विकासन्युज

५०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । आइतबार सुनको मूल्य तोलाको ५ सय रुपैयाँले बढेको छ । हिजो तोलाको ९४ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य बढेर ९४ हजार ५०० रुपैयाँ कायम भएको हो । यस्तै, तेजाबी सुनको मूल्य पनि बढेर तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ । हिजो तेजाबी सुन तोलाको ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । नेपाली सुनचाँदी व्यवसायी महांसघको अनुसार चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार १५५ रुपैयाँ कायम भएको छ ।

मौद्रिक नीतिको प्रभाव सेयर बजारमा, १० मिनेटमा दोहोरो अंकले बढ्यो

काठमाडौं । सेयर बजार खुलेको १० मिनेटमा दोहोरो अंकले बढेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दोस्रो दिन नै सेयर बजार बढेको हो । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) खुलेको १० मिनेटमा नेप्से परिसूचक १२.२९ अंकले बढेको हो । समाचार तयार पार्दासम्म झण्डै साढे २२ करोड रुपैयाँ बराबरको कारोबार भएकोछ । १६८ कम्पनीको ५ लाख ३९ हजार कित्ता सेयर ३ हजार ३०६ पटक किनबेच हुँदा २२ करोड ४१ लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । म्युचुअल फण्डबाहेक सबै उपसमूहमा हरियाली छाएको छ । राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेको थियो । मौद्रिक नीति सेयर बजार अनुकुल आएपछि सेयर बजार बढेको हो ।

भक्तपुरमा एक करोड लगानीमा खुल्यो जैविक झोला बनाउने कम्पनी, बाल्दा खरानीमा परिणत हुने

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका ९ नंखेलस्थित बायो ब्यागस नेपाल प्रालिले जैविक झोलाको उत्पादन सुरु गरेको छ । दीपेश वेजूले करिब एक करोड लगानीमा उक्त उद्योग सञ्चालनमा ल्याएको हुन् । मकैको स्टार्चबाट जैविक झोला बन्ने प्रविधि भित्र्याएका उद्योगी वेजूले जैविक झोलालाई बायो व्यागस नाम दिएको बताए । कम्पनीले पोखरामा उत्पादन बिक्री वितरण गर्न डिलरसमेत सञ्चालनमा ल्याइसकेको र एकदर्जन स्थानीय युवाहरुलाई रोजगारीसमेत दिएका उनले जानकारी दिए । ‘अन्य सहरमा समेत डिलर खोल्ने तयारी तीव्र रुपमा भइरहेको छ । प्लास्टिक झोलाको विकल्पको रुपमा जैविक झोला उत्पादन गर्ने बायो ब्यागस नेपाल प्रा लि नेपालमा पहिलो उद्योग हो’, सञ्चालक वेजूले भने । ‘मकैको स्टार्चबाट बन्ने जैविक झोला प्रयोगपछि कम्पोष्ट मल बनाउन सकिन्छ । बान्दा पनि खरानी बन्छ, खरानी पनि मल नै हो,’ उनले थपे । उनले उद्योगबाट दैनिक जीवनमा प्रयोग हुने झोलासँगै औद्योगिक, सुपरमार्केट, होटल तथा रेस्टुराँ, किराना पसलमा प्रयोग हुने कभर, पाउच र रोल झोलाको उत्पादन धमाधम भइरहेको बताए । ‘दैनिक जीवनमा प्रयोग हुने प्लास्टिकका झोलाजस्तै १ केजी, २ केजी, ५ केजी र १० केजी क्षमताका जैविक झोला उत्पादन भइरहेको बताए । मागअनुसार जुनसुकै तौल र साइजका झोला उत्पादन गर्छौ,’ सञ्चालक वेजूले भने ।

साउन १८ गतेदेखि अभियान लघुवित्तले आईपीओ बिक्री खुला गर्ने

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गते, बुधबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँको ९ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ । लघुवित्तको आईपीओमा छिटोमा साउन २२ गते र ढिलोमा भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ । लघुवित्तको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लघुवित्तको आईपीओमा लगानीकर्ताले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओलाई इक्रा नेपालले इक्राएनपि इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

पाँचपोखरीमा यस वर्ष जनैपूर्णिमामा मेला लाग्ने

सिन्धुपाल्चोक । प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यस वर्ष जनैपूर्णिमाका अवसरमा एक हप्तासम्म मेला लाग्ने भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङमा रहेको पाँचपोखरीमा कोरोना महामारीका कारण अघिल्लो दुई वर्ष मेला लागेको थिएन । यसपालि भने जनैपूर्णिमा मेला लाग्ने पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए । यस वर्षको जनैपूर्णिमा यही साउन २७ गते परेको छ । समुद्री सतहबाट करिब चार हजार १०० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना–ठूलो गरी पाँचवटा ताल रहेका छन् । संसारकै उच्च स्थानमा रहेको पोखरीमध्ये नवौँ स्थानमा पर्ने पाँचपोखरी सिन्धुपाल्चोकको नै एक उत्कृष्ट गन्तव्य हो । इन्द्रावतीको उद्गमस्थल पाँचपोखरीमा साना–ठूला धार्मिक र पर्यटकीय महत्वका पोखरी रहेका छन् । पाँचपोखरीमा एकादशीदेखि जनैपूर्णिमाको दिनसम्म विशेष मेला लाग्ने गर्दछ । मेलामा सिन्धुपाल्चोक र आसपासका जिल्लासहित काठमाडौं उपत्यकाबाट समेत ठूलो सङ्ख्यामा दर्शनार्थी पुग्ने गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय गन्तव्यमो पाँचपोखरीलाई पनि छनोट गरेको छ । पाँचपोखरी मन्दिरमा ताजा मकै, काँक्रो, दूध लिएर भक्तजन चढाउन जान्छन् । विशेषगरी यहाँ जाने भक्तजन खेतीपातीमा उन्नतिको आशीर्वाद माग्ने गर्छन् । पाँचपोखरीमा रहेको भगवान् शिवको मन्दिरमा आई पूजा गरेमा सुख, शान्ति र महिलाले शिवसरह श्रीमान् पाउने र विवाहपश्चात् सन्तान नहुनेको मनोकामना पूरा हुने धार्मिक विश्वास छ । अहिले पाँचपोखरीसम्म पुग्ने बाटो निर्माण, सूचनापाटी राख्ने तथा ताल संरक्षणको काम गरिएको पाँचपोखरी थाङ्पाल गाँउपालिका–३ भोताङका अध्यक्ष ङिमाछिरिङ तामाङले जानकारी दिनुभयो । भोताङपछि विभिन्न स्थानमा होमस्टे रहेकाले खान, बस्न समस्या नहुने उहाँले बताउनुभयो । पर्यटन प्रवद्र्धनका लागि अन्य कार्यक्रम पनि सञ्चालन गरिने तामाङले बताउनुभयो । पाँचपोखरी आसपासका स्थानमा आमायाङरी, ड्रयागन गुफा, हवेली दरबार, च्योच्योडाँडा, नागीडाँडा, ज्योवाथान डाँडालगायत जुगल हिमाल, दोर्जे लाक्पा हिमालसमेत रहेका छन् । त्यसैगरी पाँचपोखरी थाङपाल गाउँपालिका–४ थाङ्पालकोटको रैथाने महादेव मन्दिर तथा पोखरीमा सरसफाइ गरिएको छ । स्थानीयवासी, कर्मचारी, सुरक्षाकर्मीलगायतको सहभागितामा सरसफाइ गरिएको स्थानीय सुन्दर सापकोटाले जानकारी दिए । यहाँ पनि जनैपूर्णिमाका अवसरमा मेला लाग्ने गर्दछ । रासस

काभ्रेमा कोरोना सङ्क्रमण बढ्दै

काभ्रेपलाञ्चोक । यहाँ दैनिक कोरोना सङ्क्रमणदर बढिरहेको पाइएको छ । पछिल्लो २४ घण्टामा १०३ जनामा गरिएको परीक्षणमा २० मा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । अघिल्लो दिन १८ जनामा गरिएको परीक्षणमा पाँच सङ्क्रमित फेला परेको हो । कार्यालयका अनुसार जिल्लामा दुई सातादेखि दैनिक कोरोना सङ्क्रमण देखिएको छ । १३ स्थानीय तहमध्ये सात तहमा सङ्क्रमण देखिएको छ । यसमध्ये सबैभन्दा बढी सदरमुकाम धुलिखेल नगरपालिकामा १३ महिलासहित २६ मा सङ्क्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा आठ सङ्क्रमित निको भएको जनाइएको छ । पाँचखाल नगरपालिका र बेथानचोक गाउँपालिकाको एक–एक सङ्क्रमित आइसोलेशनमा उपचाररत रहेको कार्यालय प्रमुख डा पुरुषोत्तम सेडाईँले जानकारी दिए । उनका अनुसार पछिल्लो दिनमा सङ्क्रमणदर बढिरहेकाले परीक्षणको दायरा बढाइँदै लगिनेछ । यस्तै नमोबुद्ध नगरमा छ, बनेपा नगरमा चार र महाभारत गाउँपालिकामा एक सङ्क्रमित रहेका छन् । हाल जिल्लामा कूल ४२ मा सङ्क्रमण रहेको हो । करिब दुई वर्ष पाँच महिनाको अवधिमा जिल्लामा हालसम्म १७ हजार ६२९ मा सङ्क्रमण देखिएको छ । यसमध्ये १९५ सङ्क्रमितको मृत्यु भएको छ । रासस

मङ्गलबारसम्म वर्षाको सम्भावना

काठमाडौं । आगामी मङ्गलबारसम्म वर्षा हुने भएको छ । मनसुनी प्रणालीको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली रही अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमसवद् प्रतिभा मानन्धरले भनिन्, ‘यो क्रम आगामी मङ्गलबारसम्म कायम रहनेछ ।’ उनका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेता पनि मनसुनी वायुको प्रभावले अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षार्का सम्भावना रहेको छ । हाल लुम्बिनी, गण्डकी र प्रदेश नंका केही भू–भागमा सामान्यदेखि पूर्ण बदली रही मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने देशका अन्य भू–भागमा आङ्शिकदेखि सामान्य बदली रहेको छ । रातको समयमा देशभर आङ्शिकदेखि सामान्य बदली रही देशको केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावका साथै प्रदेश नं १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको बताइएको छ । सोमबार देशभर आङ्शिकदेखि सामान्य बदली रही देशको पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बाइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव आठ डिग्री र अधिकतम तापक्रम ३० दशमलव आठ डिग्री सेल्सियस रहेको छ । रासस

पोखराका ७५० युवालाई स्वरोजगार बनाउन १५ करोडको कोष, कृषिलाई प्राथमिकता

कास्की । पोखरा महानगरपालिकाका युवाहरूलाई लक्षित गरेर युवा तथा साना व्यवसायी स्वरोजगार कोष सञ्चालन गरिने भएको छ । सो कोषमार्फत पोखराका ७५० युवालाई स्वरोजगार बनाइने लक्ष्य राखिएको छ । महानगरपालिकाले चालु आर्थिक वर्षको बजेट कार्यक्रममार्फत सो कोषमा पाँच करोड विनियोजन गरेकामा युवा स्वरोजगार कोष र मुक्तिनाथ विकास बैंकको तर्फबाट समेत पाँच–पाँच करोडका दरले लगानी गरी १५ करोडको कोषमार्फत कार्यक्रम सञ्चालन गर्न लागिएको हो । सो कोष सञ्चालन गर्न त्रिपक्षीय सम्झौताका लागि सैद्धान्तिक सहमति जुटेको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए । युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल र महानगरका प्रमुख आचार्यबीच कोषमार्फत कार्यक्रम छिट्टै आगडि बढाउने सैद्धान्तिक सहमति भएको बताइन्छ । कोषमार्फत कृषि क्षेत्रमा लागेका युवा उद्यमीलाई प्राथमिकता दिइने र लगानी गरिने प्रमुख आचार्यले बताए । कृषि उद्यमको माध्यमबाट रोजगारीसमेत अभिवृद्धि हुने विश्वास लिइएको छ । महानगर प्रमुख आचार्यले भने, ‘हालै युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृतसँग बसेर कृषि उद्यमलक्षित गर्दै स्वरोजगार कोषमार्फत युवाहरूलाई प्रोत्साहन गर्ने सम्बन्धमा हाम्रो सहमति भएको छ । यसमा हामी तीनवटै पक्षले बराबर रकम जग्मा गर्ने छौँ र बैंकमार्फत नै यसलाई अगाडि बढाउने योजनामा छौँ । खासगरी कृषि क्षेत्रमा केही गर्न चाहने युवालाई लक्षित गरेर महानगरमा रोजगार अभिवृद्धि गर्ने पनि हाम्रो चाहना हो ।’ निर्देशक अधिकारीले अगामी चार वर्षसम्म यो कार्यक्रमलाई अगाडि बढाउने उद्देश्यका साथ आफूहरु अगाडि बढेको बताए । उनले भने, ‘यो कार्यक्रममार्फत न्यून वर्ग र बेरोजगार युवालार्ई समेट्ने योजना छ । कोष अगाडि बढाउनका लागि अब औपचारिक सम्झौता गर्ने तयारीमा छौँ ।’ उनका अनुसार यो कार्यक्रम सम्झौता भएर कार्यान्वयनमा जान कम्तीमा एक महिना लाग्ने छ । रासस