काठमाडाैं । काठमाडौंको महाराजगञ्जमा भूकम्प प्रतिरोधी सुविधासम्पन्न अपार्टमेण्ट बन्ने भएको छ । सुरक्षित र सुविधा सम्पन्न आवासीय सेवा उपलब्ध गराउने उद्देश्यले अपार्टमेन्ट निर्माण गर्न लागेको कर्मा रेसिडेन्सी निर्माण टिमले जनाएको छ ।
कर्मा रेसिडेन्सी निर्माण टिमकाे अनुसार व्यवसायी कर्मा तेन्जिङको लगानीमा निर्माण हुन लागेको अपार्टमेन्ट अबको ३ वर्षमा बनिसक्नेछ ।
व्यवसायी तेन्जिङले सुरक्षा र बलियो भवनको पर्याय बन्ने गरेर अपार्टमेण्ट बनाउने बताए । ‘२.५बीकेएच र ३.५बीकेएच अपार्टमेन्ट रहने कर्मा रेसिडेन्समा प्राइभेट गार्डेनको समेत सुविधा उपलब्ध हुनेछ,’ उनले भने ।
‘अन्य सुविधामा हरेक समयमा हट वाटर, निरन्तर विद्युतको सुविधा, २४० भन्दा बढी सवारी साधन पार्किङ स्पेस, हाइस्पिड इलेभेटर, स्वीमिङ पुल, जिम र साउना, जगिङ ट्रयाक, मेडिटेशन योगा डेक, बालबालिकाका लागि खेल्ने क्षेत्र, मन्दिरलगायतका सुविधा पनि रहनेछ,’ उनले थपे । भवन निर्माण सकिँदासम्म ६ अर्ब रुपैयाँ लागत पुग्नसक्ने उनले बताए ।
त्यस्तै निर्माणको जिम्मेवारी लिएका ए वान बिल्डर्सका अध्यक्ष भक्त लामाका अनुसार करिब १२ रोपनी क्षेत्रफलमा फैलिने अपार्टमेन्टमा भवनले मात्रै ६ रोपनी मात्रै जग्गा ओगट्नेछ । नियम अनुसार ४० प्रतिशत अतिरिक्त, जग्गा हुनुपर्नेमा यो भवनले ४२ प्रतिशत अतिरिक्त जग्गा छाड्ने उनले बताए ।
अबको १८ महिनामा संरचना निर्माणको काम सकिने र बाँकी १८ महिनामा इन्टेरियर डिजाइनको काम पूरा गर्ने योजना रहकाे व्यवसायी तेन्जिङले बताए ।
तन्जिङकाे अनुसार अपार्टमेण्ट तीन वटा बिल्डिङमा हुनेछ भने प्रत्येक भवनमा २ तला बेसमेन्टमा पार्किङ, बाँकी १२ तलामा अपार्टमेण्ट र एक तलामा अन्य सुविधागरी १५ तलाको हुनेछ । भवनमा १६२ वटा अर्पाटमेण्टहरु हुने उनले बताए ।