काठमाडौं । आज संसदको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐनको संशोधन विधेयक प्रस्तुत गरेका छन् । यसअघि सम्भावित कार्यसूचीमा रहेका नेपाल विशेष सेवा विधेयक र कारागार विधेयक २०७८ लाई आजको कार्यसूचीबाट हटाइसकिएको छ । नागरिकता ऐन संशोसन सम्बन्धी विधेयकलाई सरकारले फास्ट ट्रयाक विधिबाट पारित गर्ने तयारीमा रहेको जनाइएको छ ।
लामो समयदेखि विवादमा रहँदै आएको नागरिकता ऐन सम्बन्धी संशोधनको विधेयक पारित गर्नको लागि सत्तापक्ष गठबन्धनको सहमती भइसकेको छ । त्यसैले आज बसेको प्रतिनिधिसभाको बैठकले नै विधेयक पारित गर्ने सम्भावना रहेको छ ।
नयाँ विधेयकमा समावेश गरिएका जन्मका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले जन्मसिद्ध रुपमा नागरिकता प्राप्त गर्ने, आमाको नामबाट मात्र नागरिकता प्राप्त गर्ने र गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्ने विषययहरुमा अहिले प्रतिनिधिसभामा संसदहरुले आफ्नो भनाई राखिरहेका छन् । नागरिकताजस्तो संवेदनशील विषय फास्ट ट्रयाक बाट पारित गर्न नहुने कतिपय सांसदहरुको धारणा रहेको छ ।