सिमेन्ट उद्योग चेपुवामा, अर्थले अनुदान दिँदा वनले भारी कर बढायो
काठमाडौं । सरकारले चालु आर्थिक वर्षक २०७९/८० को बजेट मार्फत सिमेन्ट निकासीमा ८ प्रतिशत नगद अनुदान दिने र विद्युत खपतमा समेत वार्षिक १० करोड भन्दा बढी रकमको विद्युत खपत गर्ने उद्योगहरुलाई विद्युत महशुलमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको थियो । यस व्यवस्थाबाट सिमेन्ट निकासीको लागि उद्योगीहरु उत्साहित भएका थिए । तत्कालै १५० अर्ब रुपैयाँ बराबरको सिमेन्ट निकासीको सम्भावना भएको उनीहरुको भनाई थियो । तर नयाँ आर्थिक वर्ष शुरु भएदेखि नै निरास भएका छन् । खानी उत्खनन् सम्बन्धि प्रचलित खनिज पदार्थ सम्बन्धि ऐन, २०४२ र नियमावली, २०५६ को प्रतिकूल हुने गरी वन तथा वातावरण मन्त्रालयले जारी गरेको वन नियमावली, २०७९ मार्फत लगाईएको कर तथा अन्य अव्यवहारीक व्यवस्थाले उद्योगको लागत बढ्ने र निर्यात गर्न नसकिने व्यवसायीहरुले बताएका छन् । खनिज पदार्थलाई खनिजजन्य वन पैदावार भन्ने नामाकरण गरी चुनढुङ्गामा अतिरिक्त शुल्क गरेको र र अन्य अव्यवहारिक प्रावधानको राखिएकोले उद्योगहरुको उत्पादन लागत वृद्धि हुन नेपाल सिमेन्ट उत्पादक संघले जनाएको छ । हालै निर्यात शुर भएकाे तानसेन सिमेन्ट उद्योग मन्त्रालय अन्र्तगत रहेको खानी तथा भूगर्भ विभागको क्षेत्राधिकार माथि नै प्रश्न उठ्ने गरी कायम गरिएका यस्तो व्यवस्थाहरुको संशोधन, परिमार्जन वा खारेज गरी उद्योगहरुबाट थप शिर्षक र दरमा राजश्व मात्र उठाउने गरी जारी भएको वन नियमावली, २०७९ लाई तत्काल खारेज गर्न वा संशोधन गर्न संघले माग गरेको छ । वन नियामावलीमा खनिज पदार्थलाई खानिजन्य वन पैदावारको सूचिमा राखी वन विभागले प्रति मेट्रिक टन १५० रुपैयाँका दरले रोयल्टी रकम असुल्ने र उक्त रकममा थप २५ प्रतिशत रकम वातावरण शुल्क असुल गर्ने व्यवस्था गरिएको छ । त्यस्तै, कम्पनीको नाफामा नाफाको १ एक प्रतिशत रकम थप वातावरण शुल्क लगाउने व्यवस्था गरिएको छ । खानी ऐन बमोजिम खानी तथा भूगर्भ विभागले गर्दै आएको अनुगमन, निरीक्षण कार्य वन विभाग, डिभिजन वन कार्यालय समेत गर्न पाउने व्यवस्था गरिएको छ । निजी जग्गामा खनिज कार्य गर्न पाएको अनुमति क्षेत्र समेत वन क्षेत्रको कम्तिमा ५० मिटर दुरी कायम गरेर मात्र खानी संचालन गर्नु पर्ने व्यवस्था गरिएको छ । खानी तथा भूगर्भ विभागको स्वीकृतिमा खनिज पदार्थको निकासी हुंदै आएकोमा खनिज पदार्थ विदेश निकासी गर्दा वन विभाग र डिभिजन वन कार्यालयको स्वीकृति लिनु पर्ने प्रावधान पनि राखिएको छ । भोगाधिकार लिएको जग्गामा प्रति हेक्टर १६०० विरुवा आयोजना वा उद्योगले आफ्नै तर्फबाट रोपण गरी ५ बर्षसम्म हेरचाह गर्नु पर्ने व्यवस्था गरिएको छ । खानी संचालनका लागि वन क्षेत्रको भोगाधिकार प्राप्त गरेको क्षेत्रफल बराबरको जग्गा उद्योगले आफ्नै खर्चमा खरिद गरी वन विभागको नाममा राजीनामा पारित गरि दिनु पर्नेछ । जग्गा उपलव्ध नभएको खण्डमा जग्गाको प्रकृति हेरी साविकमा प्रति हेक्टर रु. २८ लाख देखि रु. ८० लाख सम्म लाग्ने व्यवस्था गरिएको छ । यी व्यवस्थाहरु खारेज हुनुपर्ने संघको अध्यकक्ष धुर्वबहादुर थापाले बताए । यी व्यवस्था यथावत रहेमा नेपाली उपभोक्तालाई पनि मूल्यवृद्धिको मार पर्ने र निर्यात गर्न पनि सम्भव नहुने उनले बताए ।
श्वेत-गंगा हाइड्रोको आईपीओबाट दुई दिनमै उठ्यो एक अर्ब रुपैयाँ
काठमाडौं । श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओमा दोस्रो दिन माग भन्दा ४.२३ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको आईपीओमा बिहीबार ५ बजेसम्ममा ८ लाख २९ हजार ४११ जना आवेदकले ९६ लाख १३ हजार ८८० कित्ताका लागि ९६ करोड १३ लाख ८८ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । कम्पनीले साउन ४ गते बुधबारदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका २३ लाख ८९ हजार ५ सय कित्ता साधारण शेयर बिक्री गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र २२ लाख ७० हजार २५ कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा साउन ८ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरोशेयर वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।
३३ परियोजनाका लागि १० खर्ब ४० अर्ब रुपैयाँ लगानी स्वीकृत
काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले ३३ परियोजनाका लागि १० खर्ब ४० अर्ब रुपैयाँ लगानी स्वीकृत गरिसकेको बताएका छन् । बिहीबार वर्ल्ड एसोशियन अफ पब्लिक प्राइभेट पार्टनरसिप युनिट्स एण्ड प्रोफेसनल्स (डब्ल्यूएपीपीपी) का प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग गरेको शिष्टाचार भेटमा सीईओ भट्टले यस्तो जानकारी गराएका हुन् । साथै भट्टले संस्थागत र व्यवसायिक क्षमता विकासमा डब्ल्यूएपीपीपीकातर्फबाट प्राप्त सहयोग भएको बताए । लगानी बोर्ड सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐनबाट निर्देशित रहेको र पीपीपी परियोजना विकासलाई नेपाल सरकारले उच्च महत्व दिएको उनको भनाई छ । पीपीपी परियोजना विकासमा नेपालले आफूलाई प्रमाणित गर्दै अघि बढेको र बोर्डको रणनीतिक योजना अनुसार सन् २०२५–२६ सम्म १० अर्ब अमेरिकी डलर बराबरको लगानी स्वीकृत गर्ने लक्ष्य रहेको भट्टले बताए । डब्ल्यूएपीपीपीका अध्यक्ष जियाद अलेक्जेन्डर हायेकसहित ३ जनाको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँगको भेटमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मार्फत् पूर्वाधार तथा अन्य व्यवसायिक सम्भाव्यता भएका परियोजनाहरू कार्यान्वयन गरी सरकारको सेवालाई गुणस्तरीय बनाउन सकिने बताएको थियो । स्वदेशी एवं प्रत्यक्ष वैदेशिक लगानी ९एफडीआई० आकर्षित गरी दिगो र समावेशी आर्थिक विस्तारको आधार तयार हुने उक्त भेटमा छलफल भएको थियो । पीपीपी तथा लगानी सम्बन्धी कानुनी र संस्थागत व्यवस्थामार्फत् नेपालले सार्वजनिक–निजी साझेदारीमार्फत् स्रोतको खाडल पूर्ति गरी आर्थिक विकासको लाभ हासिल गर्न गरिरहेको प्रयासको प्रशंशा गर्दै उक्त प्रतिनिधिमण्डलले नेपालले पीपीपी अन्तर्गत लगानी सहजीकरणमा प्रतिस्पर्धी वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएको छ । पीपीपी आकर्षक भएपनि जटिल विषय भएको भन्दै वित्तीय, कानुनी, प्राविधिक, वातावरणीय, सामाजिक, राजनीतिक, कार्यक्रम, परियोजना, स्थानीय र अन्तर्राष्ट्रिय परिदृश्य लगायतको कुशल तादम्यताबाट मात्र प्रभावकारी परिणाम निकाल्न सकिने भएकाले पीपीपी क्षेत्रमा काम गर्ने संस्थाको क्षमता विकास हुनुपर्ने प्रतिनिधिमण्डलको धारणा थियो । प्रतिनिधिमण्डलले लगानी बोर्डको कार्यालय डब्ल्यूएपीपीपीको सदस्य भएकाले सहयोगका लागि सधैं तत्पर रहेको प्रतिवद्धता व्यक्त गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पीपीपी अन्तर्गत स्वच्छ र नवीकरणीय उर्जा, दिगो एवं उत्थानशील पर्यटकीय एवं स्वास्थ्य, शिक्षा, सूचना–प्रविधि, सुरक्षित सहरी पूर्वाधार, विद्युतीय यातायात, सुरुङमार्ग, सडक, औद्योगिक उत्पादन, कृषि प्रशोधन लगायत विविध क्षेत्रमा लगानीको सम्भाव्यता रहेको बताए । पीपीपी परियोजनालाई लगानी सम्भाव्य बनाउन डब्ल्यूएपीपीपीको विज्ञताको लाभ लिन इच्छुक रहेको प्रधानमन्त्री देउवाले बताए ।
धमाधम निकालिँदै स्थानीय तहका करार कर्मचारी, २० हजारले रोजगारी गुमाउन सक्ने
काठमाडौं । स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएसँगै यसअघिका नेतृत्वले नियुक्त गरेका करारका कर्मचारीको अहिले धमाधम जागिर गइरहेको छ । पछिल्लो समय विभिन्न स्थानीय तहका नवनिर्वाचित नेतृत्वले करारका कर्मचारीलाई धमाधम हटाइरहेका समाचार बाहिरिरहेका छन् । गाउँपालिका÷नगरपालिकाले उपलब्ध गराउने सेवा प्रवाह र विकास निर्माणको कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि नेपाल सरकारले करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी २०७४ जारी गरेको थियो । सोही अनुसार करारका कर्मचारीको नियुक्ती भइरहेको छ । तर, अहिले धमाधम एकपछि अर्का स्थानीय तहका करारका कर्मचारीले जागिर गुमाइरहेका छन् । अघिल्लो निर्वाचित जनप्रतिनिधिले नातावाद र कृपावादको आधारमा कर्मचारीलाई नियुत्ती गरेका भन्दै करारका कर्मचारीलाई धमाधम हटाइरहेका छन् । कतिपय कर्मचारीले बिना कारणले हटाएको भन्दै विरोध पनि जनाइरहेका छन् । स्थानीय तहले करारमा हरेका कर्मचारीलाई धमाधम हटाउन थालेपछि बुधबार गाउँपालिका राष्ट्रिय महासंघ नेपालले विज्ञप्ति नै जारी गरेर गाउँपालिकामा कार्यरत करारका कर्मचारी नहटाउन निर्देशन दिएको हो । ‘गाउँसभाबाट स्वीकृत संगठन तथा व्यवस्थापन सर्वेक्षणबमोजिम दरवन्दीमा रहेका करारका कर्मचारीको हकमा प्रदेश लोकसेवा आयोगबाट सिफारिस भै आएपश्चात स्वतः करार अवधि समाप्त हुने नै छ तर, हाल कार्यरत अनुभवी जनशक्तिलाई उनीहरुको कार्यक्षमताको कुनै मूल्याङ्कन नगरी एकमुस्टरुपमा हटाउने र पुनः सोही पदमा करारमा नियुक्ति गरिनु न्यायिक तथा रोजगारीको हकको दृष्टिकोणबाट समेत उपयुक्त हँुदैन, यो अभ्यासले स्वयम् गाउँपालिकाको कार्यसम्पादनमा समेत प्रभावकारीता आउदैन,’ महासंघले जारी परिपत्रमा उल्लेख छ । धेरैजसो पालिकामा आवश्यकता अनुसार नभइ पहुँचका करारमा कर्मचारीहरू राख्छन् । स्थानीय तहलेमात्र नभई संघ, प्रदेश र सरकारी निकायमा पनि पहुँचको आधारमा राखेको देखिन्छ । सबै निकायमा करारका कर्मचारीहरू हटाउन थालेपछि ठूलो संख्याले रोजगारी गुम्ने पनि भएको छ । कतिपयले जागिर गुमाइसकेका नै छन् । नगरपालिका राष्ट्रिय महासंघका अध्यक्ष अशोक कुमार ब्यान्जु सयम तोकेर स्थानीय तहले करारका कर्मचारी राख्ने भएकाले समय अवधि सकिएपछि हटाउन मिल्ने बताउँछन् । ‘कर्मचारीको कार्यसम्पादनमा कमजोरी छ भने हटाउने कुरा स्वभाविक हो, कार्यसम्पादन ठिक भएर पनि कसैले हटाउछ भने त्यो राम्रो हैन, राजनीति पूर्वाग्रहमा कर्मचारी हटाउने र राख्ने गर्नु हुँदैन,’ उनले भने । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार संघ, प्रदेश र स्थानीय ३० हजार कर्मचारी करारमा नियुक्त छन् । जसमध्ये अनुमानित २० हजारको हाराहारीमा करारका कर्मचारी स्थानीय तहमा छन् । तर, यति नै कर्मचारी स्थानीय तहमा करारमा नियुक्ति छन् भनेर यकिन तथ्यांक भने मन्त्रालयसँग पनि नरेहको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले बताए । ‘स्थानीय तहले कति कर्मचारीलाई नियुक्ति गर्छन्, त्यो तथ्यांक हामीलाई पठाउँदैनन्, ३० हजार मध्ये १५÷१६ हजार कार्यालय सहयोगी दरबन्दी नै छ, कार्यालय सहयोगी र सवारी चालक प्रायः स्थानीय तहले नै राखेका छन्,’ उनले भने । स्थानीय तह सरकार सञ्चालन ऐनको दफा ८३ को ८ करारका कर्मचारी राख्दा प्रतिस्पर्दाको आधारमामात्र कर्मचारी राख्ने व्यवस्थाको उल्लेख छ । मन्त्रालयका प्रवक्ता अधिकारीक अनुसार दरबन्दी नभएका ठाउँमा पनि स्थानीय तहले करार कर्मचारी राखिदिएको कारण यस्तो समस्या आएको हो । ‘स्थानीय तहका मेयरले आफूखुसी पिए तथा सल्लाकारमा पनि करार पदमा कर्मचारी नियुक्त गर्छन्, यद्यपि करारमा पीए राख्ने व्यवस्था नै छैन, यस्तो पदमा राज्य कोषबाट पैसा खर्च गर्न पाइँदैन, निःशुल्क राख्ने भए उनीहरूको कुरा भयो, पहिलाका मेयरले कर्मचारी राखे सरकार परिवर्तन हुदा पहिला राखेकालाई हटाइदिए,’ उनले भने । करार कर्मचारीको ३÷३ वा ६÷६ महिनामा म्याद थपिने पनि अधिकारीले बताए । करार नियुक्ती हुँदैन । उसलाई निश्चित सेवा तथा सर्तको अधिनमा रहेर उपलब्ध गराउने हो । करारमा म्याद थप्ने भन्ने हुँदैन पुनः सम्भौता गर्ने भन्ने हुन्छ, सोही अनुसार स्थानीय तहले करार कर्मचारीको व्यवस्था गर्दै आएका छन् । पालिकाको स्रोत छैन भने करारका कर्मचारीलाई हटाउन पाउँछ, ५ जना हटाउने ५ जना राख्दा चाहिँ स्थानीय तहको नियत नै खराब देखियो, कर्मचारी हटाउँदा पनि मूल्याकंन गरेर हटाउनु पर्याे, पालिकाले कर्मचारी राख्दा पनि मूल्याङकनको आधारमा राख्नु पर्छ,’ उनले भने । कुनै पनि आधार बिना पहिलाको मेयरले राखेका कर्मचारीलाई हटाउँदा राम्रो संस्कार चाहिँ विकास नहुने पनि अधिकारीले बताए । राजनीतिक आस्था नमिलेकै आधारमा करारका कर्मचारी हटाउन नमिल्ने मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार अब करार कर्मचारी नियुक्त गर्दा पनि मूल्याङकनको आधारमा योग्य व्यक्ती छान्नु पर्छ । स्थानीय तहले कति जनासम्म कर्मचारी करारमा राख्न पाउने भन्ने विषयमा कुनै आधार वा कानुन भने छैन । करार सम्बन्धि कार्यविधिमा करार गरिएको पद वा दरबन्दीमा नेपालको संविधान बमोजिम कर्मचारी समायोजन भई खटिई आएमा त्यस्तो व्यक्तिको करार स्वतः अन्त्य हुनेछ उल्लेख छ । करार सम्झौता गरिएको प्राविधिक कर्मचारीको कार्य सन्तोषजनक नभएको भनि कार्यरत विषयगत शाखा वा कार्यालयले सिफारिश गरेमा अध्यक्ष वा प्रमुखले आवश्यक छानविन गर्न लगाई सफाइको मौका दिई कार्यालयले जुनसुकै अवस्थामा करारबाट हटाउन सकिने व्यवस्था पनि कार्यविधिमा छ ।
एसईई परीक्षाको नतिजा साउन १० गते सार्वजनिक हुँदै
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम तीव्ररुपमा भइरहेको जानकारी दिए । उनले नतिजामा प्राविधिकरुपमा कुनै समस्या नआओस् भनेर विद्यार्थीको विवरणहरू रुजु गर्ने कार्यलाई कडाइका साथ निगरानी गरिरहेको उनले बताए । अध्यक्ष डा शर्माले भने, ‘विगतमा नतिजा सार्वजनिक भएपछि कहिले जन्म मिति, कहिले अङ्क, त कहिले के मिस्टेक भयो भन्दै सच्याउन आउनेको भीड हुन्थ्यो, त्यसलाई मध्यनजर गर्दै बरु केही दिन नतिजा ढिला होस् तर नतिजा सार्वजनिक भएपछि सकेसम्म विद्यार्थीले विभिन्न विवरण सच्याउन फेरी धाउन नपरोस् भनेर यस पटक अलि कडाइका साथ विवरण रुजु गर्ने कार्य भइरहेको छ ।’ उनले सबै विवरण रुजु गरेर अन्तिम पटक पुनः जाँच गरेपछि आउँदो साताको सुरुमै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको बताए । स्थानीय तहको निर्वाचनका कारणले पनि केही दिन नतिजा पर धकेलिएको उनको भनाइ छ । शिक्षाका कर्मचारीदेखि उत्तर पुस्तिका परीक्षणको जिम्मेवारी पाएका शिक्षक शिक्षिका निर्वाचनमा खटिएकाले उत्तर पुस्तिका परीक्षणमा पनि केही ढिला हुँदा नतिजा सार्वजनिक गर्न पनि केही दिन ढिलाइ हुनगएको उनको भनाइ छ । डा शर्माले भने, ‘हाम्रो लक्ष्यभन्दा केही दिन नतिजा ढिलो भए पनि शैक्षिक सत्रलाई असर पर्ने गरी ढिला हुँदैन, हामी नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमै छौँ, आउँदो साताको सुरुमै नतिजा सार्वजनिक गर्ने तयारीमा छौँ ।’ एसईई (कक्षा १०) का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको बताउँदै कुनै समस्या नआए १० गतेभित्र र अन्यथा १२ गतेसम्म नतिजा सार्वजनिक गर्ने बताए । अहिले उत्तर पुस्तिका परीक्षणको काम सम्पन्न गरी सम्परीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले कम्प्युटरमा इन्ट्री गर्ने, रुजु गर्नेलगायत काम भइरहेको जानकारी दिए । कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि यसवर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिए । बोर्डले ६१ विषयमा परीक्षा सञ्चालन भएको थियो ।
राप्ती हाइड्रोको आईपीओ सोमबार बाँडफाँट हुँदै, २ लाख १७ हजारले १० कित्ता पाउने
काठमाडौं । काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ साउन ९ गते (सोमबार) बाँडफाँट गरिने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार उक्त आईपीओ सोमबार बिहान ९ बजे बाँडफाँट गरिने भएको हो । प्रिअलमेन्टको कार्य बिहीबार सम्पन्न भएकाले सोमबार बाँडफाँट गर्ने क्यापिटलले जानकारी दिएको छ । कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म २३ लाख ६६ हजार २४० कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये ३ प्रतिशत अर्थात् ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषका लागि र २१ लाख ७६ हजार ९४० कित्ता शेयर सर्वसाधारणका लागि छुट्याईएको छ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १५ लाख ३८ हजार ६८८ जना आवेदकले १ करोड ७२ लाख ६५ हजार १५० कित्ताका लागि आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ्गले जनाएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिनेछ । १० कित्ताका दरले बाँडफाँट गर्दा २ लाख १७ हजार ६९४ जनाले मात्रै कम्पनीको आईपीओ प्राप्त गर्नेछन् । बाँकी आवेदकको हात रित्तो हुने देखिन्छ ।
प्रविधिमैत्री विदेशी शैक्षिक कार्यक्रममा अब्बल आइएसएमटी कलेज
काठमाडौं । भुमण्डलिकृत विश्वको विकाससँगै नेपाली शिक्षा क्षेत्रमा पनि यसको प्रभाव विस्तार हुँदै गएको छ । नेपाली विश्वविद्यालयहरुको साथै विद्यार्थीले विश्वका धेरै मुलुकमा भएका विश्वविद्यालयहरुको शैक्षिक कार्यक्रम छनोट गरेर पढ्न पाइने अवस्थाको सिर्जना भएको छ । शिक्षा मन्त्रालयले मान्यता दिएको सांघाई युनिभर्सिटी र्याङकिङले युकेको युनिभर्सिटी अफ सन्डरल्यान्डलाई विषयगत रुपमा हस्पिटालिटी एण्ड टुरिजम म्यानेजमेन्ट अन्तर्गत २ सय १ देखि ३ सयको र्याङकिङमा राखेको छ । सोही विश्वविद्यालयसँग सम्बन्धन लिएर आइएसएमटी कलेजले स्नातक तहमा विभिन्न विषयहरुमा पठनपाठन गर्दै आएको छ । काठमाडौंको तिनकुनेमा रहेको आइएसएमटी कलेजमा स्नातक तहको मात्र पठनपाठन सञ्चालन हुुँदै आएको विजनेस डेभलपमेन्ट अफिसर बासुदेव वस्ती बताउँछन् । जस अन्तर्गत बिएस्सी आइटी, बिबिए र बिएचएमका शैक्षिक कार्यक्रमहरु रहेका छन् । कलेजमा मात्रै १५ सय विद्यार्थीले पढ्ने गरेको अफिसर वस्तीको भनाइ छ । साथै आइएसएमटीको ब्राण्डमा पोखरा, चितवन र बिराटनगर सञ्चालन गरेका कलेजहरुमा पनि एक हजार भन्दा धेरै विद्यार्थीले अध्ययन गरिरहेको अफिसर वस्तीको भनाइ छ । आइएसएमटीमा आंशिक र पूर्णकालिन गरेर सयौंको संख्याका शिक्षकहरुले अध्यापन गर्ने गर्दछन् । कलेजमा अध्यापन गर्ने अधिकांश शिक्षकहरु विदेशी विश्वविद्यालयमा डिग्री अध्ययन गरेका र सम्बन्धित विषयमा कुनै न कुनै व्यवसाय तथा उद्यमसँग जोडिएका रहेका छन् । जसले गर्दा विद्यार्थीलाई प्रत्यक्ष रुपमा व्यवहारिक ज्ञानको प्रदान गर्न सजिलो हुने गरेको वस्ती बताउँछन् । उनका अनुसार शिक्षक तथा व्यवस्थापनमा कार्यरत समुहमा रहेका अधिकांश व्यक्तिहरु वैदेशिक शिक्षण कार्यक्रममा अनुभवी तथा क्षमतावान भएको कारणले सन्डरल्यान्ड विश्वविद्यालयको कार्यक्रम सञ्चालन गर्न सजिलो भएको छ । आइएसएमटीमा पढ्ने विद्यार्थीहरुले आफ्नो अनुकुल समय मिलाएर बिहान वा दिउँसोको समय छानेर पढ्न सक्छन् । विद्यार्थीहरुलाई पढ्दा मानसिक रुपमा तनाव नहुने प्रकारको भौतिक तथा कक्षा कोठाको वातावरण बनाइएको अफिसर वस्तीको भनाइ छ । उनका अनुसार जुनसुकै विषय लिएर पढ्ने विद्यार्थीका लागि पनि कलेजले ल्यापटप अनिवार्य गरेको छ । पठनपाठनको लागि कक्षाकोठामा अधिक मात्रामा मल्टिमिडिया तथा डिजिटल प्रविधिको प्रयोग गरिन्छ । कलेजले सञ्चालन गरेका सबै विषयहरु सेमेस्टर प्रणालीमा रहेका छन् पढ्ने क्रममा विद्यार्थीले आँफै छोड्ने अवस्था बाहेक शतप्रतिशत विद्यार्थी नै पास हुने गरेका छन् । सबै विषयहरुको कक्षा ८० प्रतिशत भन्दा धेरै प्रयोगात्मक शैलीमा पढाइन्छ । विद्यार्थी विश्वविद्यालयको नियमअनुसार भर्ना भइसकेपछि निरन्तरताको कुनै परिक्षामा कुनै कारणले छुट्न पुग्यो भने सो विद्यार्थीलाई विश्वविद्यालयले तुरुन्तै परिक्षा दिने अवसर दिने गर्छ । सन्डरल्यान्डले विद्यार्थीको परिक्षा लिने विधि पनि नेपाली विश्वविद्यालयहरुको ढाँचासँग मिल्दैन । अफिसर वस्ती भन्छन्, ‘परिक्षापश्चात विद्यार्थीको कपी पहिला कलेजकै शिक्षकले जाँच गरेर नम्बर दिन्छन्, त्यसपछि विषय विशेषज्ञले जाँच गर्छन र अन्तिममा विश्वविद्यालय बोर्डले भेरिफाइ गरेर अंक दिने व्यवस्था रहेको छ । यदि विद्यार्थीको पेपरमा कुनै कुराको कमि भएमा त्यसलाई पूर्ण गर्नको लागि विश्वविद्यालयले सुझाव र अवसर दिने गर्दछ । जसकारणले गर्दा शतप्रतिशत विद्यार्थीले नै आफ्नो तहमा राम्रो अंक ल्याएर उत्तिर्ण गर्ने अवसर प्राप्त गर्छन् ।’ उनका अनुसार विश्वविद्यालयले नियमित अनुसन्धानको माध्यमबाट पाठ्क्रमको विकास गर्ने र परिक्षामा जाँच गर्ने विधिमा पनि अनुसन्धानको विषयलाई मुख्य बनाउने गरेको छ । नेपाली विश्वविद्यालयका कोर्षहरु नपढाएर युके सन्डरल्यान्ड विश्वविद्यालय कोर्ष पढाउनुसँग विद्यार्थी लक्षित धेरै फाइदा रहेको अफिसर वस्तीको तर्क छ । उनी भन्छन्, ‘नेपाली विश्वविद्यालयहरुले दशकौंदेखि आफ्नो पाठ्यक्रम समयानुकुल अपडेट गर्दैनन्, तर, सन्डरल्यान्ड वा अन्य कतिपय प्रतिष्ठित विदेशी विश्वविद्यालयले समयानुकुल नियमित रुपमा पाठ्क्रमको अपडेट गर्ने गर्छन् ।’ सन्डरल्यान्डले बजारको माग र सम्भावनाको आधारमा नियमित रुपमा पाठ्यक्रमको विकास गर्ने गरेको अफिसर वस्तीको भनाइ छ । जसकारणले गर्दा विद्यार्थीले आफुले रोजेको विषयमा सम्बन्धित तह उत्तिर्ण गरिसकेपछि बेरोजगार हुनु पर्दैन । नेपाली विश्वविद्यालयहरुमा अनुसन्धान र व्यवहारिकतालाई प्राथमिकतामा राखेर पाठ्यक्रम बनाउने र पठनपाठन विधि सञ्चालन गर्ने काम नभएको अफिसर वस्ती बताउँछन् । नेपालमा ८० भन्दा धेरै कलेजहरुले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरेका छन् । जसमा आइएसएमटीको भिन्न विशेषता सहितको पहिचान भएको कलेजको दाबी छ । गुणस्तरीय शिक्षा, विद्यार्थीमैत्री शुल्क र क्रेडिट ट्रान्सफर सुविधा कलेजको मुख्य विशेषता रहेको अफिसर वस्तीको भनाइ छ । ‘आइएसएमटीको विशेषता भनेको मागमा आधारित र उद्यम सम्बन्धित पाठ्यक्रम हो, हामीले यही कोर्ष सञ्चालन गरिरहेका छौं । अर्को कुरा नेपालका सबै कलेजहरुमा भन्दा ब्रिटिस एजुकेसन प्रदान गर्ने कुरामा आइएसएमटी सबैभन्दा एफोर्डएबल छ भन्ने हाम्रो दाबी छ,’ अफिसर वस्तीले भने । उनका अनुसार कलेजबाट जुनसुकै विषयमा अध्ययन गर्ने विद्यार्थीले ९ देखि १० लाख रुपैयाँको खर्चमा स्नातक तहको ब्रिटिस डिग्री प्राप्त गर्न सक्छन् । विदेशी विश्वविद्यालयको सम्बन्धनबाट सञ्चालित कलेजमा अध्ययन गर्दा विद्यार्थीले क्रेडिट ट्रान्सफरको सुविधा प्राप्त गर्दछन् । जुन सुविधाको प्रयोग गरी विद्यार्थीहरु विश्वका अन्य विश्वविद्यालय र कलेजहरुमा पनि अध्ययनको लागि जानसक्ने अफिसर वस्तीको भनाइ छ । उनका अनुसार अहिलेसम्म आइएसएमटीबाट ३ सय ५० जना भन्दा धेरै विद्यार्थीहरु युरोप र अस्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा कलेजमा अध्ययनको लागि क्रेडिट ट्रान्सफर गरेर अध्ययन गर्न गएका छन् । ‘मल्टिपल युनिभर्सिटी क्रेडिट ट्रान्सफर कलेजको विशेष विशेषता हो,’ उनले भने । कलेजले नियमित पठनपाठनको अलावा सामाजिक क्षेत्रमा पनि धेरै कार्यक्रम सञ्चालन गर्दै आएको छ । वृक्षारोपण, विपन्नहरुलाई खाद्यान्न सहयोग, सहरको सरसफाइ, आदि जस्ता धेरै कार्यक्रमहरु कलेजले नियमित रुपमा सञ्चाल गर्ने गरेको अफिसर वस्ती बताउँछन् । ‘पठनपाठन सँगै सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमलाई हामीले प्राथमिकतामा धेरै कार्यक्रम सञ्चालन गर्दै आएका छौं, जसले समाजका विभिन्न क्षेत्रलाई ठुलो सहयोग पुर्याउँदै आएको छ,’ उनले भने । कलेजमा आइटी विषय लिएर अध्ययन गरेका अधिकांश विद्यार्थीहरुले अध्ययनकै क्रममा विभिन्न व्यवसायमा जोडिने अथवा आफ्नो व्यवसायको शुरुवात गर्ने गर्छन् । त्यस्तै कलेजले सञ्चालन गरेका अन्य विषयहरु पनि प्रयोगात्मक एवं व्यवहारिक भएकाले अध्ययनपश्चात् कुनैपनि विद्यार्थी बेरोजगार हुने अवस्था नआउने अफिसर वस्तीको भनाइ छ । कलेजमा पढेका केही विद्यार्थीहरु थप अध्ययनका लागि विदेश समेत जाने गरेको उनी बताउँछन् । अहिलेसम्म स्नातक तहमा मात्रै पठनपाठन सञ्चालन गरेको कलेजले आगामी दिनमा एमबिए तहको विस्तार गर्ने योजना बनाएको छ । ‘अहिले सञ्चालन गरिरहेको कार्यक्रमलाई थप प्रभावकारी र एमबिए तहको विस्तार गर्ने योजनामा छौं,’ अफिसर वस्तीले भने ।
आर्थिक वर्ष ०७८/०७९ मा विशेष अदालतले गर्यो अहिलेसम्मकै धेरै फैसला
काठमाडौं । आर्थिक वर्ष (आव) ०७८/०७९ मा विशेष अदालत काठमाडौंले इतिहासमा नै धेरै मुद्दाको फैसला गरेको छ । सो आर्थिक वर्षमा अदालतले ३ सय ३९ वटा मुद्दाको फैसला गरेको जनाएको छ । सो संख्या विशेष अदालतको २० वर्षे इतिहासमा सबैभन्दा धेरै फैसला भएको अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले बताएका छन् । आर्थिक वर्ष ०७८/०७९ मा अघिल्लो आर्थिक वर्ष ०७७/०७८ बाट जिम्मेवारी सरेर आएका ६ सय ५७ वटा मुद्दा रहेका थिए । त्यस्तै सोही आर्थिक वर्षमा १ सय ३५ वटा मुद्दा दर्ता भएका थिए । जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका मुद्दा मध्ये आव ०७८/०७९ ३ सय ३९ वटा मुद्दाको विशेष अदालतले फैसला गरेको हो । एकै आर्थिक वर्षमा अधिक संख्यामा मुद्दा फैसला भएपछि चालु आव ०७९/८० को लागि ४ सय ५३ वटा मुद्दाको जिम्मेवारी सरेर आएको विशेष अदालतले जनाएको छ । अघिल्लो आवमा फैसला भएका ३ सय ३९ वटा मुद्दमध्ये गैरकानूनी सम्पत्ति सम्बन्धी ५, घुस रिसवत सम्बन्धी २ सय ५९, सम्पत्ति सुद्धिकरण सम्बन्धी २, निर्णयगत ४२, नक्कली प्रमाणपत्र सम्बन्धी ३० र पुनरावेदन १ रहेको विशेष अदालतले जनाएको छ । फर्छ्यौट भएकामध्ये २ सय ६८ वटा मुद्दामा सफाई, २५ वटामा आंशिक ठहर, ४१ वटा पूर्ण ठहर र १ वटा मुल्तवीमा गएको अदालतले विज्ञप्तिमा उल्लेख गरेको छ ।