विकासन्युज

तातोपानीबाट लक्ष्यको दोब्बर बढी राजस्व सङ्कलन

सिन्धुपाल्चोक । चीनसँगको उत्तरी नाका तातोपानी भन्सारबाट गत आर्थिक वर्षमा तीन अर्ब ४२ करोड राजस्व सङ्कलन भएको छ । यो लक्ष्यभन्दा दोब्बरभन्दा बढी हो । कोरोना महामारी, बाढीपहिरो तथा चीनबाट सामग्री आयातमा कमीलगायत विविध समस्याका बाबजुत गत आर्थिक वर्षको असारसम्म दोब्बरभन्दा बढी राजस्व सङ्कलन भएकोे तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नाराद गौतमले जानकारी दिए । उनका अनुसार लक्ष्य एक अर्ब ४६ करोड रहेकामा तीन अर्ब ४२ करोड अर्थात् २३३ प्रतिशत राजस्व उठेको हो । सामान आयात, मापदण्डको पालना र व्यवसायीलाई दिइएको प्रशिक्षण लगायतका कारणले सोचेकोभन्दा राम्रो सङ्कलन भएको प्रमुख भन्सार अधिकृत गौतमको भनाइ छ । त्यस्तै भन्सारले अवलम्बन गरेको शीघ्र जाँचपासका प्रणाली तथा सेवा प्रवाहमा चुस्त दुरुस्त भएका कारण पनि उपलब्धिको पाटो राम्रो रहेको प्रमुख भन्सार अधिकृत गौतमको तर्क छ । सङ्कलितमध्ये मासिक औसत ३० करोड रहेको छ । अघिल्लो आर्थिक वर्षको लक्ष्य चार अर्ब ५० करोड रहेकामा एक अर्व दुई करोड उठेको थियो । आगामी वर्ष भने लक्ष्य चार अर्ब ६२ करोड रुपैयाँ रहेको उहाँले जानकारी दिए । उनका अनुसार चीनबाट आयात हुने सामग्री बोकेका कन्टेनरहरू आउने क्रम निकै कम छ । मेशिनरी, रोलकपडा तथा स्याउलगायत वस्तु आयात हुने उक्त नाकाबाट दैनिक कहिले चार र कहिले आठसम्म कन्टेनर आउने गरेका छन् । प्रमुख भन्सार अधिकृत गौतमका अनुसार अरूको अनुपातमा रोल कपडा बढी आउने गरेको छ । त्यसपछि स्याउ तथा मेशिनरी उपकरणहरू आयात भएको छ । चाडपर्वका ल्याउने सामग्री बढी आउँदा र नाका अलि सहज भएको खण्डमा लक्ष्यमा पुग्न सक्ने सम्भावना रहेको समेत उनले बताए । सडकको कारणले लोड गरिएका कन्टेनर भ्यानहरू नआएकोभन्दा पनि चीनबाटै आयतमा कमी भएको उनको भनाई छ । भूकम्पअघि यस नाकाबाट दैनिक डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो ।

प्रजातान्त्रिक लडाईंमा शहीद भएकालाई काँग्रेसले सम्मान दिन सकेन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएर छोड्ने घोषणा गरेका छन् । शनिवार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन । उनले अहिले पनि देशको परिवर्तनकारी र बलियो शक्ति पुष्पलालले नै स्थापना गरेको पार्टी नेकपा एमाले रहेको दाबी गरे । पार्टी अध्यक्षको हैसियतमा आफू पुष्पलाल र अन्य अग्रजहरुले देखाएको बाटोबाट विचलित नहुने समेत उनले प्रण गरे । अध्यक्ष ओलीले देशको सबैभन्दा सचेत, संगठित, सबल, विस्तृत, परिवर्तनकारी शक्ति नेकपा एमाले नै रहेकोले पार्टीलाई अझै सशक्त बनाएर लैजनेमा जोड दिए । अध्यक्ष ओलीले नेपाली काँग्रेसले प्रजातान्त्रिक लडाईंमा शहीद भएकाहरुलाई उचित सम्मान दिन नसकेको आरोप लगाउँदै भीमदत्त पन्त दगायतका शहीदलाई कहिल्यै आफ्नो शहीद नमानेको भन्दै उनले काँग्रेसलाई भीमदत्त पन्तको नाम लिँदा पनि सिरिङ्ग हुने आरोप लगाए । अध्यक्ष ओलीले नेपाली काँग्रेसको तर्फबाट आन्दोलन गर्दा यज्ञबहादुर थापा, भीमनारायणहरु फाँसीको सजाय सुनाइएपनि काँग्रेसले एउटा विज्ञप्ती समेत निकाल्न नसकेको उनले आरोप लगाए । उनले सत्ता स्वार्थ र राजनीतिक स्वार्थका लागि काँग्रेसले आफ्नै अग्रजहरुको सम्मान गर्न नसकेको समेत आरोप लगाए । अध्यक्ष ओलीले गिरिजाप्रसाद कोईराला कम्युनिष्ट नेता मनमोहन अधिकारीबाट प्रेरित भएर कम्युनिष्ट कार्यकर्ताको रुपमा राजनीतिमा लाग्नुभएको दाबी गरे । ४४ औं स्मृति दिवसको अवसरमा अध्यक्ष ओलीले संस्थापक नेता श्रेष्ठको प्रतिमामा माल्यार्पण र पुष्पगुच्छा अर्पणसमेत गरेका थिए ।

गोरखा अस्पताललाई हव अस्पतालका रुपमा सञ्चालन गर्ने तयारी

गोेरखा । गोरखा जिल्लाको एक मात्र सरकारी अस्पताल गोरखा अस्पताललाई हव अस्पतालका रुपमा विकास गरिने भएको छ । भूकम्पपछि पुनःनिर्माण गरिएको सुविधा सम्पन्न उक्त अस्पतालमा बहु विशेषज्ञ सेवाको सुनिश्चितता र निरन्तरता दिने गरी तयारी थालिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले जानकारी दिए । “गोरखा अस्पताललाई हव अस्पतालका रुपमा विकास गर्नका लागि अस्पताल व्यवस्थापन समिति र निक साइमन्स इन्स्टिच्युटबीच सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ”, उनले भने, “हव अस्पताल भन्नाले अस्पतालबाट प्रदान गरिने बहु विषेशज्ञ सेवाको सुनिश्चितता र निरन्तरतालाई जनाउँछ ।” अबदेखि विशेषज्ञ चिकित्सकलगायत अन्य जनशक्ति, उपकरण र तालिमको व्यवस्था गरी चिकित्सकीय सेवा र सुविधा प्रदान गरिने अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । त्यस्तै अस्पतालमा त्यस्ता जनशक्तिका लागि आवासको सुविधासमेत मिलाइने उनको भनाइ थियो । “सम्झौताअनुसार यस अस्पताललाई सेकेन्डरी ‘ए’ स्तरको सेवा प्रदान गर्नु तथा सम्पूर्ण सेवाको निरन्तरता र गुणस्तरीय प्रवाह गर्नु पनि हो”, सूचना अधिकारी ढकालले भने, “सम्झौता भएसँगै अब यसै महिनादेखि सबै सेवा प्रारम्भ हुन्छ ।” सुविधासम्पन्न भवन निर्माण भएसँगै यस अस्पतालबाट पछिल्लो समय ठूला शल्यक्रिया, प्रयोगशालामा कल्चर सेवाका साथै स्वास्थ्य बीमा, समाजिक सेवा इकाइ तथा फिजियोथेरापी सेवा पनि सञ्चालन हुँदै आएको उनको भनाई छ । अब छिट्टै थाइराइटको हर्मोन जाँच, डायलासिस, एचडियु, आइसियुलगायत सेवा सञ्चालनका लागि अन्तिम तयारीमा रहेको सूचना अधिकारी ढकालले बताए ।

कोषले जम्मा गरिदियो श्रमिकको १६ प्रतिशत रकम

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले कोभिड प्रभावित योगदानकर्ता तथा रोजगारदाताको तर्फबाट जम्मा गर्नुपर्ने बाँकी रकम जम्मा गरिदिएको छ । २०७८ को बैशाख तथा जेठ महिनाको योगदान रकममध्ये यसअघि नै कोषले ८४ प्रतिशत रकम जम्मा गरिसकेको थियो । बाँकी रहेको १६ प्रतिशत रकम शुक्रबार जम्मा गरेको हो । सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध भएका योगदानकर्ता र रोजगारदातालाई दिनुपर्ने रकम १४ महिनापछि जम्मा गरिदिएको हो । तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा नै व्यवस्था गरेर गत आर्थिक वर्षको बजेटमा (२०७८/०७९) लकडाउन अवधिभरको (जेठ र असार) लागि योगदानकर्ता र रोजगारदाताले कोषमा बुझाउनु पर्ने रकम सरकारले भुक्तानी गर्ने घोषणा गरेका थिए । उनको घोषणा अनुसार कोषले अर्थ मन्त्रालयसँग १ लाख ७५ हजार योगदानकर्ताका लागि १ अर्ब ४८ करोड रुपैयाँ बजेट माग गरेको थियो । कोषले मागे अनुसारको रकम अर्थ मन्त्रालयले किस्तामा उपलब्ध गराएपछि श्रमिकले १४ महिनापछि राहत रकम पाएका हुन । यस्तै, कोषले वृद्धावस्था सुरक्षा योजनामा योगदान गर्ने योगदानकर्ताहरुको आर्थिक वर्ष २०७७/०७८ को योगदान रकममा यसअघि घोषणा गरिएको ६.७५ प्रतिशत व्याजका अतिरिक्त १ प्रतिशत थप गरेर ७.७५ प्रतिशत व्याज थप गरिएको कोषले जनाएको छ ।

वर्षाका कारण मेलम्ची र हेलम्बुका विभिन्न स्थानका सडकमा क्षति

फाइल फाेटाे सिन्धुपाल्चोक । लगातारको वर्षाका कारण मेलम्ची र हेलम्बु आसपासका क्षेत्रमा क्षति हुन थालेको छ । गए रातिको बाढीले मेलम्ची–हेलम्बु तथा मेलम्ची–पाँचपोखरी सडक अवरुद्ध भएको छ । गत साल आएको बाढीले उच्च जोखिममा पारेको नदी तटीय क्षेत्रमा यस वर्ष क्षति हुन थालेको छ । मेलम्ची हेलम्बु सडक दिनहुँ अवरुद्ध हुँदै आएको छ भने ग्रामीण भेगका कमजोर भूभागमा पहिरो जाँदा बस्ती जोखिममा परेका छन् । हेलम्बु गाउँपालिकाको सडक दिउँसो खुलाइए पनि रातिको पानीका कारण दिनहुँजसो बन्द हुँदा समस्या हुन थालेको छ । त्यस्तै हेलम्बुको मेलम्ची भ्याली क्याम्पस ग्याल्थुम उच्च जोखिममा छ । अहिले क्याम्पस नजिकैबाट खोला बगिरहेको छ । जुनसुकै बेला क्याम्पसमा क्षति हुनसक्ने स्थानीयले बताएका छन् । अहिले किउलदेखि मेलम्चीसम्मका नदी किनार आसपासका नागरिक ढुक्कले सत्न पाएका छैनन् । “बाढीले सडकलाई दैनिक क्षति गरिरहेको छ, हामी मर्मत गरिरहेका छौँ, केही समयमात्र यातायात सेवा अवरुद्ध भएको छ, हामी तत्काल बाटो खुलाउन र जोखिममा रहेका संरचना बचाउनका निम्ति लागि परेका छौँ”, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भने। मेलम्ची नगरपालिकाको राम्चेमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सडक खुलाउन मेसिन पठाइसकिएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिए ।

नारायणगढ मुग्लिन सडक अवरुद्ध

काठमाडौं । पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा आज बिहान ८ः१० बजेको समयमा माथिबाट पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको हो । अहिले पहिरो पञ्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए ।

राणाकालीन भवन : टिठलाग्दा भग्नावशेष (फोटोफिचर)

त्रिचन्द्र कलेज । काठमाडौं । वि.सं. २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गयो । भूकम्पले ठूलो जनधनको क्षति ग¥यो । ऐतिहासिक, पुरातात्विक सम्पदाहरु ध्वस्त भए । नौ हजार भन्दा बढी मानिसको ज्यान लिएको उक्त भूकम्पपछि नेपालका सामु पुनर्निर्माण गर्नुपर्ने अवस्था आइलाग्यो । रातारात घरबारबिहीन बनेका कतिपय मानिसको त घर बन्यो तर कतिपय अझै घरबारबिहीन छन् । भूकम्पले भत्काएका कतिपय सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण भयो भने अझै कतिपय सम्पदाहरु जिर्ण छन् । राजनीतिक खिचातानिकाबीच कतिपय ठाउँमा एकीकृत बस्ती बने भने कतिपय परिवारले अझै पालमुनि जीवन व्यतित गरिरहेका छन् । डिल्लीबजारस्थित जेलको भवन । सांस्कृतिक सम्पदाको हविगत पनि त्यो भन्दा फरक छैन । भूकम्प गएको ७ वर्ष पूरा भइसकेको छ । यो बीचमा केही स्थानमा राम्रैसँग सांस्कृतिक सम्पदा ठडिएका छन् भने कतिपय स्थानमा अझै पुनर्निर्माणको काम नै अघि बढ्न सकेको छैन । यतिबेलासम्म रानीपोखरी निर्माण सम्पन्न भइसकेको छ भने धरहरा पुनर्निर्माणको अन्तिम चरणमा छ । तर कतिपय राजधानीमा नै रहेका राणाकालीन ऐतिहासिक पुरातात्विक भवनहरु अझै जिर्ण छन् । कतिपय भवन अभावमा कार्यालयहरु यसै जोखिमपूर्ण भवनमै सञ्चालनमा छन् । २००७ सालअघि राणापरिवारको अधिनमा रहेका यी भवन पछिल्ला समय सरकारी कामकाजका अड्डाका रुपमा प्रयोगमा थिए । वागदरवारको भत्केको भवन र कागजपत्र । केही भवन पुनर्निर्माण र रेक्ट्रोफिटिङ गरिएपनि धेरै भवन लथालिङ्ग अवस्थामा छोडिएको छ । यी भवन बनाउँदा बज्र प्रयोग गरिएको थियो । जंगबहादुर बेलायत भ्रमण गरेर फर्कंदा सुर्की (इटाको धुलो, चुन) प्रयोग गरेर सिमेन्टको विकल्पको रुपमा प्रयोग गरिएको थियो । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालले भूकम्पपछि पुनर्निर्माण हुन नसक्दा र राज्यले आवश्यक चासो नदेखाउँदा भग्नावशेष बनेका राणाकालीन भवन समेट्ने प्रयास गरेको छ । पुल्चोक क्याम्पसपरिसरमा रहेको भग्नावशेष । पुल्चोकस्थित स्थानीय विकाश मन्त्रालयको पुरानो भवन । सिंहदरवार दक्षिण ढोकाअगाडि रहेको फैसला कार्यान्वयनको भवन । काठमाडौं महानगरको वागदरवार । पुल्चोकस्थित स्थानीय विकास मन्त्रालयको पुरानो भवन भुकम्पले चर्केपछि ।

सनराइज बैंकको नाफा ४८.६९ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा घटेपनि ईपीएस २१.२६ रुपैयाँ पुग्यो

काठमाडौं । सनराइज बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ४८.६९ प्रतिशत बढेर २ अर्ब १५ करोड ९ लाख ८१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४४ करोड ६५ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २९.९७ प्रतिशत बढेर ४ अर्ब ५९ करोड २ लाख १ हजार रुपैयाा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ५२ करोड ४० लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत असार मसान्तसम्ममा बैंकको सञ्चालन मुनाफा १९.९० प्रतिशत बढेर २ अर्ब ७३ करोड ९ लाख ८१ हजार रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी ३.४१ प्रतिशत घटेर ९३ करोड २३ लाख ३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २१.५६ प्रतिशत बढेर ५ अर्ब ९८ करोड ७७ लाख ३९ हजार रुपैयाँ र वितरण योग्य नाफा ५७.४३ प्रतिशत घटेर २५ करोड ६१ लाख १६ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ६.६५ प्रतिशत बढेर १० अर्ब ११ करोड ८८ लाख ९२ हजार रुपैयाँ, जगेडा कोष २५.०८ प्रतिशत बढेर ६ अर्ब ६० करोड ६४ लाख ४९ हजार रुपैयाँ, निक्षेप २३.६५ प्रतिशत बढेर १ खर्ब ३१ अर्ब ६० करोड ६२ लाख ५६ हजार रुपैयाँ र कर्जा १९.५६ प्रतिशत बढेर १ खर्ब २० अर्ब १४ करोड ९२ लाख ८९ हजार रुपैयाँ पुगेको छ । ग्त आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ १ पैसा बढेर २१ रुपैयाँ २६ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १५.२५ रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात ९.७४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ २९ पैसा रहेको छ ।