विकासन्युज

एनसीसी बैंकको १० गुणाले बढ्ने मुद्दती खाता सार्वजनिक, ७ लाखको बीमा सुविधा पनि पाइने

काठमाडाैं । एनसीसी बैंकले ‘एनसीसी प्रफुल्ल मुद्दती खाता’ संचालनमा ल्याएको छ । यस मुद्दती योजनामा निक्षेपकर्ताले निक्षेप रकमको १० गुणासम्म रकम पाउने बैंकले जनाएकाे छ । सीमित अवधिसम्म लागु हुने यो योजनामा व्यक्तिगत निक्षेपकर्ताले ६ वर्ष ४ महिना २५ दिन देखि २१ वर्ष ६ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताले ७ वर्ष १ महिना १२ दिन देखि २४ वर्ष ११ महिना २ दिनसम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार दोब्बर देखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् । साथै, यस याेजनामा पहिलो वर्षको लागि ५ लाखसम्मको दुर्घटना बीमा र २ लाखसम्मको घातक रोग बीमा सुविधा समेत उपलब्ध रहेकाे बैंकले जनाएकाे छ । देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

मौद्रिक नीति चार बजे सार्वजनिक हुने, पत्रकार सम्मेलन पनि भर्चुअल

काठमाडाैं । नेपाल राष्ट्र बैंकले साँझ चार बजे मौद्रिक नीति ल्याउने भएको छ । राष्ट्र बैंकका सह—प्रवक्ता नारायण पाेखरेलले मौद्रिक नीति साँझ चार बजे सार्वजनिक हुने बताएका हुन् । उनका अनुसार राष्ट्र बैंकले विभिन्न टेलिभिजनमार्फत् र जुमबाट पनि मौद्रिक नीति सार्वजनिक हुनेछ । यसअघि राष्ट्र बैंकले बैंकर्स, उद्याेगी, पत्रकारहरू हाेटलमा भेला गराएर माैद्रिक नीति सार्वजनिक गर्ने अभ्यास थियाे । काेराेना महामारीपछि गभर्नर महाप्रसाद अधिकारीले टेलिभिजन तथा अनलाइन मार्फत माैद्रिक नीति सार्वजनिक गर्ने अभ्यास चलाएका छन् । पत्रकार सम्मेलनपछि राष्ट्र बैंकले साँझ ५ बजे भर्च्यूअल रूपमा पत्रकार सम्मेलन गर्ने भएकाे छ ।

उद्योगमन्त्रीको व्यापारीलाई प्रतिवद्धता : प्रतिबन्द लगाएको १० वस्तुको समय नलम्बिने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिबन्द लगाएको १० वस्तुको समय नलम्बिने बताएका छन् । बिहीबार नेपाल समुद्रपार निकासी पैठारी संघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन् । सरकारले आगामी भदौ १४ गतेसम्म विभिन्न १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । संघले बडूलाई भेटेर १० प्रकारका वस्तुमा लागेको प्रतिबन्ध अविलम्ब खारेज गर्न आग्रह गरेको थिए । उक्त प्रतिबन्धले अनधिकृत आयात बढेको र सरकारले राजस्व गुमाएको तर हुन्डी जस्ता गैरकानुनी माध्यमबाट विदेशी मुद्रा बाहिरिरहेको संघको भनाइ छ । यो व्यवस्थाले रेमिट्यान्स अनौपचारिक माध्यमतर्फ गइरहेको संघले जनाएको छ । कतिपय वस्तु आयातका लागि एलसी खोल्दा ५० र १०० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था पनि हटाउन संघले माग गरेको छ । यसले व्यवसायको लागत बढाएको संघको भनाइ छ । डीएपी, टीटी जस्ता माध्यमबाट भुक्तानी गर्दा निर्यातकर्ताले एलसीको भुक्तानीभन्दा बढी छुटमा सामान उपलब्ध गराउने हुँदा त्यस्ता माध्यमबाट भुक्तानी गर्न लिनुपर्ने संघको माग छ । सो अवसरमा संघले उधारो उठाउने ऐन निर्माण र कालोबजारी ऐन संशोधनको आवश्यकता औंल्याएको छ ।

तोलामा एक हजारले बढ्यो सुनको मूल्य

काठमाडौं । शुक्रबार सुन तोलाको एकहजार रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मूल्य एक हजार रुपैयाँले बढेर तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी सुनको मूल्य पनि बढेर तोलाको ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुन तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि बढेको छ । हिजो तोलाको एक हजार १५५ मा कारोबार भएको चाँदी आज १० रुपैयाँ बढेर एक हजार १६५ मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

निफ्राको नाफासँगै ईपीएस पनि बढ्यो, कर्जा प्रवाह साढे १५ अर्ब बढी

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २२.५३ प्रतिशत बढेर १ अर्ब २ करोड ६१ लाख ११ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ८३ करोड ७४ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ४१.२० प्रतिशत बढेर १ अर्ब ८८ करोड ६३ लाख २८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३३ करोड ५९ लाख ९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समिक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा २३.१४ प्रतिशत बढेर १ अर्ब ४६ करोड ५७ लाख ७२ हजार, खुद फि तथा कमिसन आम्दानी ३९८.१९ प्रतिशत बढेर ९६ लाख ३५ हजार रुपैयाँ, कूल सञ्चालन आम्दानी ४१.७२ प्रतिशत बढेर १ अर्ब ८९ करोड ५९ लाख ६३ हजार रुपैयाँ र वितरणयोग्य मुनाफा २२.६३ प्रतिशत बढेर ८० करोड ८५ लाख ३२ हजार रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्ममा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेर २१ अर्ब ६० करोड रुपैयाँ, जगेडा कोष २७.६८ प्रतिशत घटेर १ अर्ब ७३ करोड ७० लाख ४३ हजार रुपैयाँ, निक्षेप १५.०६ प्रतिशत बढेर २ अर्ब १८ करोड ८० लाख २० हजार रुपैयाँ र कर्जा प्रवाह ५८२.८९ प्रतिशत बढेर १५ अर्ब ५३ करोड ९२ लाख ७५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा प्रतिसेयर आम्दानी ५६ पैसा बढेर ४ रुपैयाँ ७५ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४.१९ रुपैयाँ रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात ५०.५२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ४ पैसा रहेको छ ।

प्रभु बैंकले १५ सय महिला उद्यमीलाई सहुलियत कर्जा दिने

काठमाडौं । प्रभु बैंकले युवा तथा महिला उद्यमी र साना किसानहरूलाई वित्तीय कर्जा उपलब्ध गराउने भएको छ । सो सम्बन्धमा बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र हेफर नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यसअनुसार बैंकले करिब १५ सय उद्यमीहरूलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्नेे विश्वास लिएको छ । सम्झौता अनुसार बैंकले कृषि तथा पशुपालन सम्बन्धि क्षेत्रहरु जस्तै बाख्रापालन, गाईपालन तथा तरकारीको मूल्य शृंखलामा संलग्न युवा तथा महिला उद्यमी र साना किसानहरुलाई सहज ढङ्गले वित्तीय कर्जा उपलब्ध गराउने छ । यस साझेदारीको मुख्य उद्देश्य, युवा तथा महिला उद्यमी र साना किसानहरूको व्यवसाय विकास र विस्तारमा केन्द्रित गर्ने रहेको छ । उक्त योजनामा हेफर नेपालका तर्फबाट कृषि सहकारी र स्थानिय सरकार पनि आबद्ध रहेका छन् । कृषि सहकारी वा स्थानिय सरकारले उद्यमीहरूको पहिचान र सिफारिस गरि बैंकसँग जोड्न सहज बनाउनेछन् ।

कास्कीका स्थानियलाई सिक्लेस हाइड्रोको आईपीओ, आजैदेखि बिक्री खुला

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले साउन ६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले शुक्रबारदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ८५ करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ८ लाख ५० हजार कित्ता साधरण सेयर आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो । कम्पनीको आईपीओमा छिटोमा साउन २० गतेसम्म र ढिलोमा भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा स्थानीय बासिन्दाले माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

राष्ट्रिय परीक्षा बोर्डले माग्यो ७३ जना कर्मचारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कर्मचारी माग गरेको छ । साउन ६ गते दरखास्त आह्वानको सूचना जारी गर्दै बोर्डले खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपुर्तिका गर्नका लागि अन्तर कार्यालयहरुमा रिक्त रहेका विभिन्न पदहरुमा खुला तथा आन्तरिक परीक्षाद्वारा पदपुर्तिका गर्नका लागि दरखास्त आह्वान गरेको हो । सूचनाअनुसार तोकिएको योग्यता पुगेका उम्मेदवारहरुले सो सूचना प्रथम पटक प्रकाशित भएको मितिले तीस दिन भित्र नियमित शुल्कमा र थप सात दिनभित्र दोब्बर शुल्कमा आवेदन दिन सकिने कुरा उक्त सूचनामा उल्लेख गरिएको छ । हेर्नुस् सूचना