विकासन्युज

ऋण गरेरै बुझायो निगमले आईओसीलाई तेलको बक्यौता रकम

काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल कर्पाेरेसन्स (आईओसी) लाई १६ अर्ब ८० करोड बक्यौता रकम भुक्तानी गरेको छ । पेट्रोलियम पदार्थ खरिद गर्दा भुक्तानी गर्नुपर्ने रकममध्ये निगमले ऋण खोजेर मंगलबार उक्त रकम भुक्तानी गरेको हो । ३१ अर्ब २० करोड बक्यौता रकममध्ये मंगलबार उक्त रकम भुक्तानी गरेपछि अझै १४ अर्ब ४० करोड बक्यौता बाँकी रहेको निगमले जनाएको छ । निगमका प्रवक्ता विनितमणी उपाध्याय सरकारले ऋण र भ्याट फिर्ता बापतको रकम दिएसँगै आईओसीलाई बक्यौता रकम पठाइएको बताए । उनका अनुसार सरकारले दिएको ऋण, भ्याट फिर्ता बापतको रकम र निगमले तेल बिक्री गरेबापत ३ अर्ब ४६ करोड रकम गरी १६ अर्ब ८० करोड भुक्तानी गरिएको हो । आईओसीलाई तेलको बक्यौता रकम भुक्तानी गर्न सरकारले निगमलाई ७ अर्ब ऋण, राष्ट्रिय बाणिज्य बैंकको ३ अर्ब ऋण र ठूला करदाताले भ्याट फिर्ताबापत रकम दिएको थियो । ५ प्रतिशत ब्याजदरमा निगमलाई ५ वर्षका लागि ७ अर्ब रुपैयाँ ऋण दिएको हो भने राष्ट्रिय बाणिज्य बैंकले ९ प्रतिशत ब्याजदरमा ३ महिनाको लागि ३ अर्ब ऋण दिएको थियो । आइतबार सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले मन्त्रिपरिषद् बैठकले आईओसीलाई भुक्तानी गर्न निगमलाई उक्त रकम उपलब्ध गराउने निर्णय भएको जनाएका हुन । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको उनले बताए । उनका अनुसार पूर्वाधार करको सोधभर्ना बापत ५९ करोड ८६ लाख ८० हजार रुपैयाँ अर्थ मन्त्रालयले निगमलाई उपलब्ध गराएको हो ।

बिजनेस ग्रोथमा आक्रमक बन्दै एशियन र यूनियन लाइफ, नेपाल लाइफसहित अन्य कम्पनीको कस्तो ?

काठमाडौं । गत आर्थिक वर्षमा विभिन्न ६ जीवन बीमा कम्पनीले ९१ अर्ब रुपैयाँ बढीको बिजनेश गर्न सफल भएका छन् । आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा शीर्ष ६ जीवन बीमा कम्पनीले कूल ९१ अर्ब ३५ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् । जसमा नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन, नेशनल लाइफ, राष्ट्रिय बीमा संस्थान र यूनियन लाइफ रहेका छन् । उक्त रकम अघिल्लो वर्षको तुलनामा ९.६० प्रतिशतले बढी हो । यी ६ वटा कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा कूल ८३ अर्ब ३५ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका थिए । रकमको आधारमा नेपाल लाइफको अग्रता रहेको छ भने बिजनेश वृद्धिदरको आधारमा एशियन लाइफ अन्य कम्पनीको तुलनामा बढी आक्रामक देखिएको छ । नेपाल लाइफले गत वर्षमा ३५ अर्ब ४४ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको कम्पनी श्रोतले जनाएको छ । जुन अघिल्लो वर्षको तुलनामा ९.५२ प्रतिशतले बढी हो । इन्स्योरेन्सले अघिल्लो वर्षमा ३२ अर्ब ३६ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको थियो । त्यस्तै, अघिल्लो वर्ष १७ अर्बको क्लबमा रहेको लाइफ इन्स्योरेन्स गत वर्ष १८ अर्ब क्लबमा प्रवेश गर्न सफल भएको छ । इन्स्योरेन्सले एक वर्षको अवधिमा ६.३० प्रतिशतले बिजनेश बढाएर १८ अर्ब २२ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी, नेशनल लाइफ बीमाशुल्कको आधारमा तेश्रो स्थानमा रहेको छ । अघिल्लो वर्ष १२ अर्ब ५४ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको इन्स्योरेन्सले गत एक वर्षमा १४ अर्ब १३ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १२.६८ प्रतिशतले बढी हो । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको पनि बिजेनश दोहोरो अंकले बढेको छ । अघिल्लो वर्षको तुलनामा संस्थानको प्रिमियम ११.७४ प्रतिशतले बढेर ८ अर्ब ४७ करोड रुपैयाँ पुगेको सीईओ कबि प्रसाद पाठकले विकासन्युजलाई बताए । जुन अघिल्लो आवमा ७ अर्ब ५८ करोड रुपैयाँ थियो । यता यूनियन लाइफ र एशियन लाइफको बिजनेश वृद्धिदर अन्य कम्पनीको तुलनामा बढी छ । जसमध्ये पनि एशियन लाइफको बिजनेश २१.३२ प्रतिशतले बढेको छ । कम्पनी श्रोतका अनुसार एशियन लाइफको बीमाशुल्क बढेर ७ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । जुन रकम ५ कम्पनीको तुलनामा कम भएपनि कम्पनीको ग्रोथ भने सबैभन्दा बढी छ । अघिल्लो आवमा ५ अर्ब ९१ करोड रुपैयाँको क्लबमा रहेको एशियन लाइफ यो वर्ष ७ अर्बको क्लबमा सजिलै प्रवेश गर्न सफल भएको छ । प्रतिशतका आधारमा सबैभन्दा बढी ग्रोथ गर्नेको दोश्रो स्थानमा यूनियन लाइफ रहेको छ । युनियन लाइफले अघिल्लो वर्षको तुलनामा १६.१३ प्रतिशतले बिजेनश बढाई ७ अर्ब ९२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको कम्पनीका सीईओ मनोज कुमार लाल कर्णले बताए । अघिल्लो वर्ष भने इन्स्योरेन्सको यस्तो रकम ६ अर्ब ८२ करोड रुपैयाँ थियो । हाल २० वटा कम्पनीले जीवन बीमा व्यवसाय गरिरहेका छन् । जसमध्ये यी ६ कम्पनी विभिन्न सूचकमा शीर्ष स्थानमा रहेका छन् । यो पनि पढ्नुहोस् : बीमाशुल्कमा नेको, सिद्धार्थ र एनएलजीबीच टक्कर, शिखर र सगरमाथाको अग्रता कायमै

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१को लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१’ को सार्वजनिक निष्कासन तथा बिक्री आज बैकिङ समय पश्चात् बन्द हुने भएको छ । असार २२ गतेदेखि सार्वजनिक निष्काशन तथा खुला रहेको यो फण्ड साउन ४ गतेदेखि आवेदन बन्द हुन लागेको हो । १० वर्षे बन्दमुखी योजना ‘ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१’ को प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेको हो । लगानीकर्ताले न्यूनतम् १०० इकाई र अधिकतम् १ करोड २० लाख इकाईसम्म खरिद गर्न सक्नेछन् । धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्वा प्रणाली मार्फत वा सिडिएस एन्ड क्लियरिङ लि.द्वारा सञ्चालित ‘मेरो सेयर’ अनलाइन प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र, कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष लगायतले आवेदन दिन सक्ने छन् । कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंक हो । योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल हो । ग्लोबल आइएमई क्यापिटलले अघिल्लो आर्थिक वर्ष सतप्रतिशत आकर्षक प्रतिफल दिन सफल भएको थियो । यसै क्रममा कम्पनीले अर्को ‘ग्लोबल आइएमई समुन्नत योजना–१’ सञ्चालन गर्न लागेको हो ।

डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध ।

लमजुङ । निरन्तर वर्षा हुँदा गए रातिदेखि बाढी–पहिराले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडा पहिराले सडक अवरुद्ध भएको हो । रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने उक्त खण्डको रिठ्ठेबगरमा लेदोसहितको पहिराले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । उनले भने, “अवरुद्ध सडक मङ्गलबार बिहानदेखि सञ्चालनमा आएको थियो, तर वर्षा भइरहँदा गए रातिदेखि पुनः लेदो खसेर सडक अवरुद्ध भएको छ ।” आकस्मिक कामका लागि बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायत स्थानमा जान लागेका यात्रु सडक अवरुद्धका कारण मारमा परेका छन् । गए रातिदेखि हालसम्म पानी निरन्तर परिरहको छ । लेदोसमेत बगिरहेको छ । पानी परिरहेकाले सडक बनाउन कठिनाइ भइरहेको डुम्रे–बेँसीसहर–चामे योजना सडक कार्यालय लमजुङले जनाएको छ । यस सडकको दूरी ४२ किलोमिटर छ ।

स्थानीय तहको ८० प्रतिशत रकमलाई निक्षेपमा गणना गर्न पाउने व्यवस्थालाई निरन्तरता, बैंकहरुलाई राहत

काठमाडौं । स्थानीय तहको खातामा रहेको रकमको ८० प्रतिशत रकमलाई वाणिज्य बैंकहरुले ८० प्रतिशत निक्षेपका रुपमा राख्न पाउने व्यवस्थालाई निरन्तरता दिइएको छ । अर्थमन्त्रालयले सो व्यवस्थालाई निरन्तरता दिएको हो । यो व्यवस्था साउ १ गतेदेखि सकिएको थियो । तर, अर्थमन्त्रालयले पुनः समय थप गरेको हो । अर्थ मन्त्रालय स्रोतका अनुसार मंगलबारदेखि नै स्थानीय तहको खातामा रहेको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाइने व्यवस्थालाई निरन्तरता दिने निर्णय भएको हो । आउँदो पुस मसान्तसम्मका लागि भन्दै अर्थ मन्त्रालयले उक्त व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको बताइएको छ । बैंकहरुले अहिले नै सो व्यवस्था हटाउँदा समस्या सिर्जना हुने भनेपछि राष्ट्र बैंकले अर्थमन्त्रालयको समन्वययमा सो व्यवस्थालाई कायमै राख्ने निर्णय गरेको हो । सम्बन्धित सामग्री :  स्थानीय तहको ८० प्रतिशत रकम निक्षेपमा राख्न पाउने व्यवस्थालाई कायमै राख्ने तयारी

शर्मा प्रकरण : डिलिट भएको सिसिटिभी फुटेज रिकभर गर्न फरेन्सीक ल्याब पठाइने

काठमाडौं । अर्थ मन्त्रालयको जेठ १३ र १४ गतेको डिलिट भएको सिसिटिभी फुटेज रिकभर गर्नको लागि नेपाल प्रहरी अन्तर्गतको फरेन्सीक ल्याबमा पठाइने भएको छ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले सो निर्णय गरेको संसदीय छानबिन विशेष समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले डिलिट भएको सिसिटिभी फुटेज रिकभर सम्भावना र उपायका विषयमा नेपाल प्रहरी अन्तर्गतको साइबर ब्यूरोका विज्ञ र इन्जिनियरिङ अध्ययन संस्थानमा कार्यरत विज्ञसँग सुझाव लिएको सचिव अर्यालले बताए । त्यस्तै, समितिले निःवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा बाहिरी मान्छे प्रवेश गराएको समाचार बाहिर ल्याउने अन्नपूर्ण पोष्ट र कान्तिपुर दैनिकका सम्पादकसँग पनि छलफल गर्ने तयारी गरेको उनले बताए । सचिव अर्यालले समितिले संसदले समितिलाई दिएको क्षेत्राअधिकार भित्र रहेर छानबिन कार्य गरिरहेको बताए । उनले बुधवार वा बिहीवार बस्ने समिति बैठकमा निःर्वतमान अर्थमन्त्री शर्मालाई सोधपुछको लागि बोलाउने तयारी रहेको पनि जानकारी दिए । उनले समितिले अहिलेसम्म अनुसन्धान क्रममा रहेकाले निर्णय कस्तो गर्ने भन्ने विषयमा नपुगेको बताएका छन् । तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्येरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ । पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

इच्छाराजकी श्रीमति सिर्जना पनि पक्राउ, सहकारीका बचतकर्ताको ५ अर्ब ८४ करोड ठगेको आरोप

काठमाडौं । सिभिल सहकारीका सञ्चालक इचछाराज तामाङकी श्रीमति सिर्जना शाक्य तामाङ पनि पक्राउ परेकी छन् । सिभिल सहकारीका बचतकर्ताको रकम ठगेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (आईबी) उनलाई मंगलबार पक्राउ गरेको हो । सिभिल सेभिङ् एण्ड क्रेडिट सहकारी संस्थामा आकर्षक ब्याजदर एवं बिभिन्न प्रलोभन समेतमा पारी ठुलो संख्यामा वचतकर्ताहरुलाई रकम जम्मा गर्न लगाई संगठित रुपमा ५ अर्ब ८४ करोड ४० लाख २१हजार रुपैयाँ ठगेको आरोपमा उनी पक्राउ परेकी हुन् । बिगत ३ वर्ष देखी आफुले वचत गरेको रकमको सावा तथा ब्याज पटक पटक अनुरोध गर्दा समेत नपाई १५३० जना पीडितहरुले यस कार्यालयमा ठगी एवं संगठित अपराध कसूरमा जाहेरी दरखास्त दिई सोही जाहेरी दरखास्तको आधारमा अनुसन्धान सम्पन्न भई गत मंसिर १७ गतेमा उक्त संस्थाका पूर्व अध्यक्ष ईच्छा राज तामाङ् सहित १२ जना प्रतिबादीहरुलाई पक्राउ गरी सम्मानित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकोमा प्रतिवादी ईच्छा राज तामाङ् र केशवलाल श्रेष्ठ पुपर्क्षको लागि कारागारमा थुनामा छन् । सोही मुद्दामा काठमाडौं जिल्ला अदालतबाट गत पुस २७ गते पक्राउ पूर्जि जारी भई शुरु देखी नै फरार रहेकी प्रतिबादी उक्त संस्थाका लेखा समिति सदस्य एवं प्रतिवादी ईच्छा राज तामाङ्को पत्नी सिर्जना शाक्य ९तामाङ०लाई आज रामशाहपथबाट पक्राउ गरिएको बताइएको छ । उनलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरीएको बताइएको छ ।

भवन निर्माणसम्बन्धी मापदण्ड पुनः संशोधन गर्न निर्देशन

काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सरकारलाई शहरी विकास तथा भवन निर्माणसम्बन्धी मापदण्ड सम्बन्धित क्षेत्रका विज्ञ, योजनाकार तथा सरोकारवालाको रायका आधारमा पुनःसंशोधन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले शहरी विकास मन्त्रालयले अघि बढाएको बस्ती विकास, शहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ को २०७८ सालमा भएको संशोधनको पुनःसंशोधन गर्न शहरी विकास मन्त्रालयलाई निर्देश गरेको हो । विसं २०७८ को संशोधनले मापदण्डका प्रावधान अझ साँघुरो र सङ्कुचित बनाएको निर्णयमा उल्लेख छ । सरकारको स्वच्छ, सुरक्षित र सुन्दर सहर निर्माण तथा सन्तुलित र समानुपतिक विकास गर्ने नीति विपरीत भएको विषयप्रति समितिले ध्यानाकर्षण गराएको छ । मापदण्ड दीर्घकालीन रुपमा प्रकृतिक प्रकोपबाट जोगिने, वातावरण मैत्री, आवास र बस्ती निर्माणको दृष्टिले नागरिकलाई सुरक्षित राख्न हिमाल, पहाड र तराईको भौगोलिक अनुकुलता हुनुपर्ने समितिले जनाएको छ । दीर्घकालीन योजना र दृष्टिकोणका आधारमा एकीकृत मापदण्ड बनाइ कार्यान्वयन गर्ने गरी प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ । प्रदेश सरकार र स्थानीय तहले भवन निर्माणसम्बन्धी फरक फरक मापदण्ड बनाएर कार्यान्वयन गर्दा निर्माण भइरहेका संरचना असुरक्षित र वातावरणीय दृष्टिले जोखिमपूर्ण हुने देखिएको छ । शहरी विकास मन्त्री मेटमणि चौधरीले मापदण्डमा कमीकमजोरी रहेमा आफ्नो टोलीसँग बसेर छलफल गरेर सच्याइने बताए । मन्त्रालयले अहिले शहरी विकास नीतिलगायतका महत्वपूर्ण र कतिपय लामो समयदेखि थन्किएका कानुन अघि बढाएको उहाँले बताउनुभयो । उहाँले भने, ‘एक साताभित्रै महत्वपूर्ण कानुन ल्याउन लागिएको छ ।’ कुनै पनि मन्त्रालयको जिम्मेवारी पाउनुलाई आफूले सामान्य रुपमा लिएको मन्त्री चौधरीले बताए । शहरी विकास मन्त्रालयका सचिव रमेशकुमार सिंहले चारै कुनामा शहर बनाएर काठमाडौँलगायत शहरको चाप कम गर्न आवश्यक रहेको औँल्याए । मन्त्रालयले बनाएको मापदण्डभन्दा कम नहुने गरी स्थानीय तहले मापदण्ड बनाउने व्यवस्था गरेको उनले बताए । फरक फरक भौगोलिक क्षेत्रका लागि फरक किसिमको मापदण्ड तोकिएको उनले स्पष्ट पारे । समितिका सभापति कल्याणीकुमारी खड्काले भूकम्पपछि कडा मापदण्ड बनाउनुपर्नेमा झन खुकुलो भएको धारणा राखिन् । हाउजिङमा संलग्न व्यवसायीको फाइदका लागि अहिले प्रावधान ल्याइएको उनको आरोप छ । युटिलिटी करिडोरसम्बन्धी ऐन ल्याउन आवश्यक रहेको र समितिले भने पनि मन्त्रालयले अझै ल्याउन नसकेको उनको भनाइ छ । समितिका सदस्य जिपछिरिङ लामाले शहरी विकासको मापदण्ड बनाउँदा व्यापक छलफल गर्दा राम्रो हुने भए पनि यो मापदण्ड निर्माणमा त्यसो हुन नसकेको बताए । थोरै जग्गा भएका व्यक्तिलाई धेरै जग्गा छोड्नुपर्दा समस्या हुनसक्ने उनको भनाइ छ । समितिका सदस्य यज्ञराज सुनुवारले काठमाडौंका धेरै बस्ती जथाभावी विस्तार भइरहेकाले व्यवस्थित बस्ती निर्माणमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । मध्यपहाडी राजमार्गमा नयाँ सहर निमाण गरिने भनिए पनि त्यसो हुन नसकेको उनको भनाइ छ । धेरै सरकारी कार्यालयको नयाँ भवन बने पनि त्यसअनुसार सेवा सुधार हुन नसकेको उनले बताए । समितिका सदस्य सञ्जयकुमार गौतमले दीर्घकालीन योजना बनाउन शहरी विकास मन्त्रालयलाई आग्रह गरे । मन्त्रालयको जिम्मेवारीमा रहँदा नीतिगत भ्रष्टाचार हुन नदिनतर्फ लाग्न उनले मन्त्री चौधरीलाई सुझाव दिए । समितिका सदस्य विनाकुमारी श्रेष्ठले कस्तो मापदण्ड बनाउने भन्नेबारे छलफल हुनुपर्ने बताइन् । समितिका सदस्य रङ्गमति शाहीले धान फल्ने खेतमा तथा जङ्गल फाँडेर सहर बनाउने गरिएकाले त्यसो गर्न नहुने उल्लेख गरिन् । समितिका सदस्य केदार सिग्देलले सीमित सहरमा मात्रै जनसङ्ख्या थुप्रिन नदिन पहल गर्नुुपर्ने उल्लेख गरे । सहर सुरक्षित र सुन्दर हुनुपर्नेमा उनले जोड दिए । मापदण्डको दोस्रो संशोधन सरकारबाट स्वीकृत भएर गत जेठ १६ मा राजपत्रमा प्रकाशित भएको थियो । मन्त्रालयले सचिवको संयोजकत्वमा अन्य सरकारी निकायका सहसचिव सम्मिलित १६ सदस्यीय केन्द्रीय शहरी योजना तथा भवन निर्माण मापदण्ड सुदृढीकरण तथा सुपरिवेक्षण समिति गठन गरेको थियो । उक्त समितिले गत माघ २६ मा सो प्रतिवेदन स्वीकृतिका लागि सिफारिसको निर्णय गरेको थियो ।