विकासन्युज

फूलबुट्टा भरेर आएको मौद्रिक नीति प्रभावकारी छैन : लगानीकर्ता पोखरेल

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिलाई नेपाल पूँजी बजार लगानीकर्ता सङ्घकी अध्यक्ष राधा पोखरेलले कोमाको अवस्थामा रहेको बजारमा मौद्रिक नीति सिटामोल मात्रै भएको आरोप लगाएकी छिन् । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिलाई अध्यक्ष पोखरेलले यस्तो बताएकी हुन् ।  उनले ४/१२ को सेयर धितो कर्जा सीमालाई ४ हटाएर १२ यथावत राख्दा कसरी राम्रो भयो ? भनेर प्रश्न समेत गरेकी छिन् । ‘सेयर धितो कर्जाको सीमामा १२ करोड मात्र अचम्म, ४ करोडका दरले ३ बैंक धाउनु पर्नेमा झन्झट हटेर गए पनि अर्बाैको सेयर हुनेले के १२ करोडमै थान्को लाग्नु पर्ने हो र ?’ उनले भनिन्, ‘आफ्नो सम्पत्ति राखेर पनि पैसा लिन नपाइने ? ढिलो छिटो यो खारेज हुनै पर्छ । हाम्रो सम्पत्तिमा राष्ट्र बैंकले अंकुश लगाउन पाउँदैन ।’ उनले २५ लाखको ऋणमा जोखिम भार १०० प्रतिशतसम्म ठिक भएको तर साना लगानीकर्तालाई प्रोत्साहन गर्न खोजेको मान्नुपर्ने बताइन् ।  उनले मर्जर तथा एक्विजिसनमा जाँदा कारोबार नरोकिने भन्ने विषयलाई आफूहरूले उठाएको र सेयर लगानीकर्ताको लागी राम्रो भएको ठोकुवा गरेकी छिन् ।  मौद्रिक नीतिमा बैंकदर ७ प्रतिशतबाट १.५ प्रतिशत बढाएर ८.५ प्रतिशत पत्याउनु गलत भएको उनले बताइन् । उक्त व्यवस्थाले बैंकको मार्जिन कर्जाको ब्याज घट्न मद्दत नगर्ने दाबी गरिन् ।  सीडी रेसियो हटाएर सीसीडी कायम हुनुपर्नेमा त्यो नभएमा उनले आपत्ति जनाइन् । तर सीडी रेसियोमा २०८० असारसम्ममा ऋणपत्रलाई निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था गर्दा तरलताको चापलाई केही हदसम्म सहयोग गर्ने उनको बुझाई छ ।  समग्रमा मौद्रिक नीति फूलबुट्टा भरेर आएपनि खासै प्रभावकारी नभएको अध्यक्ष पोखरेलले बताइन् । सेयर बजारको लागि राष्ट्र बैंकको कसुवा नीति ज्यादिबिधि खुकुलो पनि आएको मान्न नसकिने उनको तर्क छ । तथापि राष्ट्र बैंकको नीति बजारलाई नियन्त्रण गरेर आफूले चाहेको बाटोमा हिँडाउन खोजेको प्रष्ट देखिएको बताइन् । 

मौद्रिक नीति २०७९ : बाह्य चापलाई सम्बोधन गर्ने प्रयास

काठमाडौं । अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले कडा प्रावधानसहितको मौद्रिक नीति सार्वजनिक गरेको छ । कर्जा विस्तारलाई नियन्त्रण गर्ने लक्ष्यसमेत नीतिले लिएको छ । अनुत्पादक क्षेत्रमा कर्जाको विस्तार भएकाले त्यसलाई रोक्ने कडा प्रावधान नीतिले लिएको छ । कर्जाको विस्तारले मात्रै आर्थिक वृद्धि हुन नसकेको ठहर गर्दै केन्द्रीय बैंकले चालु आवमा १२.६ प्रतिशत मात्रै कर्जाको वृद्धिदरलाई सीमित गर्ने लक्ष्य राखेको छ । सरकारले चालु आवको बजेटमा आठ प्रतिशत बराबरको आर्थिक वृद्धि हुने लक्ष्य राखेको छ । यस्तै, मूल्यवृद्धिलाई सात प्रतिशतको सीमामा राख्ने लक्ष्य राखेको छ । सरकारको यही नीतिलाई सम्बोधन गर्ने गरी केन्द्रीय बैंकले मौद्रिक नीतिमा व्यवस्था गरेको छ । मूल्यस्थिरता र बाह्य क्षेत्रको दबावलाई नीतिमार्फत कम गर्न खोजिएको छ । विशेष गरी रुस र युक्रेनबीचको सङ्घर्षको बाछिटा अर्थतन्त्रमा परेको सन्दर्भमा बाह्य क्षेत्रको दबाव अर्थतन्त्रमा पर्न नदिन नीतिमार्फत आयात निरुत्साहन गर्न खोजिएको छ । विशेषगरी निर्यातमूलक उद्योगलाई प्राथमिकतामा राखिएको छ । ती क्षेत्रमा प्रवाह हुने कर्जाको हकमा भने केन्द्रीय बैंकले सरल र लचिलो नीति अङ्गीकार गरेको छ । त्यस्तै, सरकारले बजेटमा व्यवस्था गरे जस्तै कृषि क्षेत्रको विकास र उन्नयनका लागि मौद्रिक नीतिले सहज व्यवस्था गरेको छ । सिआरआर, एसएलआर, मौद्रिक नीति कडा गरिएको छ । विदेशी मुद्राको सञ्चिती बढाउने लक्ष्य राखिएको छ । विदेशी मुद्राको सञ्चितीले सात महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने गरी आवश्यक प्रबन्ध गरिएको छ । ब्याजदरमा फरक गर्ने प्रयास गरिएको छ । कृषि, खाद्यान्न, निर्यातमूलक उद्योगमा सहुलियत दिइएको छ । तरलता व्यवस्थापनलाई पनि चरणवद्धरुपमा सम्बोधन गर्न खोजिएको छ । केन्द्रीय बैंकले सजगपूर्ण कसिलो व्यवस्था मौद्रिक नीतिमा गरिएको स्पष्ट पारेको छ । यस्तै पुनकरकर्जाको व्यवस्थामा केही परिवर्तन गरिएको छ । त्यस्तै डिबेञ्चरलाई सिडीमा गणना गर्न सकिने व्यवस्था गरिएको छ । आयाततर्फ कम कर्जा जाओस् भन्ने नै केन्द्रीय बैंकको लक्ष्य रहेको स्पष्ट पारेको छ । मौद्रिक नीतिको विद्यमान रणनीतिक संरचना र भारतीय रुपैयाँसँगको स्थिर विनिमयदरलाई मौद्रिक नीतिको अङ्कुशको रुपमा यथावत राखिएको छ । ब्याजदरलाई मौद्रिक नीतिको प्रसारमाध्यमको रुपमा सुदृढ गर्दै सञ्चानल लक्ष्यको रुपमा कार्यान्वयनमा रहेको बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तर बैंक ब्याजदरलाई निरन्तरता दिइएको छ । विदेशी विनिमय सञ्चितिले वस्तु तथा सेवाको आयात धान्ने क्षमता र मुद्रास्फीतिलाई नीतिगत दर निर्धारण गर्ने प्रमुख आधारको रुपमा लिइएको छ । वार्षिक लक्षित मुद्रास्फीतिभन्दा कम नहुने गरी नीतिगत दर निर्धारण गर्ने, सञ्चानल लक्ष्यको स्थितिको आधारमा खुला बजार कारोबार सञ्चानल गरी तरलता व्यवस्थापन गर्ने, भारित औसत अन्तरबैंक ब्याजदरलाई सञ्चानल लक्ष्यको रुपमा लिई ब्याजदर करिडोरमार्फत मौद्रिक व्यवस्थापन गर्ने रणनीति कार्यान्वयन हुँदै आएको सन्दर्भमा मुद्राप्रदाय तथा कर्जा विस्तारलाई मौद्रिक नीतिको कार्यदिशाको स्थिति मापन गर्ने सूचकको रुपमा प्रयोग गरिने भएको छ । कर्जाको आकार कुल गार्हस्थ्य उत्पादन सरह नै पुगिसकेको सन्दर्भमा कर्जा तथा विस्तृत मुद्राप्रदायको वृद्धिदरलाई कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा)को वृद्धिदरकै हाराहारीमा कायम राख्न सहयोग पुग्ने गरी ब्याजदर करिडोर तय गरिने छ ।

यामाहा नेपालले ४ जनालाई मोटो जिपी हेर्न थाइल्याण्ड लैजाने

काठमाडौं । नेपालका लागि यामाहा बाइकको आधिकारिक वितरक यामाहा नेपालले थाइल्याण्डमा हुन गइरहेको मोटो जिपी हेर्न चार जनालाई लैजाने भएको छ । कम्पनीले असार ९ गतेबाट सुरु गरेको ‘रोड टू मोटोजिपी’ नामक स्कीमअन्तर्गत यामाहाको आधिकारिक शोरूममा आई फारम भर्नेहरूमध्ये बाट लक्की ड्रमार्फत १ जना र बाइक र स्कुटर खरिदकर्ताहरूमध्ये ३ जना विजेता छनोट गरी थाइल्याण्ड लैजान लागेको हो । ‘रोड टू मोटोजिपी’ यामाहा नेपालले बाइकप्रेमीहरूलाई मोटोजिपी प्रत्यक्ष हेर्दाको दूर्लभ अनुभव प्रदान गर्ने उद्देश्यका साथ मोटोजिपीसँग समन्वय गरी ल्याइएको स्कीम रहेको कम्पनीले जनाएको छ । कम्पनीले चारजना विजेताहरूका लागि सो अवधिभरको लजिङ र फुडिङको व्यवस्था पनि बेहोर्ने जनाएको छ । स्कीममा सहभागी हुन मानिसहरूले साउन मसान्तसम्ममा कम्पनीको आधिकारिक शोरूममा आई फारम भरिसक्नु पर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको अनुसार लक्की ड्र मार्फत् विजेताहरू छनोट गरिने कार्यक्रम भदाैमा राखिएको छ । यस वर्षको मोटोजिपी थाइल्याण्डको चाङ अन्तराष्ट्रिय सर्किटमा भाद्र १४ देखि १७ सम्म हुँदैछ ।

मौद्रिक नीतिको सार र यसले पार्ने प्रभाव- बैंकर्स डा. बुद्धि मल्लको टिप्पणी

डा. बुद्धि मल्ल काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गरेको छ । बैंकहरुमा लामो समयदेखि लगानीयोग्य रकमको अभाव भईरहेको र बिदेशी मुद्रा सञ्चितिमा कमि भईरहेको, शेयर बजार पनि घटिरहेको अवस्थामा कसिलो मौद्रिक नीति ल्याउने अपेक्षा बीच आएको मौद्रिक नीतिले मूल्य र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै, उत्पादनशील क्षेत्रमा प्रवाह गराई आर्थिक बृद्धिमा सहयोग पुर्याउनु मौद्रिक नीतिको कार्यदिशा राखेको छ । निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर १२.६ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । ७ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति कायम राख्दै ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुर्याउने लक्ष्य राखिएको छ । शेयर कर्जा एउटा वा समग्र संस्थाबाट १२ करोड कर्जा पाईने व्यवस्था गरिएको छ । कोरोनाको कारणले स्थिगित गरिएको काउन्ट साईक्लिकल बफर २ प्रतिशत २०८० असार मसान्तसम्म कार्यान्वयनमा लैजाने भनिएको छ । कर्जा बृद्धि भन्दा पनि उत्पादनशिल कर्जा बृद्धि गर्न जोड दिईनेछ । कोभिडको कारणले दिईएका सहज नियमाकिय ब्यवस्थालाई कटौति गर्दै बिवेकशिल नियमाकिय ब्यवस्था लागु गर्ने भनिएको छ । कृषि, उत्पादाशिल क्षेत्र, निर्यात तथा कोभिडबाट अति प्रभावित क्षेत्रलाई पुनरकर्जा उपलब्ध गराईने भनिएको छ । निश्चित उत्पादनशिल क्षेत्र र अन्य ब्यापारिक कर्जाको ब्याजदर अन्तर कायम गरिनेछ । साना, घरेलु, लघु तथा मध्यम उद्यमहरुको लागि कर्जा पहुँच बढाउने भनिएको छ । डिजिटाइजेसन मार्फत वित्तीय साक्षरता, वित्तीय पहुँच र वित्तीय समावेशितामा जोड दिइएको छ । ब्याजदर करिडोर अन्तर्गतको दरलाई १.५ प्रतिशत बिन्दुले वृद्धि गरी बैंकदर ८.५ प्रतिशत गरिएको छ । बैंक तथा बित्तिय संस्थाहरुलाई तोकेको ऋणपत्रको धितोमा अधिकतम ५ दिनसम्म अवधिको स्थायी तरलता सुविधा बैंक दरमा उपलव्ध गराइने भनिएको छ । अनिवार्य नगद अनुपातलाई २०७९ भदौ १ गतेदेखि लागू हुने गरी १ प्रतिशत बिन्दुले वृद्धि गरी ४ प्रतिशत पु¥याएको छ । वैधानिक तरलता अनुपातलाई वृद्धि गरी २०७९ पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले १२ प्रतिशत, विकास बैंक र वित्त कम्पनीरुले १० प्रतिशत पुर्याउनु पर्ने व्यवस्था गरिएको छ । बाणिज्य बैंकहरु र लघुबित्तहरु २०७९ पौष मसान्तभित्र एकिकृत कारोवार गरेमा मात्र मर्जर सम्बन्धि पाउने छुटहरु पाउने र शेयर कारोवार पनि रोक्का नहुने ब्यवस्था गर्ने भनिएको छ । ऋणपत्रहरुलाई २०८० असार मसान्तसम्म कर्जा निक्षेप अनुपातमा गणना गर्न पाईने बनाइएको छ । ५ करोडसम्म कर्जा उपयोग गरेका उद्यम व्यवसायहरुले २०७९ असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज २०७९ असोज मसान्तसम्म भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाउने व्यवस्था गरिएको छ । २ करोडसम्मको बिभिन्न उत्पादनशिल क्षेत्र कर्जामा २ प्रतिशतसम्म मात्र प्रिमियम लिन पाउने, प्रयोजन नखुलेका ब्यक्तिगत कर्जामा कडाई, काठमाण्डौ भित्र मुल्याङकनको ३० प्रतिशत र बाहिर ४० प्रतिशतसम्म मात्रै लगानी गर्न पाईने, सहकारीहरुको नियमनको लागि सहजिकरण र प्रभावकारी सुपरिवेक्षणको लागि सहयोगी भूमिका खेल्ने भनिएको छ । विप्रेषण भित्र्याउन सहज ब्यवस्था मिलाउने र विपन्न वर्ग कर्जा अन्तर्गत थोक कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशत बिन्दुसम्म मात्र प्रिमियम थप गर्न पाउने भनिएको छ । मौद्रिक नीतिले पार्नसक्ने प्रभाव कर्जाको बृद्धिदर १२.६ प्रतिशतको मात्रै प्रक्षेपण गरिएकोले ८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य हांसिल गर्न चुनौति देखिन्छ ।. अनिवार्य नगद अनुपातमा १ प्रतिशतले बृद्धि गरेकोले बैंक तथा बित्तिय संस्थाहरुले थप ५० अर्ब भन्दा बढि रकम जम्मा गर्नुपर्ने भएकोले बैंक तथा बित्तिय संस्थाहरुको आम्दानी घट्नेछ । मर्जरको सुविधा पाउने समय पौष मसान्तसम्म कारोवार गरेमा पाउने ब्यवस्था गरेकोले थप केहि बैंक र लघुबित्तहरु मर्जरमा जाने सम्भावना, मर्जरमा जाने कम्पनीहरुको शेयर कारोवार रोक्का नहुने ब्यवस्थाले शेयर धनीहरुलाई राहत मिल्नेछ । ऋणपत्रलाई कर्जा निक्षप अनुपातमा २०८० असारसम्म गणना गर्नपाउने ब्यवस्थाले बैंक तथा बित्तिय संस्थाहरुलाई केहि समयको लागि राहत तर, त्यसपछि गणना गर्न नपाउने भएकोले बैंक तथा बित्तिय संस्थाहरुले अहिलेको अनुपात हेरेर ढुक्कसंग लगानी गर्ने अवस्था नरहेको देखिन्छ । उत्पादनशिल क्षेत्र कर्जा र अन्य ब्यापारिक कर्जाको ब्याजदरमा अन्तर गर्ने ब्यवस्थाले उत्पादनशिल क्षेत्र कर्जालाई प्रोत्साहन मिल्ने तर, यस्ता बिभिन्न क्षेत्रहरुको कर्जाको ब्याजमा २ करोडसम्म आधार दरमा २ प्रतिशतसम्म मात्रै प्रिमियम लिन पाउने ब्यवस्थाले बैंकको मुनाफामा नकरात्मक असर पर्नेछ । ब्याजदर कोरिडोरमा १.५ प्रतिशतको बृद्धिले ब्याज बढ्न गई कर्जाको निष्क्रिय कर्जा समेत बढ्न सक्नेछ । विप्रेषण भित्र्याउन सहजिकरण भएमा विप्रेषण बढेर बिदेशी मुद्रा सञ्चितिमा सहयोग पुग्नेछ । ब्यक्तिगत कर्जा कडाईले साना ब्यक्तिगत कर्जा लिने ग्राहकहरु सहकारी र ब्यक्तिगत लगानीकर्ताहरुसंग कर्जा लिने बातावरण बन्नेछ । सहकारीहरुको नियमन र सुपरिवेक्षले वित्तिय सुशासन र स्थायित्वमा सकरात्मक भूमिका खेल्ने । समग्रमा मौद्रिक नीतिले अहिलेको अवस्थामा १२.६ प्रतिशत मात्रै कर्जा बिस्तार गर्ने र त्यो पनि उत्पादनशिल क्षेत्रलाई नै प्राथमिकता दिएको सकरात्मक मान्नुपर्छ । मूल्यबृद्धि नियन्त्रण गर्न ब्यादर बृद्धि गरिएको भएतापनि समग्रमा ब्याजदरले अर्थतन्त्र र बैंकको निष्क्रिय कर्जालाई नकरात्मक असर पार्र्न सक्छ । कर्जाको बृद्धि दरमा कमि, थप अनिवार्य नगद अनुपात, बैंकहरुको कर्जाको ब्याजदर निर्धारण ब्यवस्था आदिको कारणले बैंकको मुनाफामा असर पार्ने भएकोले यस बर्ष बैंक तथा बित्तिय संस्थाहरु संख्यात्मक भन्दा पनि गुणात्मकमा ध्यान दिनुपर्ने देखिन्छ । अन्तमा, मौद्रिक नीतिले आफ्नो लक्ष्य प्राप्त गरोस् र यसमा सबैले सहयोग गरौं, शुभकामना ।

मौद्रिक नीतिमा लघुवित्तलाई यस्ता छन् व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लघुवित्त वित्तीय संस्थाका विभिन्न मागहरु सम्बोधन गरेको लघुवित्तका जानकारहरु बताउँछन् । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले लघुवित्तलाई ऋणपत्र निष्काशन गर्न, दुर्गम तथा पिछडिएको क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्न प्रोत्साहन गर्ने, २ प्रतिशत बिन्दुसम्म मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने लगायतका व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई विभिन्न व्यवस्था गरको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य बमोजिम लघुवित्त वित्तीय संस्थालाई सामाजिक बैंकिङ्ग अवधारणाअनुरुप दुर्गम तथा पिछडिएको क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्न प्रोत्साहन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाले लघुवित्त वित्तीय संस्थालाई विपन्न वर्ग कर्जा अन्तर्गत थोक कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशत बिन्दुसम्म मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । साथै लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो पुँजीकोष बराबरको ऋणपत्र जारी गरी स्रोत परिचालन गर्न सक्ने, आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य बमोजिम नेपाल सरकारको समेत लगानी रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको पुनरसंरचना भएपश्चात पुँजी संरचना र संस्थागत क्षमता अभिवृद्धिका लागि सहजीकरण गर्ने राष्ट्र बैंकको मौद्रिक नीतिमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यबमोजिम कृषि कर्जामा सहज पहुँच पुर्याउने उद्देश्यले स्थापना हुने लघुवित्त कोषको कानूनी, संस्थागत र कार्य संचालन ढाँचाअनुसार कार्यान्वयनमा सहजीकरण गरिनेछ ।

निफ्राको अगुवाईमा लुम्बिनीमा अस्पताल बन्ने, दुई अर्ब ५४ करोडको कर्जा स्वीकृत

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अगुवाइ तथा नबिल बैंकको सहभागितामा लुम्बिनी प्रदेशको सिद्धार्थनगरमा १०० शय्याको ‘एडभान्स इन्टरनेशनल मल्टी स्पेसियालिटी अस्पताल’ निर्माण हुने भएको छ । सो अस्पताल निर्माण तथा सञ्चालनका लागि दुई अर्ब ५४ करोड बराबरको कर्जा स्वीकृत गरिएको छ । सो अस्पताल निर्माण गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंकले एक अर्ब ५४ करोड तथा नबिल बैंक लिमिटेड एक अर्ब लगानी गर्ने भएको छ । बिहीबार त्यससम्बन्धी सम्झौता भएको भए पनि बैंकले आज एक विज्ञप्तिमार्फत जानकारी दिएको हो । सम्झौतामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, नायब महाप्रबन्धक सूर्यबहादुर तामाङ, नायब महाप्रबन्धक विनयनाथ न्यौपाने र नबिल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेलगायतको उपस्थिति थियो । कार्यक्रममा अस्पतालका अध्यक्ष कमल भण्डारीले परियोजनामा लगानीको लागि सहवित्तीयकरण सम्झौता सम्पन्न हुँदा आफू उत्साहित भएको र परियोजना निर्माण कार्य समयमै सम्पन्न गरी व्यावसायिक सञ्चालन सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त अस्पतालले लुम्बिनी प्रदेशको स्वास्थ्य सेवामा विशिष्टिकृत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

उद्योगी व्यवसायी भन्छन् : ब्याजदर बढ्नाले लागत बढ्ने भयो, अर्थतन्त्रका लागि राम्रो

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिमा उद्योगी तथा व्यवसायीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । उनीहरूले मौद्रिक नीति उद्योगको लागि राम्रो भएको तर ब्याजदरमा हुने वृद्धिले भने लागत वृद्धि हुने उनीहरुको प्रतिक्रिया रहेको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मौद्रिक नीतिले सरकारले चालु आवको लागि बजेटमा निर्धारित गरेको लक्ष्य प्राप्ति गर्न सहयोग नपुर्याउने बताए । मौद्रिक नीतिमार्फत् उत्पादन र वाणिज्य क्षेत्रको लागि लिइएको ब्याजको स्ल्यापले सो अवस्था सिर्जना गर्ने अध्यक्ष मल्लले बताएका हुन् । उनले चालु आवको लागि ल्याइएको मौद्रिक नीतिले सरकारले बजेटमार्फत् भनेको ७ प्रतिशत मुद्रास्फिति कायम गर्न र ८ प्रतिशत आर्थिक वृद्धि कायम गर्न समेत सहयोग नपुर्याउने उनकाे भनाइ छ । मौद्रिक नीति कसिलो रुपमा आएको र यसले बजारमा थप महँगी सिर्जना गर्ने अध्यक्ष मल्लको भनाइ छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले मौद्रिक नीति उद्योगहरुको निम्ति केही राम्रो भएको प्रतिक्रिया दिए ।  तर, अग्रवालले मौद्रिक नीतिले मनीको सप्लाईमा धेरै नै नियन्त्रण गर्ने र ब्याजदर बढाउने कारणले मूल्यवृद्धि हुने अवस्था सिर्जना गर्ने बताए । त्यस्तै, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले ब्याजदर बढाउने गरी मौद्रिक नीति आएकोमा दुःख लागेको बताए । आफुहरुले ब्याजदर बढेर आउने अपेक्षा नगरेको तर मौद्रिक नीतिले ब्याज बढाएकोमा त्यसले उद्योगीहरुलाई समस्यामा पार्ने उनको भनाइ छ । उपाध्यक्ष श्रेष्ठका अनुसार बैंकको ब्याजदर वृद्धि हुने अवस्था सिर्जना गर्दा उद्योग तथा व्यवसाय गर्नेहरुको लागत बढ्छ ।

नेपाल एसबिआई बैंकले महिला उद्यमी तथा साना किसानलाई सुलभ दरमा कर्जा दिने

काठमाडाैं । नेपाल एसबिआई बैंक र हेफर इन्टरनेशनल नेपालबीच महिला उद्यमी तथा साना किसानहरुलाई सुलभ वित्तिय कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । उक्त सम्झाैता पत्रमा हेफर इन्टरनेशनल एसियाका राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतो र बैंककाे तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत मोहम्मद रिजवान आलमले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकले कृषि तथा पशुपालन सम्बन्धि क्षेत्रहरु जस्तै बाख्रापालन, गाईपालन तथा तरकारीको मूल्य शृंखलामा संलग्न महिला उद्यमी तथा साना किसानहरुलाई सहज ढङ्गले वित्तिय कर्जा उपलब्ध गराउने छ । यस साझेदारीको मुख्य उद्देश्य, युवा तथा महिला उद्यमी र साना किसानहरूको ब्यबसाय विकाश र विस्तार मा केन्द्रित गर्ने रहेको बैंकले जनाएको छ । उक्त योजनामा हेफर नेपालका तर्फबाट कृषि सहकारी र स्थानिय सरकार पनि आवद्ध रहेका छन् । कृषि सहकारी वा स्थानिय सरकारले उद्यमीहरूको पहिचान र सिफारिस गरी बैंकसँग जोड्न सहज बनाउनेछन् । ५१ जिल्लामा रहेका शाखा कार्यालय रहेको एसबिआई बैंकले यस सम्झौताबाट १५ सय उद्यमीहरूलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्ने विश्वास लिइएको हफेर इन्टरनेशनलले जनाएको छ ।