विकासन्युज

स्वास्थ्य बीमा सरकार आफैले रोकेको हो, अब नयाँ मोडालिटीमा जानुपर्छ : शर्मा

काठमाडौं । नोबेल मेडिकल कलेजका सञ्चालक शुनिल शर्माले स्वास्थ्य बीमा कार्यक्रम सरकारले रोकेको दावी गरेका छन् । बि एण्ड सी अस्पताल, बिराट मेडिकल कजेल र नोबेल शिक्षण अस्पतालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले स्वास्थ्य बीमा निजी अस्पतालले नभई नेपाल सरकारले नै रोकेको बताएका हुन् । ‘पछिल्लो समय विभिन्न मेडिकल कलेजहरुले बीमा रोकेको भन्ने हल्लाहरु आइरहेका छन्, तर बीमा हामीले रोकेका होइन, यो नेपाल सरकारले नै रोकेको हो, राज्यले नै नदिने भएपछि हामीले गर्छौं भनेर भएन,’ उनले बताए । बीमाको भुक्तानी गर्ने निकाय सरकारले नै भुक्तानी नगर्ने भएपछि स्वास्थ्य सेवा सुविधा दिँदै आएका मेडिकल कलेजहरुले रोक्न बाध्य भएको भनेर नागरिकलाई सूचित मात्र गराएको उनले थप स्पष्ट पारे । सरकारले प्रतिव्यक्ति ३५ सय रुपैयाँदेखि प्रतिपरिवार ५ हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा गरिरहेको छ । तर बीमा दावी भुक्तानी भने पछिल्लो ८ महिनादेखि नदिएको निजी कलेजको गुनासो छ । ‘सरकारले सरकारी तथा निजी अस्पतालका बीमितले बीमा गरेको पैसा राज्यको ढुकुटीभित्र राखेर विगत ८ महिनादेखि पैसा दिइरहेको छैन, जुन पैसा नागरिकहरुको हो, नागरिकले राज्यलाई पैसा तिरेर उपचारको निम्ति सेक्यिुरिटी मात्र दिएको हो, यो सरकारले सुविधा दिएको होइन, भ्रममा नपरौं,’ उनले भने । उनले अहिलेको राज्यले नचाहिँदो क्रेडिट लिइरहेको र गैह्र जिम्मेवारी बनिरहेको बताउँदै जनताको अर्बौं रुपैयाँ बीमाको पैसाको व्याज खाइरहेको समेत उनको भनाई छ । ‘हामीले ट्याक्स नतिर्दा १५ प्रतिशत पेनाल्टी  लगाउने, राज्यले उपचारबापतको पैसा नदिँदा के गर्ने ?’ उनले उल्टै प्रश्न गरे । अबको ५ बर्षमा नेपालमा नर्स पाइदैन! नोबेल मेडिकल कलेजले गत आर्थिक वर्ष २०७८/७९ मा २ लाख ४० हजार बीमितहरुको उपचार गरेको छ । जसमध्ये २ लाख २२ हजार ७ सय २९ जना बीमितले ओपिडीबाट र १७ हजार २८४ जनाले भर्ना भएर बीमा सेवा पाएका शर्माले बताए । यससँगै उक्त मेडिकल कलेजले कोभिड बापतको रकम १० करोड १६ लाख ६० हजार ५ सय रुपैयाँ र स्वास्थ्य बीमाको ६२ करोड ६२ लाख रुपैयाँ बराबरको रकम सरकारले दिन बाँकी रहेको शर्माले जानकारी गराए । जुन २०७८ कार्तिक महिनादेखिको रकम हो, जसले गर्दा नोबेलका ९ हजार कर्मचारी तलब खानबाट बञ्चित भएका छन् । साथै, नोबेल कलेजलाई स्वास्थ्य बीमाबाट कुनै फाइदा नभएको बताए । तर, सरकारले हाल सञ्चालन गर्दै आएको स्वास्थ्य बीमाको नीति भने परिवर्तन गरेर अघि बढ्नु पर्ने उनको धारणा छ । ‘हालको स्वास्थ्य बीमाको १ लाखको सुविधालाई बढाएर २ देखि ३ लाख रूपैयाँ पुर्याउने, र, २० देखि २५ प्रतिशत रकम भने बीमित आफैले तिर्नुपर्ने कार्यविधि बनाउनुपर्छ, जसले गर्दा धेरै कन्ट्रोल हुन्छ’ सुझाव दिँदै उनले बताए । सरकारले बीएण्डसी मेडिकल कलेजलाई पनि स्वास्थ्य बीमा वापतको ५४ करोड रुपैयाँ बराबरको रकम दिन बाँकी रहेको सञ्चालक दुर्गा प्रसाईले बताए । प्रसाईले बीमाको मात्र नभई विगतका सरकारले क्याबिनेटबाट दिन्छु भनेर निर्णय गरेको रकम पनि अहिलेसम्म नदिएको गुनासो गरेका छन् । ‘शेरबहादुर देउवा पहिलो पटक प्रधानमन्त्री भएको बेलामा २१ जना मान्छेलाई गोली लागेको ६५ लाख रुपैयाँ विगत ५ वर्षदेखि अड्किरहेको छ,’ थप जानकारी गराउँदै उनले भने । त्यस्तै, प्रसाईले बीमितहरुले डाइरेक्ट सेवा सुविधा पाउनु पर्ने माग गरेका छन् । कोभिड तथा स्वास्थ्य बीमाको भुक्तानी पाउनका लागि सरकार, स्वास्थ्य बीमा बोर्ड तथा अर्थान्त्रालयसँग पटक पटक आग्रह गर्दा समेत सुनुवाई नभएको गुनासो गर्दै मेडिकल कलेजहरुले छिटोभन्दा छिटो उपचार गरेवापतको रकम पाउनुपर्ने संयुक्त माग राखेका छन् ।

‘काउन्टर साइकल वफर खारेज गरौं, खुद तरलता सम्पत्ति अनुपात १५ % ताेकाैं’

काठमाडौं । नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंक समक्ष काउन्टर साइकल वफर खारेज गर्नु पर्ने माग राखेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव दिँदै बैंकर्स संघले काउन्टर साइकल वफर स्थगन गर्नु पर्ने माग राखेको हो । बैंकहरुको नाफा नियमित घट्दै गएपछि र बजारमा देखिएको लगानी योग्य रकमको अभावले ब्याजदरमा पार्नसक्ने प्रभावलाई कम गर्न अन्तर बैंक सापटीलाई अझ फराकिलो बनाई स्रोत परिचालनमा गणना गर्नका लागि काउन्टर साइकल बफरलाई २०७९÷८० सम्मको लागि स्थगन गर्नुपर्ने माग संघको छ । यस्तै, बैंकर्स संघले तोकिएको क्षेत्रमा प्रवाह गर्नुपर्ने न्युनतम कर्जा लगानीकोे अवधि १ वर्ष थप गर्ने, लघु, घरेलु तथा साना उद्योगको हालकोे कर्जा सीमा रु ३ करोड कायम गर्नुपर्ने, स्थानीय तहको निक्षेपको ८० प्रतिशत सम्म बैंकहरुले निक्षेपको रुपमा गणना गर्न सकिनेलाई निरन्तरता दिनुपर्ने माग राखेको छ । यद्यपि, अर्थमन्त्रालयले ८० प्रतिशत रकम निक्षेपमा राख्न पाउने व्यवस्थालाई निरन्तरता दिइसकेको छ । संघले खुद तरल सम्पत्ति अुनपात (एनएलए) १५ प्रतिशतमा घटाउनु पर्ने, मुलुक बाहिरबाट समेत लगानी प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय ग्रिन बण्ड र एनआरएन बण्ड लगायतका व्यवस्थाहरु लागू गर्नु पर्ने पनि माग राखेको छ । यस्तै, असल कर्जाको न्यूनतम नोक्सानी व्यवस्था १ प्रतिशत कायम गरिनुपर्ने, निक्षेपको ब्याजदरलाई समेत बेन्चमार्क गर्नुपर्ने, ऋणीको रिक्स प्रोफाइल हेरेर एक निश्चित समयावधि पछि प्रिमियम दर परिवर्तन गर्न सकिने व्यवस्था गर्नुपर्ने, एसेट म्यानेजमेन्ट कम्पनीेको नीतिगत व्यवस्था गर्नु पर्ने र बैंकिङ्ग कसुर तथा सजाय ऐन संशोधन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउनु पर्ने माग राखेको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार समेत हालको े निक्षेप सुरक्षणको प्रिमियम दर उच्च रहेको हुनाले त्यसको पुनरावलोकन गर्नुपर्ने माग पनि संघको छ ।

एचआइडीसिएल र आइएमई जनरलको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार विभिन्न २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसिएल) र आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको ८ प्रतिशत बोनस सेयर वापतको १ करोड ४९ लाख ६० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद गरी कूल ८.४२१ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै, आइएमई जनरल इन्स्योरेन्सको ७ प्रतिशत बोनस सेयर वापतको ८ लाख १० हजार ३१०.२० कित्ता बोनस नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद गरी कूल ७.३७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

भरतपुर विमानस्थल विस्तार चालु आवदेखि शुरु हुने

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भरतपुर विमानस्थल विस्तारको काम चालु आर्थिक वर्षदेखि नै अघि बढ्ने बताएका छन् । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको विमानस्थल विस्तारसम्बन्धी अन्तक्र्रियामा उनले तत्काल काम अघि बढाइने बताए । हालसम्म भएका छलफल र कार्यप्रगति सुनेपछि मन्त्री श्रेष्ठले विमानस्थल विस्तारका लागि आवश्यक जग्गा दिन नेपाली सेना तयार भएको भन्दै अब काम अघि बढ्ने बताए । उनले भने, ‘यो विमानस्थल विस्तारका लागि मन्त्रालयले उच्च महत्व दिएको छ ।’ विमानस्थलको धावनमार्ग विस्तारका लागि ३०० मिटर जग्गा आवश्यक पर्ने भन्दै उनले यस विषयमा प्रधान सेनापतिसँग सकारात्मक छलफल भएको बताए । उनले भने, ‘जमिनको कारणले काम रोकिन्न ।’ चितवनका लागि मात्रै नभएर देशकै लागि यो विमानस्थल महत्वपूर्ण भएको भन्दै उनले नागरिक उड्डयन प्राधिकरणको बजेटबाट काम अघि बढ्ने जानकारी दिए । भरतपुर महानगरपालिकाले निरन्तररूपमा विमानस्थल विस्तारका लागि घचघच्याउने कार्य गरेकोमा महानगरलाई धन्यवाद दिए । सोही अवसरमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणकै बजेटबाट विस्तृत अध्ययन प्रतिवेदनको काम तत्काल थाल्ने बताए । गर्मीको मौसममा जहाजले पूर्ण क्षमतामा उडान भर्न यहाँ नसकेको भन्दै उनले विसं २०८० सम्ममा ठूला जहाज रातिसमेत उडान गर्नसक्ने गरी विमानस्थल विस्तार गरिने बताए । रातिको समयमा काठमाडौँ बाहिरका विमानस्थलमा २० वटा जहाज बस्ने गरेको भन्दै उनले राजधानी नजिक भएर पनि हवाई सुविधामा पछाडि परेको बताए । उनले भने, ‘अब हामी ढिलो गर्दैनौँ, तत्काल काम थाल्छौँ ।’ महानगर प्रमुख रेनु दाहालले पहिलोपटक आफू प्रमुख भएपछि निरन्तररूपमा विमानस्थल विस्तारमा लागिरहेको बताइन् । उनले भनिन्, ‘अब हामी विमानस्थल विस्तारका लागि छलफलमा बस्नुपर्दैन भन्ने मलाई लागेको छ ।’ यो विमानस्थल प्रदेशकै महत्वपूर्ण विमानस्थल बन्ने उनले बताइन् । आवश्यक सहजीकरणका लागि महानगर जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको भन्दै उहाँले तत्काल विस्तारका लागि आग्रह गरिन् । सो अवसरमा नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक नवलविक्रम थापाले अहिले भइरहेको धावनमार्गमा ३२२ मिटर विस्तार गरी एक हजार ५०० मिटर पु¥याउन सकेमा ७२ सिट क्षमताको विमान अवतरण हुनसक्ने बताए । राति पनि सञ्चालन गर्नसक्ने गरी विमानस्थल विस्तार गर्नुपर्ने उनको भनाइ छ । हाल भरतपुर विमानस्थलको धावनमार्ग एक हजार २०० मिटर लम्बाइ र ३० मिटर चौडाइ छ । सन् १९६१ मा यो विमानस्थल स्थापना भएको हो । विमानस्थल ५८ बिघा जमिनमा फैलिएको छ । वरपर घर बनेकाले यो विमानस्थललाई जोखिमका हिसाबले तराईको लुक्का भनेर चिन्ने गरिन्छ । धावनमार्ग छोटो हुँदा ३७ सिट क्षमताको विमानमा गर्मीको समयमा १६ जना मात्रै यात्रु बोक्ने गरिएको छ । त्यस्तै ४७ सिट क्षमताको विमानले ४२ जना मात्रै बोक्ने गरेको छ । गर्मीमा हावाको घनत्व कम हुँदा धावनमार्ग लामो आवश्यक पर्दछ । भरतपुर महानगरपालिकाले हालसम्म विमानस्थल विस्तारका लागि गरेका प्रयासका बारेमा महानगरका उपसचिव महेन्द्र पौडेलले जानकारी गराएका थिए । महानगरले नेपाली सेनाको गणलाई स्थानान्तरणका लागि नेपाल ट्रष्टको जग्गा र घोडा प्रजनन केन्द्रका लागि भरतपुर–११ मा वैकल्पिक जग्गाको व्यवस्था गरिसकेको छ । यसैगरी आजै मन्त्री श्रेष्ठको उपस्थितिमा महानगरपालिकामा बसेको बैठकले विमानस्थल विस्तारका लागि प्राविधिक अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक नवीनप्रसाद अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको छ । समितिको सदस्यमा नेपाली सेनाका सेनानी विभूषा क्षेत्री, शैलजा श्रेष्ठ, भरतपुर महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्य, सूर्य श्रेष्ठ र सदस्य सचिवमा प्राधिकरणका नलविक्रम थापा रहेको समिति गठन गरेको छ । समितिले १५ दिनभित्र प्रतिवेदन दिने निर्णय भएको महानगर प्रमुख दाहालले जानकारी दिइन् ।

शर्मा प्रकरण : डिलिट भएको सीसीटीभी फुटेज रिकभर हुन सक्छ ? यस्तो भन्छन कम्प्युटर इन्जिनियर

काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको विशेष संसदीय समितिले ९ दिनको सयम छानबिनमै बिताइसकेकाे छ । तर, समितिले बजेट निर्माणको क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको वा नगरेको विषयमा यकिन भने गर्न सकेको छैन। बजेट निर्माणको प्रकृयामा असार १४ गते राति अनाधिकृत व्यक्ति प्रवेश गराएर करका दर हेरफेर गरिएको भन्ने विषय नै तत्कालीन अर्थमन्त्री शर्मामाथि लगाइएको मुख्य आरोप हो । सोही आरोपको आधारमा जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा पनि दिइसकेका छन् । तर, शर्मामाथि लगाइएको आरोपको विषयमा मन्त्रालयका सचिव, सहसचिव र उपसचिवहरुसँग बयान लिँदा उनीहरुले अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भएको कुरालाई एकमतका साथ खण्डन गरेका छन् । त्यस्तै, असार १४ गते रातिको सीसीटीभी फुटेज पनि समितिले फेला पार्न सकेको छैन । शर्मामाथि उठेको आरोपमा मन्त्रालयका कर्मचारीको एकमतले अस्वीकार हुन् । तर, सोही दिनको सीसीटीभी  फुटेज नभेटिने कुरालाई समितिले आशंकापूर्ण ढंगले लिएको छ । छानविन समितिले अहिले सीसीटीभी फुटेजको प्राणाली नै लिएर अध्ययन गर्न लागेको छ । समितिले प्राविधिक सहयोग लिएर सिसिटिभी फुटेज रिकभर गर्न खोजेको छ । अहिले सीसीटीभी फुटेज रिकभरकाे विषयलाई धेरैले जिज्ञासाकाे रूपमा लिएका छन् । इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक, इलेक्ट्रोनिक्स तथा कम्प्युटर विभागका प्रमुख प्रा.डा. रामकृष्ण महर्जन लुपहोल छोडेर डिलिट गरिएको छ भने मात्र मेमोरीबाट डिलिट भएको विषयवस्तु रिकभर गर्न सकिने बताउँछन् । ‘मेमोरी कार्ड फुटेको अथवा बिग्रेको पनि रिकभर हुन्छ भनेर रिकभर गरेको केश पनि छ, यदि मेमोरीमा लुपहोलहरु छोडेको छ भने रिकभर हुन सक्छ तर, लुपहोल नै छैन भने रिकभर नहुन पनि सक्छ,’ उनले भने । उनका अनुसार सो मेमोरी कस्तो छ भन्ने नहेरीकन भन्न सकिंदैन । मेमोरीकार्डबाट योजनावद्ध रुपमा डिलिट गरिएको विषवस्तु भने रिकभर हुन नसक्ने प्रा.डा. महर्जनको भनाइ छ । ‘एउटा कम्प्युटरमा कुनै विषयलाई डिलिट गर्दा पनि त्यो ट्रयासविन अथवा रिसाइकलविनमा गएर बस्छ, यदि त्यहाँ रहेछ भने पूर्ण रुपमा रिकभर हुनसक्छ, त्यो अप्सन सीसीटीभी फुटेजमा छ भने त्यो रिकभर हुन्छ,  नहेरीकन रिकभर हुन सक्ने वा नसक्ने बारे भन्न सकिँदैन,’ प्रा.डा. महर्जनले भने ।

कुमारी बैंकका ग्राहकलाई होटेल ए–१ लभली स्टारमा छुट

काठमाडौं । कुमारी बैंक र दाङ्गस्थित होटेल ए–१ लभली स्टारबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका ग्राहकलाई होटेल ए–१ लभली स्टारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । यस सम्झौता पश्चात बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले होटेलको लजिङ्ग शुल्कमा १५ प्रतिशत र फुडिङ्ग शुल्कमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । कुमारी बैंकले १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४८ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।

तिलिचो तालमा विद्युत् पुर्याइने

मनाङ । हिमाली जिल्ला मनाङको ३३ केभी स्यार्कु सवस्टेशनले तिलिचो तालमा विद्युत् पुर्याउने भएको छ । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल वेस क्याम्प र थोराङ्ला हाई क्याम्पसम्म चालु आर्थिक वर्ष ०७९/८० मा केन्द्रीय लाइनको विद्युत् पुर्याइने भएको हो । गत वर्ष बाढीपहिराले क्षति पुर्याएको राष्ट्रिय प्रसारण लाइनको मर्मत सकिएर चार्ज भएको नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदीले जानकारी दिए । विद्युत् प्राधिकरणले तिलिचो तालसम्म विद्युत् पुर्याउने योजना पूरा गर्ने उनले बताए । उनका अनुसार हालै मात्र पोल, तारलगायत सबस्टेशनमा चार्ज भएपछि विद्युत् सेवा प्रवाह भएको छ । ‘क्षति पुगेको एक वर्षपछि मर्मत भएपछि नेपाल विद्युत् प्राधिकरणको ३३ केभी सबस्टेशनमार्फत सेवा प्रवाह गरिएको छ । अब मनाङवासीलाई विद्युत्को पहुँचमा पु¥याउन सफल हुनेछौँ,’ सुवेदीले भने । गत वर्षको बाढीपहिराले बिजुलीको पोल, तार पुरिनाका साथै बाढीले क्षति पु¥याएपछि जिल्लामा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो । ‘नेपाल विद्युत् प्राधिकरणको ३३ केभी सबस्टेशनमा चार्ज भएको छ । अबदेखि निरन्तर विद्युत् सेवा प्रवाह हुन्छ,’ उनले भने । लघु जलविद्युत्को भरमा रहेको हिमाली जिल्ला मनाङमा राष्ट्रिय प्रसारण लाइनबाट पहिलो पटक चामे सदरमुकामसम्म विद्युत् सेवा प्रवाह भएको थियो । जिल्लामा पहिलो पटक विसं २०७७ मा केन्द्रीय प्रसारण लाइन जोडिएको थियो । राष्ट्रिय प्रसारण लाइनसहित अन्य लघु जलविद्युत्मा समेत बाढीपहिराले क्षति पुर्याउँदा मनाङ एक वर्षदेखि टुकीको भरमा छ । बाढीपहिराले प्रसारण लाइनमा रु साढे तीन करोडको क्षति पु¥याएको थियो । विसं २०७७ को फागुनमा पहिलो पटक नेपाल विद्युत् प्राधिकरणको ३३ केभीको राष्ट्रिय प्रसारण लाइन मनाङ विद्युत् सेवा प्रवाह भएको थियो । तर केन्द्रको लाइन प्रसारण भएको पाँच महिनामा नै बाढीपहिराले क्षति पुर्यायाे । हिमाली जिल्ला मनाङ विकट भएकाले पनि मर्मत कार्यमा अलि बढी ढिलाइ भएको प्रमुख सुवेदीले जानकारी दिए । राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा प्रवाह भएसँगै अब जिल्लामा सरकारी कार्यालयका साथै यस प्रसारण लाइनको विद्युत् सेवा जडान भएका क्षेत्रमा सहज रुपमा विद्युत् प्रवाह भएको छ । जिल्ला अस्पताल मनाङमा विद्युत् अभावका कारण विभिन्न उपकरण सञ्चालन हुन सकेका थिएनन् । विद्युत् प्रवाह हुन थालेपछि अस्पतालको सेवामा सहज हुने विश्वास लिइएको छ । रासस

काठमाडौं प्लाजामा घाँस उम्रियो, नेपाल ट्रष्टले गुमायो साढे १४ करोड रूपैयाँ

काठमाडौं । काठमाडौंको मुख्य व्यापारिक क्षेत्र हो कमलादी । कमलादीकै बिचमै छ एउटा ठूलो भवन । त्यो भवनको नाम हो काठमाडौं प्लाजा । नेपाल ट्रष्टको स्वामित्वमा रहेको त्यो भवनमा पहिले ब्यापार गर्न पाए हुन्थ्यो भन्ने चाहना धेरैको हुन्थ्यो । तर, अहिले भने मान्छेको मनसाय ठ्याक्कै परिवर्तन भएको छ । अहिले कमलादी हुँदै यात्रा गर्नेहरू काठमाडौंका प्लाजाको दुर्गति देखेर आश्चर्यचकित पर्छन् । पहिले आकर्षक, ब्यापारी भरिभराउ र ग्राहकहरुको पनि भीड लाग्ने नेपाल प्लाजा लामो समयदेखि सुनसान छ । ५ रोपनी बढी क्षेत्रफलमा फैलिएको काठमाडौं प्लाजा लामो समयदेखि खाली हुँदा प्लाजाको भित्तामा घाँस उम्रिएको छ भने सटरहरू बेवारिसे बनेका छन् । मुक्तिनाथ विकास बैंकले भवनको थोरै भाग प्रयोग गरेको छ । बाँकी भवनको सबै कोठा र सटरहरू खाली छन् । नेपाल ट्रस्टका अनुसार साढे डेढ वर्षदेखि काठमाडौं प्लाजा खाली अवस्थामा छ । वि.स २०५० सालदेखि लिजमा लिएर प्रयोग गर्दै आएको कन्सेप्ट डेभलपर्ससँगको सम्झौता २०७७ साल असार २ गते सकिएको थियो । कन्सेप्टले गरेको सम्झौता अवधि सकिएपछि नेपाल ट्रस्टले मासिक ६० लाख ५० हजार रूपैयाँमा काठमाडौं महानगरपालिकालाई भाडामा दिने निर्णय मन्त्रिपरिषद् बैठकले गर्यो । तर, कन्सेप्ट डेभलपर्सले भने नेपाल ट्रष्टलाई वार्षिक ८० लाख रूपैयाँ भाडा बुझाउँदै आएको थियो । पछि सुवासराज काफ्ले भन्ने व्यक्तिले ट्रस्ट र महानगरविरुद्ध अदालतमा मुद्दा हालेपछि ट्रस्ट र महानगरबीचको समझदारी अहिलेसम्म कार्यान्वयन हुन नसकेको ट्रस्टका प्रवक्ता विष्णुराज ढकालले बताए । प्रवक्ता ढकालका अनुसार अदालतमा उजुरी परिसकेपछि काठमाडौं महानगरले आफ्नो कार्यालय काठमाडौं प्लाजामा सार्ने वा नसार्ने निर्णय समेत गरेको छैन । महानगरले सो निर्णय नगर्दा ट्रस्टले नयाँ निर्णय गरेर अगाडि बढ्ने अवस्थामा नभएको प्रवक्ता ढकालको भनाइ छ । वि.स २०७७ सालमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासले काठमाडौं प्लाजा तत्काल महानगरलाई भाडामा लगाउने प्रकृया अगाडि नबढाउन अन्तरिम आदेश दिएको थियो । तर, सोही वर्षको साउन ११ गते सर्वोच्च अदालतले ०७७ साउन ११ गते नेपाल ट्रस्टका नाममा जारी भएको अन्तरिम आदेश खारेज भयो । सर्वोच्चले अन्तरिम आदेश खारेज गरिदिएपछि ट्रस्टलाई प्लाजाको भवन महानगरलाई भाडामा लगाउन बाटो खुलेको थियो । सर्वोच्चले अन्तरिम आदेश खारेज गरेपछि महानगरलाई प्लाजा भाडामा दिनको लागि आवश्यक समन्वय गर्ने काम गरिएको थियो । तर, हालसम्म महानगर प्लाजामा सरेको छैन । ‘हामीले पहिलेको मेयर हुँदा पनि भन्यौं, अहिले नयाँ मेयर आउनुभएको छ, उहाँहरूले अब छिट्टै निर्णय गरेर जानकारी दिन्छौं भन्नुभएको छ,’ प्रवक्ता ढकालले विकासन्युजसँग भने । महानगर भाडामा आउँछ भन्नेमा आफुहरु विश्वस्त रहेको र अन्यलाई भाडामा प्रकृया अगाडि बढाउन पनि उसले निर्णय गरेमा मात्रै सहज हुने प्रवक्ता ढकालको भनाइ छ । अब लामो समयसम्म प्लाजा खाली अवस्थामा नरहने उनकाे दाबी छ । ट्रस्टलाई साढे १४ करोड क्षति काठमाडौं प्लाजा भाडामा लिनेगरी गरेको सम्झौता ०७७ असार २ गते सकिएपछि पनि लामो समयसम्म कन्सेप्ट डेभलपर्सले नेपाल ट्रस्टलाई उक्त भवन हस्तान्तरण गर्ने काम गरेन । ट्रस्टले पटक–पटक सूचना निकालेर भवन खाली गर्न निर्देशन दिने काम गर्यो । ०७८ वैशाखबाट मात्रै ट्रस्टले प्लाजा खाली पनि गर्यो । ०७८ बैशाखबाट मात्रै प्लाजाको भवन ट्रस्टको मातहतमा आएपनि डेभलपर्सले भने ०७७ असार देखि ०७८ वैशाख सम्मकै भाडा बुझाएन । म्याद सकिएपछि पनि डेभलपर्सले औपचारिक रुपमा भवन खाली नगर्ने र उक्त अवधिको भाडा पनि नबुझाएपछि ट्रस्टले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । ०७७ असार देखि ०७८ बैशाखसम्मको भाडा असुल गर्नको लागि मुद्दा दायर गरिएको प्रवक्ता ढकालले बताए । मुद्दामा ट्रस्टले काठमाडौं महानगरलाई दिने भनिएको मासिक भाडाका दरले बुझाउन बुझाउन माग गरेको प्रवक्ता ढकालको भनाइ छ । डेभलपर्सले नबुझाएको भाडा र त्यसयता एक वर्ष भन्दा धेरैको भाडा हिसाब गर्दा ट्रस्टलाई झण्डै साढे १४ करोड भाडा घाटा भएको छ । झार किन उखल्दैन ट्रष्ट ? वर्षौंदेखि बेवारिसे अवस्था रहेको काठमाडौं प्लाजाले अहिले स्याहार पाएको छैन । काठमाडौंको मुख्य ठाउँमै रहेको भवनको पनि संरक्षण नगर्दा धेरैले ट्रष्टमाथि प्रश्न गरेका छन् । प्रवक्ता ढकालले ट्रस्टको कार्यालयसँग विगतमा पुँजीगत खर्चको व्यवस्थापन नै कम भएको कारणले प्लाजा मात्रै नभएर अन्य क्षेत्रमा गर्नुपर्ने भौतिक पूर्वाधार निर्माण र संरक्षणको काम गर्न नसकिएको बताए । ‘अघिल्लो आर्थिक वर्षमा मात्रै बोर्डले ब्याज आम्दानीको ५० प्रतिशत कार्यक्रम बनाएर खर्च गर्न पाउने व्यवस्था गरेको छ, सो निर्णय पनि चैतमा मात्रै आएर हुँदा हामीले गोकर्णमा थोरै तारबार गर्न सफल भएका छौं,’ प्रवक्ता ढकालले भने । काठमाडौं प्लाजाको छिटोभन्दा छिटो भाडामा लगाउनु नै उत्तम उपाय भएको उनको भनाइ छ । साथै अगामी दिनमा बोर्डले गरेको निर्णय बमोजिम कतिपय ठाउँमा भौतिक पूर्वाधारको काम गरिने उनले बताए । समय समयमा बोर्डको बैठक बस्न नसक्नु र निर्णयहरु पनि गर्न नसक्नाले आवश्यक कामहरु समयमा गर्न नसकिएको प्रवक्ता ढकालको भनाइ छ । उनका अनुसार गएको एक वर्षमा ट्रस्ट बोर्डको जम्मा १ पटक मात्रै बैठक बसेको छ ।