विकासन्युज

नेपाल एसबिआई बैंकले महिला उद्यमी तथा साना किसानलाई सुलभ दरमा कर्जा दिने

काठमाडाैं । नेपाल एसबिआई बैंक र हेफर इन्टरनेशनल नेपालबीच महिला उद्यमी तथा साना किसानहरुलाई सुलभ वित्तिय कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । उक्त सम्झाैता पत्रमा हेफर इन्टरनेशनल एसियाका राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतो र बैंककाे तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत मोहम्मद रिजवान आलमले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकले कृषि तथा पशुपालन सम्बन्धि क्षेत्रहरु जस्तै बाख्रापालन, गाईपालन तथा तरकारीको मूल्य शृंखलामा संलग्न महिला उद्यमी तथा साना किसानहरुलाई सहज ढङ्गले वित्तिय कर्जा उपलब्ध गराउने छ । यस साझेदारीको मुख्य उद्देश्य, युवा तथा महिला उद्यमी र साना किसानहरूको ब्यबसाय विकाश र विस्तार मा केन्द्रित गर्ने रहेको बैंकले जनाएको छ । उक्त योजनामा हेफर नेपालका तर्फबाट कृषि सहकारी र स्थानिय सरकार पनि आवद्ध रहेका छन् । कृषि सहकारी वा स्थानिय सरकारले उद्यमीहरूको पहिचान र सिफारिस गरी बैंकसँग जोड्न सहज बनाउनेछन् । ५१ जिल्लामा रहेका शाखा कार्यालय रहेको एसबिआई बैंकले यस सम्झौताबाट १५ सय उद्यमीहरूलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्ने विश्वास लिइएको हफेर इन्टरनेशनलले जनाएको छ ।

सेयर बजारको लागि मौद्रिक नीति : साना लगानीकर्तालाई बढी फाइदा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले सेयर बजारलाई राहात मिलेको छ । बैंकका गर्भनर महाप्रसाद अधिकारीले सार्वजनिक गरेका १३३ बुँदे मौद्रिक नीतिमध्ये विशेष गरी ३ वटा बुँदाले सेयर बजारलाई केही राहात मिल्ने जानकारहरू बताउँछन् । बजारका जानकार अनुसार बुँदा नम्बर ९८, ९९ र १०० ले सेयर बजारको लागि सकारात्मक रहेका छन् । जसमध्ये बुँदा नम्बर ९८ मा भनिएको छ ‘बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्नेसम्बन्धी यस बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेज गरी धितोपत्र बोर्डको नियमनबमोजिम हुने व्यवस्था मिलाइनेछ ।’ राष्ट्र बैंकले गरेको यो व्यवस्थाले मर्जर तथा एक्विजिशनको नाममा वर्षौंदेखि सम्बन्धित लगानीकर्ताको सम्पत्ति बन्धक हुने समस्या हट्ने सम्भावना बढी छ । यद्पि, सो व्यवस्था नेपाल धितोपत्र बोर्डमार्फत गरिने भनिएको छ । त्यसैगरी, एउटै व्यक्ति, परिवार तथा कम्पनीले सेयर कर्जा एउटा बैंकबाट बढीमा ४ करोड र सबै बैंकबाट बढीमा १२ करोड लिन पाउने व्यवस्थालाई नयाँ मौद्रिक नीतिले ४ करोडको सीमालाई हटाएर अब एउटा बैंक तथा वित्तीय संस्थाबाट १२ करोडसम्मको ऋण लिन पाउने व्यवस्था गरेको हो । उक्त व्यवस्था बुँदा नम्बर ९९ उल्लेख छ । ‘सेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरुबाट लिनसक्ने गरी अधिकतम सीमा रु.१२ करोड कायम गरिनेछ । सेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाइने ’ बुँदा नम्बर ९९ले भनेको छ । ‘सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाख रुपैयाँसम्मको कर्जाको हकमा १०० प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था यथावत राखिएको छ ।’ यसअघि उक्त सीमा १५० प्रतिशत थियो । भिडियो हेर्न यसमा क्लिक गर्नुहोस् सेयर लगानीकर्ता दवाव समूहका अध्यक्ष हरि ढकाल यो वर्षको मौद्रिक नीतिले साना लगानीकर्ता तथा ऋणीलाई सहज हुने बताउँछन् । ‘गत मौद्रिक नीतिले कसेको सेयर बजारलाई यो वर्ष त्यस्तो भएन, कर्जाको जोखिम भार, धितो कर्जामा हटेको ४ करोडको सीमाले विशेष त साना लगानीकर्ता तथा साना ऋणीलाई सहज बनाएको छ र मर्जरमा गएका कम्पनीको कारोबार रोक्का हुने प्रावधान खारेज गरेको छ, अब पुसको समीक्षा कस्तो आउँछ, अहिलेलाई बजारलाई थोरै भएपनि राहात हुने खालको छ,’ उनले भने । नेपाल इन्भेष्टर्स फोरममा पूर्वअध्यक्ष छोटेलाल रौनियारले यो वर्षको मौद्रिक नीति लगानीकर्ताले खोजेको जस्तो नभएपनि समग्रमा ठिकै रहेको बताएका छन् । ‘मौद्रिक नीतिले बजारलाई राहात भयो,’ उनले भने ‘सेयरधितो कर्जामा ४ करोडको सीमा हटाइयो, साना लगानीकर्ताले लिने कर्जाको जोखिम भार २५ लाखसम्मको १०० प्रतिशतले गरेर त्योभन्दा बढी १५० प्रतिशत राखिएको छ र मर्जर तथा एक्विजिसनमा कारोबार नरोकिने नीति पनि राम्रो हो ।’ नयाँ मौद्रिक नीतिको बारेमा टीप्पणी गर्दै ब्रोकर्स एशोसिएशनका पूर्वअध्यक्ष नरेन्द्र सिजापति सामाजिक सञ्जालमा लेख्छन्, ‘आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले नीतिगत रुपमा सेयर बजारको साँढेको घाँटी र खुट्टामा बाधिएको दाम्लोमध्ये खुट्टाको दाम्लो खोलिएको छ, धन्यवाद !’

घरजग्गा कारोबारीलाई राष्ट्र बैंकको झड्का, मूल्यको ३० प्रतिशत मात्र कर्जा

काठमाडौं । घर जग्गा कारोबारीलाई नयाँ मौद्रिक नीतिले झड्का दिएको छ । अब बैंक तथा वित्तीय संस्थाले काठमाडौं उपत्याकामा धितो मूल्यको ३० प्रतिशत मात्र कर्जा दिन पाउने व्यवस्था गरिएको छ । ‘बैंक तथा वित्तीय संस्थाले घर÷जग्गा धितो राखी निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालु बीचको अनुपात काठमाण्डौ उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरिनेछ’ मौद्रिक नीतिमा भनिएको छ । यसअघि काठमाडौं उपत्यकामा मूल्यको ४० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाइन्थ्यो । त्यस्तै, राजधानी बाहिर फेयर मूल्यको ५० प्रतिशतसम्म कर्जा लगानी गर्न पाइन्थ्यो । दुबै क्षेत्रमा प्रवाह हुने कर्जा फेयर मूल्यमा १० प्रतिशत सीमा घटाइएको छ । यसले घरजग्गामा जाने कर्जा घट्ने नेपाल वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले बताए । नेपाल राष्ट्र बैंकले घर जग्गा धितोमा धेरै कर्जा जाँदा घरजग्गा कारोबारी मौलाएको तर यसले अर्थतन्त्रमा भ्यालु एड नगरेको बताउँदै आएको छ ।

रेमिट्यान्स पठाउनेलाई राष्ट्र बैंकले विभिन्न सेवा तथा सुविधा दिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स पठाउनेलाई विभिन्न सेवा तथा सुविधा दिने बताएकाे छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेका सो कुरा बताएका हुन् । अधिकारीले विप्रेषण औपचारिक माध्यमबाट स्वदेश भित्र्याएको प्रमाणका आधारमा विभिन्न सेवा तथा सुविधा उपलब्ध हुने व्यवस्था गर्न नेपाल सरकारका सम्बन्धित निकायहरुसँग समन्वय गर्ने जनाए । नेपालीहरुले विदेशी मुद्रा सटही सुविधा प्राप्त गर्न अनिवार्य रुपमा बैंक खाता हुनुपर्ने बताएको छ । यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले बाह्य मुलुकबाट विदेशी मुद्रामा ऋण परिचालन गर्ने कार्यलाई समेत सहजीकरण गर्ने जनाएकाे छ । राष्ट्र बैंकले जारी गरेकाे माैद्रिक नीति अनुसार मुद्रामा ऋण परिचालन सहजीकरण गर्नको लागि विदेशी विनिमय जोखिम व्यवस्थापन गर्ने प्रयोजनका लागि डेरिभेटिभ्स सम्बन्धी विद्यमान नीतिगत व्यवस्थामा पुनरावलोकन गरिने छ । विदेशी लगानी आप्रवाहलाई थप स्वचालित अटोमेटिक रुट गर्न, विदेशी लगानीको समर्थन, शाखा कार्यालयको नाफा रिप्याट्रिएसन तथा अन्य देशमा हुने रिप्याट्रिएसन लगायतका विषयमा सहजीकरण गर्न विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा आवश्यक संशोधन गर्ने राष्ट्र बैंकले जनाएकाे छ । साथै, नेपाल भित्रिने विप्रेषण आप्रवाहको दायरा फराकिलो पार्न नेपाली नागरिक, विदेशी नागरिक र विदेशस्थित संघ/संस्था आदि समेतबाट नेपाली नागरिक र संघ/संस्था समेतले विप्रेषण रकम प्राप्त गर्न सहज हुनेगरी विप्रेषणसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएकाे छ ।

सिन्धु विकास बैंकको मर्जरमा जाने बाटो खुल्यो, संचालकमा ३ जना निर्विरोध निर्वाचित 

काठमाडौं । सिन्धु विकास बैंककाे मर्जरमा जाने बाटाे खुलेकाे छ । बैंककाे बाह्रौं बार्षिक साधारण सभाले मर्जर तथा एक्विजिसनमा जाने सम्बन्धी प्रस्तावहरु पारित गरेसँगैं बैंककाे मर्जरमा जाने बाटाे खुलेकाे हाे । सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंकले शुक्रबार धुलिखेलमा एक कार्यक्रम गरी साधरणसभा सम्पन्न गरेकाे थियाे । सभाले सर्वसाधारण समुहको तर्फबाट आगामी ४ वर्षका लागी संचालकहरुमा संजिव प्रधान, समिर कक्षपति र वसन्त कुमार कटुवाललाई निर्विरोध निर्वाचित गरेकाे छ । यसका साथै सभाले आ.ब. ०७७/०७८ को वार्षिक प्रतिवेदन पनि पारित गरेकाे छ । सभामा बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले आगामी दिनहरुमा वाग्मती प्रदेश कै अग्रणी विकास बैंकको रुपमा सिन्धु विकास बैंकलाई लैजानका लागि गर्नु पर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्दै बैंकको लक्ष्य प्राप्तिका लागि आवश्यक रणनीतिहरु लिईने बताएका  थिए । बैंकले हाल सिन्धुपाल्चोक, काभ्रे, दोलखा, चितवन र मकवानपुर जिल्लामा समेत गरी कुल २५ शाखा र १ सिमिति बैकिङ्ग ईकाई गरी कुल २६ स्थानहरुबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।

राष्ट्र बैंकले सहकारीको पनि नियमन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी संस्थाहरुको पनि नियमन गर्ने भएको छ । राष्ट्र बैंकको सुपरिवेक्षकीय दायरा बाहिर रहेर वित्तीय कारोबार गर्ने बचत तथा ऋण सहकारी र गैर–सरकारी संस्थाहरुको पनि राष्ट्र बैंकले नियमन गर्ने भएको हो । ‘आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा व्यवस्था भएबमोजिम राष्ट्र बैंकको सुपरिवेक्षकीय दायरा बाहिर रही वित्तीय कारोबार गर्ने बचत तथा ऋण सहकारी र गैर–सरकारी संस्थाहरुको प्रभावकारी नियमन, निरीक्षण तथा सुपरिवेक्षणका लागि दोस्रो तहको नियामक निकाय स्थापना गर्नेछ,’ राष्ट्र बैंकको मौद्रिक नीतिमा उल्लेख गरिएको छ । साथै राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाहरुको नियमन, निरीक्षण तथा सुपरिवेक्षण व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक सहयोग गर्ने भएको छ ।

मौद्रिक नीतिप्रति नाडा निराश, अध्यक्ष भन्छन् : माग सम्बोधन गरिएन

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमा अटोमोबाइल्स क्षेत्रलाई सम्बोधन नै नगरिएको जनाएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा अटोमोबाइल्स क्षेत्रको कुनै पनि माग सम्बोधन नभएको नाडाका अध्यक्ष धुब्रवहादुर थापाले बताए । उनले अटोमोबाइल्स क्षेत्र हाल उच्च जोखिममा रहेको भन्दै अटोमोबाइल्स क्षेत्रलाई मौद्रिक नीतिले नछोएको बताए । ‘अटोमोबाइल्स क्षेत्र अहिले धेरै जोखिममा छ, विदेशी मुद्रा सञ्चितीलाई देखाउँदै अहिले आयातमा प्रतिबन्ध लगाइएको छ, हाम्रो माग मौद्रिक नीतिमाथि आयातमा लगाईएको प्रतिबन्ध र एलसीमा गरिएको कडाईलाई सम्बोधन हुन्छ कि भन्ने थियो, तर मौद्रिक नीतिमा हाम्रो मागलाई सम्बोधन नै भएन, अहिले जति जोखिम छ, त्यसलाई थप जोखिम हुने देखिएन’, उनले भने ।

सेयर धितो कर्जामा जोखिम भार १५० प्रतिशत यथावत

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार १५० प्रतिशतसम्म राख्नुपर्ने ब्यवस्थालाई यथावत राखिएको छ । शुक्रबार सार्वजनिक गरिएको चालु आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीतिमा २५ लाख रुपैयाँ भन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने ब्यवस्था यथावत राखिएको हो । ‘सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाख रुपैयाँसम्मको कर्जाको हकमा १ सय प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था यथावत राखिएको छ,’ राष्ट्र बैंकको मौद्रिक नीतिमा उल्लेख छ । कुनै बैंकसँग भएको स्वपुँजीले कतिसम्म ब्यवसाय गर्नसक्ने भनेर राष्ट्र बैंकले जोखिम वर्गीकरण गरेको हुन्छ । जसलाई जोखिम भार भनिन्छ । कुन बैंकको जोखिम भारित सम्पत्ति कति छ भनेर मापन प्रणली नै जोखिम भार हो ।