बैंकदर ८.५ पुग्यो, अब ब्याजदर बढ्ने
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दै बैंकदर ८.५ पुर्याएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सो व्यवस्था गरेका हुन् । अब ब्याजदर बढ्ने भएको छ । मूल्य र विदेशी विनिमय सञ्चितिमा परेको चापलाई मध्यनजर राखेर समष्टिगत आर्थिक स्थायित्वको लागि ब्याजदर करिडोर अन्तर्गतको दरहरुलाई १.५ प्रतिशत बिन्दुले वृद्धि गरी बैंक दर ८.५ प्रतिशत, नीतिगत दर ७.० प्रतिशत र निक्षेप संकलन दरलाई ५.५ प्रतिशत कायम गरिएको छ । बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपातलाई २०७९ भदौ १ गतेदेखि लागू हुने गरी १ प्रतिशत बिन्दुले वृद्धि गरी ४ प्रतिशत पुर्याइनेछ । बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने वैधानिक तरलता अनुपातलाई वृद्धि गरी २०७९ पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले १२ प्रतिशत, विकास बैंक र वित्त कम्पनीहरुले १० प्रतिशत पुर्याउनु पर्ने व्यवस्था गरिनेछ । अन्तरबैंक बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोवार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसकेका बैंक तथा वित्तीय संस्थालाई सो संस्थाले माग गरेमा बैंक दरमा २ प्रतिशत बिन्दुले पेनाल दर थप गरी अन्तिम ऋण दाता सुविधा उपलव्ध गराइने गभर्नर अधिकारीले बताए ।
अन्तर बैंक व्याजदरलाई निरन्तरता दिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बीचको भारित अन्तर बैंक व्याजदरलाई निरन्तरता दिने भएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै सो बताएका हुन् ।
स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या मन्त्रीपरिषदमा
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या समाधान गर्नका लागि मन्त्रीपरिषदमा प्रस्ताव लैजाने प्रक्रिया अघि बढाइएको बताएका छन् । स्वास्थ्य विमा कार्यक्रम रोकिएको भन्दै सरकारको चौतर्फी विरोध भईरहँदा मन्त्री खापुङले ती समस्या समाधानका लागि मन्त्रीपरिषदमा तत्काल प्रस्ताव लैजाने गरी प्रक्रिया अघि बढाइएको बताएका हुन् । शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा यो बीमालाई सरकारी र सामूदायिक अस्पतालबाट मात्रै संचालन गरिनेछ भन्ने व्यवस्था गरिएको र त्यसलाई संसदले पनि पारित गरेकाले अहिले त्यसको संचालनमा समस्या आएको बताए । ‘त्यस सम्बन्धमा बीमा बोर्डले पनि के गर्ने भनेर मन्त्रालयलाई सोधेकाले त्यसमा देखिएको समस्या समाधान गर्न मन्त्रीपरिषदमा प्रस्ताव लैजान उपयुक्त हुने भएकाले मन्त्रीपरिषदमा लैजाने प्रक्रिया अघि बढाएका हाैं,’ उनले भने । मन्त्री खापुङले प्राईभेट क्षेत्रको सहभागिताविना स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी नहुने सुझाव सबैतिरबाट आएकाले सरकार सोही अनुसार अघि बढने धारणा पनि राखे । उनले सो बीमा कार्यक्रमलाई दिगो र व्यवस्थित बनाउन सरकारले छुट्टै कम्पनी खडा गरेर अघि बढने तयारी गरिरहेको समेत बताए ।
सिभिल लघुवित्तको खुद नाफा बढेपनि ईपीएस घट्यो
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १३.३९ प्रतिशत बढेर ७ करोड ३६ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ६ करोड ४९ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ३७.३१ प्रतिशत बढेर २३ करोड ९६ लाख ८० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १७ करोड ४५ लाख ५६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत असार मसान्तसम्ममा अन्य सञ्चालन आम्दानी ३९.१८ प्रतिशत बढेर ८ करोड ३३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ३९।२३ प्रतिशत बढेर ३२ करोड ३० लाख ९४ हजार रुपैयाँ र सञ्चालन मुनाफा १८.०६ प्रतिशत बढेर १० करोड ८४ लाख ६० हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १९ प्रतिशत बढेर २८ करोड ८१ लाख २४ हजार रुपैयाँ, जगेडा कोष ५४.१४ प्रतिशत बढेर १३ करोड ८ लाख ७३ हजार रुपैयाँ, सापटी ५४.१४ प्रतिशत बढेर २ अर्ब ५१ करोड २६ लाख २८ हजार रुपैयाँ, कर्जा ५७.१५ प्रतिशत बढेर ३ अर्ब ८५ करोड ६४ लाख ३९ हजार रुपैयाँ र निक्षेप ९७ करोड ७८ लाख ३९ हजार रुपैयाँ पुगेको छ । गत असार लघुवित्तको प्रतिसेयर आम्दानी १ रुपैयाँ २६ पैसा घटेर २५ रुपैयाँ ५६ पैसामा सिमित भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ८२ पैसा रहेको थियो । लघुवित्तका मूल्य आम्दानी अनुपात ३०.२९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ८५ पैसा रहेको छ ।
थपिँदै नेपालमा नै गाडी उत्पादन गर्ने उद्योग
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा दिएको छुट तथा विशेष व्यवस्थाका कारण स्वदेशमा नै ‘एसेम्बलिङ’ उद्योग स्थापना हुन थालेका छन् । सरकारले बजेटमा नै त्यस्ता उद्योग सञ्चालन गर्नेलाई भन्सार तथा अन्तशुल्कमा छुट दिएको छ । पछिल्लो समय ठूला व्यावसायिक घरानाको ध्यान एसेम्बलिङ उद्योगमा बढेको छ । गत आर्थिक वर्षको बजेटमार्फत सरकारले नेपालमा नै ‘एसेम्बलिङ’ उद्योग सञ्चालन गर्ने उद्योगलाई आवश्यक पर्ने ‘पार्टस्’ तथा आवश्यक उपकरण आयातमा भन्सार तथा अन्तशुल्कमा छुटको घोषणा गरेको थियो । बजेटमार्फत नै छुट पाउने भएपछि पछिल्लो समय उद्योग विभागमा सवारी एसेम्बलिङ गर्ने उद्योग दर्तामा वृद्धि भएको हो । पूर्वअर्थमन्त्री जनार्दन शर्माले गत जेठ १५ गते सार्वजनिक गरेकाे चालु आवको बजेटमा भएको विशेष व्यवस्थाका कारण सिमेन्ट र रडकोसमेत निर्यात हुन थालेको छ । उद्योग विभागको तथ्याङ्कअनुसार पछिल्लो समय ‘एसेम्बलिङ’ गर्ने उद्योगको सङ्ख्यामा वृद्धि हुन थालेको हो । तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा दुई पाङ्ग्रेदेखि चारपाङ्ग्रे सवारी उत्पादन गर्नेगरी छ वटा उद्योग दर्ता भएका छन् । यसअघि पनि उद्योग दर्ता गर्नेको सङ्ख्यामा वृद्धि हुने गरे तापनि उद्योग दर्तामै सीमित भएका थिए । हाल नेपालमा दुई कम्पनीले मात्र दुईपाङ्ग्रे सवारी साधन उत्पादन गरेर बिक्री वितरण गर्दै आएका छन् । तथ्याङ्कमा धेरै उद्योग दर्ता भए तापनि हाल नेपालमा गोल्छा समूहको बजाज र शङ्कर समूहको टिभिएसले मात्र मोटरसाइकल उत्पादन गरिरहेका छन् । गत आव २०७८/७९ मा विभागमा सवारी एसेम्बलिङका लागि सुजुकीका कार तथा मोटरसाइकल र तीनपाङ्ग्रे सवारी बनाउन सिजी अटोमोटिभ इन्डस्ट्रिज प्राली, यमाहाको मोटरसाइकल तथा स्कुटर एसेम्बल गर्न एमएडब्लु अटो प्राली, विद्युतीय स्कुटर एसेम्बल गर्न इ–बोल्ट मोबिलिटी प्राली, दुईपाङ्ग्रे सवारी साधन एसेम्बल गर्न ग्लोबल अटोमोबाइल्स, दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारी साधन उत्पादन गर्नेगरी दुगड अटो क्लिनिक र दुईपाङ्ग्रेदेखि छ पाङ्ग्रेसम्मका विद्युतीय र पेट्रोलियम पदार्थबाट सञ्चालन हुने गाडी एसेम्बल गर्नका लागि एसजी अटोक्राफ्ट नामक उद्योग दर्ता भएका हुन् । सुजुकीका कार तथा मोटरसाइकल र तीनपाङ्ग्रे सवारी एसेम्बल गर्न चौधरी समूहअन्तर्गतको सिजी होल्डिङले बाराको परवानीपुरमा एक अर्ब ३१ करोड ६९ लाखको लगानीमा उद्योग दर्ता गरेको छ । उक्त कम्पनीले वार्षिक १० हजार दुईपाङ्ग्रे, तीन हजार तीनपाङ्ग्रे र १० हजार चारपाङ्ग्रे सवारी उत्पादनको लक्ष्य राख्दै उद्योग दर्ता गरेको हो । यस्तै यमाहाका मोटरसाइकल तथा स्कुटर नेपालमै एसेम्बल गर्न एमएडब्लु अटो प्रालीले गत असोजमा उद्योग विभागमा दर्ता भएको छ । एमएडब्लु इन्टरप्राइजेजले यमाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर एसेम्बलका लागि एक अर्ब ५१ करोड ५० लाख बढीको लगानी गरेको छ । मोरङमा स्थापना गरिएको उक्त उद्योगबाट वार्षिक ३१ हजार मोटरसाइकल र १९ हजार वटा स्कुटर उत्पादन हुने जनाइएको छ । इ–बोल्ट मोबिलिटी प्राली नामक उद्योग विभागमा दर्ता भएको छ । ललितपुर जिल्लाको गोदावरीमा रहने उक्त उद्योगमा २४ करोड ३० लाख लगानी गर्ने स्वीकृत भएको छ । इ–बोल्ट मोबिलिटीले वार्षिक १५ हजार वटा विद्युतीय स्कुटर उत्पादन गर्ने क्षमता रहेको जनाएकोे छ । यस्तैगरी दुईपाङ्ग्रे सवारीसाधन एसेम्बल गर्न ग्लोबल अटोमोबाइल्स प्राली दर्ता भएको छ । विशाल समूहको लगानीमा मोटरसाइकल तथा स्कुटर र तीनपाङ्ग्रे सवारी उत्पादन गर्ने उक्त उद्योग दर्ता भएकोे हो । वार्षिक ३० हजार मोटरसाइकल तथा स्कुटर र पाँच हजार तीनपाङ्ग्रे अटोरिक्सा उत्पादन गर्नेगरी ४६ करोड ४५ लाख ९२ हजारकोे लगानीमा पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं १ मा स्थापना हुनेगरी उक्त उद्योग दर्ता भएको हो । एलपी ग्यास तथा पेट्रोलियम व्यवसायीका रुपमा चिनिएका व्यवसायी शिवप्रसाद घिमिरेले दुईपाङ्ग्रेदेखि छ पाङ्ग्रेसम्मका विद्युतीय र पेट्रोलियम पदार्थबाट सञ्चालन हुने गाडी एसेम्बल गर्नका लागि एसजी अटोक्राफ्ट नामक उद्योग दर्ता भएका छन् । तीन अर्ब बढी लगानीमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका वड नम्बर ११ मा स्थापना हुने उक्त उद्योगले वार्षिक विद्युतीय मोटरसाइकल तथा स्कुटर २१ सय थान, विद्युतीय तीनपाङ्ग्रे १२ सय थान, विद्युतीय कार–जीप ६०० र इ–बस १२० युनिट उत्पादन गर्नेछ । इन्टरनल कम्बसन इञ्जिन (आइसिइ) मोटरसाइकल तथा स्कुटर १० हजार ५०० युनिट, आइसिइ तीनपाङ्ग्रे रिक्सा १५ सय युनिट, आइसिइ फोर ह्विलर्स (कार, एसयुभी, जीप) ६०० युनिट र आइसिइ सिक्स ह्विलर्स गाडी ७५० युनिट उत्पादन गर्नेछ । दुगड अटो क्लिनिक प्रालीले दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधन उत्पादन गर्नेगरी उद्योग दर्ता गरेको छ । ३० करोडको लगानी रहने उक्त उद्योगले वार्षिकरुपमा २४ हजार दुईपाङ्ग्रे र चार हजार वटा तीनपाङ्ग्रे सवारी उत्पादन गर्नेगरी उद्योग दर्ता भएको हो । बजेटमार्फत नै सरकारले सवारी एसेम्बलिङ उद्योगमा छुटको घोषणा गरेपछि नयाँ उद्योग दर्ताको सङ्ख्यामा वृद्धि भएको उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । उनले विभिन्न ठूला व्यावसायिक घरानाले नेपालमा नै सवारी एसेम्बलिङ गर्नेगरी उद्योग दर्ता गर्न थालेको बताए । नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष धुव्रबहादुर थापा सरकारले छुटको घोषणा गरेसँगै व्यवसायीको आकर्षण थपिएको बताए । उनका अनुसार सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न नेपालमा नै सवारी उत्पादन गर्ने उद्योगलाई छुट दिँदा नयाँ उद्योग दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको हो । उनले सरकारको अस्थिर नीतिका कारण नेपालमा नै एसेम्बल उद्योग दर्ता गर्न व्यवसायी इच्छुक भएर उद्योग दर्ता गरे तापनि तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नभएको बताए । ‘नेपालमा नै सवारी एसेम्बलिङ उद्योग दर्ता गर्न ठूलो रकम आवश्यक पर्छ, सरकारको अस्थिर नीतिका कारण व्यवसायी उत्साहित छैनन्, दुईपाङ्ग्रेभन्दा चारपाङ्ग्रेमा धेरै पुँजी खर्च हुन्छ, सरकारले नीतिगतरुपमा नै व्यवस्था नगर्दासम्म ठूला लगानीकर्ता आउने अवस्था देखिएको छैन’, उनले भने, ‘नीति बन्नुपर्छ अनि मात्र लगानी गर्न व्यवसायी उत्साहित हुन्छन्, सरकारले अहिले ल्याएको बजेटकै आधारमा लगानी गर्न व्यवसायी तयार छैनन् ।’ रासस
एक लाख राशिको शारदादेवी-ढुण्डीराज नाफिज आर्थिक पत्रकारिता पुरस्कारको आवेदन खुल्ला
काठमाडौं । क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले एक लाख रुपैयाँ राशिको आर्थिक पत्रकारिता पुरस्कारको आवेदन खुला गरेको छ । नाफिजले साउन १ गतेदेखि ‘शारदादेवी-ढुण्डीराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार २०७९’ का लागि आवेदन खुल्ला गरेको हो । नाफिज सदस्यहरुले २०७८ साउन १ गतेदेखि २०७९ असार ३२ गतेसम्म आफ्नो सञ्चार माध्यममा प्रकाशन वा प्रसारण गरिएका खोजमुलक अनलाइनसहितको समाचार सामाग्री र आवद्ध सञ्चार संस्थाको परिचयपत्रको फोटोकपी साउन मसान्तभित्र पेश गर्न आग्रह गरेको हो । बैंकिङ तथा बीमा विज्ञ एवं महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईसँगको सहकार्यमा नाफिजले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका दिन ‘शारदादेवी/ढुण्डीराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ का नामले सो पुरस्कार प्रदान गर्ने सम्झौता भएको थियो । भट्टराईले आफ्ना माता पिताको सम्मानमा सो पुरस्कार स्थापनाका लागि नाफिजलाई सहयोग गरेका थिए । पुरस्कारका लागि आवश्यक पर्ने स्रोत भट्टराईले अक्षय कोषका रुपमा रकम उपलब्ध गराउने सहमति भएको थियो ।
वर्षमा सय भन्दा थोरै कामदार विदेश पठाउने म्यानपावरको पनि इजाजतपत्र नवीकरण हुने
काठमाडौं । वर्षमा एक सय सय भन्दा थोरै कामदार विदेश पठाउने म्यानपावरहरुले पनि आफ्नो इजाजत पत्र नवीकरण गर्न पाउने भएका छन् । श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना जारी गर्दै सो कुरा जनाएको हो । यसअघि नवीकरण हुनका लागि एक आर्थिक वर्षमा कम्तीमा १०० जना कामदार विदेश पठाउनुपर्ने व्यवस्था रहेको थियो । वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८२ ले दिएको अधिकार प्रयोग गरी वाधा अड्काउ फुकाउने आदेश अन्तर्गत सो सूचना जारी गरिएको राजपत्रमा उल्लेख गरिएको छ ।
नागरिकता विधेयकमाथि छलफल हुँदै, आजै पारित हुने सम्भावना
काठमाडौं । आज संसदको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐनको संशोधन विधेयक प्रस्तुत गरेका छन् । यसअघि सम्भावित कार्यसूचीमा रहेका नेपाल विशेष सेवा विधेयक र कारागार विधेयक २०७८ लाई आजको कार्यसूचीबाट हटाइसकिएको छ । नागरिकता ऐन संशोसन सम्बन्धी विधेयकलाई सरकारले फास्ट ट्रयाक विधिबाट पारित गर्ने तयारीमा रहेको जनाइएको छ । लामो समयदेखि विवादमा रहँदै आएको नागरिकता ऐन सम्बन्धी संशोधनको विधेयक पारित गर्नको लागि सत्तापक्ष गठबन्धनको सहमती भइसकेको छ । त्यसैले आज बसेको प्रतिनिधिसभाको बैठकले नै विधेयक पारित गर्ने सम्भावना रहेको छ । नयाँ विधेयकमा समावेश गरिएका जन्मका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले जन्मसिद्ध रुपमा नागरिकता प्राप्त गर्ने, आमाको नामबाट मात्र नागरिकता प्राप्त गर्ने र गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्ने विषययहरुमा अहिले प्रतिनिधिसभामा संसदहरुले आफ्नो भनाई राखिरहेका छन् । नागरिकताजस्तो संवेदनशील विषय फास्ट ट्रयाक बाट पारित गर्न नहुने कतिपय सांसदहरुको धारणा रहेको छ ।