विकासन्युज

लुम्बिनी विकास बैंकको नाफा बढेसँगै ईपीएस २०.५७ रुपैयाँ पुग्यो, वितरणयोग्य नाफा कति ?

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ५५.६९ प्रतिशत बढेर ६७ करोड ५६ लाख ३२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४३ करोड ३९ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३०.१५ प्रतिशत बढेर १ अर्ब ५७ करोड ६० लाख ९० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब २१ करोड १० लाख ४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत असार मसान्तसम्ममा बैंकको सञ्चालन नाफा ६०.०२ प्रतिशत बढेर ९७ करोड २ लाख २८ हजार रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी १०.९८ प्रतिशत घटेर १५ करोड ३४ लाख ३३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १६.९२ प्रतिशत बढेर १ अर्ब ७८ करोड ५ लाख ८८ हजार रुपैयाँ र वितरण योग्य नाफा २९.२४ प्रतिशत बढेर ४७ करोड ९२ लाख २६ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १३ प्रतिशत बढेर ३ अर्ब २८ करोड ४२ लाख ९२ हजार रुपैयाँ, जगेडा कोष ६.१५ प्रतिशत बढेर २ अर्ब ५३ करोड ५० लाख ६६ हजार रुपैयाँ, निक्षेप १७.८८ प्रतिशत बढेर ४२ अर्ब ८७ करोड ३९ लाख ७७ हजार रुपैयाँ र कर्जा २८.३३ प्रतिशत बढेर ३८ अर्ब ८ करोड १० लाख ६८ हजार रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६४ पैसा बढेर २० रुपैयाँ ५७ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १४.९३ रुपैयाँ रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात १६.५८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ १९ पैसा रहेको छ ।

२०२३-२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गरिने

काठमाडौं । सरकारले सन् २०२३-२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ । आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस्तो घोषणा गरेको हो । यस्तै, मन्त्रालयले गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’समेत चलाउने भएको छ ।

स्वावलम्बन लघुवित्तको सीईओमा नरेन्द्र सिंह बिष्ट, सोमबारदेखि कार्यभार सम्हाल्ने

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नरेन्द्र सिंह बिष्ट नियुक्त भएका छन् । लघुवित्तको साउन ६ गते बसेको सञ्चालक समितिको बैठकले बिष्टलाई सीईओमा नियुक्त गरेको हो । बिष्टलाई साउन ९ गतेदेखि लागु हुने गरी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ बिष्टले सोमबारदेखि कार्यभार सम्हाल्ने छन् । फागुन १६ गते उदयराज खतिवडाले सीईओ पदबाट राजीनामा दिएका थिए । खतिवडाले राजीनामा दिएपछि कायम मुकायम सीईओको जिम्मेवारी गोविन्द चापागाईँले सम्हाल्दै आएका थिए । लघुवित्तले झण्डै ५ महिनापछि सीईओ पाएको हो । फागुनदेखि लघुवित्तमा सीईओ पद रिक्त रहेको थियो ।

८ अर्ब लगानीमा गोल्छा र शाैरभ ग्रुपले खोल्दै स्टील उद्योग, चार पुराना उद्योगले पनि थपे बजेट

काठमाडौं । सरकारले स्पञ्ज आइरन आयातमा भन्सार तथा अन्तःशुल्कमा छुट दिएसँगै स्पञ्ज आइरन उत्पादन गर्ने नयाँ उद्योग थपिएसँगै पुराना उद्योगहरुले क्षमता बढाउन थालेका छन् । सरकारले बजेटमा छुटको व्यवस्था गरेपछि नयाँ उद्योग थपिएसँगै पुराना उद्योगले क्षमता अभिवृद्धि गर्न थालेका हुन् । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थान विधेयकमार्फत् ल्याएको बजेटमा मुलुकभित्रै स्टिल-बिलेट उत्पादनलाई प्रोत्साहन गर्ने भन्दै कच्चा पदार्थ (स्पञ्ज आइरन) आयातमा भन्सार तथा अन्त:शुल्क छुटको व्यवस्था गरेका थिए । सो व्यवस्था कार्यन्वयनमा आएसँगै पुराना उद्योगले क्षमता बढाउने र नयाँ उद्योग थपिन थालेको हुन । बजेटमा नै छुट पाएपछि गोल्छा समूहले आधुनिक प्रविधिमार्फत् नेपालमा नै स्टील उत्पादन गर्नेगरी प्राइम स्टील उद्योग र सौरभ गुप्रले सर्वाेत्तम स्टील उद्योग स्थापना गरेका छन् । गोल्छा अर्गनाइजेशनबाट छुट्टिएको चन्द्रकुमार (सिके) गोल्छा समूहले पर्साको वीरगंज पोखरियामा स्टील उद्योग खोल्ने गरी प्राइम स्टील उद्योग दर्ता गरेको हो । साढे ५ अर्ब बढीको लगानीमा कम्पनीले गत असार ९ गते उक्त उद्योग उद्योग विभागमा दर्ता गराएको हो । उक्त कम्पनीले उद्योेगमा बुझाएको विवरण अनुसार उद्योगको चालु पुँजी ३ अर्ब ८७ करोड र स्थिर पुँजी १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । १८ विगाह क्षेत्रफलमा फैलिने उक्त उद्योगले ४ सय मानिसलाई प्रत्यक्ष रोजगारी दिनेछ । यो उद्योगका लागि १ लाख केभीएको प्रसारणलाइन आवश्यक पर्नेछ । यस्तै, उक्त उद्योग सञ्चालनमा आउँदा एचआर स्ट्रप्स वार्षिक ३ लाख ९६ हजार टन उत्पादन गर्नेछ । जसमध्ये टीमएमटी छड ७९ हजार २ सय टन, वायर रड १ लाख १८ हजार ८ सय टन र ७९ हजार २०० टन एमएस बिलेट उत्पादन गर्नेछ । यस्तै, स्वदेशमा नै स्पञ्ज आइरन उत्पादन गर्न सर्वाेत्तम स्टील (नयाँ) ले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकाको मनयारीमा उद्योग रहने गरी सौरभ गुप्रले सर्वाेत्तम स्टील स्थापना गरेको छ । १५ विगाहा क्षेत्रफलमा रहने सो उद्योगमा ३ अर्ब ३५ करोड लगानी रहेको छ । उक्त उद्योगले विभागमा गरेको प्रस्ताव अनुसार वार्षिक रुपमा ४ लाख ४१ हजार मेट्रिट टन स्पञ्ज आइरन उत्पादन हुनेछ । २० प्रतिशत क्षेत्रमा उद्योग स्थापना भएतापनि अन्य भागमा बगैँचादेखि पार्किङका लागि छुट्टाइने कम्पनीले जनाएको छ । उद्योगमा फलामजन्य वस्तु उत्पादनका लागि ३० मेट्रिक टनका २ ओटा इन्डक्सन फर्नेस (भट्टी) राखिनेछ । उक्त उद्योगलाई फलामजन्य वस्तु तथा स्टील उत्पादनका लागि २ दशमलव ५ मेगावाट बिजुली आवश्यक हुने कम्पनीले जानकारी दिएको छ । ४ उद्योगले लगानी बढाए गत आर्थिक वर्ष तथा चालु आर्थिक वर्षको बजेटमा सरकारले स्वदेशमा नै स्टील उद्योग स्थापना गर्ने उद्योगलाई भन्सार तथा अन्तःशुल्कमा छुट दिएपछि पुराना ४ स्टील उद्योगले लगानी बृद्धि गरेका छन् । स्पञ्ज आइरन उत्पादन गर्ने पुराना ४ उद्योगले थप क्षमता अभिवृद्धिका लागि उद्योग विभागबाट स्वीकृति लिएका हुन् । विभागका निर्देशक खगेन्द्रबहादुर बस्नेतका अनुसार काठमाडौं स्टील्स, स्वस्तिक रोलिङ, प्रिमियर स्टील र हुलास वायरले लगानी थपका लागि स्वीकृति लिएका हुन् । उनका अनुसार स्वस्तिक रोलिङले स्पञ्ज आइरन आयात गरेर वार्षिक १ लाख ३० हजार मेट्रिक टन (मेटन) बिलेट तथा अन्य सामग्री उत्पादन गर्नका लागि थप लगानीका लागि अनुमति पाइसकेको छ । सो उद्योगले थप १ अर्ब ९३ करोड लगानी थप गर्न अनुमति माग गरेको हो । यसैगरी, काठमाडौं स्टील्सले वार्षिक १ लाख ७७ हजार मेटन बिलेट तथा फलामजन्य सामग्री उत्पादनका लागि थप १ अर्ब ३९ करोड लगानीको अनुमति पाएको छ । प्रिमियर स्टीलले वार्षिक १ लाख ८० हजार मेटन उत्पादन लक्ष्य राखेर १ अर्ब १४ करोड लगानी र हुलास वायरले वार्षिक १ लाख १२ हजार ५०० मेटन उत्पादन लक्ष्य राखेर ६७ करोड लगानी थपको स्वीकृति पाएका हुन । विभागको तथ्यांकअनुसार आव २०७७/७८ सम्ममा मुलुकभर ३१ ओटा फलामे छड तथा स्टील उद्योगहरू सञ्चालनमा छन् । तर, यीमध्ये ६ ओटा उद्योगले मात्रै स्पन्ज आइरन तथा स्क्रब (पत्रु) को प्रयोगबाट स्वदेशमै बिलेट उत्पादन गर्दै आएका छन् । बजेटमा छुट गत आर्थिक वर्ष २०७८/०७९ मा प्रतिस्थापन विधेयकमार्फत ल्याईएको बजेटमा स्पञ्ज आइरन आयातमा अन्तशुल्क तथा भन्सार छुट दिएको सरकारले चालु आर्थिक वर्षको बजेटमा त्यसलाई निरन्तरता दिएको थियो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले दुई आर्थिक वर्षको बजेटमा एमएस बिलेटमा लाग्दै आएको अन्तशुल्क बढाएर स्पञ्ज आइरनमा शुन्य बनाएका थिए । चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उनले बिलेट आयात गर्दा लाग्दै करमा प्रतिमेट्रिकटन १ हजार रुपैयाँले बढाएर ३५ सय रुपैयाँ बनाएका थिए । प्रतिस्थापन विधेयक ल्याउनु अघि आयत हुने बिलेटमा प्रति मेट्रिक टन १ हजार ६५० रुपैयाँ अन्तशुल्क लाग्दै आएकोमा उनले त्यसमा वृद्धि गरी प्रति मेट्रिक टन २ हजार ५०० रुपैयाँ अन्तःशुल्क लगाएका थिए । उनले मुलुकभित्रै स्टिल बिलेट उत्पादनलाई प्रोत्साहन गर्ने भन्दै कच्चा पदार्थ (स्पञ्ज आइरन) आयातमा भन्सार दर तथा अन्तशुल्क शूल्य गर्ने व्यवस्था गरेका थिए । अर्थमन्त्रीले सीमित उद्योगीलाई पोस्ने गरी ६ उद्योगीलाई मात्र फाइदा पुग्ने गरी बजेट ल्याएको भन्दै स्टील उद्योगी असन्तुष्ट बनेका छन् ।

नेपालमा लोकप्रिय बन्दै भिभो मोबाइल

काठमाडौं । बजारमा उपलब्ध धेरै मोबाइल ब्राण्डहरुकाबीच पछिल्लो समयमा भिभो मोबाइललाई धेरै नेपालीहरुले रुचाउन थालेका छन् । शुरुवातको अवस्थामा क्यामेरा मोवाइलको रुपमा पहिचान बनाएको भिभोले अहिले मोबाइलको सम्पूर्ण फिचरहरुमा आफुलाई प्रतिस्पर्धी र कतिपय फिचरमा आफुलाई अब्बल बनाएको छ । नेपालमा एपेक्स मनोकामना र सेलुसिटी प्रालीले भिभो मोबाइलको आधिकारिक रुपमा बिक्री गर्दै आएका छन् । नेपाली बजारमा अहिले भिभोको वाई सेरिज र भि सेरिजका १० प्रकारका मोबाइल उपलब्ध छन् । कम्पनीले वाई सेरिजका मोबाइल उपभोक्ताहरुको लागि बजेट फ्रेन्डली भएको र भि सेरिजको मोबाइल कन्टेन्ट क्रियटरका लागि विशेष रहेको जनाएको छ । वाई सेरिजका मोबाइलमा स्मार्टफोनमा हुने आधारभुत सुविधाहरु समावेश गरिएको छ । जसलाई कम्पनीले लो, मिडियम र हाइयर फिचरमा उपलब्ध गराएको छ । यो सेरिजका मोबाइलको मूल्य १० हजार देखि ३५ हजार सम्ममा विभिन्न फरक विशेषतामा पाउन सकिन्छ । भि सेरिजका मोबाइलमा भिडियो र क्यामेराको गुणस्तर उच्च प्रकारको रहेको छ । भिभोले डिजाइनलाई खास महत्व दिँदै आएको छ । त्यसैले भिभोका आकर्षक डिजाइनमा ग्राहकको रुची देखिएको कम्पनीकी जनसम्पर्क स्पेशलिस्ट बिनिता कार्की बताउँछिन् । कम्पनीले पछिल्लो समयमा बजारमा ल्याएको भि २३ फाइभ जी को बाहिरी कभर विशेष प्रकारको बनाएको छ । जसको कभरको घाम भएको ठाउँमा र नभएको ठाउँमा छुट्छुट्टै कलर चेन्ज हुने गर्दछ । यो मोबाइल क्षेत्रको डिजाइनमा नै नयाँ आयाम हो । भि सेरिजका मोबाइल अधिकतम ५६ हजार नेपाली रुपैयाँ सम्ममा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कोभिड-१९ महामारीले स्मार्टफोनको बजारमा केही समय बुमको अवस्था सिर्जना भएको र अहिले भने ग्राहकहरुको माग बढ्दो अवस्थामा रहेको छ । नेपाली बजारमा खास गरी दशैं र नयाँ वर्षमा मोबाइलको खरिद बिक्री अधिक हुने कार्की बताउँछिन् । अहिले भिभोको वाई ३३ फाइभ, वाई ३५ र भि २३ ५जी अत्यन्तै राम्रो बिक्री भएको उनको भनाइ छ । भिभो सर्भिस डे सुविधा भिभोले गुणस्तरका साथै यसको निरन्तर अपडेट र सर्भिसको सुविधाले पनि ग्राहकहरुमा थप विश्वास जित्न सफल भएको हो । अहिले कम्पनीले नेपालमा ४ वटा ठाउँमा सर्भिस सेन्टर सञ्चालन गरिरहेको छ । सर्भिस सेन्टरहरु काठमाडौंको सिभिल मल, इटहरी, पोखरा र नारायणगढमा रहेका छन् । कम्पनीले अंग्रेजी महिनाको २७ देखि २९ सम्म भिभो सर्भिस डे मनाउने गरेको छ । भिभो सर्भिस डे को समयमा क्लिनिङ, सर्भिसिङ र फोन रिपेयरिङ गर्दा श्रम लागत नलाग्ने कम्पनीले जनाएको छ । साथै मोबाइलको ओएस अपडेट निःशुल्क उपलब्ध हुने व्यवस्था रहेको छ । भिभो मोबाइल  रिपेयरिङ गरेको ३० दिनभित्र हार्डवयरमा समस्या आयो भने मोबाइल नै एक्सचेन्ज गर्न सकिने सुविधा पनि प्रदान गरेको छ । भिभोका सबै फोनमा एक वर्षको वारेन्टी प्राप्त गर्न सकिन्छ । साथै मोबाइलका विभिन्न पार्टहरुमा पनि ६ महिनाको वारेन्टी रहेको छ । त्यस्तै भिभोको मोबाइलमा रहेको र्याम भरिएपछि एक्पान्ड गर्न मिल्ने सुविधा कम्पनीले उपलब्ध गराएको छ । यो मोबाइल उपभोक्ताको लागि अत्यन्तै सुविधाजनक सेवा रहेको कार्की बताउँछिन । नेपालीहरुले विदेशबाट खरिद गरेर ल्याएका भिभो मोबाइलहरुमा समस्या आएमा नेपाली सर्भिस सेन्टरबाट सर्भिस गर्ने सुविधा लिन सकिन्छ । विदेशबाट खरिद गरेर ल्याएका फोनहरुमा पनि ३ महिनाको वारेन्टी सुविधा नेपाली सर्भिस सेन्टरहरुबाट लिन सकिन्छ । ग्राहकमैत्री अनुसन्धानमा भिभो भिभोले ग्राहकको चाहनालाई सम्बोधन गर्न डिजाइन, क्यामेरा र विभिन्न फिचरमा अनुसन्धान र अपडेट गर्ने कार्यलाई निरन्तरता गरेको छ । अहिलेसम्म अन्य मोबाइल फोनको तुलनामा भिभो क्यामेरा र डिजाइनमा अब्बल रहेको कम्पनीको दाबी रहेको छ । स्लिम डिजाइन र विशेष क्यामेरा भिभोको महत्वपूर्ण विशेषता हो । भिभोले विश्वका विभिन्न ठाउँमा ८ वटा रिसर्च सेन्टर स्थापना गरेर ग्राहकको आवश्यकता र चाहनालाई सम्बोधन गर्ने विषयमा अनुसन्धान गरिरहेको छ । पछिल्लो समयमा भिभोले मोबाइलमा भ्यालु एड गर्ने गरी अनुसन्धान गरेको कम्पनीको दाबी छ । अहिलेसम्म बिक्री भएका मोबाइलमध्ये ९७ प्रतिशत भन्दा धेरै मोबाइलमा गुनासो नआएको कार्की बताउँछिन् ।

जहाँ पायो त्यहीँ उद्योग खोल्ने काम बन्द गरेर नेपालगन्जलाई व्यवस्थित बनाउनेछु : मेयर विष्ट

काठमाडौं । नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त बिष्टले कार्यभार सम्हालेको २ महिना पुरा भएको छ । विष्ट निर्वाचित भएसँगै पालिकाको विकास गर्ने रोडम्यापको तयारमा जुटेका छन् । महानगरवासीको जीवनस्तर उकास्न जुटिरहेका नगर प्रमुख बिष्ट विशेषतः कृषि तथा विकास निर्माण लगायतका क्षेत्रमा उदाहरणीय काम गर्ने सोचमा रहेको बताउँछन् । उनै नगरप्रमुख बिष्टसँग भावी योजना, उपमहानगरले अघि सारेका आर्थिक विकासको रणनीति, उद्यमशीलता, रोजगारी प्रवर्द्धन र औद्योगिक क्षेत्रको विकासमा उपमहानगरको योगदान बोर केन्द्रित रहेर विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् । नगर प्रमुखको रूपमा निर्वाचित हुन भएको २ महिना भयो, नेपालगन्जमा मुख्य समस्याको रूपमा के देख्नु भयो ? नेपालगन्ज उपमहानगरपालिका भित्र यावत् समस्याहरू छन् । नगरभित्रका सरकारी तथा सामुदायिक विद्यालय अवस्था दयनिय छन् । स्वास्थ्य क्षेत्रको अवस्था उस्तै छ । बर्खाको समय छ । उपमहानगर भित्र डुबानको समस्या बढ्दो छ । समस्या नै समस्याको बिचबाट उपमहानगरपालिका अगाडि बढेको छ । समस्या सबै तिर छ । समस्याको समाधान गरी अगाडी बढ्ने छौं । उपमहानगरको हकमा मुख्य योजनाभन्दा पनि यहाँ सबै खाले योजना बनाएर सुरुवाती चरणबाटै काम गर्नुपर्ने भएको छ । कतिपय योजना तयार भएर कार्यान्वयनको चरणमा छन् । समस्या आउँछ जान्छ तर, समस्या आयो भने आत्तिँदैनौँ, यसको समाधान गरेर नै हामी अगाडि बढ्ने छौं । नेपालगन्ज उपमहानगरपालिका लुम्बिनी प्रदेशको मुख्य स्थानमात्र नभई आर्थिक दृष्टिकोणले सम्भावना बोकेको एक महत्वपूर्ण स्थान हो, आर्थिक विकासका लागि तपाईंको योजना के छ ? उपमहानगरपालिकाको आन्तरिक आम्दानी पनि अन्य उपमहानगरको भन्दा कम नै देखिन्छ । यस्तो अवस्थामा उपमहानगरका आर्थिक विकासका अवश्य गर्नुपर्छ । आर्थिक विकासको लागि पहिलो कुरा सबैलाई करको दायराभित्र ल्याउन जरुरी छ । र, करको दायराभित्र ल्याउने हाम्रो प्रयास पनि जारी छ । हाम्रो ५ वर्षे कार्यकालभित्र सबैलाई करको दायरमा ल्याउने योजना छ । यसमा निजी क्षेत्रको भूमिका उल्लेखनीय छ । त्यसैले निजी क्षेत्रको संरक्षण र संवर्द्धन गर्नु उपमहानगरको पनि दायित्व हो । यसका लागि प्रदेश र संघिय कानुन नबाझिने गरी र नियमानुसार मिल्ने सहयोग गरेर यस क्षेत्रको आर्थिक विकासमा भूमिका निर्वाह गर्ने देखिन्छ । कृषि र औद्योगिक क्षेत्रको विकासले आर्थिक विकासमा राम्रो टेवा पुग्छ भन्ने हाम्रो मान्यता यस क्षेत्रलाई प्राथमिकता दिएका छौं । उपमहानगरका आर्थिक विकास गर्नु हाम्रो संकल्प पनि हो । शैक्षिक क्षेत्रको विकासको लागि यहाँको योजनाहरू के छन् ? विशेष गरी गुणस्तरीय शिक्षा मेरो पहिलो प्राथमिकता हो । तर, उपमहानगर भित्रको शैक्षिक अवस्था निकै कमजोर छ भन्ने कुराको महसुस गरेका छौं । यहाँ नेताको जहाँ पहुँच भयो त्यहाँ मात्र शैक्षिक क्षेत्रको भौतिक पूर्वाधारको विकास हुने गरेको देखिन्छ । विद्यालयमा लामो समयदेखि दरबन्दी नभएको अवस्था छ । सबै विद्यालयको यस्तो अवस्था नभए पनि अधिकांश विद्यालयमा गुणस्तरीय शिक्षाको कमी भएको कुरा ठम्याएका छौं । हुन त पहिलाका जनप्रतिनिधिहरूले पनि शैक्षिक क्षेत्रको विकासमा पहल गर्नु भएका छ । तर, परिमाण आउन समय लाग्ने भएकाले नदेखिएको हुनसक्छ । प्रत्येक विद्यालयमा गुणस्तरीय शिक्षा हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । त्यही अनुसार काम गर्ने योजना पनि बनाएका छौं । अहिले हामी शैक्षिक क्षेत्रमा देखिएका समस्या पहिचान गर्ने जमर्को गरिरहेका छौं । अब २ महिना भित्रमा उपमहानगरपालिका भित्रका विद्यालयमा भएको समस्याको पहिचान गरी शैक्षिक सुधारतर्फ लाग्ने योजना बनाएका छौं । उपमहानगर भित्रका विद्यालयको व्यवस्थापन, भौतिक संरचना निर्माण गर्नको लागि चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा रकम पनि छुट्याएका छौं । शैक्षिक क्षेत्रमा गरिने अनुगमन र नियमनलाई चुस्त दुरुस्त बनाइने छ । यस सम्बन्धी एउटा समितिको गठन गरी शैक्षिक क्षेत्रको कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल भइरहेको छ । आवश्यकताको आधारमा बढी भएको स्थानबाट दरबन्दी कटौती तथा कम भएको स्थानमा थप गर्ने, यसका साथै शिक्षकहरूलाई तालिम तथा विद्यार्थीलाई नैतिक शिक्षा दिएर विद्यालयमैत्री वातावरणको सिर्जना गर्ने हाम्रो योजना रहेको छ । उपमहानगरपालिका देखिएको सेवा प्रवाह ढिलासुस्ती र लापरवाहीलाई कसरी व्यवस्थापन गर्ने यहाँको योजना के छ ? सेवा प्रवाह छिटो छरितो हुनुपर्छ भन्ने हाम्रो पनि चाहना हो । सेवा प्रवाह ओएनएम गर्ने भनेका छौं । यो कर्मचारी कता कम छ र कता बढी छ भन्ने पहिचान गर्ने विधि हो । यसलाई हामीले यस वर्षको नीति तथा कार्यक्रममा पनि समावेश गरेका छौं । वडासम्म दिन सकिने अधिकारलाई वडासम्म जनताको कामलाई लापरवाही बिना सजिलो बनाउने कोसिस गर्छु । हुन त तपाईंको कार्यकालको पहिलो नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नु भएको छ, यसलाई कार्यान्वयन गरेर कसरी अगाडि बढ्ने सोचमा हुनहुन्छ ? यहाँ असारे विकासको प्रचलन छ । बैशाख काम सुरु गर्ने असारका काम सक्काउनाले गर्दा काम पारदर्शिे नहुने, अनियमितता बढ्ने र अनुगमन पनि एउटा कागजमात्र सीमित रहेको देखिन्छ । त्यसैले समयमै योजना छनोट, अनुगमन र काम सम्पन्न गर्न सकियो भने ती योजनाहरू पारदर्शी, गुणस्तरीय कसरी हुन्छ भने विषयमा अभ्यास गरी रहेका छौं । त्यही अनुसार बजेट ल्याएको छौं । समृद्ध नेपालगन्ज बनाउने उद्देश्य सहित बजेट ल्याएका छौं भने सोही अनुसार नै योजना पनि बनाएका छौं । नेपालगन्ज विकासको लागि के कस्ता गौरवका आयोजनाहरू बजेटमा समेटिएका छन् ? देशको स्थिति हामी सबैलाई थाहा छ । केन्द्र र प्रदेश सरकारबाट आउने विशेष, केन्द्रीय र समपुरक अनुदान पनि घटेर आएको छ । उपमहानगरको आम्दानी पनि खासै राम्रो छैन । साविकका वडाहरूलाई जोडेर नेपालगन्ज उपमहानगरपालिका बनाइएको हो । साविका वडामा विकास भन्नले नाम नै नसुनेको हो कि भन्ने अवस्था छ । उक्त स्थानमा शिक्षा, स्वास्थ्य भौतिक पूर्वाधारका हिसाबले निकै कमजोर छ । यस सबै अवस्थाको मध्यनजर गर्दै उपमहानगरभित्र चक्रपथ निर्माण गर्ने योजना अगाडि सारेका छौं । यहाँ चक्रपथको आवश्यकता पनि देखिन्छ । सबै वडाहरूलाई छुने एउटा चक्रपथको अवधारण लिएका हौं । उपमहानगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदै बजेट ल्याएको छ । नेपालगन्ज ठूलो व्यवसायीक सम्भावना बोकेको क्षेत्र पनि हो । यसको विस्तार, विकास र थप व्यावसायिक क्षेत्र बनाउन तपाईंको भूमिका के हुन्छ ? हो, नेपालगन्जमा आफैमा व्यवसायीक क्षेत्रमा सम्भावना बोकेको ठाउँ हो । व्यवसायीक वातावरणको सिर्जना गर्नुपर्छ भनेर उपमहानगर पनि लागेको छ । यस विषयमा पनि हामीले अध्यन गर्दै छौं । व्यवसायीक क्षेत्रलाई फराकिलो बनाउने सोचमा छौं । कृषि क्षेत्रलाई जोडेर व्यावसायिक वातावरण सिर्जना गर्ने छौं । समय क्रमसँगै उपमहानगरभित्र धेरै उद्योगहरू खुल्दै छन् भने केही उद्योगहरू सञ्चालनमा आएका छन् । जहाँ पायो त्यही उद्योगको स्थापना भएका कारण दिन प्रतिदिन शहर अस्तव्यस्त हुँदै गएको छ । त्यसैले औद्योगिक क्षेत्रहरूको एउटा निश्चित क्षेत्रमा सञ्चालन गर्ने हो कि भन्ने कुराहरू पनि गरिरहेका छौं । औद्योगिक क्षेत्रले वातावरण पनि नबिगार्ने र व्यवस्थित रूपमा सञ्चालन गर्ने माहोल बनाउनेतर्फ हामी लागेका छौं । उद्योगहरूको स्थापना गर्दा अब निश्चित ठाउँमामात्र वा शहरभन्दा टाढा खोल्ने हो कि भन्ने कुरामा पनि हमाली उद्योगीहरूसँग छलफल गरिरहेका छौं । व्यवसायीक वातावरणका सिर्जना गर्न उपमहानगर सधै तत्पर छ । उद्योगको र शहरको क्षेत्र छुट्याएर जग्गाको वर्गिकरण गर्ने तर्फ पनि हामी लागि रहेका छौं । स्थानीय तह समृद्ध हुन कुन–कुन पक्षबाट कस्तो भूमिका अपेक्षा गर्नुहुन्छ ? हामीले गर्ने भनेको प्रयास हो । यो प्रयासमा सबैको साथ सहयोग चाहिन्छ । सबैको साथ सहयोग बिना अगाडि बढ्न सक्दैन । चाहे त्यो फोहोर व्यवस्थापन, विकास निर्माण, सेवा प्रवाहमा आदि क्षेत्र नै किन नहोस् । नेपालगन्जको विकासको लागि सारोकारवला निकाहरूसँग पनि छलफल गरिरहेका छौं । उद्योग वाणिज्य संघ, सरोकावला निकाय, स्थानीयसँग उपमहानगरपालिका भित्र विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेका छौं । यहाँ समग्र यो महानगरपालिको प्रमुख भइरहँदा यहाँले यो पदको अवसर र चुनौतीलाई कसरी लिनुभएको छ ? उपमहानगरपालिकामा चुनौती छदँैछ । हामी जनताबाट चुनिएर निर्वाचित भएका छौं । यसलाई मैले नेपालगन्जको विकासका लागि अवसरको रूपमा मानेको छु । ५ वर्षको योजना लिएर हामी अगाडि बढेका छौं । अत्यन्तै जिम्मेवार भएर नेपालगन्जलाई अगाडि बढाउँछौं । निर्वाचनका बेलामा तयार पर्नु भएको घोषणापत्रमा भन्दा फरक जनताको आवश्यकता के पाउनु भयो ? जनताको आवश्यकतालाई समेटेर हामीले घोषणापत्र तयार पारेका हौं । मैले पनि लामो समयसम्म सक्रिय भई राजनीतिमा लागेको मान्छे हुँ । हिजो जनताले अपेक्षा गरेर उठाएका मुद्दालाई एजेण्डाको रूपमा बनाएको छु । घोषणापत्रमा उल्लेख गरेका कुरा जनताको माग बिचको भिन्नता त्यति धेरै नहोला । घोषणापत्रसँग उल्लेख गरेका कुरा र जनताको आवश्यकतालाई पुरा गर्दै जान्छौं । मैले महानगरको जिम्मेवारी सम्हाल्दै गर्दा यहाँको सेवा प्रवाह, महानगरले लगाएको ठेक्का, सरसफाइ, फोहर व्यवस्थापनलगायत सबैजसो क्षेत्र अस्तव्यस्त पाइएकाले सुरुबाटै काम गर्नुपर्ने देखिएको छ । हामीले गर्नुपर्ने केही विशेष कामहरूको सूची पनि बनाएका छौं । जुन हाम्रो प्रतिबद्धता पत्रमा पनि देख्न सकिन्छ । विकास मेरो मूल एजेण्डा हो, यस उपनगरपालिकाको समृद्धि र विकासका लागि मेरो प्रदेश सरकार, केन्द्रीय सरकार र विदेशी दातृ निकायसँग सहकार्य गर्ने मुख्य योजना छ । यसमा सबैले साथ दिनु हुन्छ भन्ने आशा पनि छ । नेपालगन्ज भारतीय सीमा क्षेत्रमा पर्छ, सीमा क्षेत्रमा भएकै कारण धेरै अवैध रूपमा सामान ओसारपसार बढी मात्रमा हुने गरेका पाइन्छ यसको नियन्त्रण तथा न्यूनीकरणका लागि केही काम गर्ने सोच्नु भएको छ ? यसमा पनि हाम्रो प्रयास जारी छ । यस विषयमा हामीले प्रहरी प्रशासनसँग छलफल गरिरहेका छौं । खुल्ला सिमाना नै चुनौतीको विषयको रूपमा देखिएको छ । यस कारण जति सकिन्छ यसको नियन्त्रणमा छौं । केही नियन्त्रण पनि भएको देखिन्छ । समान आयात नियार्त गर्ने कुरामा केही समस्याहरू छन् । यसलाई सहज वातावरण मिलाउने छौं । नेपालगन्जलाई व्यवस्थित शहरको रूपमा विकास गर्ने तपाइको योजना के छ ? नेपालगन्जलाई व्यवस्थित शहरको बनाउने परिकल्पना हामीले पनि देखेका र्छौं र, नगरवासी पनि यही चाहान्नु हुन्छ । यसको लागि महानगरपालिका मात्र नभई समग्र नगरवासी पनि लाग्नु पर्ने देखिन्छ । उपमहानगरपालिकामा पनि अहिले फोहोर नै मुख्य समस्याको रूपमा छ । हामीले आफैले शहरमा भित्र अव्यवस्थित रूपमा फोहोर फाल्छौं । यसमा नागरिक आफै जबाफदेही हुन पर्याे । फोहोर व्यवस्थापनको लागि चाहिने सहयोग र उपकरणहरू उपमहानगरपालिकाले दिन्छ । सुन्दर नेपालगन्ज बनाउने नागरिकको पनि दायित्व हो । तपाईंको ५ वर्षको कार्यकालपछि नेपालगन्ज कस्तो बन्छ ? ५ वर्षको कार्यकालपछि नेपालगन्ज उपमहानगरपालिका सरसफाइको क्षेत्रमा उत्कृष्ट शहर, डुबान मुक्त, सुन्दर शहरको रूपमा देख्न सक्नु हुने छ । नेपालको नै सबै भन्दा गर्मी शहर नेपालगन्ज हो । गर्मी भएकाले उपमहानगर भित्र वृक्ष रोपण गरी हरियाली शहरको रूपमा विकास गर्ने योजना बनाएका छौं ।

३ महिनापछि फरवार्ड लघुवित्तले पायो सीईओ, रामदयाल राजबंशीले सम्हाल्ने

काठमाडौं । फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामदयाल राजबंशी नियुक्त भएका छन् । लघुवित्तको साउन ७ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले लघुवित्तको सीईओमा राजबंशीलाई नियुक्त गर्ने निर्णय गरेको हो । सीईओ राजबंशीलाई साउन १५ गतेदेखि लागु हुनेगरी आगामी ४ वर्षका लागि लघुवित्तको सीईओमा नियुक्त गरिएको हो । लघुवित्तले झण्डै ४ महिनापछि सीईओ पाएको हो । उनले साउन १५ गते नै कार्यभार सम्हाल्ने भएका छन् । यसअघि आशनारायण चौधरीले बैशाखमा सीईओ पदबाट राजीनामा दिएका थिए । चौधरीले राजीनामा दिएपछि कामु सीईओको रुपमा कृष्णप्रसाद भट्टराईलाई जिम्मेवारी दिएको हो । लघुवित्तको केन्द्रीय कार्यालय सुनसरीको दुहबीमा रहेको छ ।

लगानीको अवसरः साउन २४ गतेदेखि धौलागिरी लघुवित्तको आईपीओ खुल्दै

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गते, मंगलबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत अर्थात् ३ करोड ३१ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । जसमध्ये ०.५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुका लागि, बाँकी ३ लाख ८ हजार २९५ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ । लघुवित्तको आइपीओमा छिटोमा साउन २९ गते र ढिलोमा भदौ ७ गतेसम्म आवेदन दिन सकिनेछ । लघुवित्तको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । लघुवित्तको आईपीओमा लगानीकर्ताले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओलाई केयर रेटिङ्गस नेपालले केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।