विकासन्युज

आधा दर्जन वाणिज्य बैंक मर्जरमा

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरु धमाधम मर्जरमा जान थालेका छन् । हालसम्म विभिन्न ६ बैंक मर्जरमा जाने प्रारम्भिक सम्झौतामा हस्तक्षर गरिसकेका छन् । नेपाल इन्भेस्टमेन्ट (एनआईबिएल) र मेगा बैंक, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू (बीओके) र हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरमा जानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरि एकीकृत कारोबार गरिसकेको छ । जसले गर्दा यसअघि हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच भएको डिमर्जका कारण केही निराशा देखिएपनि नबिल र एनबि बैंकको एकीकृत कारोबारले उत्साह छाएको छ । हिमालयन र सिभिल बैंक हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई गाभ्ने भएको छ । गत असार २९ गते हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । सम्झौतामा हिमालयन बैंकका तर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका थिए । सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८१ कित्ता सेयर हुनेछ । अर्थात् हिमालयन बैंकले १००ः८१ को स्वाप रेसियोमा सिभिल बैंकलाई गाभ्ने भएको हो । प्राप्तिपश्चात् बन्ने बैंकको नाम हिमालयन हुनेछ भने हिमालयन बैंकको सञ्चालक समिति नै यथावत् रहने सम्झौता भएको हो । प्राप्ति पश्चात् बन्ने बैंकको सीईओमा हिमालयन बैंकको अशोक राणा र वरिष्ठ डेपुटी सीईओमा सिभिल बैंकका सुनिल कुमार पोख्रेल बन्ने छन् । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू ग्लोबल आइएमई बैंक र बीओकेबीच असार २ गते मर्जर सम्झौता भएको थियो । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका थिए । दुबै बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जर हुने सहमति भएको थियो । मर्जरपछि बन्ने बैंकको नाममा ग्लोबल आइएमई बीओके बैंक रहनेछ । साथै ग्लोबल आइएमईका रत्नराज बज्राचार्य बैंकको सीईओ बन्नेछन् । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच गत जेष्ठ २७ गते मर्जर सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता शेयर पाउने छ । मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राख्ने प्रारम्भिक सहमति भएको छ । साथै मर्जरपश्चात् बैंकको अध्यक्षमा पृथ्वी महादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे बन्ने सम्झौता भएको छ ।

निगमले सञ्जय कोष र सिआईटीलाई तिर्यो एक अर्ब ३५ करोड

काठमाडौं । नेपाल वायुसेवा निगमले (नेपाल एयरलाइन्स) कर्मचारी सञ्जय कोष र नागरिक लगानी कोषको बक्यौता रकम भुक्तानी गरेको छ । लामो समयसम्म बक्यौता रकम भुक्तानी गर्न नसकेको निगमले असार ३० गते दुई कोषलाई १ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी गरेको हो । २०७६ साल पुसको किस्ता भुक्तानी गरेपछि निगमले दुबै कोषलाई रकम भुक्तानी गर्न सकेको थिएन । करिब तीन वर्षपछि निगमले कर्मचारी सञ्चय कोषलाई न्यारोवडी जहाज खरिद वापतको ४५ करोड र वाइडबडी जहाज खरिद वापतको ४५ करोड रुपैयाँ गरी जम्मा ९० करोड किस्ता वापतको रकम भुक्तानी गरेको हो । यस्तै, नागरिक लगानी कोषलाई बाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता वापतको ४५ करोड रुपैयाँ भुक्तानी गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिईन । उनका अनुसार कोभिडका कारण निगमको आम्दानी खुम्चिदा बक्यौता रकम भुक्तानीमा समस्या भएको थियो । विस्तारै अवस्था सहज हुँदै गएपछि बक्यौता रकम भुक्तानी गर्न सुरु गरिएको हो । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट दुई न्यारो बडी र दुई वाइड बडी जहाज किन्दा लिएको ऋण मात्रै ३७ अर्ब ५८ करोड रुपैयाँ थियोे । तर समयमा किस्ता रकम भुक्तानी गर्न नसक्दा निगमको अल्पकालीन, मध्यमकालीन तथा दीर्घकालीन ऋणमात्रै करीब ५० अर्ब पुगेको छ। ऋणको साँवा–ब्याजको किस्ता १५ वर्षसम्म तीन–तीन महिनामा बुझाउने सर्तमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले ऋण लगानी गरेका थिए । निगमले दुई थान वाइडबडीको ८० करोड ४२ लाख र दुई न्यारो बडीको ३३ करोड नौ लाख रुपैयाँ गरी एक किस्तामा एक अर्ब १३ करोड रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

सेयरधितो कर्जामा स्थीरता ल्याऔं, नयाँ कम्पनीलाई तत्काल अनुमति दिऔं (१९ बुँदेसहित)

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले पुँजीबजार सुधारको लागि विभिन्न निकायहरुलाई १९ बुँदे सुझाव दिएको छ । चेम्बरले नेपाल धितोपत्र बोर्ड, अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंकलाई पुँजी बजार विकासको लागि विभिन्न सुझाव दिएका हुन् । चेम्बरले बजारको नीतिगत स्थायित्वको लागि बोर्डलाई १० वटा, अर्थमन्त्रालयलाई ६ र राष्ट्र बैंकलाई ३ बुँदे गरी छुट्टा छुट्टै सुझाव पेश गरेको हो । जसमा नेप्सेकाे निजीकरण गर्नुपर्ने, धिताेपत्र कर्जाकाे सीमामा स्थायित्व हुनुपर्ने, नियमनकारी निकायको नीतिगत स्पष्टता हुनुपर्ने लगायत करमा यथोचित व्यवस्था गर्नुपर्ने लगायतका सुझावहरु छन् । धितोपत्र बोर्डलाई १० सुझाव अन्तर्राष्ट्रियस्तरमा प्रचलन रहे बमोजिम धितोपत्र बजारसँग सम्बन्धित सम्पूर्ण नीतिगत , कार्यगत तथा प्रणालीगत तथा पुर्वाधार व्यवस्थाका सम्बन्धमा एक स्थायी प्रकृतिको विशेष समिति बनाई गहन अध्ययन गर्ने र उक्त समितिमा बजारसँग सम्बन्धित विशेषज्ञ तथा बजारका सेवा प्रदायक संस्था र अन्य सरोकारवाला संस्थाको समेत सहभागितामा आवश्यकता बमोजिम विद्यमान नितिगत व्यवस्थामा सुधार गर्ने तथा नयाँ नितिगत व्यवस्था गर्ने कार्य तत्काल अगाडि बढाउनुपर्ने देखिन्छ । विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ बमोजिम कोष स्थापना तथा संचालनका लागि आवेदन दिएका संस्थाहरुलाई बिना शर्त तत्काल अनुमति दिईनुपर्ने तथा कोष शिघ्र दर्ता हुने व्यवस्था गरिनु पर्ने छ । हाल आवेदकहरुले आवेदन दिएको लामो समय व्यतित भइ सक्दा पनि अनुमति प्रदान हुन नसकेकोले अन्यौलको अवस्था रहेको छ । जारी भएका नियमावलीका मापदण्ड पुरा गरी धितोपत्र व्यवसाय गर्न आवेदन दिएका संस्थाहरुलाई तत्काल अनुमति प्रदान गरी अन्य संस्थाहरुलाई अनुमति दिने वा नदिने सम्बन्धमा यथोचित अध्ययन गरि नीतिगत व्यवस्था गरिनु पर्नेछ । यो सन्दर्भमा नियमनकारी निकायको नीतिगत स्पष्टताको अभावको निर्णयमा पुग्न बिलम्व हुने अवस्था आउँनु हुँदैन । धितोपत्र बजारका पूर्वाधारहरुको उचित व्यवस्था गरि अन्तर्राष्ट्रिय बजारमा प्रयोगमा आएका विभिन्न प्रकारका धितोपत्र बजार औजारहरु जारी गर्न सक्ने नीतिगत तथा कार्यगत व्यवस्था तत्काल गरिनु पर्छ । हाल संचालनमा रहेको स्टक एक्सचेन्जको निजीकरण तथा सशक्तिकरण गर्नुका साथै व्यापक सहभागिता रहने र अन्तर्राष्ट्रियस्तरका सुशासन मापदण्ड बमोजिम संचालन हुने गरि अर्को एउटा स्टक एक्सचेन्ज संचालनका लागि अनुमति दिन आवश्यक छ । आवश्यकता बमोजिमको सम्पूर्ण पुर्वाधार सहित वस्तु विनिमय बजारको संचालनका लागि अनुमति प्रकृया अगाडि बढाई लामो समय देखिको अन्योलताको अन्त्य गराउनु पर्छ । धितोपत्र बोर्डले प्रदान गर्ने सम्पूर्ण सेवाहरुमा बोर्डका अख्तियार प्राप्त अधिकारीहरुको तजविजि अधिकार नरहने र प्रचलित कानुन बमोजिम सेवा प्रदान गर्ने प्रकृया तथा समयावधि सम्बन्धी स्पष्ट व्यवस्था गरि सो बमोजिम कार्य नभएमा उचित विभागीय कारवाहीको व्यवस्था गर्नुपर्छ । धितोपत्र बजारमा लाग्दै आएको नियामकीय लगायतका विभिन्न शुल्कहरुको अध्ययन गरि उचित हेरफेर गर्नुपर्ने साथै विभिन्न व्यवसाय तथा सूचीकृत कम्पनीहरुको वार्षिक नविकरण गर्नुपर्ने झण्झटिलो व्यवस्था हटाउनु पर्ने सुझाव छ । धितोपत्र बोर्ड लगायतका संस्थाहरु तथा धितोपत्र व्यवसायीहरुको समेत क्षमता अभिवृद्धि गर्न अति आवश्यक रहेको सन्दर्भमा यथाशिघ्र बोर्डको अगुवाईमा वा संलग्नतामा धितोपत्र बजार प्रशिक्षण केन्द्रको गठन गरि विभिन्न तालिम, अन्तरक्रिया कार्यक्रमहरु व्यवस्थित रुपमा संचालन गराई धितोपत्र सम्बन्धी विशिष्ट कार्यहरुमा कार्यरत हुन वा बजार सम्बन्धि राय व्यक्त गर्न अनिवार्य प्रमाणिकरण हुनुपर्ने व्यवस्था गर्नु पर्छ । एक विशेष टोली गठन गरि धितोपत्र बजारमा व्यवसायीबाट प्रदान हुने सेवाको निरन्तर अनुगमन गरि आवश्यकता बमोजिमको स्तरोन्नतिका लागि सदैव तयार हुनपर्ने छ । अर्थमन्त्रालयलाई ६ सुझाव धितोपत्र बजारबाट पुँजी निर्माणलाई प्रोत्साहन हुने गरि अन्तर्राष्ट्रिय स्तरमा प्रचलन रहे बमोजिम विभिन्न कोषहरु संचालनका लागि कर सम्बन्धमा यथोचित व्यवस्था गर्नुपर्छ । धितोपत्रका विभिन्न औजारहरु कारोबारमा ल्याँउदा सोबाट हुने लाभमा कर लाग्ने व्यवस्था गर्दा लाभान्वीतबाट लिईने व्यवस्था गरि धितोपत्र औजारको विविधिकरणलाई प्रोत्साहित गर्नुपर्ने देखिन्छ । सेयर खरीद बिक्रीमा लगानीको उद्धेश्य र अवधि अनुरुप अन्तर्राष्ट्रिय प्रचलन अनुसार पुँजीगत कर व्यवस्थित गर्नुपर्छ । धितोपत्र बजारमा सञ्चालन हुने पोर्टफोलियो लगानी व्यवस्थापन, सामुहिक लगानी कोष तथा विशिष्टिकृत लगानी कोष मार्फत गैर आवासीय नेपाली तथा अन्य संस्थागत विदेशी लगानीकर्ताले यस्ता लगानी व्यवस्थापकले जारी गर्ने वित्तिय औजार तथा सेवाहरु सोझै खरिद गर्न सक्ने गरी सहज व्यवस्था गर्न तथा लगानी फिर्ता लैजाने सम्बन्धमा समेत आवश्यक व्यवस्थाका लागि बैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा आवश्यक संशोधन गर्नुपर्छ । अर्थ मन्त्रालयमा पुँजी बजारमा नीतिगत व्यवस्था सम्बन्धमा विशेषज्ञ सहितको पुँजी बजार सेलको स्थापना गर्ने र बजार सम्बन्धमा नेपाल धितोपत्र बोर्ड तथा अन्य सरोकारवालबाट निरन्तर सुझाव लिई प्राप्त सुझाव बमोजिम तत्काल आवश्यक व्यवस्था गर्न प्रकृया तथा कार्यविधि लागू गर्नुपर्छ । पुँजी बजारलाई असर पार्न सक्ने विभिन्न नीति नियमहरु ल्याउदा नियामक निकायहरुबीच उचित समन्वय भई अन्य सरोकारवालाहरुको समेत राय सुझाव लिई ल्याउने व्यवस्था गर्नुपर्ने साथै त्यस्ता नीतिगत व्यवस्थाहरुको स्थायीत्व सुनिश्चित गर्ने । राष्ट्र बैंकलाई ३ सुझाव दीर्घकालिन रुपमा बैंकिङ्ग क्षेत्रको कुल कर्जामा सुचिकृत धितोपत्रमा दिईने कर्जाको सिमा, धितोपत्रको मूल्यमा कर्जाको सिमा तथा कर्जा प्रयोजनको लागि औषत धितोपत्र मूल्य गणना विधि तथा यस्तो कर्जामा जोखिम भार सम्बन्धमा गहन अध्ययन गरि उपयुक्त हुने तथा कहिल्यै परिवर्तन गर्न नपर्ने नीति अवलम्बन गर्नुपर्ने सुझाव छ । जसअनुसार नीतिगत स्थायीत्व रहने तथा नीतिगत अस्थिरताको अवस्थामा नीतिगत तहमा पहुँच हुनेबाट बजारमा हुनसक्ने चलखेलको अन्त्य हुने तथा लगानीकर्तामा समेत नीतिगत स्थायीत्वको कारणले बजार प्रतिको विश्वासमा अभिवृद्धि हुने र सोही बमोजिम आफ्नो लगानी रणनीति तय गर्न सक्ने अवस्था रहने छ । वित्तीय संस्थाहरुले अन्य मुद्रा बजार उपकरणहरु जस्तै सर्टिफिकेट या डिपोजिट सीडीएस, कमर्शियल पेपर सीपीएस आदी जारी गर्न प्रोत्साहन गर्न उपयुक्त हुने देखिन्छ । बैंक तथा वित्तीय संस्थाको पुँजीबजारमा हुनसक्ने संलग्नताको विश्वव्यापि अभ्यासलाई अध्ययन गरि यस सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण नीतिगत व्यवस्था एकैसाथ गर्ने र बैंक तथा वित्तिय संस्थाले के गर्न हुने के गर्न नहुने भन्ने अन्योल अवस्थाको सधैका लागि अन्त्य गर्नुपर्छ ।

हेरल्ड कलेजका ४८१ विद्यार्थी दीक्षित

काठमाडौं । हेरल्ड कलेज काठमाडौंको दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच कलेजकाे दीक्षान्त समारोह सम्पन्न भएको हो । समारोहबाट ४८१ विद्यार्थी दीक्षित भएकाे छन् । जसमा सन् २०१९/ २० मा स्नातक तह उत्तीर्ण बिएस्सी हन्स कम्प्युटर साइन्सका १६०, बिएस्सी हन्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टका २६ र सन् २०२०/२१ मा स्नातक तह उत्तीर्ण बिएस्सी हन्स कम्प्युटर साइन्सका २४९ र बिएस्सी हन्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टका ४६ गरी कुल ४८१ जना विद्यार्थीहरू दीक्षित भएका छन् । आइएनजी ग्रुपअन्तर्गत पर्ने हेरल्ड कलेज बेलायतको प्रतिष्ठित विश्वविद्यालय युनिभर्सिटी अफ वुल्भरह्याम्पटन, युकेबाट सम्बन्धन प्राप्त कलेज हो । दीक्षान्त समारोहमा युनिभर्सिटी अफ वुल्भरह्याम्पटन विश्वविद्यालयका प्रोभाइस चान्सलर टिम स्टिलले दीक्षित विद्यार्थीलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए । समारोहलाई सम्बोधन गर्दै प्रोभाइस चान्सलर टिमले दिक्षित विद्यार्थीहरूलाई बधाई दिँदै नेपालको कलेजसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।  कोभिड महामारीका कारण सरकारले तय गरेका विभिन्न स्वास्थ्य प्रोटोकलहरू पालना गर्नुपर्ने भएकाले उक्त समारोह दुई वर्षपछि भएको हो । नेपालमा सन् २०१७ देखि सञ्चालन हुँदै आएको उक्त कलेजमा अहिले स्नातक तहमा ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी, ब्याचलर इन इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट र स्नातकोत्तर तहमा इन्टरनेसनल मास्टर्स अफ बिजनेस म्यानेजमेन्ट विषय पढाइ हुँदै आएको छ । कलेजले विद्यार्थीको एटिच्युड, एकेडेमिक्स र एटेन्डेन्स अर्थात् ट्रिपल ए का आधारमा कलेजमा भर्ना भएका १० प्रतिशत विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएको छ । हाल आइएनजी ग्रुपअन्तर्गत काठमाडौंमा इस्लिङ्टन कलेज, हेरल्ड कलेज काठमाडौं, पोखरामा इन्फरम्याटिक्स कलेज पोखरा, विराटनगरमा विराटनगर इन्टरनेसनल कलेज र इटहरीमा इटहरी इन्टरनेसनल कलेज सञ्चालनमा रहेका छन् ।

आइआइएमएस करियर मेला हुँदै, ५० भन्दा बढी कम्पनी सहभागी हुने

काठमाडौं । काठमाडौंमा साउन ६ गतेदेखि आइआइएमएस करियर मेला हुने भएको छ ।आइआइएमएस कलेजले आयोजना गर्न लागेको यो मेला भगवती बहाल स्थित लिसारा ब्यांक्वेटमा आयोजना हुनेछ । मेलामा युवा जनशक्तिले राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीमा रोजगार हुने अवसर प्राप्त गर्ने कलेजले बताएकाे छ । कलेजकाे अनुसार मेलामा ५० भन्दा बढि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका सुचना, प्रविधि र उत्पादनमुलक क्षेत्र र बैंक तथा वित्तिय संस्था सम्बद्ध कम्पनीहरुको सहभागिता रहनेछन् । जसमध्ये कोकाकोला, गोल्छा ग्रुप, दराज, ईसेवा लगायतका कम्पनीहरु मेलाको प्रमुख साझेदार कम्पनीकाे रुपमा रहेका छन् । ५० मध्ये २० कम्पनीले मेलाकै समयमा जनशक्तिलाई नियुक्त गर्ने र बाँकी कम्पनीहरुले सहभागीको सिभी संकलन गरि छिट्टै नियुक्त गर्ने कलेजले बताएकाे छ । कलेजकाे अनुसार मेलामार्फत विद्यार्थीहरुले करियर काउन्सेलिङ पनि दिइनेछ । मेला बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुने कलेजले जानकारी दिएकाे छ ।

बैंकको वित्तीय प्रतिवेदन प्रकाशन गर्ने मिति ७ दिन घट्यो, बैंकर्सलाई झनै दवाव

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले चौथो त्रयमासको अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशन गर्ने मिति ७ दिन छोटिएको छ । नेपाल राष्ट्र बैंकले आज सबै बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्र संक्षिप्त प्रतिवेदन प्रकाशन गर्न निर्देशन दिएको छ । यसअघि चौथो त्रयमासको संक्षिप्त प्रतिवेदन साउन मसान्तभित्र प्रकाशन गर्दा हुने व्यवस्था थियो । तर बैंक तथा वित्तीय संस्थाहरुले पहिलो, दोस्रो र तेस्रो त्रयमासको वित्तीय विवरण भने सात दिनभित्रै प्रकाशित गर्नुपर्ने भनेको छ । नयाँ व्यवस्थाले बैंकर्सलाई काम छिटाे गर्न दवाव पर्ने जानकार बताउँदछन् । ‘बैंंक तथा वित्तीय संस्थाले एकीकृत वित्तीय प्रतिवेदन लगायत प्रमुख वित्तीय परिसूचकहरुको अन्तरिम वित्तीय प्रतिवेदन तोकिएको ढाँचामा हरेक त्रयमासको महिना व्यतित भएको मितिले ७ दिनभित्र कुनै एक राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनिवार्य रुपमा प्रकाशित गरी सोको एक प्रति बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागलाई समेत उपलब्ध गराउनु पर्नेछ’ राष्ट्र बैंकको परिपत्रमा भनिएको छ–‘साथै, अन्तरिम वित्तीय प्रतिवेदनको विस्तृत विवरण यस बैंकले तोकिदिएको ढाँचामा आफ्नो वेबसाइटमा राख्नु पर्नेछ । यसरी विस्तृत अन्तरिम वित्तीय प्रतिवेदन वेबसाइटमा राखिएको व्यहोरा पत्रिकामा प्रकाशन गरिने प्रतिवेदनमा समेत उल्लेख गर्नु पर्नेछ ।’ ‘तर, चौथो त्रयमासको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्र प्रकाशन गर्नु पर्नेछ’ सशोधित दफामा उल्लेख गरिएको छ ।

भारतपछि बंगलादेश पनि बिजुली निर्यात गर्ने तयारी, व्यापार घाटा कम गर्न सकिने विज्ञको धारणा

काठमाडौं । नेपालले बङ्गलादेशमा पनि बिजुली निर्यातका लागि पहल गरिरहेकाे छ । नेपालको ऊर्जा क्षेत्रको विकासका लागि उच्च क्षमताका अन्तरदेशीय प्रसारण लाइनको निर्माण गरेर बंगलादेशमा पनि बिजुली निर्यात गर्ने तयारी थालेकाे हाे । गत जेठदेखि नेपालले भारतमा दैनिक ३६४ मेगावाट बराबरको बिजुली निर्यात गरिरहेको सन्दर्भमा प्रसारण पूर्वाधारको विकासलाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा सरोकार भएका व्यक्ति वा निकायले जोड दिएका छन् । हाल नेपाल र भारत जोड्ने ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन मात्रै सञ्चालनमा छ । सो प्रसारण लाइनको क्षमता ४०० केभीको हो । अन्य प्रसारण लाइन पनि सञ्चालनमा छन् तर, ती प्रसारण लाइनको क्षमता २२० केभी, १३२ केभी, ६६ केभी र ३३ केभी क्षमताका मात्रै छन् । नेपालमा स्रोत भएको र दक्षिण एशियामा स्वच्छ ऊर्जा मात्र भएकाले पनि ठूला क्षमताका प्रसारण लाइन निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिइएको हो । बिहीबार काठमाडाैंमा आयोजित अन्तरदेशीय विद्युत् व्यापार विषयक कार्यक्रमका सहभागीले नेपालको आर्थिक समृद्धि, रोजगारीको वृद्धिका लागि पनि अन्तरदेशीय प्रसारण लाइनका अलावा देशभित्र लगानीको विस्तार गर्नुपर्नेमा जोड दिएका हुन् । विशेष गरी वर्षायाममा भारत, बङ्गलादेशलगायतका देशमा बिजुलीको बढी माग हुने र सोही समयमा यहाँ बिजुलीको उत्पादन पनि बढी हुने भएकाले व्यापारका लागि सहज देखिएको छ । त्यसका लागि पनि अन्तरदेशीय प्रसारण लाइनको निर्माण नै जरुरी रहेको उनीहरुको भनाइ छ । सरकारले न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणको क्रममा छ । सो प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले कम्पनी स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । नेपालको व्यापार घाटा कम गर्नका लागि पनि ऊर्जाको व्यापार प्रमुख आधारका रुपमा स्थापित भएको छ । हाल दैनिक रु १२ करोड बराबरको बिजुली भारत निर्यात भइरहेको छ । गत वर्ष ३९ मेगावाटबाट सुुरु भएको बिजुली व्यापार यस वर्ष ३६४ मेगावाट बिजुली निर्यात भइरहेको छ । आगामी दिनमा बिजुली निर्यातका लागि थप मार्गप्रशस्त गर्ने तयारी भइरहेको छ । नेपाल इनर्जी फाउण्डेशनका अध्यक्ष मोहनदास मानन्धरले नेपालको जलविद्युत्मा लगानी बढाउनुपर्ने बताए । उनले त्यसका लागि बहुपक्षीय र दिपक्षीय रुपमा लगानी भित्र्याएर विद्युत् व्यापारका लागि मार्गप्रशस्त गर्नुपर्ने उल्लेख गरे । उनले त्यसका लागि नेपालको जलविद्युत् क्षेत्रमा लगानी बढाउनैपर्ने धारणा राखे । युएसआइडीका डेपुटी मिशन डाइरेक्टर वेथ होगेनले दक्षिण एशियाले आर्थिक विकासमा फड्को मारिरहेको अवस्थामा ऊर्जा क्षेत्रको विकासमा जोड दिनुपर्ने बताए । उनले ऊर्जाको सहज व्यापारका लागि पनि अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्नुपर्नेमा जोड दिए । उनले नेपालले आन्तरिक रुपमा खपत गरी कूल ४० प्रतिशत बराबरको ऊर्जा निर्यात गर्नसक्ने अवस्था देखिएको जानकारी दिए । उनले त्यसबाट नेपालले आर्थिक विकासमा ठूलो फड्को मार्ने विश्वास व्यक्त गरे । हाल नेपालले गरिरहेको बिजुली निर्यातले पनि ठूलो उपलब्धिको सम्भावना देखाएको उनको भनाइ छ । भारतको इनर्जी सेक्युरिटी कन्फेडेरेशन अफ इण्डियन इन्डस्ट्रिका निर्देशक भूपेन्द्रकुमार सिंहले आर्थिक समृद्धिमा मात्रै नभई दक्षिण एशियाली मुलुकमा व्यापारित तथा सामाजिक लाभ एवं रोजगारी सिर्जना, जलवाय्ु परिवर्तनको समस्या न्यूनीकरणका लागि पनि ऊर्जाको निर्यातले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । विगतमा नेपालले बिजुली आयात गर्ने गरेकामा हाल निर्यात गर्ने अवस्थामा पुगेको भन्दै उहाँले सरकार– सरकार स्तरमा, व्यवसायी– व्यवसायीका बीचमा वा अन्य कुनै उपयुक्त ढाँचामा बिक्रीको वातावरण थप विस्तार गर्नुपर्ने बताए । सारीका परियोजना निर्देशक पङ्कज भात्राले नेपाल भुटान, बंगलादेश, श्रीलंका र भारतमा ऊर्जा क्षेत्रका आ–आफ्ना विशेषता रहेको भन्दै त्यसैलाई ऊर्जा मिश्रणको प्रक्रियामा अगाडि बढाउन आग्रह गरे । नेपाल इनर्जी फाउण्डेशनका उपाध्यक्ष शेरसिंह भाटले ऊर्जा व्यापारमा नेपालले उल्लेखनीय रुपमा फड्को मार्न सक्ने सम्भावना औँल्याए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले दिगो विकास गर्ने लक्ष्यका साथ सरकारले ऊर्जा क्षेत्रमा योजनाबद्ध विकासका लागि प्रयास गरिरहेको बताए । उनले सरकारी र निजी क्षेत्रमार्फत नेपालको जलविद्युत् क्षेत्रमा विदेशी लगानी विस्तार भइरहेको र सरकार थप सहजीकरणका लागि प्रयासरत रहेको जानकारी दिए । उनले बिजुलीको आन्तरिक खपत बढाउँदै बढी भएको बिजुली निर्यातका लागि नेपालले भारत र बंगलादेश उपयुक्त गन्तव्य रहेको तथा आपसी लाभका आधारमा ऊर्जा व्यापार गर्न सकिने धारणा राखे । जल तथा ऊर्जा आयोगका सचिव दिनेश घिमिरेले बिजुलीको व्यापारका लागि आन्तरिक एवं बाह्य पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताए । उनले ढल्केबर मुजफ्फरपुर जस्तै उच्च क्षमताका अन्तरदेशीय प्रसारण लाइनको विकासका लागि लगानी केन्द्रित गर्नुपर्ने बताए । राष्ट्रिय योजना आयोगका सदस्य सुरेन्द्र लाभ कर्णले नेपालले सुक्खायाममा नेपालले बिजुली आयात गरिरहेको भए पनि पछिल्ला दिनमा निर्यातसमेत सुरु गरेको उल्लेख गरे । उनले आन्तरिक खपतको विस्तार गर्दै बढी भएको बिजुली अन्तरदेशीय व्यापारका समेत अग्रसर भएको बताए । रासस

उद्योगमा लगानी : ६२ वर्षमा २६ खर्ब बढीको प्रस्ताव

काठमाडौं । पछिल्लो छ दशकमा मात्रै मुलुकको उद्योग क्षत्रेमा २६ खर्ब बढी लगानी भएको पाइएको छ । यसबाट उद्योग क्षेत्रको विकासका सरकारले विशेष गरी ध्यान केन्द्रित गरेको र लगानीकर्ताले पनि लगानीको मात्रामा क्रमशः वृद्धि गर्दै गएको देखिन्छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/०७९ सम्म उद्योग (विभिन्न क्षेत्रका उद्योगमा) मात्रै २६ खर्ब २७ अर्ब बढीको लगानी प्रस्ताव आएको उल्लेख छ । नेपालमा विशेष गरी आर्थिक वर्ष २०१७/०१८ सालदेखि २०७८/०७९ सम्म आठ हजार ७६४ उद्योगका लागि उक्त परिमाणको लगानी प्रस्ताव आएको हो । तथ्याङ्कअनुसार हालसम्म दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै लगानीको प्रस्ताव साना उद्योगमा रहेको छ । विवरणअनुसार साना उद्योग पाँच हजार ४४२, मझौला उद्योग दुई हजार १७ र ठूला उद्योग एक हजार ३०५ दर्ता भएका छन् । तथ्याङ्कअनुसार हालसम्म दर्ता भएका उद्योगले छ लाख ५७ हजार ५०७ लाई रोजगारी दिने उल्लेख गरिएको छ । एक वर्षमै थपियो एक खर्ब ८७ अर्ब कोरोना महामारीपछि विस्तारै स्वदेशी तथा विदेशी लगानीका उद्योगमा प्रतिबद्धता आउने क्रममा वृद्धि हुन थालेको विभागका सम्बद्ध अधिकारीको भनाइ छ । विभागका सूचना अधिकारी पूर्णिमा उपाध्यायले कोरोना पछि उद्योगको सङ्ख्यासँगै लगानीमा समेत वृद्धि हुन थालेको जानकारी दिए । उनका अनुसार गत आव २०७७/०७८ को तुलनामा २०७८/०७९ मा स्वदेशी लगानीका उद्योगमा मात्रै रु दुई खर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ । आव २०७७/०७८ मा २०३ उद्योगका लागि रु एक खर्ब ५६ अर्ब बढीको लगानी प्रस्ताव आएकोमा गत आव २०७८/०७९ मा तीन खर्ब ४३ अर्ब ५५ करोड बढीको लगानी प्रस्ताव आएको छ । एक वर्षको अवधिमा एक खर्ब ८७ अर्ब बढीको लगानी प्रस्ताव आएको हो । गत आव २०७८/०७९ मा ३०९ वटा उद्योग दर्ता भएकामा ९१ वटा ठूला उद्योेग, १०८ वटा मझौला र ११० वटा साना उद्योगमा दर्ता भएका छन् । गत आव २०७७/०७८ मा २०३ वटा उद्योग दर्ता भएका थिए । बढ्यो विदेशी लगानी विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विदेशी लगानी प्रतिबद्धतामा समेत वृद्धि भएको छ । एक वर्षको अवधिमा विदेशी लगानीका उद्योगमा २२ अर्ब आठ करोड बराबरको लगानी प्रतिबद्धता थपिएको हो । आव २०७८/०७९ को एक वर्षको अवधिमा २९५ विदेशी लगानीका उद्योगमा ५४ अर्ब १५ करोड बढीको लगानी प्रतिबद्धता आएकोे छ । आव २०७७/०७८ मा १८४ उद्योगका लागि ३२ अर्ब सात करोड बराबरको लगानी प्रतिबद्धता आएको थियो । उद्योग विभाग स्थापना भएदेखि हालसम्म चार खर्ब १९ अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ । कुनमा उद्योगमा कति प्रतिबद्धता ? गत आवमा सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता सेवामूलक क्षेत्रका उद्योगमा आएको छ । एक वर्षका अवधिमा ९७ सेवामूलक क्षेत्रका उद्योगमा मात्रै २७ अर्ब २९ करोड ८१ लाख बढीको लगानी प्रतिबद्धता आएको देखिन्छ । सेवामूलकपछि सबैभन्दा धेरै लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा आएको छ । सेवामूलक क्षेत्रका उद्योगभन्दा पर्यटन क्षेत्रका उद्योगको सङ्ख्या धेरै भए तापनि सेवामूलक क्षेत्रका उद्योगमा बढी लगानी प्रतिबद्धता आएको छ । विभागको तथ्याङ्कअनुसार पर्यटन क्षेत्रमा १२४ उद्योगका लागि १९ अर्ब ६० करोड १५ लाख बढीको प्रतिबद्धता आएकोे हो । यस्तै, कृषि क्षेत्रमा चार उद्योगका लागि साठी करोड, ऊर्जा क्षेत्रमा एक उद्योगका लागि दश करोड ६२ लाख, सूचना प्रविधि क्षेत्रमा छ उद्योगका लागि ४७ करोड, पूर्वाधार क्षेत्रका आठ उद्योगका लागि एक अर्ब ७२ करोड ४० लाख र उत्पादनमूलक क्षेत्रका ५१ उद्योगका लागि आठ अर्ब १४ करोड बराबरको प्रतिबद्धता आएको हो । लगानी प्रतिबद्धतासँगै स्वदेशी लगानीका उद्योगले २८ हजार ५२७ र विदेशी लगानीका उद्योगले १६ हजार ९१९ गरी ४५ हजार ३४६ लाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् । स्वदेशी लगानीका ३०९ उद्योग दर्ता विभागको तथ्याङ्कअनुसार एक वर्षका अवधिमा स्वदेशी लगानीमा ३०९ वटा उद्योग दर्ता भएका छन् । एक वर्षको अवधिमा विभागमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव ऊर्जा क्षेत्रका उद्योगमा आएको छ । ऊर्जामूलक क्षेत्रका ५० वटा उद्योगमा एक खर्ब ७० अर्ब ७६ करोड ७४ लाख ७३ हजार बराबरको लगानी प्रस्ताव आएको हो । यस्तै, ऊर्जापछि सबैभन्दा धेरै लगानी प्रतिबद्धता सेवामूलक क्षेत्रका उद्योगमा आएका छन् । एक वर्षको अवधिमा ११५ सेवामूलक क्षेत्रका उद्योग दर्ता हुँदा ८९ अर्ब ७९ करोड ४१ लाख ९१ हजार बराबरको लगानी प्रतिबद्धता आएको छ । पर्यटन क्षेत्रका ५८ उद्योगमा २६ अर्ब ५१ करोड ४९ लाख ७६ हजार, सेवामूलक क्षेत्रका ४६ उद्योगका लागि ४६ अर्ब ७५ करोड ५८ लाख, कृषि क्षेत्रमा २१ उद्योगका लागि पाँच अर्ब २८ करोड ९० लाख ९९ हजार, सूचना प्रविधि क्षेत्रमा ११ उद्योगका लागि र एक अर्ब ८९ करोड ८५ लाख, पूर्वाधार क्षेत्रका पाँच उद्योगका लागि दुई अर्ब २७ करोड ९१ लाख र दुईवटा खनिज उद्योगका लागि २५ करोड ९९ लाख बराबरको लगानी प्रतिबद्धता आएको हो । रासस