरेर उनीहरुले बार्गेनिङ गरेको आरोपमा पक्राउ गरिएको हो ।
नेपालमै पहिलो पटक खुल्यो ‘शिक्षक बैंक’
काठमाडौं । पैसाको कारोबार गर्ने बैंक जस्तै शिक्षकको पनि बैंक हुन्छ भनेर सुन्दा तपाईंलाई अनौठो लाग्न सक्छ । तर, काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाले पढाउने शिक्षकहरूको पनि बैंक सञ्चालनमा ल्याएको छ । कुनै शिक्षक वा शिक्षिका विदामा बस्दा होस् वा कुनै कारणले विद्यालयमा उपस्थित हुन नसक्ने समस्यालाई मध्येनजर गर्दै बुढानिलकण्ठ नगरपालिकाले शिक्षक बैंक अवधारण सुरू गरेको हो । बुढानिलकण्ठ नगरपालिकाका शिक्षा शाखाका अधिकृत इन्द्रप्रसाद दाहालकाअनुसार पालिकाभित्र रहेको एउटा प्रावि तहमा पढाउने शिक्षिका सुत्केरी विदामा बसेर शिक्षकको अभाव भएपछि विकल्प खोज्नेक्रममा शिक्षक बैंक कार्यक्रमको अवधारणा आएको हो । बुढानिलकण्ठ नगरपालिकामा १९ वटा सामुदायिक विद्यालय छन् । ती सामूदायिक विद्यालयहरूमा शिक्षक अभावको बेला पूर्ति गर्न र केहि नियमित अतिरिक्त क्रियाकलाप सञ्चालनको लागि शिक्षक बैंकमार्फत् शिक्षक परिचालन गर्ने कार्यक्रम पालिकाले बनाएको छ । सो कार्यक्रमको लागि पालिकाले चालु आवको लागि २५ लाख खर्च गर्ने योजना बनाएको शिक्षा शाखाका प्रमुख ललित विक्रम सिंहले विकासन्युजलाई बताए । पालिकाले गत शैक्षिक सत्रबाट नै शिक्षक बैंकको अवधारणा कार्यान्वयन गर्न खोजेको थियो । तर, गत शैक्षिक सत्रमा सूचना आह्वान गर्ने मात्रै काम भयो । गत माघ महिनामा पालिकाले शिक्षक बैंकको लागि सूचिकृत हुन योग्यता भएर बसेका व्यक्तिहरुलाई लक्षित गरेर सूचना आह्वान गरेको थियो । तर, समयमा आवश्यकतालाई सम्बोधन गर्नेगरी सूचिकृत हुन नआएपछि पालिकाले गत असारमा मात्रै अन्तर्वार्ता लिएर शिक्षक बैंकको लागि विभिन्न विषयका ११ जना व्यक्तिहरुलाई सूचिकृत गर्ने काम गरेको छ । जसमा नृत्य, संगित, योगा, अंग्रेजी, स्वास्थ्य तथा जनसंख्या र नेपाली विषय अध्यापन गराउन सक्ने शिक्षकहरु छन् । नगरपालिकाका अधिकृत दाहालका अनुसार पालिकाले अहिले सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग बसेर अतिरिक्त क्रियाकलापको दैनिक तालिका समेत बनाइसकेको छ । पालिकाभित्र रहेका १९ वटा सामुदायिक विद्यालयहरुमा चक्रिय आधारमा अतिरिक्त क्रियाकलाप अन्तर्गत नृत्य, संगित र योगा कक्षाको तालिका निर्माण कार्य गरिएको छ । जसअनुसार सबै विद्यालयमा शिक्षक बैंकमा रहेका शिक्षकहरुले घुम्ती प्रणालीको आधारमा सबै विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने अधिकृत दाहालले बताए । प्रमुख सिंहका अनुसार शिक्षक बैंकमा रहेर अध्यापन गर्ने शिक्षकहरुले तहअनुसार दैनिक ज्यालादारीको हिसाबले पारिश्रमिक प्राप्त गर्न सक्छन् । बुढानिलकण्ठमा विज्ञान र अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने शिक्षकहरुको अभाव रहेको अवस्थामा शिक्षक बैकबाट शिक्षक पूर्ति गर्ने प्रकृया सस्तो पर्ने उनी बताउँछन् । सिंह भन्छन्, ‘हामीले संगित, कला र योगा जस्ता विषयहरुको लागि शिक्षक नियुक्ती गर्ने अवस्था छैन, यी विषयहरूमा तीन÷तीन महिनाको दरले एउटै शिक्षकले पनि ३ वटा विद्यालयमा अध्यापन गर्न सक्छ ।’ पालिकाले शुरुवात गरेको शिक्षक बैंक कार्यक्रममा अहिले न्यून मात्रामा शिक्षकहरू जोडिएपनि चालु शैक्षिक शत्रमा १ सय जना शिक्षकलाई जोड्ने योजना रहेको प्रमुख सिंहको भनाइ छ । ‘जुनसुकै विद्यालयमा शिक्षक आवश्यकता पर्ने वित्तिकै ‘फास्ट ट्रयाक’ विधिबाट शिक्षक सप्लाई गर्न सकिने यो कार्यक्रम मुलुककै नमूना कार्यक्रम हो, यो नयाँ अवधारणा र नयाँ प्रयोग पनि हो, यो विधिलाई कार्यान्वयन गर्दा कुनैपनि विद्यालयमा एकदिन पनि शिक्षक खाली हुने अवस्था आउँदैन,’ उनले भने ।
टाटा विङ्गर बिएस्स सिक्स नेपाली बजारमा
काठमाडौं । टाटा मोटर्स्को नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले नयाँ टाटा विङ्गर द्यक् ट नेपाली बजारमा सार्वजनिक गरेको छ । “प्रिमियम टफ” ढाँचामा तयार परिएको यस गाडी कार्गो कम्पनी, विद्यालय र ट्राभल एजेन्सी लगायतका संस्थाहरुलाई उपयुक्त छ । २.२ लिटरको डाइकोर इन्जिन जडित विङ्गर बिएस्स सिक्सको टर्क अत्यन्त प्रभावकारी भएकाे कम्पनीले जनाएकाे छ । त्यसैगरी इको स्विच एवं गियर सिफ्ट एडभाइजर जस्ता विशेषताले गर्दा यस गाडीले कम इन्धन खपत गर्दछ । हाइड्रोलिक सक एब्जर्बर भएको फ्रन्ट सस्पेन्सन एवं मोनोकक च्यासिस जस्ता विशेषता भएको यो गाडीले सुखद र आरामदायी यात्राको प्रत्याभूति गर्ने कम्पनीकाे दावी छ । टाटा मोटर्सको कमर्सिएल भेहिकल बिजनेस युनिट अन्तर्गतको इन्टरनेसनल बिजनेस एण्ड स्ट्र्याटिजीका उपाध्यक्ष अनुराग मेह्रोता कम भन्दा कम खर्चमा आफ्नो व्यापार/व्यवसाय अभिवृद्धि गर्न चाहनेहरुको लागि अत्यन्त उपयोगी भएकाे बताउँछन् । ‘उत्कृष्ट कार्य क्षमता भएको अत्यन्त भरपर्दो उत्पादन मार्फत ग्राहकलाई सन्तुष्टि प्रदान गर्ने टाटाको विरासतलाई यस विङ्गरले प्रतिनिधित्व गर्दछ,’ उनले भने । त्यसैगरी सिप्रदी ट्रेडिङ्गका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर राणा विङ्गर बिएस्स सिक्स विभिन्न प्रयोजनहरुको लागि अन्त्यन्त उपयुक्त हुनुका साथै कार्य क्षमताको दृष्टिकोणले पनि अब्बल रहेकाे बताए । ‘यसले छोटो समयमा नै नेपाली ग्राहकहरुको माया र विश्वास जित्ने हामीले अपेक्षा गरेका छौ,’ उनले भने । सुरक्षित यात्राको लागि विङ्गर स्कूलमा एबिसी सहितको प्रभावकारी ब्रेकिङ्ग प्रणाली जडान गरिएको छ । गाडी चलाउँदा बाहिरको दृश्य प्रष्ट रुपमा देखिन यसमा फायर डिटेक्सन तथा सप्रेसन सिस्टम एवं फग ल्याम्पको व्यवस्था पनि छ ।