विकासन्युज

प्राइम लाइफबाट विदा भए सीइओ मनोज भट्टराई

काठमाडौं । आठ वर्षसम्म प्राइम लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनको नेतृत्व गरेका मनोजकुमार भट्टराईले विदा भएका छन् । दुई कार्यकालभन्दा बढी प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुन नपाइने नियमअनुसार भट्टराईले कम्पनी व्यवस्थापनको नेतृत्व छाडेका हुन् । भट्टराईको दोस्रो कार्यकाल गत असार मसान्तसम्म थियो । बीमा र बैंकिङ क्षेत्रमा झण्डै तीन दशकभन्दा बढी काम गरिसकेका भट्टराईले व्यवस्थापकीय नेतृत्व समालेपछि प्राइम लाईफ इन्स्योरेन्सले गति लिएको थियाे । यस्तै, कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीइओ) चिरायु भण्डारी पनि विदा भएका छन् । भण्डारी दुई वर्षे करार अवधि पुरा गरि विदा भएका हुन् ।  

कारबाहीको डरले बैंकहरूले एक सातामै कायम गरे सीडी रेसियो, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८६.४१ प्रतिशत देखिएको छ । नेपाल बैंकर्स संघका अनुसार असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल सीडी रेसियो ८६.४१ प्रतिशत देखिएको हो । असार मसान्तसम्म सबैभन्दा बढी सीडी रेसियो नबिल बैंकको छ भने सबैभन्दा कम सीडी रेसियो प्रभु बैंकको छ । नबिल बैंकको सीडी रेसियो ८९.७९ प्रतिशत देखिएको छ भने सबैभन्दा कम सीडी रेसियो भएको प्रभु बैंकको ७८.३५ प्रतिशत छ । यस्तै, ग्लोबल आईएमई बैंकको ८९.२७ प्रतिशत, हिमालयन बैंकको ८८.८ प्रतिशत, कृषि विकास बैंकको ८८.७९ प्रतिशत र बैंक अफ काठमाण्डूको ८८.२१ प्रतिशत सीडी रेसियो देखिएको छ । कुनको कति ?

हुन्डाई कारको टेस्ट ड्राइभ गर्ने ४ जना फिफा विश्वकप हेर्न कतार जान पाउने 

काठमाडौं । फुटबल विश्वकप-२०२२ लाई मध्यनजर गर्दै हुन्डाईले आफ्नो ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गत नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा कुनै पनि कार टेस्ट-ड्राइभ गरी फिफा विश्वकप(२०२२ प्रत्यक्ष हेर्न जाने मौका पाउनेछन् । साउन ३ गते बाट सुरु भएको यस अफरमा नेपालभरका कुनै पनि व्यक्तिले आफ्नो ड्राइभिंग लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा रेजिष्टर गरी सहभागी हुन सक्नेछन् । यो अफरको अन्त्यमा लक्की ड्र मार्फत दुईजना भाग्यशाली विजेताहरूको छनोट गरिने कम्पनीले जनाएको छ । कम्पनीको अनुसार प्रत्येक विजेताले उपहार स्वरूप आफूलाई मनपर्ने एकजना अर्को व्यक्तिसँग कतार गई विश्वकप लाइभ हेर्न पाउनेछन् । यसरी जम्माजम्मी चारजना हुन्डाईको स्पाेन्सरसीपमा कतार जान पाउनेछन्। हुन्डाई मोटर्सको हस्पिटालिटी प्रोग्राम मार्फत ल्याईएको यो अफर नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले संयोजन गरेको छ। लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरीका १७ डिलर र १९ सर्भिस सेन्टर मार्फत आफ्नो सेवा दिइरहेको छ ।

देख्ने भन्छन् : ‘यो पनि सरकारी स्कुल हो र ?’

काठमाडौं । झट्ट हेर्दा निजी विद्यालयको भन्दा राम्रो भवन । बाहिरीस्वरुप मात्रै होइन भित्र हेर्दा पनि बालबालिकालाई बस्न र पढ्न सजिलो हुने टेबुल, कुर्सी देखिन्छ । विज्ञानको प्रयोगशालामा विद्यार्थीले प्रयोग गरेरै सिक्छन् । खानेपानी र शौचालय पनि बालमैत्री छन् । अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई उत्तिकै सहभागी गराइएको छ । बालबालिकाको प्रतिभा देखाउनका लागि राम्रो सभाकक्ष हुनु पनि विद्यालयको विशेषता बनेको छ । साखुस्थित भगवती माध्यामिक विद्यालय पुग्ने जो कोहीले पनि भन्छन् ‘सरकारी स्कुलको भवन पनि कति राम्रो ।’ बाहिरबाट हेर्दा सुन्दर देखिएको विद्यालयभित्र पुग्दा यहाँ विद्यार्थीको सङ्ख्या उल्लेख्य छ । विद्यालयमा व्यवस्थापन समिति, प्रशासन र शिक्षक–कर्मचारी पनि मिलेर काम गरेको देख्न सकिन्छ । बसपार्कबाट नजिकै रहेको विद्यालय तीन महिना पहिले मात्र हस्तान्तरण भएको हो । अहिले यहाँ झण्डै ६०० हाराहारीमा विद्यार्थी रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकुमार वाइबाले बताए । एक दशक पहिलेसम्म १०० हाराहारीमा विद्यार्थी र लथालिङ्ग विद्यालय अहिले सबै मिलेर व्यवस्थित बनाइएको हो। पहिले सरकारी विद्यालयजस्तै शिक्षकले ध्यान नदिएका र व्यवस्थापन समिति र प्रशासनले कडा गर्न नसकेका कारण विद्यालय लथालिङ्ग बनेको उनको भनाइ थियो। प्रशासनलाई कडा बनाएर शिक्षकले मेहनत गर्न थालेकाले अहिलेको अवस्थामा विद्यालय आइपुगेको अध्यक्ष वाइबाले बताए । उनले भने, ‘पटक पटक बैठक बसेर कसरी शिक्षकले पढाउन मन दिन्छन् भनेर छलफल गरी योजना बनाइएको थियो ।’ पहिले विद्यालयमा गएपछि विद्यार्थी आफैँ पढ्छन् भन्ने अभिभावकमा भावना रहेकामा अहिले अभिभावकलाई विद्यालयमै बोलाएरै उनीहरुका सन्तानका बारेमा छलफल गरिँदै आइएको छ । घरमा पढ्छ पढ्दैनन् भनेर खासगरी परीक्षा आउनु पहिले र नतिजाको समयमा छलफल गर्ने गरिएको छ । अभिभावकले मेरो बच्चा कस्तो पढ्दैछ भन्ने नबुझेसम्म बच्चाले नपढ्ने हुँदा शिक्षक–अभिभावक छलफल नियमित गरिएको अध्यक्ष वाइबाले बताए । शिक्षकले सबैलाई एउटै तरीकाले पढाउने र अभिभावकले ध्यान दिँदा मात्रै विद्यार्थीले ध्यान दिने उनले बताए । एक दशक पहिले एउटा कक्षामा औसत १०/१५ विद्यार्थी थिए । अहिले अधिकांश कक्षामा ४० विद्यार्थी छन् । पछिल्ला केही वर्ष मेरो सन्तानलाई पनि भर्ना गरिदिनु प¥यो भनेर अभिभावक आइरहँदा पनि स्थान अभावका कारण अरु विद्यालयमा पढाउनु परेको अध्यक्ष वाइवाले बताए । दातृ संस्थाले ४० विद्यार्थी मात्रै राख्न सकिने गरी टेबुल, कुर्सीको व्यवस्था गरेको छ । कक्षाकोठाको आकार ठूलो भएपनि टेबुल कुर्सी नहुँदा विद्यार्थी थप गर्न नसकिएको उनले बताए । विद्यालयले त्यस्तै टेबुल, कुर्सी खोजेकामा नपाइएको जानकारी दिँदै अध्यक्ष वाइबाले भने, ‘मिल्दो खालको टेवल कुर्सी राखेर पनि अर्काे वर्षदेखि थप विद्यार्थी भर्ना लिनुपर्छ ।’ अधिकांश सामुदायिक विद्यालयमा स्थानीय विद्यार्थी नै पढ्न नआउने समस्या यो विद्यालयमा छैन । यहाँ टाढाटाढाबाट धाएर, बहालमा बस्ने र स्थानीय गरी सबै किसिमका विद्यार्थी अध्ययनरत छन् । एकताका यहाँ आउने विद्यार्थी टाढाटाढाका र अन्य ठाउँमा घर भएर यहाँ बहालमा बस्ने मात्रै थिए । पहिले लप्सेफेदी, पालुबारी, इन्द्रायणीलगायत ठाउँबाट यहाँ पढ्न आउँथे । अहिले ती ठाउँका विद्यार्थीसँगै स्थानीयवासीको पनि प्राथमिकतामा यो विद्यालय परेको छ । उनले भने, ‘निजी विद्यालयबाट निकालेर पनि हाम्रोमा भर्ना गर्न थालेका छन् ।’ निजी विद्यालयबाट झिकेर छ र सात कक्षामा यहाँ ल्याउने बढी छन् । धेरै अभिभावकलाई सामुदायिक विद्यालयमा आफ्ना सन्तान पढ्न पाउँँदा उच्च शिक्षामा सजिलो हुन्छ भन्ने धारणा पाइन्छ र सामुदायिकमध्ये यही विद्यालय छानेको पाइन्छ । कतिपयले भने पढाइमा निजीभन्दा कम छैन भनेर पनि यहाँ ल्याएको विद्यालयले जनाएको छ । विद्यालयले हाल कक्षा सातसम्म अङ्ग्रेजी माध्यमबाट पढाइरहेको छ । अङ्ग्रेजी माध्यममा पढाउँदा जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण रहेको अध्यक्ष वाइवाले बताए । सरकारी पुराना शिक्षकलाई जति तालिम दिए पनि गर्न गाह्रो रहेकाले निजी स्रोतबाट राखिएको उनले बताए । विद्यालयमा स्थायी शिक्षक÷कर्मचारी मात्रै पर्याप्त नहुँदा आन्तरिक स्रोतबाट राखिँदै आइएको विद्यालयका प्रधानाध्यापक अनुप श्रेष्ठले बताए । विद्यालयले विद्यार्थीबाट सहयोग शुल्कस्वरुप वर्षमा १०० लिने गरेको छ । सबै किसिमका शुल्क गरी १० कक्षामा एक वर्षमा झण्डै एक हजार ५०० खर्च हुने उनले बताए । प्रधानाध्यापक श्रेष्ठले भने, ‘कक्षा ११ र १२ मा विद्यार्थीबाट लिइएको शुल्कबाट शिक्षकलाई तलब दिइने गरिएको छ भने तल्लो कक्षामा यहाँका विद्यार्थीलाई न्यून तलबमा राखिएको छ ।’ विद्यालयमा हाल छात्रा ६० प्रतिशत र छात्र ४० प्रतिशत हाराहारीमा छन् । अहिलेको भवन विसं २०७४ मा निर्माण सुरु गरिएको थियो । सो भवन डेढ वर्षमा सक्नुपर्ने भए पनि कोरोनाका कारण लम्बिएको थियो । पहिले एक तलाको भवन २०७२ सालको भूकम्पमा चर्किएपछि अस्थायी भवनमा पढाइएको थियो । उनले भने, ‘पाँच वर्ष पछि मात्रै हामी यहाँ सर्न पाएका छौँ ।’ पहिले विद्यालयको सबै कामका लागि जिल्लास्थित शिक्षा कार्यालय जानुपर्नेमा संविधानले माध्यमिक तहको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिएपछि अधिकांश काम नगरपालिकाबाटै हुने गरेको छ । नगरपालिका जाँदा नजिकै र सम्पर्क गर्न सजिलो भए पनि अरु किसिमका झन्झट भइरहेको प्रधानाध्यापक श्रेष्ठले बताए । स्थानीय तहबाट तलव पठाउन गाह्रो र नपुग्ने गरी पठाउने र ढिला गर्ने समस्या रहेको उनले बताए । प्रधानाध्यापक श्रेष्ठले भने, ‘अहिले धेरै काममा बढी सोधखोजले चाँडो हुने काममा पनि ढिलाइ भइरहेको छ ।’ जिल्ला शिक्षा कार्यालयमा कर्मचारी मात्रै हुँदा सबैलाई एकै किसिमको व्यवहार भएपनि अहिले राजनीतिक व्यक्ति हुँदा विभिन्न किसिमका समस्या आउने गरेको अध्यक्ष वाइवाले बताए । कहिलेकहिले जनप्रतिनिधि र कर्मचारी कुुरा नमिलेमा आज हुनुपर्ने काम तीन महिना पछि हुने गरेको जानकारी गराउँदै उनले भने, ‘जनप्रतिनिधि राजनीतिक पृष्ठभूमिको हुँदा पूर्वाग्रहले कतै नजिक र टाढा हुने सम्भावना हुन्छ ।’ विद्यालयको व्यवस्थापन र कर्मचारी दुवैले यहाँको विद्यार्थी देश र विदेशमा प्रतिस्पर्धा गर्न सक्ने होस् भनी लागिएको अध्यक्ष वाइवाले बताए । सरकारको नीतिअनुसार चल्नुपर्दा आफूले चाहेर पनि विद्यालय सुधारका लागि झट्ट केही गर्न नसकेको जानकारी दिँदै उनले भने, ‘हामीसँग आर्थिक स्रोत नहुँदा कतिपय कुरा चाहेर पनि झट्ट कार्यान्वयन गर्न नसकिने अवस्था छ ।’ यहाँको पूर्वाधार बनिसकेकाले अबको ध्यान विद्यालयको शैक्षिक अवस्था सुधारमा नै रहेको छ । कोरोनापछि पढाइका लागि र समय पर्याप्त हुँदा धेरै बालबालिकाको हातमा जुनसुकै समयमा मोबाइल भएकाले पढाइमा असर पर्न थालेको छ । अध्यक्ष वाइवाले भने, ‘पहिले पढाउनै अनलाइन कक्षामा मोबाइल चलाउन थालेका विद्यार्थीमा अहिले लत बस्यो ।’ रासस

नबिल र ग्लोबललाई टक्कर दिँदै एनसीसी र नेपाल बैंक, बिजनेश ग्रोथमा कुनको प्रगति कति ?

काठमाडौं । एक वर्षको अवधिमा बिजनेस ग्रोथमा नबिल बैंकको अग्रता देखिको छ । निक्षेप संकलन र कर्जा लगानीमा अन्य वाणिज्य बैंकहरुको तुलनामा नबिल बैंक अगाडि देखिएको हो । नबिल बैंकले एक वर्षको अवधिमा निक्षेप संकलन १०१ अर्बले बढाएको छ । २०७८ को असारसम्म कुल २ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको नबिलले २०७९ को असारसम्म कुल ३ खर्ब २९ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरेको हो । उसो त नेपाल बंगलादेश बैंकलाई आफुमा गाभेपछि नबिलको निक्षेप बढेको देखिएको हो । नेपाल बंगलादेश बैंककाे निक्षेप नबिल बैंकमा गणना भएपछि नबिलकाे कर्जा र निक्षेप संकलन बढेकाे देखिएकाे हाे । यस्तै, निक्षेप संकलनमा नेपाल बैंक पनि उत्कृष्ट देखिएको छ । सरकारी स्वामित्व रहेको नेपाल बैंकले एक वर्षको अवधिमा निक्षेप संकलन र कर्जा लगानीमा राम्रो ग्रोथ गरेको तथ्यांकले देखाउँछ । यस बैंकले एक वर्षको अवधिमा निक्षेप ३३ अर्ब ५६ करोड रुपैयाँले बढाएको छ भने कर्जा लगानी ३५ अर्ब ८७ करोड रुपैयाँले बृद्धि गरेको छ । प्रतिशतको आधारमा एक वर्षमा निक्षेप संकलन बढी गर्ने बैंकको सूचीमा एनसीसी तेश्रोमा छ । बैंकले यस अवधिमा ३० अर्ब ७१ करोड रुपैयाँले निक्षेप बढाएको छ । कर्जा लगानी भने २७ अर्ब २ करोड रुपैयाँले बढाएको छ । कर्जा लगानीमा तेस्रो नम्बरमा भने ग्लोबल आईएमई बैंक देखिएको छ । ग्लोबल आईएमई बैंकले एक वर्षको अवधिमा २९ अर्ब ७१ करोड रुपैयाँले कर्जा लगानी वृद्धि गरेको छ । यस बैंकले अघिल्लो वर्ष कुल २ खर्ब ४२ अर्ब करोड लाख रुपैयाँ कर्जा लगानी गरे पनि २०७९ असारसम्म भने २ खर्ब ७२ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको तथ्यांकले देखाउँछ । वाणिज्य बैंकहरुले एक वर्षको अवधिमा खर्ब ४० अर्ब रुपैयाँ निक्षेप बढाएका छन् । २०७८ असारमा कुल ४२ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुले २०७९असारसम्म कुल ४५ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । दुई बैंकको निक्षेप घट्यो एक वर्षको अवधिमा तीन वटा वाणिज्य बैंकको निक्षेप भने घटेको देखिएको छ । एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंककाे निक्षेप घटेको छ । अघिल्लो वर्ष कुल ३ खर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरेको एनआईसी एशिया बैंकको ५ अर्ब २७ करोड रुपैयाँले निक्षेप घटेर २ खर्ब ९४ अर्ब ९८ करोड रुपैयाँ कायम भएको छ । यस्तै, अघिल्लो वर्ष कुल २ खर्ब ६४ अर्ब १ करोड रुपैयाँ निक्षेप रहेको राष्ट्रिय वाणिज्य बैंकको निक्षेप ७ अर्ब ४६ करोड रुपैयाँले घटेर २ खर्ब ५६ अर्ब ६४ करोड रुपैयाँ कायम भएको छ ।

साउनभर जानकी मेडिकल कलेजमा ओपिडी र एम्बुलेन्स सेवा नि:शुल्क

काठमाडौं । धनुषास्थित जानकी मेडिकल कलेजले ओपिडी लगायत अन्य केही स्वास्थ्य सेवा निशुल्क सेवा प्रदान गर्ने भएको छ । इन्टिच्युट अफ मेडिसिनको ५० वर्षको वार्षिकोत्सवको अवसरमा कलेजले यस्ताे सेवा दिने भएकाे हाे कलेजले साउन महिनाभरि आन्तरिक चिकित्सा, शल्य चिकित्सा, स्त्री रोग, बाल रोग, आँखा, नाक कान घाँटी, अर्थोपेडिक्स, दन्त चिकित्सा, मनोचिकित्सा, चर्म अनि पिसाबका बिरामीहरूलाई नि:शुल्क ओपिडी सेवा प्रदान गर्ने जनाएकाे छ । त्यसबाहेक, जानकी मेडिकल कलेजले ल्याब परिक्षण, रेडियोलोजी, आईसीयु र एनआईसीयुमा र वार्डको शुल्कमा पनि २५ प्रतिशत छुट दिने भएको छ । यसका साथै कलेजले आफ्नो २४ घण्टा उपलब्ध एम्बुलेन्स सेवा पनि साउन महिनाभरि नि:शुल्क बनाएको छ ।  

एक सातामै ४७ अर्बले बढ्यो बैंकहरुको निक्षेप, सीडी रेसियो ८६ प्रतिशतमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप तथा कर्जा लगानीमा वृद्धि भएको छ । गत साताको तुलनामा यो साता बैंकहरुको निक्षेप ४७ अर्ब रुपैयाँले बढेको छ भने कर्जा १ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघका अनुसार असारको अन्तिम सातामा बैंकहरुले ४५ खर्ब ४१ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेका छन् । जुन अघिल्लो साता ४४ खर्ब ९४ अर्ब रुपैयाँ थियो । त्यस्तै, असारको पहिलो सातामा भने सो रकम ४३ खर्ब ९४ अर्ब रुपैयाँमा सीमित थियो । संघको तथ्यांक अनुसार बैंकहरुले असार अन्तिम सातासम्ममा ४१ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका छन् । जुन अघिल्लो साताको तुलनामा १ अर्ब रुपैयाँले बढी हो भने असारको पहिलो साताको तुलनामा १३ अर्ब रुपैयाँले घटी हो । असारको पहिलो सातामा यस्तो रकम ४१ खर्ब ८८ अर्ब रुपैयाँ थियो । यो अवधिमा बैंकहरुको सीडी रेसियो घटेर ८६.४१ प्रतिशतमा झरेको छ ।

६ अर्ब लगानीमा महाराजगञ्जमा भूकम्प प्रतिरोधी अपार्टमेन्ट बन्दै, ३ वर्षमा बनिसक्ने

काठमाडाैं । काठमाडौंको महाराजगञ्जमा भूकम्प प्रतिरोधी सुविधासम्पन्न अपार्टमेण्ट बन्ने भएको छ । सुरक्षित र सुविधा सम्पन्न आवासीय सेवा उपलब्ध गराउने उद्देश्यले अपार्टमेन्ट निर्माण गर्न लागेको कर्मा रेसिडेन्सी निर्माण टिमले जनाएको छ । कर्मा रेसिडेन्सी निर्माण टिमकाे अनुसार व्यवसायी कर्मा तेन्जिङको लगानीमा निर्माण हुन लागेको अपार्टमेन्ट अबको ३ वर्षमा बनिसक्नेछ । व्यवसायी तेन्जिङले सुरक्षा र बलियो भवनको पर्याय बन्ने गरेर अपार्टमेण्ट बनाउने बताए । ‘२.५बीकेएच र ३.५बीकेएच अपार्टमेन्ट रहने कर्मा रेसिडेन्समा प्राइभेट गार्डेनको समेत सुविधा उपलब्ध हुनेछ,’ उनले भने । ‘अन्य सुविधामा हरेक समयमा हट वाटर, निरन्तर विद्युतको सुविधा, २४० भन्दा बढी सवारी साधन पार्किङ स्पेस, हाइस्पिड इलेभेटर, स्वीमिङ पुल, जिम र साउना, जगिङ ट्रयाक, मेडिटेशन योगा डेक, बालबालिकाका लागि खेल्ने क्षेत्र, मन्दिरलगायतका सुविधा पनि रहनेछ,’ उनले थपे । भवन निर्माण सकिँदासम्म ६ अर्ब रुपैयाँ लागत पुग्नसक्ने उनले बताए । त्यस्तै निर्माणको जिम्मेवारी लिएका ए वान बिल्डर्सका अध्यक्ष भक्त लामाका अनुसार करिब १२ रोपनी क्षेत्रफलमा फैलिने अपार्टमेन्टमा भवनले मात्रै ६ रोपनी मात्रै जग्गा ओगट्नेछ । नियम अनुसार ४० प्रतिशत अतिरिक्त, जग्गा हुनुपर्नेमा यो भवनले ४२ प्रतिशत अतिरिक्त जग्गा छाड्ने उनले बताए । अबको १८ महिनामा संरचना निर्माणको काम सकिने र बाँकी १८ महिनामा इन्टेरियर डिजाइनको काम पूरा गर्ने योजना रहकाे व्यवसायी तेन्जिङले बताए । तन्जिङकाे अनुसार अपार्टमेण्ट तीन वटा बिल्डिङमा हुनेछ भने प्रत्येक भवनमा २ तला बेसमेन्टमा पार्किङ, बाँकी १२ तलामा अपार्टमेण्ट र एक तलामा अन्य सुविधागरी १५ तलाको हुनेछ । भवनमा १६२ वटा अर्पाटमेण्टहरु हुने उनले बताए ।