विकासन्युज

नमस्ते पे एपबाट हवाई टिकट खरिद गर्न सकिने, ३०० रुपैयाँसम्मकाे क्यासब्याक

काठमाडौं । नमस्ते पे ले आफ्ना ग्राहकहरुका लागि आन्तरिक उडान टिकट काट्ने सेवा सुरु गरेको छ । साेसँगै नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेट मार्फत किफायती दरमा आन्तरिक गन्तव्यहरूको लागि उडान टिकटहरू (एकतर्फी र राउन्ड ट्रिप) किन्न सक्नेछन् । साथै, नमस्ते पे ले उडान गर्नेहरूका लागि आकर्षक अफर ल्याएको छ । यस अन्तर्गत उडान टिकट खरिद गर्ने पहिलो पाँच ग्राहकहरूले आफ्नो वालेटमा ३०० रुपैयाँको फ्ल्याट क्यासब्याक पाउनेछन् । बाँकीले उडान टिकट खरिद गर्दा १५० रुपैयाँको फ्ल्याट क्यासब्याक पाउनेछन् र भाग्यशाली एक प्रयोगकर्ताले पोखराको दुईतर्फी उडान टिकट पाउनेछन् । यो सेवा हाल एन्ड्राेइडमा उपलब्ध रहेकाे र चाँडै आइवाेएसमा पनि लन्च हुने कम्पनीले जनाएकाे छ ।  

दुई जहाज आकाशमै ठोक्किए

काठमाडाैं । संयुक्त राज्य अमेरिकाको नाभाडा राज्यको उत्तरी लस भेगास एयरपोर्टमा आइतबार मध्याह्न यात्रा गरिरहेका साना विमानहरू आकाश ठोक्किँदा चार जनाको मृत्यु भएको बताइएकाे छ । दुर्घटना अझै अनुसन्धान जारी रहेको उत्तरी लस भेगास फायर डिपार्टमेन्टले ट्वीट गरेको छ । पाइपर पीए–४६ अवतरणको तयारी गरिरहेको अवस्थामा सेस्ना १७२ सँग ठोक्किएर दुर्घटना भएको प्रारम्भिक जानकारीले देखाएको छ । प्रत्येक विमानमा दुई जना सवार रहेका जनाइएको छ । एजेन्सी

पौने ६ लाख डलरमा खरिद गरेका ३ वटा दमकल नेपाल आइपुगे

काठमाडौं । काठमाडौं महानगरपालिकाले खरिद सम्झौता गरेको तीनवटा दमकल नेपाल आइपुगेको छ । महानगरपालिकाले अघिल्लो वर्ष नै यसको खरिद सम्झौता गरेको थियो । मेयर विद्यासुन्दर शाक्यले महानगरको लगानीमा तीनवटा दमकल खरिद गर्न अघिल्लो वर्ष २०७८ साउन ३ गते इन्डोनेशियन कम्पनीसँग सम्झौता गरेका थिए । ३ हजार प्लस ५०० लिटर पम्प क्षमताको तीनवटा दमकल खरिदका लागि कम्पनीसँग ५ लाख ७५ हजार ९३३ अमेरिकी डलरमा सम्झौता भएको थियो ।

देशभर ६० प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभर ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको छ । गत वर्ष असारमा ७६ प्रतिशत रोपाइँ भएकामा यसवर्ष ६० प्रतिशत मात्र रोपाइँ भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए । रोपाइँको तथ्याङ्क प्रदेशसँगको समन्वयमा तयार गरिएकोे हो । गत वर्षको तुलनामा करिब आठ प्रतिशतको हाराहारीमा कम रोपाइँ भएको देखिएको छ । विशेषगरी प्रदेश नं १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिला भएका कारण रोपाइँ कम भएको हो । मनसुन सुरु हुनासाथ यही साउन दोस्रो सातासम्म सामान्य हिसाबले ती प्रदेशमा रोपाइँ हुने मन्त्रालयले जनाएको छ । रोपाइँमा मलको अभाव भएकाले उत्पादनमा त्यसको केही असर पर्ने देखिएको छ । हालसम्म मन्त्रालयले विगत वर्षमा जस्तै लगभग शतप्रतिशत रोपाइँ हुने अनुमान गरेको छ ।

एकैदिन ४५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । सोमबार एकैदिन ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ४ हजार ६५१ वटा नमूना परीक्षण गर्दा ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएका हो । यस्तै आज ४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७७६ पुगेको छ ।

नियम विपरीत स्थानिय तहका कानुनी र प्रेस सल्लाहकारलाई तलब, ४ लाख ८० हजार खर्च

सुरुङ्गा (झापा) । गाउँ तथा नगरसभा सदस्यको सुविधासम्बन्धी ऐन २०७५ मा पदाधिकारीका लागि प्रेस सल्लाहकार र कानुनी सल्लाहकार राखेर पारिश्रमिक दिने व्यवस्था छैन तर जिल्लाका कतिपय स्थानीय तहले प्रेस सल्लाहकार र कानुनी सल्लाहकार राखेर पारिश्रमिक दिइरहेको पाइएको छ । पन्ध्र स्थानीय तहहमध्ये गाउँपालिका बाहेक नगरपालिकाले प्रेस सल्लाहकार र कानुनी सल्लाहकार राखेर पारिश्रमिक दिइरहेको पाइएको हो । कानुनत् नगरपालिकामा प्रेस सल्लाहकार राख्न सकिने व्यवस्था नहुँदा नहुँदै पनि अर्जुनधारा, बिर्तामोड, मेचीनगरलगायत पालिकाले नगरमा प्रेस सल्लाहकार र कानुनी राखेर तलब दिइरहेका छन् । अर्जुनधारा नगरपालिकामा नन्दलाल खतिवडालाई प्रेस सल्लाहकार र चित्रबहादुर मगरलाई कानुनी सल्लाहकार नियुक्त गर्दै पारिश्रमिक दिइएपछि महालेखाले कानुन विपरीत पारिश्रमिक दिएको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । खतिवडालाई मासिक २० हजारका दरले एक वर्षमा दुई लाख ४० हजार र कानुनी सल्लहकार मगरलाई पारिश्रमिकबापत दुई लाख ३० हजार प्रदान गरेपछि महालेखाले नियम विपरीत भएको जनाएको हो । रासस

५ लाख सवारी चालक कारवाहीमा, ३३ करोड १३ लाख रुपैयाँ जरिवाना

काठमाडौं । ट्राफिक प्रहरीले एक वर्षमा ५ लाख ४ हजार ५९७ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम पालना नगरेको भन्दै प्रहरीले आर्थिक वर्ष २०७८/७९ मा ५ लाख भन्दा बढीलाई कारवाही गरेको हो । कारवाहीबाट प्रहरीले ३३ करोड १३ लाख ६८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । कारवाहीमा पर्नेमा सबैभन्दा धेरै जथाभावी पार्किङ गर्नेहरु छ । ४१ हजार ९०५ जना चालकले मनलाग्दी पार्किङ गरेको भनेर कारवाही भोगेका छन् । बढी कारवाही पर्नेको दोस्रो नम्बरमा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालक रहेका छन् । ३३ हजार ५९० जनाले मापसेको कारवाही भोगेका छन् । रातो बत्ति बल्दा सवारी नरोकेका कारण १८ हजार ९८४ जना, तीव्र गतिमा सवारी चलाएका कारण १८ हजार ४४७ जना र लेन अनुसाशन पालन नगरेकोमा १३ हजार ८९३ जना चालक कारवाहीमा परेका छन् । त्यस्तै, यात्रुलाई भाडामा ठगी गर्ने १० हजार चालक कारवाहीमा परेका छन् । १५९० वटा मोटर साइकल हराएका छन् । त्यसमध्ये ३७४ वटा मात्र फेला परेका छन् । गत वर्ष सामान हराएको भन्दै ४९१ वटा उजुरी परेको, ३९२ वटा फेला परेको र ९७ वटाको बारेमा अनुसन्धान भैरहेको उपत्यका ट्राफिक व्यवस्थापन कार्यालयले जनाकारी दिएको छ ।

सुत्केरी विदा बसेपछि बुढानिलकण्ठमा बन्यो शिक्षक बैंक

काठमाडौं । पैसाको कारोबार गर्ने बैंक र जमिनको कारोबार गर्ने बैंक जस्तै शिक्षकको पनि बैंक हुन्छ भनेर सुन्दा जो कोहीलाई अनौठो लाग्न सक्छ । तर, काठमाडौं जिल्लाभित्र पर्ने बुढानिलकण्ठ नगरपालिकाले पढाउने शिक्षकहरुको बैंक बनाएको छ । कुनै शिक्षक शिक्षिका विदामा बस्दा होस वा कुनै कारणले विद्यालयमा शिक्षिक नहुने परिपुर्ति गर्नको लागि पालिकाले शिक्षक बैंक कार्यक्रम सञ्चालन गरेको नगरपालिका शिक्षा शाखाका प्रमुख ललित विक्रम सिंहले बताए । पालिका शिक्षा शाखाका अधिकृत इन्द्रप्रसाद दाहालकाअनुसार पालिकाभित्र रहेको एउटा प्रावि तहमा पढाउने शिक्षिका सुत्केरी विदामा बसेपछि शिक्षकको अभाव भएपछि विकल्प खोज्नेक्रममा शिक्षक बैंक कार्यक्रमको निर्णय भएको हो । बुढानिलकण्ठ नगरपालिकामा १९ वटा सामुदायिक विद्यालय छन् । ती सामूदायिक विद्यालयहरुमा शिक्षक अभावको बेला पूर्ति गर्न र केहि नियमित अतिरिक्त क्रियाकलाप सञ्चालनको लागि शिक्षक बैंकमार्फत शिक्षक परिचालन गर्ने कार्यक्रम पालिकाले बनाएको छ । सो कार्यक्रमको लागि पालिकाले चालु आवको लागि २५ लाख खर्च गर्ने योजना बनाएको शिक्षा शाखाका प्रमुख सिंहले विकासन्युजलाई बताए । पालिकाले गत शैक्षिक सत्रबाट नै शिक्षक बैंकको अवधारणा कार्यान्वयन गर्न खोजेको थियो । तर गत शैक्षिक सत्रमा सूचना आह्वान गर्ने मात्रै काम भयो । गत माघ महिनामा पालिकाले शिक्षक बैंकको लागि सूचिकृत हुन योग्यता भएर बसेका व्यक्तिहरुलाई लक्षित गरेर सूचना आह्वान गरेको थियो । तर, समयमा आवश्यकतालाई सम्बोधन गर्नेगरी सूचिकृत हुन नआएपछि पालिकाले गत असारमा मात्रै अन्तर्वार्ता लिएर शिक्षक बैंकको लागि विभिन्न विषयका ११ जना व्यक्तिहरुलाई सूचिकृत गर्ने काम गरेको छ । जसमा नृत्य, संगित, योगा, अंग्रेजी, स्वास्थ्य तथा जनसंख्या र नेपाली विषय अध्यापन गराउन सक्ने शिक्षकहरु रहेका छन् । नगरपालिकाका अधिकृत दाहालका अनुसार पालिकाले अहिले सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग बसेर अतिरिक्त क्रियाकलापको दैनिक तालिका समेत बनाइसकेको छ । पालिकाभित्र रहेका १९ वटा सामुदायिक विद्यालयहरुमा चक्रिय आधारमा अतिरिक्त क्रियाकलाप अन्तर्गत नृत्य, संगित र योगा कक्षाको तालिका निर्माण कार्य गरिएको छ । जसअनुसार सबै विद्यालयमा शिक्षक बैंकमा रहेका शिक्षकहरुले घुम्ती प्रणालीको आधारमा सबै विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने अधिकृत दाहालले बताए । प्रमुख सिंहका अनुसार शिक्षक बैंकमा रहेर अध्यापन गर्ने शिक्षकहरुले तहअनुसार दैनिक ज्यालादारीको हिसाबले पारिश्रमिक प्राप्त गर्न सक्छन् । बुढानिलकण्ठमा विज्ञान र अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने शिक्षकहरुको अभाव रहेको अवस्थामा शिक्षक बैकबाट शिक्षक पूर्ति गर्ने प्रकृया सस्तो पर्ने उनी बताउँछन् । सिंह भन्छन्, ‘हामीले संगित, कला र योगा जस्ता विषयहरुको लागि शिक्षक नियुक्ती गर्ने अवस्था छैन् । यि विषयहरुमा ३/३ महिनाको दरले एउटै शिक्षकले पनि ३ वटा विद्यालयमा अध्यापन गर्न सक्छ ।’ पालिकाले शुरुवात गरेको शिक्षक बैंक कार्यक्रममा अहिले न्यून मात्रामा शिक्षकहरु जोडिएपनि चालु शैक्षिक शत्रमा १ सय जना शिक्षकलाई जोड्ने योजना रहेको प्रमुख सिंहको भनाई छ । उनी भन्छन्, जुनसुकै विद्यालयमा शिक्षक आवश्यकता पर्ने वित्तिकै फास्ट ट्रयाक विधिबाट शिक्षक सप्लाई गर्न सकिने यो कार्यक्रम मुलुककै नमूना कार्यक्रम हो । यो नयाँ अवधारणा र नयाँ प्रयोगपनि हो । यो विधिलाई कार्यान्वयन गर्दा कुनैपनि विद्यालयमा एकदिनपनि शिक्षक खाली हुने अवस्था आउँदैन् । बुढानिलकण्ठ नगरपालिकाले शुरुवात गरेको शिक्षक बैंक अरुको लागि समेत नमूना हुनसक्ने उनको दाबी छ ।