विकासन्युज

लगातार बढेको बजारमा सामान्य करेक्सन, तीन शीर्षकमा शिवमको अग्रता

काठमाडौं । बिहीबारको सेयर बजारमा सामान्य करेक्सन देखिएको छ । पछिल्लो एक सातादेखि निरन्तर उकालो लागेको बजारमा बिहीबार घटेर सामान्य करेक्सन देखिएको हो । बजारमा नेप्से परिसूचक ५.८७ अंकले घटेर २०४४.७२ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२९ प्रतिशतले घटी हो । बुधबारको तुलनामा बिहीबारको सेयर बजार पनि घटेको छ । अघिल्लो दिन १ अर्ब ७३ करोडको सेयर कारोबार भएको बजारमा बिहीबार १ अर्ब ६४ करोड रुपैयाँमा सीमित भएको छ । बजार सामान्य अंकले बढ्नु या घट्नुले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको बुझिन्छ । उनीहरु आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पर्खाइमा रहेका छन् । सम्भवतः मोद्रिक नीति साउन ६ गते शुक्रबार आउने प्रबल सम्भावना छ । बिहीबारको बजारमा शिवम् सिमेन्ट विभिन्न तीन शीर्षकमा अगाडि छ । कारोबार रकम, कारोबार कित्ता र कारोबार संख्याको आधारमा कम्पनी सबैभन्दा टपमा छ । कम्पनीको एकैदिन २ लाख २० हजार २ कित्ता सेयर १७ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त कारोबार १ हजार ६२४ पटकमा भएको हो । कम्पनीको सेयर मूल्य भने ७.१० रुपैयाँले घटेर प्रतिकित्ता ८०७.९० रुपैयाँमा झरेको छ । त्यसैगरी, बढी कारोबार गर्नेको दोश्रो स्थानमा एनआईसी एशिया बैंक रहेको छ । बैंकको एकैदिन ११ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार टप गेनरको शीर्ष स्थानमा सेन्ट्रल फाइनान्स कम्पनी रहेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १० रुपैयाँले बढेर प्रतिकित्ता ३२६ रुपैयाँ पुगेको छ । बजारमा बैंकिङ्ग र अन्य समूह बाहेक सबै समूह राताम्मे देखिएका छन् । बैंकिङ्ग समूह २.२९ र अन्य समूह १६.५५ अंकले बढेका छन् ।

पशुपतिको गुरुयोजना तयार, प्राविधिक समितिद्वारा पर्यटनमन्त्रीलाई मस्यौदा हस्तान्तरण

काठमाडौं ।पशुपति क्षेत्र विकास कोषको गुरुयोजना तयार भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गठन गरेको प्राविधिक समितिले गुरुयोजनाको मस्यौदा तयार पारेको हो । मन्त्रालयले २०७७ कात्तिक २० गते गठन गरेको समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठलाई मस्यौदा हस्तान्तरण गरेको छ । मन्त्री श्रेष्ठले गुरुयोजनाबाट पशुपति क्षेत्रको संस्कृति र सम्पदाको संरक्षण हुनुका साथै अन्तर्राष्ट्रिय धार्मिक तथा आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास हुने विश्वास व्यक्त गरे । पशुपतिनाथ मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई कायम राख्नुपर्नेमा उनले जोड दिए । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा। चन्द्रमणि अधिकारीको संयोजकत्वमा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, वास्तुकलाविद् प्रा। सुदर्शनराज तिवारी, संरचनाविद् प्रा। प्रेमनाथ मास्के, इकोमस नेपालका अध्यक्ष काइवाइ जे, संरक्षणविद् भीम नेपाल, स्थानीयवासिन्दा आशाराम संगत रहेको गुरुयोजना तयारी प्राविधिक समिति गठन गरिएको थियो गुरुयोजनामा १५ वर्षको समयसीमा रहेको छ भने कार्यान्वयनका चार चरण तोकिएको छ । पाशुपत क्षेत्रलाई विश्वकै सनातन तीर्थस्थल, हिन्दू तीर्थयात्रीको विशिष्ट गन्तव्य, पुण्यभूमि र साधनाभूमिका रूपमा विकास गर्ने लक्ष्य गुरुयोजनाले राखेको छ । आठवटा परिच्छेदमा रहेको गुरुयोजनामा पशुपति क्षेत्रको संरक्षण तथा व्यवस्थापनको वर्तमान अवस्था र चुनौति, गुरुयोजनाको सोंच, लक्ष्य, उद्धेश्य र रणनीति तथा पशुपति क्षेत्रको क्षेत्रगत विभाजन, प्रस्तावित कार्यक्रम, आर्थिक स्रोत साधन तथा गुरुयोजना कार्यन्वयनको अनुगमन तथा मूल्यांकन समावेश गरिएको छ । धर्मको रक्षा, सम्पदाको संरक्षण गरेर पाशुपत क्षेत्रलाई अन्तर्राष्ट्रिय तीर्थस्थलको रूपमा विकास गर्ने गुरुयोजनाको मुख्य लक्ष्य रहेको छ । गुरुयोजना पुर्वाधार निर्माणमा नभई संरक्षणमा आधारित रहेको संयोजक अधिकारीले बताए । पशुपति क्षेत्रको विशिष्टता र संवेदनशीलतालाई ध्यान दिएर यस क्षेत्रको संरक्षण गर्ने उद्देश्यले गुरुयोजना तयार पारिएको उनको भनाइ छ । गुरुयोजनामा सम्पदा संरक्षणका लागि कार्यविधि, सम्पदा स्थल तथा भूतत्त्वको संरक्षण, सांस्कृतिक कला वस्तुको संरक्षणका साथै अमूर्त सम्पदालाई जोगाउन कार्यविधि बनाइएको छ । पशुपति क्षेत्र विकास कोषले प्रस्ताव गरेको गुरुयोजनामा स्थानीयवासीलगायत सरोकार भएका निकायको सुझाव लिई अन्तिम रूप दिइएको अधिकारीले बताए ।

टाटाको ग्रीन ब्याट्री नेपालमा, २४ महिनाको वारेन्टी र ग्यारेन्टी

काठमाडौं । स्याकार ट्रेडिङ्ग कम्पनीले बाइक तथा स्कुटर(टु व्हीलर्स)काे लागि ‘टाटा ग्रीन ब्याट्रि’ नेपालमा सार्वजनिक गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले टाटा अटोकोम्प जीवाई ब्याट्रिले टु व्हीलर्सको लागि बनाएको टाटा ग्रीन ब्याट्रि सार्वजनिक गरेको हो । टाटा अटोकोम्प जीवाई भारतको प्रमुख अटोमोटिभ र २ वाट ब्याट्री उत्पादन गर्ने कम्पनी हो । कार्यक्रममा टाटा ग्रीन ब्याट्रीका सीइओ रवि गुप्ताले टाटा ग्रीन ब्याट्री टु व्हीलर्स ब्याट्रिज भारतमा रहेका ठूला उत्पादकहरु मध्ये एक भएको बताए । उनले भारतमा भएको सफलतालाई स्याकार ट्रेडिङ कम्पनीसँग सहकार्य गरेर नेपालमा पनि विस्तार गर्न खोजेको बताए । यस्तै, स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योतिले २ वाटका ब्याट्री सप्लायरको क्षेत्रमा भारतस्थित टाटा अटो कम्पनी एक प्रमुख कम्पनी भएको जानकारी गराए । सो कम्पनीसँगको सहकार्यले देशभर रहेका १५० डिलरमार्फत ग्राहकलाई ब्याट्री उपलब्ध गराउने अध्यक्ष ज्योतिले बताए । कम्पनीका स्पेयर पार्ट्स जनरल मेनेजर मुकुन्द श्रेष्टले सो ब्याट्रिमा २४ महिना वारेन्टी र २४ महिना ग्यारेन्टी रहेको जानकारी दिए । उनले ब्याट्रिको बिक्री वितरण गर्दा स्किम लागु गर्ने पनि बताए ।

लघुजलविद्युत्मा करोडौँ लगानी खेर

बागलुङ । मिनिग्रिड परियोजना धरासयी बन्दा राज्यको करोडौँ लगानी डुबेको छ । लघुजलविद्युत् आयोजनालाई मिनिग्रिडमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्न बनाइएका पूर्वाधार लथालिङ्ग छन् । जैमिनी नगरपालिका ४, ९ र १० मा रहेका सात लघुजलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीलाई एकै ठाउँबाट राष्ट्रिय प्रसारणमा दिन विसं २०६७ मा मिनिग्रिड बनाइएको थियो । विडम्बना ! राष्ट्रिय प्रसारण लाइनमा जोडिन नपाउँदै उक्त परियोजना अलपत्र परेको छ । दुई वर्षसम्म जेनतेन चले पनि व्यवस्थापकीय कमजोरीका कारण परियोजना दिगो हुन सकेन । मिनिग्रिड बन्द भएपछि ११ केभिए विद्युत् प्रसारण लाइन, पोल, ट्रान्सफर्मरलगायत संरचना प्रयोगविहीन छन् । सडक विस्तार, बर्सातको बाढीपहिरा आदिले कतिपय ठाउँका तार र पोलमा क्षति पुगेको छ । केही समय मिनिग्रिडमार्फत एकार्कासँग जोडिएका सातवटै लघुजलविद्युत् आयोजना अहिले पूर्ववत् स्थितिमै चलेका छन् । केन्द्रीय विद्युतीकरण भएपछि ती आयोजना सञ्चालनमा पनि चुनौती थपिएको छ । परियोजनाका तत्कालीन अध्यक्ष टेकबहादुर श्रीसले मिनिग्रिड बनाउँदा उबेला झण्डै डेढ करोड खर्च भएको बताए। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले लघुजलविद्युत् आयोजनाको बिजुलीलाई एकीकृत गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्यसहित परियोजनामा लगानी गरेको थियो । श्रीसले आफू अध्यक्ष छँदा परियोजना बनेको भए पनि पछिल्लो नेतृत्वले त्यसलाई चलाउन नसकेको बताए । ‘नेतृत्वले पनि इच्छाशक्ति देखाएन, समुदाय एक्लैले मात्र व्यवस्थापन गर्न सकेन’, उनले भने, ‘राज्यका निकायले पनि हेरेनन्, पछि अस्तव्यस्त भएर परियोजना नै बन्द भयो ।’ परियोजना सञ्चालन तथा व्यवस्थापनका लागि बनेको उर्जा उपत्यका सहकारी संस्था पनि अहिले निष्क्रिय छ । करिब आठ किमि दूरीको मिनिग्रिडलाई राष्ट्रिय प्रसारण लाइनमा गाभ्न नेपाल विद्युत् प्राधिकरणसँग पनि परियोजना व्यवस्थापनले छलफल चलाएको थियो । त्यसले पनि सार्थकता पाएन । अहिले प्राधिकरणले आफ्नै प्रसारण लाइनबाट जैमिनीमा विद्युतीकरण गरिरहेको छ । प्राधिकरणको बागलुङ वितरण केन्द्रका इन्जिनियर प्रकाश काफ्लेले विद्युत् विस्तारका क्रममा मिनिग्रिडकै लाइन र पोल प्रयोग गर्न खोज्दा आयोजनाका स्थानीय व्यवस्थापकले नदिएको गुनासो गरे । ‘आधिकारिकरुपमा प्राधिकरणलाई हस्तान्तरण भएमा अझै पनि लाइन र पोल प्रयोगमा ल्याउन सकिन्छ”, उनले भने, ‘पहिले नै दिएको भए त्यहाँ भएको लगानीले अरु ठाउँमा विद्युत् सेवा विस्तार हुन्थ्यो, एकै ठाउँमा दुई–दुई वटा प्रसारण लाइन चाहिने नै थिएन ।’ उनले नमूना परियोजनाका रुपमा मिनिग्रिड सञ्चालनमा ल्याइए पनि पछि असफल भएको बताए । जैमिनी–१० राङ्खानीका मित्र थापाले मिनिग्रिडमा भएको लगानी ‘बालुवामा पानी’ सरह भएको टिप्पणी गरे । लघुजलविद्युत् आयोजना आफ्नै ढङ्गले चले पनि मिनिग्रिडका नाममा राज्यले गरेको लगानी खेर गएको उनको भनाइ छ । ‘कतै तार लत्रिएको छ, कतै पोल ढलेका छन्, रेखदेख र संरक्षण छैन, सबै लथालिङ्ग अवस्थामा छ’, उनले भने, ‘बेलैमा राष्ट्रिय प्रसारण लाइनमा जोड्न सकेको भए लगानी जोगिन्थ्यो, स्थानीयले लाभ पाउँथे ।’ अहिले केन्द्रीय विद्युत् पुगेपछि लघुजलविद्युत् आयोजनाको भविष्य पनि अन्यौलमा परेको छ । उपभोक्ता दुईतिर बाँडिदा आयोजनाको आम्दानी घट्दो छ । मर्मतसम्भार नहुँदा केही आयोजना जीर्ण बनेका छन् । आयोजना चलाउनै धौधौको स्थिति छ । ती आयोजनाबाट कूल १२८ किलोवाट बिजुली उत्पादन हुन्छ । विसं २०५४ देखि जैमिनीमा लघुजलविद्युत् आयोजना बन्न थालेका हुन् । जैमिनी–१० राङ्खानीमा २६ किलोवाटको ऊर्जाखोलासहित, ठेउलेखोला, कालुङखोला, बिजुवा, ऊर्जाखोला दोस्रो, तेस्रो र चौँथो आयोजना सञ्चालनमा छन् । ऊर्जाखोला निर्माणमा झण्डै २० लाख खर्च भएको थियो । अहिले पर्ने लागतसँग हेर्दा त्यो रकम धेरै ठूलो हुन आउँछ । आयोजना व्यवस्थापकले स्थानीय सरकारले आफ्नो सम्पत्तिका रुपमा लघुजलविद्युत्लाई लिनुपर्ने माग गरे पनि जैमिनी नगरपालिकाले खासै चासो दिएको छैन । प्राविधिक जनशक्ति व्यवस्थापन र केही संरचनागत सुधार गर्नसके मिनिग्रिडलाई फेरि चलाउन सकिने व्यवस्थापक बताउँछन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले लघुजलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न तयारी अगाडि बढाएको भनिए पनि त्यसले परिणाम दिन सकेको छैन । गलकोट नगरपालिका–१ दुदिलाभाटीमा रहेका छ लघुजलविद्युत् आयोजनालाई मिनिग्रिडमा गाभ्न केन्द्रले विसं २०७२ मा गरेको प्रावधिक अध्ययन तथा सर्वे पनि त्यसै अलपत्र परेको छ । मिनिग्रिड बन्नु त परैको कुरा उल्टै त्यहाँ सञ्चालित आयोजना नै बन्द भएका छन् । गौँदीखोला पहिलो लघुजलविद्युत् आयोजनाका सचिव मोहदत्त सुवेदीका अनुसार अहिले एउटा मात्र आयोजना सञ्चालनमा छ । त्यो पनि राष्ट्रिय प्रसारणको बिजुली नआउँदाका बखत विकल्पका रुपमा मात्र । १८ किलोवाटको गौँदीखोला दोस्रो आयोजनाबाट मात्र अहिले विद्युत् उत्पादन भइरहेको छ । २४ किलोवाटको गौँदीखोला पहिलो, २१ किलोवाटको गौँदीखोला तेस्रो, १५ किलोवाटको गौँदीखोला चौँथो, १७ किलोवाटको चिप्लखोला र नौ किलोवाटको काउलेखोला लघुजलविद्युत् आयोजना बन्द भएको छ । ‘मिनिग्रिडमार्फत केन्द्रीय प्रसारणमा जोड्न हामीले पहल पनि गर्याैं, लगानी थप्न उपभोक्ता पनि तयार थिए’, सचिव सुवेदीले भने, ‘पछि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पनि चासो दिएन, मिनिग्रिडको योजना बीचमै तुहियो ।’ केन्द्रीय बिजुली आएपछि लघुजलविद्युत् आयोजना उपेक्षामा परेको उनको भनाइ छ । पूर्ण क्षमतामा चलेमा दुदिलाभाटीका छ आयोजनाबाट हिउँदमा १०४ र वर्षायाममा १६० किलोवाटसम्म बिजुली निस्कन्छ । प्राविधिज्ञका अनुसार एक किलोवाट विद्युत् उत्पादनका लागि रु तीन लाख ५० हजारदेखि पाँच लाखसम्म लाग्छ । यसरी हेर्दा करोडौँ लगानीमा बनेका लघुजलविद्युत् आयोजना जोखिममा छन् । जिल्ला समन्वय समितिको आँकडाअनुसार यहाँ १२० लघुजलविद्युत् आयोजना छन् । जसबाट झण्डै दुई मेगावाट बिजुली निस्कन्छ । २२ हजार घरधुरीमा उज्यालो पुगेको छ । अहिले पनि तमानखोला र निसीखोला गाउँपालिका पूर्ण रुपमा लघुजलविद्युत्मा निर्भर छ । केन्द्रीय विद्युत् नपुगेका अरु पालिकाका बासिन्दाले पनि लघुजलविद्युत् आयोजनाकै बिजुली प्रयोग गर्छन् । यसअघि राष्ट्रिय नवीकरणीय ऊर्जा कार्यक्रमको क्षेत्रीय सेवा केन्द्रका रुपमा रहेको (डिसिआरडिसी)का अध्यक्ष ईश्वरलाल राजभण्डारीले लघुजलविद्युत् आयोजनाको दिगो सञ्चालन तथा व्यवस्थापनमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए । उनका अनुसार विगत छ वर्षयता जिल्लामा नयाँ आयोजना भने बनेका छैनन् । दातृ निकायको सहयोग आउन छाडेपछि कार्यक्रम नै रोकिएको अध्यक्ष राजभण्डारीले बताए । पहिले संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, विश्व बैंकलगायतका दाताले लघुजलविद्युत् आयोजनामा आर्थिक सहयोग गर्थे । तत्कालीन जिविस र गाविसले पनि आयोजनामा खर्च गरे । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आयोजना बनाउँदा ७० प्रतिशतसम्म अनुदान उपलब्ध गराउँथ्यो । त्यसबाहेक अरु साझेदार सङ्घसंस्था, निकाय र उपभोक्ताको पनि आयोजनामा लगानी तथा श्रमदान परेको छ । एक आँकडाअनुसार नेपालमा तीन हजार २०० भन्दा बढी लघुजलविद्युत् आयोजना छन् । ती आयोजनाबाट निस्कने ३६ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइन बाहिर छ । रासस

चाबहिलबाट राजस्व छलेर ल्याइएको एक करोडको सामान बरामद

काठमाडौं । नेपाल प्रहरीले राजस्व छलेर ल्याइएको एक करोड बढीको सामान बरामद गरेको छ । काठमाडौंको चाबहिल नजिकै रहेको एक गोदाममा छापा मार्दा उक्त सामान बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । प्रहरीले चुरोट मात्रै दुई हजार ९८० बण्डल बरामद गरेको छ । यसका साथै बरामद गरिएका गुट्खा, सुर्तीजन्य पदार्थ, मोटरसाइकलको पार्टस्, इलेक्ट्रिोनेनिक्स चिप्स, अक्सिमिटर, पटाका, भुइचम्पा, आतिसबाजलगायतका सामग्री बरामद गरी आज सार्वजनिक गरेको छ । अवैधरुपमा सामान ल्याएर राखिएको छ भन्ने सूचनाको आधारमा परिचालित टोलीले बुधबार ती सामान बरामद गरेको हो । ती सामान अवैधरुपमा ल्याई काठमाडौं महानगरपालिका–७ गोपीकृष्णनगरस्थित श्रीजल एण्ड सुजाता ट्रेडिङ कन्सर्न प्रालिको नामबाट कारोबार गर्ने गरेको अनुसन्धानमा खुलेको छ । उनले ती सामान भारतबाट गैरकानुनीरुपमा नेपाल ल्याएका थिए । उक्त कारोबारमा संलग्न रहेको आरोपमा पर्सा घर भई काठमाडौं बस्दै आएका ४० वर्षीय छविलाल अगस्ती पक्राउ परेका छन् । उनले काठमाडौं महानगरपालिका–७ स्थित पुष्पा अधिकारीको घरको सटर भाडामा लिई राजस्व छली गरेर ल्याइएका सामान भण्डारण गर्ने गरेको खुलेको छ । कार्यालयले अनुसन्धान तथा कारबाहीका लागि बरामद सामान आजै राजस्व अनुसन्धान विभागमा पठाएको छ भने विष्फोटक पदार्थसमेत रहेकाले सोही कसुरअन्तर्गतको मुद्दामा उनलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाएको छ ।

सात अर्ब २० करोडको आइपीओ बिक्री, पाइपलाइनमा पनि ७ अर्बकै

काठमाडौं । पछिल्ला दिनमा शेयर बजार क्रमशः विस्तार हुँदै गइरहेको पाइएको छ । साधारण सेयर बिक्रीमा भएको उल्लेख्य वृद्धि, हितग्राही खाता खोल्ने क्रममा भएको वृद्धिलगायतका कारणले पनि बजार विस्तार भएको पाइएको छ । सरकारले वास्तविक क्षेत्रका कम्पनीलाई पनि साधारण सेयर बिक्रीका लागि अभिप्रेरित गरेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार ५२ लाख ६० हजार २५१ वटा हितग्राही खाता खुलेका छन् । त्यस्तै ४३ लाख ६८ हजार ६३९ मेरो सेयर अकाण्ट खुलेको छ । कूलरुपमा आठ अर्ब ५८ करोड ४३ लाख ५८ हजार ६६९ कित्ता सेयर अभौतिकीकरण भएको छ । यसैगरी ३५ वटा म्युचुअल फण्ड र ५९ वटा बण्ड र डिवेञ्चर पनि सूचीकृत भएका छन् । धितोपत्र कारोबारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७८÷७९ मा मात्रै सात अर्ब २० करोडभन्दा बढीको साधारण सेयर सर्वसाधारणलाई बिक्री गर्न स्वीकृत दिएको छ । यसबाट पनि नेपालको सेयर बजार विस्तार भएर गएको देखिन्छ । बोर्डले कूल सात करोड २० लाख ३६ हजार ४२५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन तथा बिक्रीका लागि स्वीकृत दिएको पाइएको छ । सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीले पाए अनुमति बोर्डका अनुसार सो आवमा कूल २८ कम्पनीले शेयर बिक्रीका लागि अनुमति पाएकामा सबैभन्दा धेरै जलविद्युत् समूहका कम्पनी छन् । सेयर निष्कासनको अनुमति पाउनेमा १९ जलविद्युत् कम्पनी छन् । आर्थिक वर्ष २०७८/७९ को पहिलो अनुमति गत वर्षको साउन ११ गते न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई सेयर विक्रीका लागि अनुमति पारएको थियो । कम्पनीले कूल ४० लाख ५० हजार कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको थियो । यस अवधिमा साहस ऊर्जाले १०० अङ्कित मूल्यका एक करोड पाँच लाख कित्ता, बुद्धभूमि नेपाल हाइड्रोपावरले १२ लाख कित्ता, बलेफी हाइड्रोपावरले ३६ लाख ५५ हजार ९४० कित्ता, ग्रीन भेन्चर लिमिटेडले ६२ लाख ५० हजार कित्ता, रिभरफल्स पावरको ३४ लाख ३० हजार कित्ता सेयर बिक्रीका लागि अनुमति पाएका थिए । सर्वसाधारण र आयोजनाले प्रभाव पार्ने क्षेत्रका स्थानीय बासिन्दाका लागि ती कम्पनीले शेयर बिक्रीसमेत गरी सकेका छन् । त्यस्तै विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको २५ लाख कित्ता, दोर्दी खोला जलविद्युत् कम्पनीको २९ लाख ५१ हजार ९२९ कित्ता, हिमालयन हाइड्रोपावरको २२ लाख ५० हजार कित्ता, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको ३३ लाख सात हजार ५०० कित्ता, अप्पर हेवाखोला हाइड्रोपावरको २० लाख कित्ता, राप्ती हाइड्रोको २९ लाख ४१ हजार ४१० कित्ता सेयर बिक्री गर्न अनुमति पाएका थिए । बोर्डले श्वेत गङ्गा हाइड्रोपावरको ३९ लाख ८२ हजार ५०० कित्ता, सयपत्री हाइड्रोपावरको नौ लाख कित्ता, मन्दाकिनी हाइड्रोपावरको १७ लाख ६४ हजार ११० कित्ता, पिपल्स पावरको ३१ लाख कित्ता, रसुवागडी हाइड्रोपावर(सर्वसाधारणका लागि)को ६८ लाख ४२ हजार १०० कित्ता, सान्जेन जलविद्युत् कम्पनी (सर्वसाधारणका लागि)को ३६ लाख पाँच हजार, सिक्लेस हाइड्रोपावरको २० लाख कित्ता सेयर बिक्रीका लागि अनुमति दिएको थियो । त्यसमा अधिकांश कम्पनीले सेयरको निष्कासन तथा बिक्री गरिसकेका छन् भने केही कम्पनी शेयर बिक्रीका लागि आह्वान गर्ने क्रममा छन् । जसमा स्वेत गङ्गा हाइड्रोपावरको सेयर बिक्री खुला भएको छ भने सयपत्री हाइड्रोपावर, सिक्लेस हाइड्रोपावरको र मन्दाकिनी हाइड्रोपावरको सेयर बिक्री हुने क्रममा छन् । लगानी समूहको एकमात्रै कम्पनीले पायो अनुमति गत आवमा लगानी समूहबाट इमर्जिङ नेपाल लिमिटेडले मात्र शेयर बिक्रीका लागि अनुमति पाएको छ । इमर्जिङले १०० अङ्कित मूल्यमा पाँच लाख ५५ हजार ६०० कित्ता सेयर बिक्री गर्न अनुमति पाएको हो । कम्पनीले सेयर सर्वसाधारणलाई निष्कासन गरी बाँडफाँटसमेत गरिसकेको छ । गत आवमा कूल २८ कम्पनीमध्ये आठ लघुवित्त कम्पनीले शेयर बिक्रीका लागि अनुमति पाएको बोर्डले जनाएको छ । जसमा नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाले आठ लाख २८ हजार ७५० कित्ता, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले पाँच लाख २२ हजार कित्ता, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आठ लाख ५० हजार कित्ता, उपकार लघुवित्त वित्तीय संस्थाले दुई लाख ३६ हजार २५० कित्ता, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले तीन लाख ९५ हजार ३३६ कित्ता सेयर बिक्रीका लागि अनुमति पाएका थिए । त्यस्तै आदर्श लघुवित्त वित्तीय संस्थाले ६७ हजार कित्ता, धौलागिरि लघुवित्त वित्तीय संस्थाले तीन लाख ३१ हजार कित्ता र अभियान लघुवित्त वित्तीय संस्थाले नौ लाख ७५ हजार कित्ता सेयर बिक्रीका लागि अनुमति पाएका थिए । अनुमति पाएका अधिकांस लघुवित्त संस्थाले सेयर निष्कासन गरी बाँडफाँटसमेत गरिसकेका छन । लघुवित्त कम्पनीमा धौलागिरि लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणमा सेयर बिक्री गर्न बाँकी छ । बोर्डबाट गत आवमा चार करोड ७८ लाख ७१ हजार ८८२ कित्ताको रु चार अर्ब ७८ करोड ७१ लाख ८८ हजार २९४ मूल्य बराबरको राइट सेयर जारी गर्न ११ कम्पनीले अनुमति पाएका थिए । सात अर्बभन्दा रकमका सेयर पाइपलाइनमा त्यस्तै धितोपत्र बोर्डका अनुसार सात अर्ब १० करोडभन्दा बढी रकमका सेयर निष्कासनको अनुमतिको प्रतीक्षामा छन् । जसमा दुई कम्पनीले बुक बिल्डिङ विधिबाट सेयर बिक्री गर्न पाउँ भन्दै बोर्डसमक्ष माग गरेका छन् । सर्वाेत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्न अनुमति मागेका छन् । रासस

साउन ३० गतेबाट जयनगरदेखि बिजलपुरासम्म रेल सेवा विस्तार हुँदै

धनुषा । भारतको जयनगरदेखि जनकपुरधाम–कुर्थासम्म सञ्चालन भइरहेको राष्ट्रिय गौरवको आयोजनामध्येको रेल सेवाले आफ्नो थप सेवा विस्तार गर्न लागेको छ । यही साउन ३० गतेदेखि जयनगरदेखि विजलपुरासम्म थप सेवा विस्तार गर्ने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जयनगर–जनकपुर कुर्थासम्म सञ्चालन भइरहेको रेल सेवा अब विजलपुरासम्म थप सेवा विस्तारको तयारीमा लागेको जानकारी दिए । उनले भने, ‘कुर्थादेखि १७.५ किलोमिटर रेल सञ्चालनका लागि लिक (पटरी) हल्ट, स्टेशनलगायतका भौतिक पूर्वाधार संरचना तयार भइसकेको छ, १५ अगस्तका दिन सेवा प्रारम्भ गर्नेबारे नेपाल र भारतका उच्चपदस्थ पदाधिकारीबीच कुराकानी हुँदैछ ।’ यद्यपि थप सेवा उद्घाटनको मिति भने टुङ्गो नलागेको उनले बताए । उनले यसअघि कुर्थादेखि बिजलपुरासम्म रेलको भौतिक पूर्वाधारका संरचना नेपाल सरकारको रेल्वे कम्पनीलाई हस्तान्तरण गरिनुपर्ने भएकाले त्यो प्रक्रिया पनि अगाडि बढिसकेको बताए । महाप्रबन्धक झाले भारतीय इर्कन कम्पनीले करिब तीन करोड लागतमा बिजलपुरा खण्डको रेल मार्गको भौतिक पूर्वाधार संरचना निर्माण गरेको जानकारी दिए । यस मार्गमा रेल सेवा सुरु भएपछि बिजलपुरादेखि बर्दिवाससम्म १८ किलोमिटर रेलको भौतिक पूर्वाधार संरचनाको काम सुरु हुने उनले जानकारी दिए । ‘नेपाल सरकारले बिजलपुरादेखि बर्दिवाससम्म रेलको लिकसहित भौतिक पूर्वाधार संरचनाका लागि जग्गा हस्तान्तरण गरेपछि तुरुन्त काम सुरु हुन्छ’, महाप्रबन्धक झाले भने, ‘यस खण्डमा जग्गाको मुआब्जाको विषयमा पनि टुङ्गो लागिसकेकोले अब तुरुन्त निर्माण काम सुरु हुन्छ ।’ सन् २०१० मा भारत सरकारको आर्थिक सहयोगमा रेल सञ्जाल विस्तार गर्न भारत सरकारसँग सम्झौता भएको थियो । भौतिक पूर्वाधार तथा रेल्वे लिक निर्माणको ठेक्का पाएको भारतीय इर्कन इन्टरनेसनल कम्पनीले निर्माण थालेको थियो । जयनगरदेखि बर्दिवाससम्म ७० किलोमिटर छ । गत चैत १९ गते भारतको दिल्लीस्थित हैदराबाद हाउसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा जयनगर–जनकपुर कुर्था रेल सेवाको भर्चुअल माध्यमबाट हरियो झण्डा देखाएर उद्घाटन गरेका थिए । त्यस दिनदेखि जयनगर–जनकपुर कुर्थासम्म ३४.९ किलोमिटर नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । अब बिजलपुरासम्म रेल सेवा सुरु भएपछि यसको सेवा ५२.४ किलोमिटर हुनेछ । बिजलपुरादेखि बर्दिवाससम्म १८ किलोमिटर रेल सञ्चालनको भौतिक पूर्वाधार र लिक निर्माणको काम बाँकी छ । यस रेल विस्तार परियोजनाको प्रथम चरणमा जयनगर–जनकपुर–कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको विजलपुरा भङ्गाहासम्म १७.५ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको बिजलपुरा भङ्गहादेखि बर्दिवाससम्म १८ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालन हुने सरकारको योजनाअन्तर्गत सो कार्य भएको हो । बिजलपुरासम्म रेल सेवा विस्तारको लागि महाप्रबन्ध झाको नेतृत्वमा सशस्त्र प्रहरी प्रमुखसहित टोलीले निरीक्षण गरेको थाहा पाएपछि त्यस भेगका लोहारपट्टी, बलवा, भङ्गाहा, पिपरा क्षेत्रका स्थानीयवासीमा खुसीयाली छाएको छ । रेल सेवाले आफ्ना सेवा विस्तार गरेर बिजलपुरासम्म पु¥याउने भएपछि त्यस त्यसक्षेत्रका जनतामा खुसीयाली छाएको छ । उक्त क्षेत्रका कृषि उपज सोझै जनकपुरधामका साथै भारतीय बजारसम्म पु¥याउन सकिने आश जागेको किसान बताउँछन् । विसं १९९४ जुद्धशम्शेरका पालामा सुरु भएको न्यारोगेजको बिजलपुरा–जनकपुर–जयनगर ५२ किमी रेलमार्ग विसं २०५८ मा बाढीले बिग्हीपुल (लोहारपट्टी, महोत्तरी) भत्काएपछि जनकपुर–जयनगर ३५ किलोमिटरमा सीमित भएको थियो र पछि उक्त सेवा पनि बन्द भएको थियो । भारत सरकारको सात अर्ब २० करोडको आर्थिक सहयोगमा ब्रोडगेज रेलवे विस्तारको सन् २०१९ भित्रै रेल सञ्जाल विस्तारको निर्माण काम सम्पन्न गरिने प्रारम्भिक लक्ष्य लिएको थियो । राजनीतिक उतारचढाव, भेलबाढी र जग्गा मुआब्जा निर्धारणमा भएको ढिलाइले समयमा काम सम्पन्न गर्न नसकिएको रेल विभागले जनाएको छ । नेपालमा पहिलो रेल सेवा विसं १९८४ मा चन्द्रशम्शेरका पालामा रक्सौल–अमलेखगञ्ज सुरु भएको थियो । अहिले जयनगर–जनकपुरसम्म सञ्चालन भइरहेको नेपाली रेल, २०७७ असोज २ गते भारतीय रेल्वे कम्पनी कोंकणले कर्पोरेशनसँग ८४ करोड ६५ लाखमा दुई सेट ‘डेमो ट्रेन’ (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) खरिद गरी ल्याइएको हो । यस रेलमा एक हजार ३०० जनासम्म यात्रु बसेर तथा उभिएर यात्रा गर्न सक्ने क्षमता रहेको छ भने यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिनेछ । अब यहीँ रेल जयनगरदेखि बिजलपुरासम्म सञ्चालन हुने भएको छ । रासस

भारतमा एकैदिन २१ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि

नयाँदिल्ली । भारतमा बितेका २४ घण्टामा २१ हजार पाँच सय ६६ सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३८ लाखभन्दा बढी पुगेको छ । भारतमा हाल एक लाख ४८ हजार आठ सय ८१ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो एक दिनमा १८ हजार दुई सय ९४ कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३१ लाख ५० हजार चार सय ३४ पुगेको छ । कोरोना महामारीबाट हालसम्म पाँच लाख २६ हजार जना भन्दा बढीको मृत्यु भएको छ । महामारी शुरु भएयता हालसम्म ८६ करोड ८९ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ । भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको हो । हालसम्म कोरोनाविरुद्ध दुई अर्ब ९१ लाख मात्रा भन्दा बढी खोप लगाइएको छ । यसैबीच पाकिस्तानमा पछिल्लो २४ घण्टामा पाँच सय ९९ कोभिड–१९ का थप सङ्क्रमित थपिएका स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यसैसँग कूल सङ्क्रमितको संख्या १५ लाख ४८ हजार तीन सय ९४ पुगेको छ । पाकिस्तानमा कोभिड–१९ बाट ३० हजार चार सय ५५ जनाको मृत्यु भएको छ भने बुधबार थप तीन जनाको मृत्यु भएको छ ।