समीट लघुवित्तले माग्यो ८० जना कर्मचारी, एसईई गरेकालाई पनि मौका
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेले विभिन्न पदका लागि कर्मचारी मागेको छ । लघुवित्तले वरिष्ट सहायक, सहायक र प्रशिक्षार्थी सहायक तहका लागि कर्मचारी मागेको हो । लघुवित्तले बिहीबार एक सूचना प्रकाशन गरी वरिष्ठ सहायकका लागि १५, सहायकका लागि १५ र प्रशिक्षार्थी सहायकका लागि ५० जना कर्मचारी मागेको हो । वरिष्ठ सहायक र सहायकका लागि शैक्षिक योग्यता प्रविणता प्रमाणपत्र तह वा १२ कक्षा उतीर्ण हुनुपर्छ । अनुभव भने बैंक तथा वित्तीय संस्था सम्बन्धी ज्ञान भएको र मोटरसाइकल चलाउन सक्ने हुनुपर्छ । त्यसैगरी प्रशिक्षार्थी सहायकका लागि शैक्षिक योग्यता एस.एल.सी. उतीर्ण वा एस.ई.ई मा २ प्लस जि.पि.ए प्राप्त गरेको हुनुपर्छ । यसमा अनुभव भने कम्प्युटर सम्बन्धी ज्ञान भएको र दुई पांग्रे सवारी साधन चलाउन सक्ने हुनुपर्छ । इच्छुक आवेदकले आफ्नो बायोडाटा र प्रमाणपत्रसहित साउन १९ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । यस सम्बन्धि सूचना कम्पनीको वेवसाइटमा राखिएको छ ।
मौद्रिक नीति : यसरी कम गरिँदैछ बाह्य क्षेत्रको दबाब
काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा छ । सम्भवतः शुक्रबार मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक जुटेको छ । आज (बिहीबार) अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिको विषयमा ब्रिफिङ गरेर शुक्रबार मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक लागेकाे हाे । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बिहान १० बजे बालुवाटार पुगेर प्रधानमन्त्रीलाई मौद्रिक नीतिको विषयमा ब्रिफिङ गरिसकेका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीति विशेष गरेर बाह्य क्षेत्रमा परेको चाप कम गर्नमा केन्द्रित हुने बुझिएको छ । हाल बैंक तथा वित्तीय क्षेत्रमा रहेकाे तरलताको समस्या र बाह्य क्षेत्रको दबाब कम गर्नको लागि मौद्रिक नीतिले पहल गर्ने राष्ट्र बैंक स्रोतको भनाइ छ । अहिले नेपाली अर्थतन्त्रमा बाह्य क्षेत्रको ठूलो दबाब छ । विदेशी मुद्राको निरन्तर गिरावट र व्यापार घाटाको बढ्दो ट्रेण्डप्रति राष्ट्र बैंक चिन्तित देखिन्छ । गत आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा कुल वस्तु व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३९ करोड पुगेको छ । जेठ मसान्तसम्म विदेशी मुद्राको सञ्चिति ९ अर्ब ४५ करोड डलरमा पुगेको छ । बाह्य क्षेत्रमा यसरी निरन्तर दबाब परेपछि राष्ट्रले त्याे चाप कम गर्ने रणनीतिका साथ मौद्रिक नीतिको ड्राफ्ट तयार पारेको छ । राष्ट्र बैंकको अनुसन्धान विभागको नेतृत्वमा मौद्रिक नीतिको ड्राफ्ट तयार भएको हो । अहिले सो मौद्रिक नीतिको ड्राफ्टलाई राष्ट्र बैंकको उच्च व्यवस्थापनले पनि फाइनल गरिसकेको छ । ‘अहिले खासगरी बाह्य क्षेत्रको दबाबलाई कसरी कम गर्ने भन्ने विषयलाई नै महत्वपूर्णका सुाथ हेर्नु पर्ने देखिएको छ, अर्थतन्त्रमा देखिएका जोखिम र चुनौतिहरूलाई कम गर्न तथा सुधार गर्न केही नीतिगत हस्तक्षेप आवश्यक नै छ, विदेशी मुद्रा आर्जनका स्रोतहरू बलियो हुँदै गएमा र अन्य खर्च घट्दै गएमा विदेशी विनिमय सञ्चितिको अवस्था सुदृढ भई तरलता, ब्याजदर एवम् कर्जा लगानीको अवस्थामा सुधार आउन सक्छ, यिनै विषयलाई मध्येनजर गर्दै मौद्रिक नीति तयार भएको छ,’ स्रोतले भन्यो । स्रोतका अनुसार अहिले राष्ट्र बैंकले तरलताको अभावलाई टार्ने र आगामी दिनमा समग्र समष्टिगत आर्थिक व्यवस्थापनको कार्य गर्नु नै आवश्यकता देखिएकोले मौद्रिक नीतिमा अन्य विषयले खासै प्राथमिकता पाएको छैन । ‘खासै ठूलो नीतिगत परिवर्तन पनि भएको छैन, तरलताको समस्या समाधान गर्ने र बाह्य क्षेत्रको दबाब कम गर्नमै केन्द्रित भएको छ, मौद्रिक नीति त्यसमा केन्द्रित भएन भने ठूलो जोखिम आउने विषयमा पनि छलफल भएको थियो, उच्च व्यवस्थापनले पनि यो विषयलाई मनन् गरेको छ, प्रधानमन्त्रीलाई ब्रिफिङपछि बोर्डले पनि यिनै नीतिलाई पारित गरेमा मौद्रिक नीति बाह्य क्षेत्रको समस्या समाधानमै केन्द्रित भएको देख्न सक्नुहुन्छ,’ स्रोतले भन्यो । स्रोतका अनुसार प्राथमिकताप्राप्त क्षेत्रको कर्जा प्रभावित नहुने किसिमले नीतिगत दरहरू सीआरआर, एसएलआर) बढाई मौद्रिक व्यवस्थापनलाई कसिलो बनाउनेमा मौद्रक नीति निर्माण भएको छ । तर, त्यसको अन्तिम रूप भने बोर्डले दिनेछ । विदेशबाट रकम पठाउँदा एक निश्चित रकम भन्दा बढी बैंक खातामा पठाउनु पर्ने व्यवस्था गर्ने, विप्रेषणको प्रयोग विदेशबाट सिधै क्रिप्टो तथा अन्य जोखिमयुक्त फण्ड जस्ता उपकरणमा हुने गरेको लगानी सम्बन्धमा व्यापक रुपमा जनचेतना कार्यक्रम सञ्चालन गर्ने, गैर आवासीय नेपालीको फिर्ता नलैजाने विदेशी लगानीमा सञ्चालित पेशा तथा व्यवसायलाई विशेष सुविधा र कर छुट प्रदान गर्ने लगायतका व्यवस्था गर्नु पर्ने नीतिगत व्यवस्था पनि ड्राफ्टमा परेका छन् । बाह्य क्षेत्रको दबाब कम गर्नकै लागि कृषिलाई प्राथमिकता दिने नीति पनि लिने बताइएको छ । विशेष गरेर स्वदेशी उत्पादनलाई बढाउनका लागि कृषि कर्जामा कम नै प्रिमियम तोक्ने व्यवस्था पनि मौद्रिक नीतिमा समेटिएको छ । स्रोतका अनुसार नालीबाली र फलफुल उत्पादनको लागि कर्जाको ब्याजदर कम, आधारभूत कृषि उपजको बढ्दो आयात क्रमशः घटाउँदै जाने उद्देश्यले कृषि पूर्वाधार (सिँचाई सुविधा, भण्डारण गृह, कृषि सडक, कृषि बजार, सूचना केन्द्र, लगायतमा ब्याजदर कम गर्ने नीति लिएको पनि बुझिएको छ । राष्ट्र बैंकले विशेष गरेर विभिन्न क्षेत्र बढाएर प्रिमियम तोक्ने विषयले पनि मौद्रिक नीतिमा प्राथमिकता पाएको छ । स्रोतका अनुसार मौद्रिक नीतिको ड्राफ्टमा औद्योगिक तथा व्यापारिक वस्तुको आयात सम्बन्धी ऋणको ब्याजदर फरक फरक हुनेगरी नीतिगत व्यवस्था पनि गरिएकाे छ । त्यसले अन्तिम रूप भने पाएकाे छैन । बाेर्डले चित्त नबुझेमा साे व्यवस्थालाई हटाउन पनि सक्छ । यस्तै, राष्ट्र बैंकका सह–प्रवक्ता नारायण पोखरेलले अहिलेको अर्थतन्त्रको आवश्यकता नै बाह्य क्षेत्रको चाप कम गर्ने भएकोले मौद्रिक नीति पनि त्यसैमा केन्द्रित हुने बताए । ‘अहिलेको अर्थतन्त्रको माग पनि बाह्य क्षेत्रको चाप कम गर्ने नै हो, मौद्रिक नीतिले अहिलेको अर्थतन्त्रले माग गरेको नीति ल्याउने हो, हामीले अहिलेको अर्थतन्त्रको मागलाई सम्बोधन गरेनौं भने हाम्रो हविगत के होला,’ उनले प्रश्न गरे ।
मधेस प्रदेशमा पुनः कोरोना सङ्क्रमण बढ्दै
जनकपुरधाम । मधेस प्रदेशमा पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रमण पुनः बढ्न थालेको भन्दै धनुषा प्रशासनले सतर्कता अपनाउन अपिल गरेको छ । असार महिना अन्तिम सातासम्म मधेस प्रदेशमा शून्य रहेको कोरोना सङ्क्रमण पुनः बढ्न थालेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले आज सूचना जारी गरी सर्तकर्ता अपनाउन अपिल गरेको हो । हाल कोभिड–१९ को सङ्क्रमण दर बढिरहेकाले मास्क लगाएर मात्र हिँड्न, बिना काममा भीडभाडमा नजान, सङ्क्रमणको शङ्का भएमा सङ्क्रमण परीक्षण तुरुन्त गर्न साथै बुस्टर डोज बाँकी रहेका सबैलाई नजिकैको स्वास्थ्य संस्थामा गएर बुस्टर डोज लगाउन जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ । मधेस प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा छ जना कोरोना सङ्क्रमित पाइएको छ । यसअघि गत मङ्गलबार पनि मधेस प्रदेशसमा चार जनामा कोरोना सङ्क्रमण पुष्टी भएको थियो । योसँगै मधेस प्रदेशमा कोरोना पोजेटिभका सक्रिय सङ्क्रमितको सङ्ख्या ४० पुगेको स्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी, पर्साको वीरगन्ज भन्सार नाका, सिरहाको माडर नाका, रौतहटको गौर नाका र महोत्तरीको भिठामोठ नाकामा २०३ जनाको गरिएको एन्टिजेन परीक्षण गर्दा कुनै पनि व्यक्तिमा कोरोना सङ्क्रमण नभेटिएको निर्देशानालयले जनाएको छ । यसैबीच, अहिलेसम्म मधेश प्रदेशमा कोरोना सङ्क्रमित भएकामध्ये ९७ दशमलव ४ प्रतिशत निको भई घर फर्केका छन् भने २ दशमलव ५६ प्रतिशत कोरोना सङ्क्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
गभर्नर अधिकारीले प्रधानमन्त्री देउवासँग गरे मौद्रिक नीतिको ब्रिफिङ्ग
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग मौद्रिक नीतिको ब्रिफिङ्ग गरेका छन् । गभर्नर अधिकारीले आज साउन ५ गते बिहीबार बालुवाटार पुगेर अर्थमन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको ब्रिफिङ्ग गरेका हुन् । राष्ट्र बैंकका सहप्रवक्ता नारायण पाेखरेलले गभर्नर अधिकारीले प्रधानमन्त्री समक्ष मौद्रिक नीतिको विषयमा ब्रिफिङ्ग गरेका बताएका हुन् । उनका अनुसार गभर्नर अधिकारी बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर मौद्रिक नीतिको विषयमा ब्रिफिङ्ग गरेका हुन् । यससँगै अब राष्ट्र बैंकलाई उक्त मौद्रिक नीति सार्वजनिक गर्न बाटो खुला भएको छ । राष्ट्र बैंकले सम्भवतः भोलिसम्ममा मौद्रिक नीति सार्वजनिक गर्ने योजना बनाएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति विशेष गरेर बाह्य क्षेत्रमा परेको चाप कम गर्नमा केन्द्रित हुने बुझिएको छ । हाल बैंक तथा वित्तीय क्षेत्रमा रहेकाे तरलताको समस्या र बाह्य क्षेत्रको दबाब कम गर्नको लागि मौद्रिक नीतिले पहल गर्ने राष्ट्र बैंक स्रोतको भनाइ छ । अहिले नेपाली अर्थतन्त्रमा बाह्य क्षेत्रको ठूलो दबाब छ । विदेशी मुद्राको निरन्तर गिरावट र व्यापार घाटाको बढ्दो ट्रेण्डप्रति राष्ट्र बैंक चिन्तित देखिन्छ । गत आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा कुल वस्तु व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३९ करोड पुगेको छ । जेठ मसान्तसम्म विदेशी मुद्राको सञ्चिति ९ अर्ब ४५ करोड डलरमा पुगेको छ । बाह्य क्षेत्रमा यसरी निरन्तर दबाब परेपछि राष्ट्रले त्याे चाप कम गर्ने रणनीतिका साथ मौद्रिक नीतिको ड्राफ्ट तयार पारेको छ । राष्ट्र बैंकको अनुसन्धान विभागको नेतृत्वमा मौद्रिक नीतिको ड्राफ्ट तयार भएको हो । अहिले सो मौद्रिक नीतिको ड्राफ्टलाई राष्ट्र बैंकको उच्च व्यवस्थापनले पनि फाइनल गरिसकेको छ । यो पनि पढ्नुहोस् : मौद्रिक नीति : यसरी कम गरिँदैछ बाह्य क्षेत्रको दबाब
रक्सी खाने र बिक्री गर्नेलाई एक महिना ढुंगा बाेकाइने
डोटी । यहाँका स्थानीय तहले मदिरा सेवन तथा विक्री वितण समेत रोक्न आ–आफ्नै निर्णय गरेका छन् । केआइसिंह गाउँपालिकाको वडा नम्बर ७ सलेनाले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई ढुङ्गा बोकाउने निर्णय गरेको छ । उक्त वडामा कसैले मदिरा सेवन गरे १५ दिन र बिक्री गर्नेलाई वडा कार्यालयसम्म एक महिना ढुङ्गा बोकाउने निर्णय गरिएको वडाध्यक्ष दिलबहादुर बलायरले जानकारी दिए । वडामा मदिरा बिक्री वितरण गर्दै आएका व्यापारी तथा वडावासीसँगको छलफलपश्चात् उक्त निर्णय गरिएको हो । वडामा सञ्चालन हुने गाडीमा मदिरा ओसारपसार गर्नेलाई समेत एक महिना गाडी ‘होल्ड’ राख्नुपर्ने निर्णयसमेत गरेको वडा कार्यालयले जनाएको छ । यसैगरी जिल्लाकै आदर्श गाउँपालिकाले यही साउन १ गतेदेखि मदिरा बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष गणेश खड्काले मदिरा ओसारपसार गर्नेलाई ४० हजार जरिवाना तथा बिक्री वितरण गर्नेलाई ३० हजार जरिवाना गर्ने निर्णय गरिएको जानकारी दिए । यसैगरी मदिरा सेवन गर्नेलाई पहिलोपटक दुई हजार ५०० र दोस्रो पटक सेवन गर्नेलाई पाँच हजार जरिवाना तोक्ने निर्णय गरिएको छ । सायल गाउँपालिकाले पनि आफ्ना पालिकाभरिमा मदिरा बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा रोक लगाएको गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी जानकारी दिए । जिल्लामा नौवटा स्थानीय तह रहे पनि अन्य पालिकामा भने मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा कुन किसिमको कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको जनाएको छ । कतिपय स्थानीय तहमा लाइसेन्स लिएर मदिरा बिक्री वितरण भइरहेकाले तिनीहरुलाई के गर्ने र कस्तो निर्णय गर्ने भन्ने विषयमा छलफल भइरहेको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी खड्काले जानकारी दिए । रासस
अन्नपूर्ण केबलकारमा भदौ ३१ गतेसम्म २० प्रतिशत छुट
काठमाडौं । पोखराको अन्नपूर्ण केबलकारको नियमित मर्मत तथा सम्भार पश्चात साउन ६ गते देखि संचालनमा आउने भएको छ । केबुलकारले आफ्ना नेपाली ग्राहकहरुको लागि साउन ६ गते देखि भदौ ३१ गते सम्म २० प्रतिशत छुट दिने भएको छ । पोखरा उपत्यकाको पश्चिम उत्तरी भागको लेकसाईड, सेदिबगरबाट अन्नपूर्ण केबुलकार चढि सराङकोटमा श्रावण महिनामा श्री कैलाशेश्वर महादेवको दर्शन गर्नुका साथै कास्की कोट दरबारसम्मको पैदल यात्रा गर्न सकिन्छ । यसका साथै, अन्नपूर्ण हिमाल, माछापुच्छ्रे हिमाल, धवलागिरी हिमालका श्रृखलासँगै सूर्योदयको मनोरम दृश्यको आनन्दका साथ केबुलकार परिसरमै सुबिधा सम्पन्न रेष्टुरेन्ट सेवा, कफि सप, रेष्टुरेन्टबाट चौतर्फी आनन्ददायी मनोमोहक दृश्य तथा जिप फ्लायएर, सुइङ्ग, स्काई साइक्लीङको समेत साहसिक अनुभव लिन सकिनेछ । यस्तै, केबुलकारबाट पोखरा शहर, फेवाताल, शिव प्रतिमा, विश्व शान्ति प्यागोडा लगायतका दृश्यहरु पनि हेर्न सकिनेछ । केबलकार बिहान ९ बजे देखि सांझ ६ बजेसम्म नियमित रुपमा संचालन हुने कम्पनीले जनाएको छ ।
फुकोट–कर्णाली आयोजनाले स्थानीयलाई १० प्रतिशत सेयर दिने
मान्म । फुकोट–कर्णाली जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने भएको छ । चार सय ८० मेगावाट क्षमताको उक्त आयोजनाले सेयर दिने निर्णय गरेको हो । प्रभावित क्षेत्र वा जिल्लाभरका बासिन्दालाई दिने भन्ने निर्णय चाँडै गरिने आयोजनाका प्रमुख हीरामन वाइबाले जानकारी दिए । ‘स्थानीयलाई सेयर दिने निर्णय गरिएको छ, प्रभावित क्षेत्रकालाई मात्र दिने कि जिल्लाभरकालाई दिने भन्ने निर्णय भएको छैन,’ उनले भने । आगामी वर्षदेखि निर्माण थालिने सो आयोजनाका सरकारले लगानी जुटाउने प्रयास गरिरहेको वाइबाले बताए । आयोजनास्थल कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा पर्छ । आयोजनाका संरचना सो गाउँपालिकाको वडा नं १, २ र ३ मा बन्ने छन् । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको प्रमुख वाइबाले बताए । आयोजनाको अनुमानित लागत ९२ अर्ब ३० करोड रहेको छ । आयोजना निर्माण गर्दा एक हजार १४९ परिवार प्रभावित हुने बताइएको छ । आयोजनास्थलमा पूरै जग्गा परेका जग्गाधनीले ७५ र आंशिक परेकाले ६६ प्रतिशत मुआब्जा पाएको वाइबाले जानकारी दिए । हालसम्म ५० करोडभन्दा बढी रकम मुआब्जावापत वितरण गरिएको छ ।
आईएमई लाइफ इन्स्योरेन्सले पायो ट्रिपल बि रेटिङ्ग
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्राप्त गरेको छ । रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँदछ । कम्पनीले आफ्ना लगानीकर्ताहरु तथा सम्पूर्ण हितकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखिमहरुलाई न्युनीकरण गर्दै लगेको समेत यस रेटिङ्गले थप पुष्टि गर्दछ । कम्पनीले आगामी दिनहरुमा पनि आफ्ना परिसूचकहरु अझ सशक्त गर्दै लैजाने जनाएको छ । आईएमई लाइफ इन्स्योरेन्सले १४० वटा शाखा कार्यिलयबाट बिमितहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ भने कम्पनीमा २७ हजारभन्दा धेरै अभिकर्ताहरु आवद्ध छन् । कम्पनीले नविनतम सेवा उपलब्ध गराउँदै जाने क्रममा कम्पनीको वेवसाइट र मोबाइल एप्समा राखिएको च्याटबोटमार्फत बीमित तथा अभिकर्ताहरुका लागि उपयोगी हुंने विविध सेवा तथा सूचनाहरु प्रदान गर्दै आएको छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले पाँच वर्ष अगाडि जीवन बीमा व्यवसाय गर्नका लागि लाइसेन्स प्राप्त गरेको थियो । कम्पनीमा ग्लोबल आइएमई बैक, आइएमई ग्रुप लगायतका व्यवसायिक समुहहरुको लगानी रहेको छ ।