विकासन्युज

नेपाल बैंक र नेपाल रेमिट इन्टरनेसनलबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसनलबीच रेमिट्यान्स सम्झौता भएको छ । बुधबार एक कार्यक्रमकाबीच बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादूर अधिकारी र नेपाल रेमिट इन्टरनेसनलका तर्फबाट अध्यक्ष रितेश मित्तलले सो सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नेपाल रेमिट इन्टरनेसनलमार्फत आएको रेमिट्यान्स नेपाल बैंकको सम्पूर्ण शाखाहरु, एक्सटेन्सन काउन्टर तथा बैंकका सव एजेन्टले भुक्तानी गर्नेछ । यस सम्झौता मार्फत देश तथा विदेशमा रहेका सम्पुर्ण ग्राहकहरुले सहज र सूलभ तरिकाले रेमिट्यान्स प्राप्त र पठाउन सक्ने बैंकले जनाएको छ ।

बिहीबार तोलामा एक हजारले घट्यो सुनको भाउ

काठमाडौं । बिहीबार सुन तोलाको एकहजार रुपैयाँले घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बिहीबार छापावाल सुनको मूल्य एक हजार रुपैयाँले घटेर तोलाको ९३ हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी सुनको मूल्य पनि घटेर तोलाको ९२ हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुन तोलाको ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको छ । बुधबार तोलाको एक हजार १६५ मा कारोबार भएको चाँदी आज १० रुपैयाँ घटेर एक हजार १५५ मा कारोबार भइरहेको महासंघले जनकारी दिएको छ ।

एनआईसी एशिया बैंकले ३९ प्रतिशतले बढायो नाफा, प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ बढी

काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ३९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३९.१३ रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा १०.९५ रुपैयाँले बढी हो । त्यस्तै, मूल्य आम्दानी अनुपात १७.७९ गुणा र प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ बढी छ । त्यस्तै, बैंकको स्व-पूँजीमा प्रतिफल (आरओई) १९.६५ प्रतिशत रहेको छ । जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको बैंकको अनुमान छ । हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड रुपैयाँ छ भने जगेडा कोषमा १३ अर्ब ५८ करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकले निक्षेप संकलन र कर्जा लगानीमा सामान्य सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षमा २ खर्ब ८७ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको बैंकले गत आवमा २ खर्ब ८९ अर्ब रुपैयाँ संकलन गरेको छ । त्यस्तै, कर्जा लगानी पनि २ अर्ब ४८ करोड रुपैयाँबाट २ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको एनपीएल घटेर ०.४९ प्रतिशतमा सीमित छ भने सीडी रेसियो बढेर ८६.२६ प्रतिशतमा पुगेको छ । त्यसैगरी बैंकको कुल पूँजी पर्याप्तता अनुपात १३.५१ प्रतिशत र क्यापिटल कर्जरभेशन बफरसहित उक्त अनुपात ८.९३ प्रतिशत पुगेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रयमाससम्ममा १२ लाखभन्दा बढी नयाँ खाताहरू थप गर्दै ४० लाखभन्दा बढी खाताहरू मार्फत सेवा दिँदै आइरहेको छ । यो त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल कर्जाहरु कर्जा विस्तार गरेकोे छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरूभन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।

उर्जा क्षेत्रमा थपियो पौने २ खर्बको लगानी, चिनियाँ लगानीकर्ताबाट ४२ अर्बको प्रतिवद्धता

काठमाडौं । नेपालमा एक वर्षको अवधिमा साढे तीन खर्ब बढीको स्वदेशी लगानीका उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा तीन खर्ब ४३ अर्ब ५५ करोड ९१ लाख ५० हजार बढीका ३०९ वटा उद्योग दर्ता भएका हुन् । विभिन्न आठ वटा शिर्षक अन्तर्गत उक्त उद्योग दर्ता भएका हुन । विभागको तथ्यांक अनुसार कृषि तथा वन पैदावारमा आधारित २१ उद्योगमा ५ अर्ब २८ करोड ९० लाख ९९ हजार, उर्जामूलक क्षेत्रमा ५० उद्योगका लागि एक खर्ब ७० अर्ब ७६ करोड ७४ लाख र सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित ११ उद्योगमा १ अर्ब ८९ करोड ८५ लाख रुपैयाँ लगानी रहने गरी दर्ता भएका छन् । यस्तैगरी, पूर्वाधारका ५ उद्योगमा रु २ अर्ब २७ करोड ९१ लाख, उत्पादनमूलक क्षेत्रका ११५ उद्योगमा ८९ अर्ब ७९ करोड ४१ लाख ९१ हजार, खनिज क्षेत्रको २ उद्योगमा २५ करोड ९९ लाख, सेवामूलक क्षेत्रका ४६ उद्योगका लागि ४६ अर्ब ७५ करोड ५८ लाख ३८ हजार र पर्यटन क्षेत्रका ५८ उद्योगका लागि २६ अर्ब ५१ करोड ४९ लाख ७६ हजार रुपैयाँ बढीका उद्योग दर्ता भएका हुन् । बढ्यो विदेशी लगानी प्रतिवद्धता उद्योग विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७७÷०७८ को तुलनामा आर्थिक वर्ष २०७८÷०७९ मा विदेशी लगानी प्रतिवद्धतामा बृद्धि भएको छ । कोरोना महामारीका कारण गत दुई आर्थिक वर्षमा विदेशी लगानी प्रतिवद्धता न्यून आयकोमा गत आर्थिक वर्षमा बृद्धि भएको हो । विभागको तथ्यांक अनुसार २३ देशका लगानीकर्ताले दुई सय ९३ वटा परियोजनाका लागि गत आर्थिक वर्षमा ५८ अर्ब २० करोड २६ लाख ९८ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । यो अघिल्लो आर्थिक वर्ष २०७७÷७८ को तुलनामा ६८ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७७÷७८ मा विभिन्न देशका लगानीकर्ताले १८४ वटा परियोजनामा ३२ अर्ब सात करोड रूपैयाँ लगानी प्रतिबद्धता आएको थियो । कुनमा उद्योगमा कति प्रतिवद्धता ? गत आर्थिक वर्षमा सबैभन्दा धेरै विदेशी लगानी प्रतिवद्धता पर्यटन क्षेत्रमा आएको छ । पर्यटन क्षेत्रमा १२४ उद्योगका लागि १९ अर्ब ६० करोड १५ लाख रुपैयाँ बढीको प्रतिवद्धता आएकोे हो । यस्तै, सेवामुलक क्षेत्रका ९७ उद्योगका लागि २७ अर्ब २९ करोड ८१ लाख, कृषि क्षेत्रमा ४ उद्योगका लागि ६० करोड, उर्जा क्षेत्रमा १ उद्योगका लागि १० करोड ६२ लाख, सूचना प्रविधि क्षेत्रमा ६ उद्योगका लागि ४७ करोड, पूर्वाधार क्षेत्रका ८ उद्योगका लागि १ अर्ब ७२ करोड ४० लाख र उत्पादनमूलक क्षेत्रका ५१ उद्योगका लागि ८ अर्ब १४ करोड बराबरको प्रतिवद्धता आएको हो । उक्त लगानी प्रतिवद्धतासगैँ स्वदेशी लगानीका उद्योगले २८ हजार ५२७ र विदेशी लगानीका उद्योगले १६ हजार ९१९ गरी ४५ हजार ३४६ जनालाई रोजगारी दिने प्रतिवद्धता जनाएका छन् । यस्तै, उद्योग विभागको तथ्यांक अनुसार सबैभन्दा धेरै उत्पादनमुलक क्षेत्रका उद्योगमा स्वदेशी लगानीमा उद्योग दर्ता भएका छन् । एक वर्षमा ३०९ वटा स्वदेशी लगानीका उद्योग दर्ता भएकोमा उत्पादनमूलक क्षेत्रमा मात्रै ११५ वटा उद्योग दर्ता भएका छन् । ८९ अर्ब ७९ करोड ४१ लाख ९१ हजार रुपैयाँ बढीका उक्त उद्योग दर्ता भएका हुन् । यस्तै, पर्यटन क्षेत्रका ५८ उद्योगमा २६ अर्ब ५१ करोड ४९ लाख ७६ हजार, सेवामुलक क्षेत्रका ४६ उद्योगका लागि ४६ अर्ब ७५ करोड ५८ लाख, उर्जा क्षेत्रका ५० उद्योगमा १ खर्ब ७० अर्ब ७६ करोड ७४ लाख ७३ हजार, कृषि क्षेत्रमा २१ उद्योगका लागि ५ अर्ब २८ करोड ९० लाख ९९ हजार, सूचना प्रविधि क्षेत्रमा ११ उद्योगका लागि १ अर्ब ८९ करोड ८५ लाख, पूर्वाधार क्षेत्रका ५ उद्योगका लागि २ अर्ब २७ करोड ९१ लाख र २ वटा खनिज उद्योगका लागि २५ करोड ९९ लाख रुपैयाँ बढीको लगानी रहेको छ । चिनियाँँ लगानीका २३० उद्योग दर्ता उद्योग विभागको तथ्यांक अनुसार एक वर्षको अवधिमा चीनबाट सबैभन्दा धेरै लगानी प्रतिवद्धता आएको छ । कुल २९३ विदेशी लगानी प्रतिवद्धता आएकामध्ये चीनबाट मात्रै २३० उद्योगका लागि प्रतिवद्धता आएको हो । एक वर्षको अवधिमा ५८ अर्ब बढीको कुल विदेशी लगानी प्रतिवद्धता आएकोमध्ये चीनबाट मात्रै ४२ अर्ब ७२ करोड ४० लाख रुपैयाँ बढीको प्रतिवद्धता आएको विभागका सूचना अधिकारी पूर्णिमा उपाध्यायले जानकारी दिइन् । उनका अनुसार चीनपछि सबैभन्दा धेरै लगानी प्रतिवद्धता भारतबाट आएको छ । भारतबाट १२ वटा उद्योगमा दुई अर्ब ४८ करोड रूपैयाँ लगानी प्रतिवद्धता आएको छ । सूचना अधिकारी उपाध्यायले कोरोना महामारीपछि विस्तारै स्वदेशी तथा विदेशी लगानीका उद्योगमा प्रतिवद्धता आउन थालेको हो । कोभिडपछि विस्तारै लगानी प्रतिवद्धता बढ्न थालेको उनले भनाइ छ । यसअघि नयाँ व्यवस्थाअनुसार पाँच करोड भन्दाकम लगानीमा नेपालमा विदेशी लगानीको उद्योग दर्ता हुदैन थियो । न्यूनतम रकम पाँच करोड माथि तोकिएका प्रतिवद्धता रकममा बृद्धि भएतापनि उद्योगको संख्यामा कमी आएको विभागले जनाएको छ । तर, सरकारले चालु आर्थिक वर्ष २०७९÷०८० बाट उक्त सीमालाई हटाई २ करोड रुपैयाँका उद्योग दर्ता हुने व्यवस्था ल्याएको छ ।

एनआईसी एशियाको २५ वर्षे यात्राः सेयरधनीलाई उचित प्रतिफल, कर दाखिलासँगै बजार विस्तारमा नम्बर वान

काठमाडौं । एनआईसी एशिया बैंक २५औं वर्षमा प्रवेश गरेको छ । २०५४ सालमा स्थापना भएको बैंक आजबाट २५औं वर्षमा प्रवेश गरेको हो । यो अवसरमा बैंकले रजत जयन्ती मनाउँदै छ । २५ वर्षको यात्रामा बैंकले सेयरधनीको अप्टिमम् वेल्थ म्याक्सिमाइजेसन गर्ने उद्देश्यलाई केन्द्रमा राखेर अघि बढीरहेको छ । फलस्वरुप आर्थिक वर्ष ०५६/०५७ मा १ कित्ता बराबरको साधारण सेयरमा लगानी गर्ने सेयरधनीको हालसम्म आइपुग्दा उक्त सेयर संख्या १३.१२ कित्ता पुगेको छ । जसको प्रतिफल आजको बजार मूल्यमा ९ हजार ५२० रुपैयाँ ९७ पैसा बराबर प्रदान गर्न सफल भएको बैंकको दावी छ । त्यसैगरी, बैंकले स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको छ । गत अर्थिक वर्ष २०७८/७९ मा मात्रै बैंकले ३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन सफल भएको थियो । बैंकले हाल ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरी बैकिङ्ग सेवा प्रवाह गर्दै आएको छ । ‘यस दौरानमा हामी प्रति अनवरत रुपमा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” बन्न अतुलनिय योगदान दिनु हुने हाम्रा समस्त ग्राहकवर्ग, नियमनकारी निकायहरू, सेयरधनीहरू, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरू प्रति अत्यन्त अनुगृहीत रहँदै सादर नमन गर्दछौं । नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं, जे छौं र जस्तो आकारका छौं त्यसको सम्पूर्ण श्रेय यहाँहरूलाई नै जान्छ । साथै आगामी दिनहरुमा अझ विश्वस्तरिय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने अठोट गर्दछौं,’ बैंकले जनाएको छ ।

पूर्व सचिव दुर्गा प्रकाश पाण्डेयको निधन; ज्योति र दीपलाई पितृशोक

काठमाडौं । पूर्व सचिव दुर्गा प्रसाद पाण्डेयको निधन भएको छ । उनी नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डेयका बुबा हुन् । ८६ वर्षिय पाण्डेयको विहीबार नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गर्दै गर्दा निधन भएको पारिवारिक स्रोतले बतायो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । सन् १९९० देखि १९९४ सम्म वाणिज्य मन्त्रालयको सचिव रहेका पाण्डेयले ३६ वर्ष सरकारी सेवामा विताएका थिए । लखनऊ विश्वविद्यालयबाट एमए पास गरेपछि पाटन क्याम्पसमा लेक्चररको रुपमा सेवा गरेका पाण्डेय सन् २०६१ मा शाखा अधिकृतको रुपमा निजामति सेवामा प्रवेश गरेका थिए । पछि विभागमा महानिर्देशक, कोलकत्ताको लागि महावाणिज्यदूत, विरगञ्ज चिनी कारखानाको अध्यक्ष तथा महाप्रवन्धक हुँदै वाणिज्य मन्त्रालयको सचिवबाट अवकाश भएका थिए । निरन्तर अखबारी लेखहरु लेख्ने र प्रकाशन गर्ने गर्दै आएका पाण्डेयले लेखेका पुस्तकहरु पनि प्रकाशित छन् । उनलाई नेपाल सरकारले सुप्रशिद्ध गोरखा दक्षिण बाहु, सुविख्यात त्रिशक्ति पट्ट, दीर्घ सेवा पदक लगायत पद तथा मानवीबाट सम्मानित गरेको थियो ।

नेपाल टेलिकमले पोष्टपेड ग्राहकको धरौटी रकम फिर्ता गर्ने

काठमाडौं । नेपाल टेलिकमले धरौटी रकम ग्राहकलाई फिर्ता गर्ने भएको छ । टेलिकमबाट पोष्टपेड लिदै आएका ग्राहकले यसअघि राखेको धरौटी फिर्ता पाउन लागेका हुन् । कम्पनीले जीएसएम, सीडीएमए, पीएसटीएन, एफटीटीएच, आईएसडीएन, एएफएस सेवा वितरण गर्दा ग्राहकसँग प्रति ग्राहक ३ हजारदेखि ५ हजार रुपैयाँसम्म धरौटी लिएर सेवा दिएको थियो । उक्त रकम ग्राहकलाई फिर्ता गर्न लागिएको नेपाल टेलिकमले जनाएको छ । धरौटी रकम एडभान्सको रुपमा ग्राहकलाई फिर्ता गर्ने र बाँकी बक्यौता भएका ग्राहकको हकमा उक्त रकम समायोजन गरिने टेलिकमले जनाएको छ । रकम फिर्ता यहि साउन १ गतेबाट शुरु भईसकेको र साउन मसान्तसम्म सबैले रकम फिर्ता गरिने टेलिकमले जनाएको छ ।

नेपाल लाइफको सीईओ बने प्रविण रमण पराजुली, पाए समितिको स्वीकृति

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका प्रविण रमण पराजुलीले बीमा समितिको स्वीकृति पाएका छन् । समितिले उनलाई साउन ४ गते बुधबार नेपाल लाइफ इन्स्योरेन्सको सीईओ पदको लागि स्वीकृति दिएको हो । गत असार ३१ गते बसेको कम्पनीको सञ्चालक समितिले इन्स्योरेन्सको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) लाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । जसको स्वीकृतिको लागि बीमा समितिमा पठाइएको थियो । समितिले ५ दिनमै कम्पनीको सञ्चालक समितिको उक्त निर्णयलाई स्वीकृत गरेको हो । पराजुली गत पुसमा डीसीईओको रुपमा नेपाल लाइफ गएका थिए । त्यसअघि उनले रिलायन्स लाइफको सीईओको कार्यभार सम्हालेका थिए । २०७४ पुस महिनादेखि रिलायन्स लाइफको सीईओ पदको जिम्मेवारी सम्हालेका पराजुलीले ४ वर्षे कार्यकाल सफलतापूर्वक सकेर नेपाल लाइफमा प्रवेश गरेका हुन् । रिलायन्स लाइफमा जानुअघि उनले नविल इन्भेष्टमेन्ट बैंकिङमा प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हालेका थिए । बीमा क्षेत्रमा करिब ५ वर्ष काम गरेका पराजुलीसँग बैंकिङ र पुँजी बजारको समेत राम्रो ज्ञान र अनुभव छ । नेपाल लाइफको सीईओमा उनको नियुक्तीसँगै कम्पनीले नयाँ उचाई लिने सञ्चालक समितिको विश्वास रहेको छ ।