सुत्केरी विदा बसेपछि बुढानिलकण्ठमा बन्यो शिक्षक बैंक

<p>काठमाडौं । पैसाको कारोबार गर्ने बैंक र जमिनको कारोबार गर्ने बैंक जस्तै शिक्षकको पनि बैंक हुन्छ भनेर सुन्दा जो कोहीलाई अनौठो लाग्न सक्छ । तर, काठमाडौं जिल्लाभित्र पर्ने बुढानिलकण्ठ नगरपालिकाले पढाउने शिक्षकहरुको बैंक बनाएको छ । कुनै शिक्षक शिक्षिका विदामा बस्दा होस वा कुनै कारणले विद्यालयमा शिक्षिक नहुने परिपुर्ति गर्नको लागि पालिकाले शिक्षक बैंक कार्यक्रम [&hellip;]</p>

काठमाडौं । पैसाको कारोबार गर्ने बैंक र जमिनको कारोबार गर्ने बैंक जस्तै शिक्षकको पनि बैंक हुन्छ भनेर सुन्दा जो कोहीलाई अनौठो लाग्न सक्छ । तर, काठमाडौं जिल्लाभित्र पर्ने बुढानिलकण्ठ नगरपालिकाले पढाउने शिक्षकहरुको बैंक बनाएको छ ।

कुनै शिक्षक शिक्षिका विदामा बस्दा होस वा कुनै कारणले विद्यालयमा शिक्षिक नहुने परिपुर्ति गर्नको लागि पालिकाले शिक्षक बैंक कार्यक्रम सञ्चालन गरेको नगरपालिका शिक्षा शाखाका प्रमुख ललित विक्रम सिंहले बताए । पालिका शिक्षा शाखाका अधिकृत इन्द्रप्रसाद दाहालकाअनुसार पालिकाभित्र रहेको एउटा प्रावि तहमा पढाउने शिक्षिका सुत्केरी विदामा बसेपछि शिक्षकको अभाव भएपछि विकल्प खोज्नेक्रममा शिक्षक बैंक कार्यक्रमको निर्णय भएको हो ।

बुढानिलकण्ठ नगरपालिकामा १९ वटा सामुदायिक विद्यालय छन् । ती सामूदायिक विद्यालयहरुमा शिक्षक अभावको बेला पूर्ति गर्न र केहि नियमित अतिरिक्त क्रियाकलाप सञ्चालनको लागि शिक्षक बैंकमार्फत शिक्षक परिचालन गर्ने कार्यक्रम पालिकाले बनाएको छ । सो कार्यक्रमको लागि पालिकाले चालु आवको लागि २५ लाख खर्च गर्ने योजना बनाएको शिक्षा शाखाका प्रमुख सिंहले विकासन्युजलाई बताए ।

पालिकाले गत शैक्षिक सत्रबाट नै शिक्षक बैंकको अवधारणा कार्यान्वयन गर्न खोजेको थियो । तर गत शैक्षिक सत्रमा सूचना आह्वान गर्ने मात्रै काम भयो । गत माघ महिनामा पालिकाले शिक्षक बैंकको लागि सूचिकृत हुन योग्यता भएर बसेका व्यक्तिहरुलाई लक्षित गरेर सूचना आह्वान गरेको थियो । तर, समयमा आवश्यकतालाई सम्बोधन गर्नेगरी सूचिकृत हुन नआएपछि पालिकाले गत असारमा मात्रै अन्तर्वार्ता लिएर शिक्षक बैंकको लागि विभिन्न विषयका ११ जना व्यक्तिहरुलाई सूचिकृत गर्ने काम गरेको छ । जसमा नृत्य, संगित, योगा, अंग्रेजी, स्वास्थ्य तथा जनसंख्या र नेपाली विषय अध्यापन गराउन सक्ने शिक्षकहरु रहेका छन् ।

नगरपालिकाका अधिकृत दाहालका अनुसार पालिकाले अहिले सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग बसेर अतिरिक्त क्रियाकलापको दैनिक तालिका समेत बनाइसकेको छ । पालिकाभित्र रहेका १९ वटा सामुदायिक विद्यालयहरुमा चक्रिय आधारमा अतिरिक्त क्रियाकलाप अन्तर्गत नृत्य, संगित र योगा कक्षाको तालिका निर्माण कार्य गरिएको छ । जसअनुसार सबै विद्यालयमा शिक्षक बैंकमा रहेका शिक्षकहरुले घुम्ती प्रणालीको आधारमा सबै विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने अधिकृत दाहालले बताए ।

प्रमुख सिंहका अनुसार शिक्षक बैंकमा रहेर अध्यापन गर्ने शिक्षकहरुले तहअनुसार दैनिक ज्यालादारीको हिसाबले पारिश्रमिक प्राप्त गर्न सक्छन् । बुढानिलकण्ठमा विज्ञान र अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने शिक्षकहरुको अभाव रहेको अवस्थामा शिक्षक बैकबाट शिक्षक पूर्ति गर्ने प्रकृया सस्तो पर्ने उनी बताउँछन् । सिंह भन्छन्, ‘हामीले संगित, कला र योगा जस्ता विषयहरुको लागि शिक्षक नियुक्ती गर्ने अवस्था छैन् । यि विषयहरुमा ३/३ महिनाको दरले एउटै शिक्षकले पनि ३ वटा विद्यालयमा अध्यापन गर्न सक्छ ।’

पालिकाले शुरुवात गरेको शिक्षक बैंक कार्यक्रममा अहिले न्यून मात्रामा शिक्षकहरु जोडिएपनि चालु शैक्षिक शत्रमा १ सय जना शिक्षकलाई जोड्ने योजना रहेको प्रमुख सिंहको भनाई छ । उनी भन्छन्, जुनसुकै विद्यालयमा शिक्षक आवश्यकता पर्ने वित्तिकै फास्ट ट्रयाक विधिबाट शिक्षक सप्लाई गर्न सकिने यो कार्यक्रम मुलुककै नमूना कार्यक्रम हो । यो नयाँ अवधारणा र नयाँ प्रयोगपनि हो । यो विधिलाई कार्यान्वयन गर्दा कुनैपनि विद्यालयमा एकदिनपनि शिक्षक खाली हुने अवस्था आउँदैन् । बुढानिलकण्ठ नगरपालिकाले शुरुवात गरेको शिक्षक बैंक अरुको लागि समेत नमूना हुनसक्ने उनको दाबी छ ।

Share News