शर्मा प्रकरण : डिलिट भएको सीसीटीभी फुटेज रिकभर हुन सक्छ ? यस्तो भन्छन कम्प्युटर इन्जिनियर

<p>काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको विशेष संसदीय समितिले ९ दिनको सयम छानबिनमै बिताइसकेकाे छ । तर, समितिले बजेट निर्माणको क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको वा नगरेको विषयमा यकिन भने गर्न सकेको छैन। बजेट निर्माणको प्रकृयामा असार १४ गते राति अनाधिकृत व्यक्ति प्रवेश गराएर करका दर हेरफेर गरिएको भन्ने विषय नै [&hellip;]</p>

काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको विशेष संसदीय समितिले ९ दिनको सयम छानबिनमै बिताइसकेकाे छ । तर, समितिले बजेट निर्माणको क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको वा नगरेको विषयमा यकिन भने गर्न सकेको छैन।

बजेट निर्माणको प्रकृयामा असार १४ गते राति अनाधिकृत व्यक्ति प्रवेश गराएर करका दर हेरफेर गरिएको भन्ने विषय नै तत्कालीन अर्थमन्त्री शर्मामाथि लगाइएको मुख्य आरोप हो । सोही आरोपको आधारमा जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा पनि दिइसकेका छन् ।

तर, शर्मामाथि लगाइएको आरोपको विषयमा मन्त्रालयका सचिव, सहसचिव र उपसचिवहरुसँग बयान लिँदा उनीहरुले अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भएको कुरालाई एकमतका साथ खण्डन गरेका छन् । त्यस्तै, असार १४ गते रातिको सीसीटीभी फुटेज पनि समितिले फेला पार्न सकेको छैन ।

शर्मामाथि उठेको आरोपमा मन्त्रालयका कर्मचारीको एकमतले अस्वीकार हुन् । तर, सोही दिनको सीसीटीभी  फुटेज नभेटिने कुरालाई समितिले आशंकापूर्ण ढंगले लिएको छ । छानविन समितिले अहिले सीसीटीभी फुटेजको प्राणाली नै लिएर अध्ययन गर्न लागेको छ । समितिले प्राविधिक सहयोग लिएर सिसिटिभी फुटेज रिकभर गर्न खोजेको छ ।

अहिले सीसीटीभी फुटेज रिकभरकाे विषयलाई धेरैले जिज्ञासाकाे रूपमा लिएका छन् । इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक, इलेक्ट्रोनिक्स तथा कम्प्युटर विभागका प्रमुख प्रा.डा. रामकृष्ण महर्जन लुपहोल छोडेर डिलिट गरिएको छ भने मात्र मेमोरीबाट डिलिट भएको विषयवस्तु रिकभर गर्न सकिने बताउँछन् ।

‘मेमोरी कार्ड फुटेको अथवा बिग्रेको पनि रिकभर हुन्छ भनेर रिकभर गरेको केश पनि छ, यदि मेमोरीमा लुपहोलहरु छोडेको छ भने रिकभर हुन सक्छ तर, लुपहोल नै छैन भने रिकभर नहुन पनि सक्छ,’ उनले भने । उनका अनुसार सो मेमोरी कस्तो छ भन्ने नहेरीकन भन्न सकिंदैन ।

मेमोरीकार्डबाट योजनावद्ध रुपमा डिलिट गरिएको विषवस्तु भने रिकभर हुन नसक्ने प्रा.डा. महर्जनको भनाइ छ ।

‘एउटा कम्प्युटरमा कुनै विषयलाई डिलिट गर्दा पनि त्यो ट्रयासविन अथवा रिसाइकलविनमा गएर बस्छ, यदि त्यहाँ रहेछ भने पूर्ण रुपमा रिकभर हुनसक्छ, त्यो अप्सन सीसीटीभी फुटेजमा छ भने त्यो रिकभर हुन्छ,  नहेरीकन रिकभर हुन सक्ने वा नसक्ने बारे भन्न सकिँदैन,’ प्रा.डा. महर्जनले भने ।

Share News