कोभिड-१९ को समयमा लिइएको सहुलियतलाई कटौती
काठमाडौं । बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाह हुने कर्जाको ब्याजदरलाई क्षेत्रगत रुपमा वर्गिकरण गरिने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यव्सथा गरेको बताए । उनले कर्जाको वृद्धिभन्दा कर्जालाई उत्पादनशील क्षेत्रमा प्रवाह गराउनेतर्फ मौद्रिक नीतिको प्राथमिकता रहने बताए । गभर्नर अधिकारीले कोभिड-१९ को समयमा लिइएको सहुलियतलाई कटौती गरेको बताए । उनले कृषि र कोभिड महामारीबाट अति प्रभावित क्षेत्रमा मात्र उपलब्ध गराउने गरी पुनर्कर्जा सुविधालाई पुनरावलोकन गरिने बताए । कर्जाको अधिकरण कम गरी उत्पादनशील क्षेत्र र व्यापारीक क्षेत्रमा प्रवाह हुने ब्याजदरमा अन्तर कायम गर्ने भएको छ ।
लघुवित्तहरु पुस मसान्तभित्र मर्ज हुनै पर्ने, वाणिज्य बैंकलाई ६ महिना थप
काठमाडौं । वाणिज्य बैंक वा लघुवित्तहरुको मर्जको लागि राष्ट्र बैंकले पुस मसान्तसम्म समय दिएको छ । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन् । २०७९ पुस मसान्तपछि मर्ज हुनेहरुलाई राष्ट्र बैंकले दिदै आएको सुविधा रोक्ने उनले बताए । यसअघि उनले वाणिज्य बैंकका सीईओहरुलाई गत असार मसान्तभित्र मर्जमा नजानेलाई सुविधा रोक्ने बताएका थिए । ‘वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा आफ्नै वर्गभित्र गाभिई वा प्राप्तिमा गई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा मात्र यस बैंकबाट प्रदान हुँदै आएको मर्जर तथा प्राप्तिसम्बन्धी छुट तथा सुविधा उपलब्ध हुने व्यवस्था मिलाइनेछ’ गभर्नर अधिकारीले भने । उनले विकास बैंक र फाइनान्स कम्पनीहरुको बारेमा केही बताएनन् । विकास बैंक र फाइनान्स कम्पनीहरुको संख्या राष्ट्र बैंकले चाहेको सीमा भित्र आएका तर वाणिज्य बैंक र लघुवित्तको संख्या अधिक रहेको राष्ट्र बैंकका अधिकारीहरुले बताउँदै आएका थिए ।
कर्जा केन्द्रीकरणलाई निरुत्साहन गरिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जामा भइरहेको केन्द्रीकरणलाई नियन्त्रण गर्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सो कुराको जानकारी दिएका हुन् । केन्द्रीय बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आज आयोजित पत्रकार सम्मेलनमार्फत मौद्रिक नीति सार्वजनिक गरिएको हो । कोरोनाकालमा दिइएको पुनरकर्जाको सुविधालाई केन्द्रीय बैंकले हटाएको छ । पुनरकर्जाको सुविधामा आवश्यक पुनरकर्जाको प्रबन्धमा केही संशोधन गरिएको उहाँले जानकारी दिए । रुस र युक्रेन युद्धका कारण परेको वैदेशिक चापका कारण आन्तरिक रुपमा समेत समस्या परेको अवस्थामा सात महिनासम्मको वस्तु तथा सेवा आयात धान्ने गरी वैदेशिक मुद्राको सञ्चिति कायम राख्ने नीति केन्द्रीय बैंकले लिएको छ । सरकारले चालु आवको बजेटमा आठ प्रतिशत बराबरको आर्थिक वृद्धि र मूल्यवृद्धिको सीमा सात प्रतिशतमा कायम राख्ने लक्ष्य राखेको सन्दर्भमा मौद्रिक नीतिले त्यसलाई ध्यान दिएको छ । उत्पादनमूलक क्षेत्रमा जाने कर्जालाई सहजीकरण गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको छ । शेयर कर्जाको अधिकतम सीमा १२ करोड बराबरको ऋण लिन पाउने व्यवस्था गरिएको छ । मौद्रिक नीति सार्वजनिक कार्यक्रम जारी छ ।
काउण्टर साइक्लिकल क्यापिटल बफर कार्यान्वयनमा ल्याउने
काठमाडौं । कोरोना महामारीका कारण आर्थिक वर्ष २०७६/७७ बाट स्थगन गरिएको काउण्टर साइक्लिकल क्यापिटल बफरको व्यवस्थालाई २०८० साउनदेखि कार्यान्वयनमा ल्याइने भएको छ । शुक्रबार चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् । साथै गभर्नर अधिकारीले कोरोना महामारीको बेला अर्थतन्त्रमा परेको प्रभावलाई लक्षित गर्दै गरिएको सहुलियतमा पुनरावलोकन गर्ने भएको छ । उनले भने, ‘कोरोना महामारीको समयमा आर्थिक पुर्नत्थानलाई गति प्रदान गर्न अबलम्बन गरिएका कर्जा पुर्नसंरचना एवम् पुर्नतालिकीकरण, ब्याज पूँजीकरण, लाभांश वितरण लगायतका नियामकिय ब्यवस्थामा आवश्यक पुनरावलोकन गर्नेछ ।’ गभर्नर अधिकारीले मौद्रिक नीति बढ्दो चालु खाता एवम् सोधानान्तर घाटाका कारण बाह्य क्षेत्रमा परेको दवावलाई केन्द्रमा राखिएको बताए ।
सेयरधितो कर्जामा ४ कराेडकाे नीति खारेज, अब १२ करोडको मात्रै सीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९÷०८० को मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितोमा ४ करोडको सीमा नीति खारेज गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एकल कर्जा सीमा खारेज गरेर १२ करोडको सीमा तोकेका हुन् । ‘सेयरधितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरुबाट लिनसक्ने गरी अधिकतम सीमा रु.१२ करोड कायम गरिने व्यवस्था राष्ट्र बैंकले गरेको छ’ गभर्नर अधिकारीले भने । शेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाइनेछ । तर शेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार रु.२५ लाखसम्मको कर्जाको हकमा १०० प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था यथावत राखिएको गभर्नर अधिकारीले बताए ।
आर्थिक वृद्धि औसत भन्दा बढी हुने -गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष ०७९/८० मा औसत भन्दा बढी आर्थिक वृद्धि हुने बताएका छन् । आज चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारीले सो कुरा बताएका हुन् । विदेशमा रोजगारीको शिलशिलामा जानेको संख्या वृद्धि भएको, पर्यटकको आगमनमा सुधार आउन थालेको चालु आवमा नै ७ सय मेघावाट भन्दा धेरै विद्युत थप उत्पादन भै राष्ट्रिय प्रसारण लाईनमा जोडिने, स्थानीय चुनाव सम्पन्न भएको र प्रदेश तथा संघको निर्वाचन हुने तयारी रहेकोले मुद्रा प्रवाहमा वृद्धि हुन जाने हँुदा आन्तरिक माग बलियो हुने गभर्नर अधिकारीले जनाएका छन् । सरकारले अगाडि बढाएको आर्थिक वर्ष ०७९/८० मा गरिएको नीतिगत व्यवस्थाले उद्योगहरुको क्षमतामा समेत वृद्धि हुने आधारले आर्थिक वृद्धि औसतभन्दा उच्च रहने गभर्नर अधिकारीले बताए । रासायनिक मलको अभाव, बाह्य क्षेत्रमा रहेको दवाब तथा संकुचन र मूल्यवृद्धि जस्ता कुराहरुले भने आर्थिक वृद्धिलाई चुनौती दिने गभर्नर अधिकारीको भनाई छ ।
बैंकहरुको नगद मौज्दात अनुपात बढ्यो, भदौदेखि लागू हुने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात अनुपात वृद्धि गर्दै ४ प्रतिशत पुर्याएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०७९र८० को मौद्रिक नीति सार्वजनिक गर्दै सो बताएका हुन् । गभर्नर अधिकारीले हालको उक्त अनुपातलाई १ प्रतिशतले वृद्धि गरी ४ प्रतिशत पुर्याएको बताएका हुन् । जुन भदौदेखि नै लागू हुने छ ।
बढ्यो काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीको भाडादर
फाइल फाेटाे काठमाडौं । काठमाडौं उपत्यकाभित्र सञ्चालित सार्वजनिक सवारीको भाडादरमा बृद्धि भएको छ । बागमति प्रदेश सरकारले बिहीबारदेखि लागु हुनेगरी काठमाडौंमा चल्ने सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि गरेको हो । प्रदेश सरकारले भाडादर बढाएसँगै अब सार्वजनिक गाडी चढ्नासाथ (५ किलोमिटरको दूरीसम्म) २० रुपैयाँ लाग्नेछ । यस्तै, ५ किलोमिटरदेखि १० किलोमिटरसम्म २७ रुपैयाँ, १५ किलोमिटरसम्म ३२ रुपैयाँ, २० किलोमिटरसम्म ३५ रुपैयाँ र २० किलोमिटरदेखि माथि ४० रुपैयाँ भाडा लाग्नेछ । यसअघि चढ्नेवित्तीकै ५ किलोमिटरसम्मको भाडादर २० रुपैयाँ नै रहेको थियो । १० किलोमिटरसम्म २५, १५ किलोमिटरसम्म ३०, २० किलोमिटरसम्म ३३ र २० किलोमिटरभन्दा माथि ३८ रुपैयाँ थियो ।