
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) मा विभिन्न ३ कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै आवेदन दिएका छन् । सर्वोत्तम सिमेन्ट लिमिटेड, अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेड र रिलायन्स स्पीनिङ मिल्स लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् ।
सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पीनिङ्ग मिल्सले बुक बिल्डिङ्ग बिधिमार्फत आईपीओ निष्काशन गर्न अनुमति मागेका हुन् । यी दुई कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि ४० प्रतिशत शेयर जारी गर्ने भएका हुन् ।
सर्वोत्तम सिमेन्टले योग्य संस्थागत लगानीकर्ताका लागि २४ करोड रुपैयाँ बराबरको २४ लाख कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले असार २८ गते बोर्डमा आवेदन दिएको हो ।
त्यस्तै, रिलायन्स स्पिनीङ्ग मिल्सले योग्य संस्थागत लगानीकर्ताका लागि ७ करोड ७० लाख ६४ हजार रुपैयाँको ७ लाख ७० हजार ६४० कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
त्यस्तै, अप्पर स्याङ्गे हाइड्रोपावरले आयोजना प्रभावित वासिन्दा र सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ जारी गर्नेछ । कम्पनीले ८ करोड ७० लाख रुपैयाँको ८ लाख ७० हजार कित्ता शेयर बिक्री गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।