गोल्डन ओक १२औं कृति अवार्डस् भदौ २६ गते, दुई वर्षका सिर्जनाबीच प्रतिस्पर्धा
काठमाडौं । नेपालको विज्ञापन श्रृजनशिलतालाई सम्मान गर्ने कृति अवार्डस्को १२औं संस्करण यस बर्ष भाद्र २६ गते हुने भएको छ । यस संस्करणको नाम गोल्डेन ओक १२औं कृति अवार्डस् राखिएको छ । कार्यक्रमको टाईटल स्पोन्सर हिमालयन डिष्टीलरीको गोल्डेन ओक ब्राण्ड रहेको छ । राजधानीमा आज आयोजिक उक्त समारोहमा संघका तर्फबाट अध्यक्ष्य सोमप्रसाद धिताल र कम्पनीका तर्फबाट जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले हस्ताक्षर गरेका छन् । नेपाल बिज्ञापन संघ (आन) ले २०६० सालदेखि गर्दै आएको उक्त कार्यक्रम कोभिड १९ महामारीका कारण विगत २ वर्ष हुन सकेको थिएन । कृति अवार्डस् विज्ञापन क्षेत्र लगायत सम्पुर्ण मिडिया र विज्ञापनदाताहरुको सामूहिक उत्सवको रुपमा आयोजना गर्ने गरिएको छ । गोल्डेन ओक १२औं कृति अवार्डस्मा २०७६ बैशाख १ देखि २०७८ चैत्र मसान्तसम्म भए गरिएका विज्ञापन तथा प्रबर्धनात्मक रचना तथा कामहरुलाई समावेश गरिने छ । संघका सदस्य एजेन्सीहरुले २०७९ श्रावण ५ गते देखि भाद्र ४ गते सम्म मनोनयन दर्ता गर्न सकिने संघले जनाएको छ । गोल्डेन ओक १२औं कृति अवार्डस्मा बिज्ञापन सिर्जनशिलता सम्बद्ध मेन स्ट्रीम, टेक्निकल र क्याम्पियन क्याटेगोरीमा गरी वसभिन्न ३१ विधामा पुरस्कृत गरिने छ । कार्यक्रममा परेका मनोनयनहरु छनौट तथा मुल्याड्ढनका लागि सुचना, संचार, विज्ञापन र मार्केटिङ क्षेत्रका विज्ञ प्रा.डा.बिजय के.सी., प्रा.डा. भोजराज अर्याल र सुजनराजा श्रेष्ठ सम्मिलित ३ सदस्यीय प्रमुख निर्णायक मण्डल गठन गरिएको छ । यसका अतिरिक्त विभिन्न विधामा परेको मनोनयनहरुलाई सम्बन्धित क्षेत्रका विज्ञ प्रतिष्ठित व्यक्तित्व तथा विशेषज्ञहरु सहित करिब २५ जना संलग्न हुने छुट—छुट्टै निर्णायक समितिहरु रहने आनले जनाएको छ ।
करार कर्मचारीलाई नहटाउन स्थानीय सरकारलाई आग्रह, अनुभवीबाट सेवा प्रभावकारी
काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल गाउँपालिकामा कार्यरत करारका कर्मचारी नहटाउने सबै गाउँ पालिकालाई आग्रह गरेको छ । साउन ४ गते महासंघले ६० गाउँपालिकाहरुलाई पत्राचार गर्दै यसअघि स्थानीत तहमा कार्यरत अनुभवी कर्मचारी परिचालन गरेर मात्र स्थानीय सरकारको सेवा प्रभावकारी हुनेमा जोड दिएको छ । ‘गाउँसभाबाट स्वीकृत संगठन तथा व्यवस्थापन सर्वेक्षणबमोजिम दरवन्दीमा रहेका करारका कर्मचारीको हकमा प्रदेश लोकसेवा आयोगबाट सिफारिस भै आएपश्चात स्वतः करार अवधि समाप्त हुने नै छ । तर हाल कार्यरत अनुभवी जनशक्तिलाई उनिहरुको कार्यक्षमताको कुनै मूल्याङ्कन नगरी एकमुस्टरुपमा हटाउने र पुनः सोही पदमा करारमा नियुक्ति गरिनु न्यायिक तथा रोजगारीको हकको दृष्टिकोणबाट समेत उपयुक्त हुदैन । यो अभ्यासले स्वयम् गाउँपालिकाको कार्यसम्पादनमासमेत प्रभावकारीता आउदैन’ महासंघले जारी परिपत्रमा उल्लेख छ । स्वीकृत दरबन्दी भित्र विद्यमान कानुनबमोजिम प्रकृयासम्मत नियुक्ती भएका र सन्तोषजनक कार्यसम्पादन गरिरहेका कर्मचारीहरुको कार्यसम्पादन मूल्याङ्कनका आधारमा म्याद थप गरी सेवा लिनु स्थानीय सरकारको लागि समेत अवसर भएको महासंघले जनाएको छ । ती कर्मचारीको अनुभव र क्षमता अभिबृद्धिका लागि राज्यको लगानी परिसकेको तर्फ पनि महासंघले पालिकाहरुको ध्यानाकर्षण गराएको छ । स्थायी नियुक्तिका लागि सम्बन्धित प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएर नआएसम्मका लागि नियमानुसार स्वीकृत दरवन्दीमा करारमा नियुक्ति पाएका अनुभवी जनशक्तिहरुलाई कार्यसम्पादन मूल्याङ्कनका आधारमा म्याद थप गरी स्थानीय सरकारको कार्यसम्पादनमा प्रभावकारिता ल्याउनेतर्फ केन्द्र्रित हुनु पर्ने महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।
डोटीमा ५८ करोड बढी राजस्व सङ्कलन, एक अर्ब फ्रिज
काठमाडौं । डोटीमा गत आर्थिक वर्ष २०७८/७९ मा ५८ करोड करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीले दिएको जानकारीअनुसार जिल्लामा गएकोे आर्थिक वर्षको अन्तसम्ममा ५८ करोड २६ लाख ७१ हजार ४७३ राजस्व सङ्कलन भएको छ । यसैगरी जिल्लामा एक अर्ब ५७ लाख ६० हजार ३६५ बजेट फ्रिज भएको छ । तोकिएको समयमा काम गर्न तथा रकम खर्च गर्न नसकिएका कारण जिल्लामा बजेट फ्रिज भएको बताइएको छ । जिल्लाका नौवटा स्थानीय तहमा सङ्घीय सरकारमार्फत आएको कूल बजेटमध्ये बोगटान फुड्सिल गाउँपालिकामा सबैभन्दा बढी रकम फ्रिज भएको छ । जिल्लाका स्थानीय तहमा सङ्घीय सरकारमार्फत आएको कूल तीन अर्ब १९ करोड ४१ लाख ४० हजार ३०० मध्ये २० करोड ५३ लाख ३८ लाख ८८ हजार ३५६ फ्रिज भएको हो । बोगटान फुड्सिल गाउँपालिकामा ३२ करोड ६२ लाख १५ हजार रकम विनियोजन भएकोमा चार करोड एक लाख ७४ हजार ३५२ फ्रिज भएको छ । यस्तै सायल गाउँपालिकामा कूल विनियोजित र ३० करोड ९४ लाख नौ हजारमध्ये ४४ लाख तीन हजार १७४ फ्रिज भएको छ । उता जिल्लाको सबैभन्दा पुरानो नगरपालिकाको रुपमा रहेको दिपायल सिलगढी नगरपालिका मा ४२ करोड ३५ लाख १४ हजार बजेट विनियोजित भएकोमा चार करोड ९३ लाख १७ हजार ७५७ बजेट फ्रिज भएको छ । केआइसिंह गाउँपालिकामा दुई करोड ९३ लाख ६२ हजार ५९६ रकम फ्रिज भएको छ । शिखर नगरपालिकामा चार करोड पाँच लाख ८० हजार ९३ रकम फ्रिज भएको छ । जोरायल गाउँपालिकामा एक करोड ६५ लाख ३७ हजार २१८ बजेट फ्रिज भएको छ । बडिकेदार गाउँपालिकामा एक करोड पाँच लाख बजेट फ्रिज भएको छ । आदर्श गाउँपालिकामा रु ८३ लाख बजेट फ्रिज भएको छ । पूर्वीचौकी गाउँपालिकामा ६२ लाख १३ हजार १६६ बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीले जनाएको छ । समग्र जिल्लामा पुँजीगततर्फ एक अर्ब ८४ करोड ६८ लाख १५ हजार ५०० बजेट विनियोजन भएकोमा एक अर्ब १९ करोड ३५ लाख ८२ हजार ४४५ मात्रै खर्च भएको छ । चालुतर्फ छ अर्ब ७० करोड आठ लाख ३५ हजार ९६५ मध्ये छ अर्ब ३४ करोड ८३ लाख आठ हजार ५५४ खर्च भएको बताइएको छ ।
श्वेत–गंगा हाइड्रोको आईपीओमा एकैदिन ४१ करोड रुपैयाँ संकलन
काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओमा पहिलो दिन नै माग भन्दा १।८० गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको आईपीओमा बुधबार ५ बजेसम्ममा ३ लाख ५० हजार ४९८ जना आवेदकले ४० लाख ९२ हजार ४५० कित्ताका लागि ४० करोड ९२ लाख ४५ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । कम्पनीले साउन ४ गते बुधबारदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका २३ लाख ८९ हजार ५ सय कित्ता साधारण शेयर बिक्री गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र २२ लाख ७० हजार २५ कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा साउन ८ गतेसम्म र ढिलोमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरोशेयर वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।
शुक्रबारदेखि सिक्लेस हाइड्रोपावरको आईपीओ खुल्दै
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले साउन ६ गते, शुक्रबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले शुक्रबारदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले आफ्नो जारी पूँजी ८५ करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ८ लाख ५० हजार कित्ता साधरण सेयर आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्ने भएको हो । कम्पनीको आईपीओमा छिटोमा साउन २० गतेसम्म र ढिलोमा भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा स्थानीय बासिन्दाले माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
दक्षिण अफ्रिकाको राजदूतमा दानबहादुर तामाङ नियुक्त
काठमाडौं । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा दानबहादुर तामाङ नियुक्त भएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङलाई राजदूतमा नियुक्त गरेकी हुन् । मन्त्रिपरिषदले राजदूतमा सिफारिस गरेपछि तामाङको नाम संसदीय सुनुवाई समितिले नियुक्तिका लागि अनुमोदन गरेको थियो ।
३९१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो समय ३९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ९८१ जनामा गरिएको परीक्षणमा आज देशभर सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीले ललितपुरमा २२, भक्तपुर नौ र काठमाडौंमा १८५ जनामा सङ्क्रमित पुष्टि भएको जानकारी दिए । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार २७६ रहेका छन् । काठमाडौँ उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २७० पुगेको छ । विगत २४ घण्टामा ४६ जना सङ्क्रमणमुक्त भएका छन् । काठमाडौं जिल्लामा ५०० बढी सङ्क्रमित रहेको पाइएको मन्त्रालयले जनाएको छ । हाल होम आइसोलेशनमा दुई हजार १४३, संस्थागत आइसोलेशनमा १३३ र सघन उपचार कक्ष (आइसियु)मा २१ जना उपचार भइरहेको छ । यस्तै, विगत २४ घण्टामा एक लाख २१ हजार ५१५ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
पहिराका कारण चरीकोटकाे सिद्धाकोथान–जुङ्गु सडक अवरुद्ध
चरीकोट । निरन्तरको वर्षका कारण पहिरो जाँदा सिद्धाकोथान–जुङ्गु सडक अवरुद्ध भएको छ । केही दिनदेखि लगातार वर्ष भएपछि सो सडकखण्डको बैतेश्वर गाउँपालिका–८ देउरालीमा ठूलो पहिरो गएपछि सडक अवरुद्ध भएको हो । बैतेश्वर गाउँपालिका–८ क्षत्रपा यवो देउरालीमा पहिराले सडकको ठूलो भाग बगाएपछि सडक अवरुद्ध भएको बैतेशवर गाउँपालिका–८ क्षत्रपाका वडाध्यक्ष शान्तबहादुर जिरेलले बताए । बैतेश्वर गाउँपालिका र गौरीशङ्कर गाउँपालिका जाने उक्त सडक पहिराले भत्किएपछि सो क्षेत्रका नागरिकलाई आवतजावत गर्न समस्या भएको छ । भिरको बाटोमा सडकको ठूलो क्षेत्र पहिराले बगाएपछि आज बिहानैदेखि सवारी आवतजावत बन्द भएको र तत्काल सञ्चालन हुने अवस्था नभएको अध्यक्ष जिरेलले बताए । पहिराले सडक अवरुद्ध गरेपछि क्षत्रपा, यवो, जुङ्गु, कसेरी, चेत्पु, हुक्पा, झयाकुलगायत क्षेत्रका स्थानीयवासीलाई समस्या भएको छ । वैकल्पिक सडक नहुँदा पहिराले सडक बगाएपछि उक्त क्षेत्रका नागरिकलाई खाद्यान्न ढुवानी तथा उक्त क्षेत्रमा उत्पादित आलु बजारसम्म निर्यात गर्नका लागि समस्या भएको छ ।