विकासन्युज

पोखराका ७५० युवालाई स्वरोजगार बनाउन १५ करोडको कोष, कृषिलाई प्राथमिकता

कास्की । पोखरा महानगरपालिकाका युवाहरूलाई लक्षित गरेर युवा तथा साना व्यवसायी स्वरोजगार कोष सञ्चालन गरिने भएको छ । सो कोषमार्फत पोखराका ७५० युवालाई स्वरोजगार बनाइने लक्ष्य राखिएको छ । महानगरपालिकाले चालु आर्थिक वर्षको बजेट कार्यक्रममार्फत सो कोषमा पाँच करोड विनियोजन गरेकामा युवा स्वरोजगार कोष र मुक्तिनाथ विकास बैंकको तर्फबाट समेत पाँच–पाँच करोडका दरले लगानी गरी १५ करोडको कोषमार्फत कार्यक्रम सञ्चालन गर्न लागिएको हो । सो कोष सञ्चालन गर्न त्रिपक्षीय सम्झौताका लागि सैद्धान्तिक सहमति जुटेको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए । युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल र महानगरका प्रमुख आचार्यबीच कोषमार्फत कार्यक्रम छिट्टै आगडि बढाउने सैद्धान्तिक सहमति भएको बताइन्छ । कोषमार्फत कृषि क्षेत्रमा लागेका युवा उद्यमीलाई प्राथमिकता दिइने र लगानी गरिने प्रमुख आचार्यले बताए । कृषि उद्यमको माध्यमबाट रोजगारीसमेत अभिवृद्धि हुने विश्वास लिइएको छ । महानगर प्रमुख आचार्यले भने, ‘हालै युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृतसँग बसेर कृषि उद्यमलक्षित गर्दै स्वरोजगार कोषमार्फत युवाहरूलाई प्रोत्साहन गर्ने सम्बन्धमा हाम्रो सहमति भएको छ । यसमा हामी तीनवटै पक्षले बराबर रकम जग्मा गर्ने छौँ र बैंकमार्फत नै यसलाई अगाडि बढाउने योजनामा छौँ । खासगरी कृषि क्षेत्रमा केही गर्न चाहने युवालाई लक्षित गरेर महानगरमा रोजगार अभिवृद्धि गर्ने पनि हाम्रो चाहना हो ।’ निर्देशक अधिकारीले अगामी चार वर्षसम्म यो कार्यक्रमलाई अगाडि बढाउने उद्देश्यका साथ आफूहरु अगाडि बढेको बताए । उनले भने, ‘यो कार्यक्रममार्फत न्यून वर्ग र बेरोजगार युवालार्ई समेट्ने योजना छ । कोष अगाडि बढाउनका लागि अब औपचारिक सम्झौता गर्ने तयारीमा छौँ ।’ उनका अनुसार यो कार्यक्रम सम्झौता भएर कार्यान्वयनमा जान कम्तीमा एक महिना लाग्ने छ । रासस

विद्युत्, सिमेन्ट र स्टील निर्यातले जगाएको आशा

काठमाडौं । व्यापार घाटा चुलिदै गएको र बैदेशिक मुद्रा संचिति घट्दै गएको अवस्थामा निर्यात क्षेत्रमा नयाँ तरङ्क पैदा भएको छ । पछिल्लो समय नेपालबाट तीन वस्तुको निर्यात शुरु भएको छ । विजुली, सिमेन्ट र स्टील । स्टीलजन्य उत्पादन निर्यातको बारेमा धेरै आशावादी हुने आधार छैन, तर विद्युत् र सिमेन्ट निर्यातले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्न सक्छ । नेपालले भारततर्फ विजुली निर्यात गर्न थालेको छ । गत वर्ष ३९ मेगावाटबाट सुुरु भएको बिजुली व्यापार यस वर्ष जेठबाट ३६४ मेगावाट बिजुली निर्यात भइरहेको छ । हाल नेपालले विजुली बेचेर मासिक ३ अर्ब ६० करोड रुपैयाँ बराबर विदेशी मुद्रा आर्जन गरिरहेको छ । यस्तो निर्यात हरेक वर्ष बढ्ने सम्भावना छ । गत आर्थिक वर्षमा मात्र झण्डै ७०० मेघावाट विजुली उत्पादन थप भएको छ । यसले एकातिर नेपालभित्रको बढ्दो खपत धान्न मद्दत गरेको छ भने अर्कोतिर निर्यातको नयाँ ढोका खुला गरेको छ । विद्युत उत्पादन र निर्यात नेपालको आन्तरिक प्राकृतिक स्रोतमा आधारित भएकोले यसबाट नेपालले राम्रो लाभ लिन सक्छ । भारतको साथै, नेपालले बङ्गलादेशमा पनि बिजुली निर्यातका लागि पहल गरिरहेको छ । नेपालको ऊर्जा क्षेत्रको विकासका लागि उच्च क्षमताका अन्तरदेशीय प्रसारण लाइनको निर्माण गरेर बंगलादेशमा पनि बिजुली निर्यात गर्दैछ । हाल नेपाल र भारत जोड्ने ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन मात्रै सञ्चालनमा छ । सो प्रसारण लाइनको क्षमता ४०० केभीको हो । अन्य प्रसारण लाइन पनि सञ्चालनमा छन् तर, ती प्रसारण लाइनको क्षमता २२० केभी, १३२ केभी, ६६ केभी र ३३ केभी क्षमताका मात्रै छन् । सरकारले न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणको क्रममा छ । अब प्रसारण पूर्वाधारको विकासलाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेछ । नेपाल २०७३ सालसम्म दैनिक १८ घण्टा लोडसेडिङबाट गुज्रेको थियो । नेपालीले २०५९ देखि लगातार १५ वर्षभन्दा बढी लोडसेडिङको सामना गर्नु परेको थियो । अहिले देशभित्र लोडसेडिङ हटेको छ भने निर्यात गरेर महिना मै साढे ३ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा आम्दानी गर्न थालेका छौं । हरेक वर्ष विजुलीको उत्पादन बढ्दै छ । भारतको साथै बंगलादेशमा पनि निर्यातको तयारी हुँदैछ । सरकारले प्रसारण लाईन राम्रोसँग बनाई दियो र छिमेकी देशसँग राम्रो सम्बन्ध मात्र कायम गरिदियो भने पनि निजी क्षेत्रले उत्पादन गरेको विजुली बेचेर अर्थतन्त्रलाई राम्रो टेवा दिनसक्छ । त्यस्तै, हालै मात्र तानसेन सिमेन्टले पनि भारतमा निर्यात थालेको छ । त्यस्तै श्री स्टीलले पनि नेपालबाट स्टील निर्यात थालेको छ । स्टील निर्यातको सम्भावना कम हुन्छ । निर्यात ठूला मात्रमा भयो भने पनि नेपालले पाम आयल निर्यात गरे जस्तै हुनेछ । किनभने यसको सम्पूर्ण कच्चा पदार्थ आयात गर्नुपर्ने हुन्छ । जनशक्ति र विजुली नेपालको खपत हुन्छ । स्टील उद्योगको भ्यालु एडिशन २५ प्रतिशत भन्दा कम छ । तर सिमेन्ट निर्यातको सम्भावना बढी छ । ४ दर्जनभन्दा बढी सिमेन्ट उद्योगहरु खुलेका छन् । सिमेन्ट उद्योगमा विदेशीहरुले पनि हात हालेका छन् । सिमेन्ट सम्पूर्ण रुपमा नेपाली कच्चा पदार्थमा आधारित उद्योग हो । सिमेन्ट निर्यात गर्दा सरकारले ८ प्रतिशत अनुदान पनि दिने भनेको छ । सरकारले पनि निर्यातलाई प्रोत्साहित गरेको छ । सिमेन्ट क्षेत्रमा लगानी गरेको निजी क्षेत्र पनि उत्साहित भएको छ । यद्यपी सिमेन्टको ढुवानी खर्च बढी हुने भएकोले नेपालबाट भारत बाहेक अरु देशमा निर्यातको सम्भावना छैन । खासगरी विजुली र सिमेन्टको निर्यातले नेपालको अन्तराष्ट्रिय व्यापार घाटा कम गर्न र विदेशी मुद्रा संचितिमा पर्दै आएको दवाव कम गर्न मद्दत गर्दछ ।

आइक्यानको उपाध्यक्ष सुजन काफ्ले, ९ कम्पनीले पाए उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड

उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड ग्रहण गर्दै सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल काठमाडौँ । नेपाली लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को अध्यक्षमा भाष्कर सिंह लाला र उपाध्यक्षमा सुजन कुमार काफ्ले निर्वाचित भएका छन् । केहि समय अगाडी भएको निर्वाचनमा भाष्कर सिंह लाला निर्विरोध निर्वाचित भएका हुन् भने सुजन कुमार काफ्ले प्रतिद्वन्दी पियुष आनन्दलाई पराजित गर्दै उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् । अध्यक्ष लाला यसअघि संस्थाको उपाध्यक्ष थिए । यसैबीच अध्यक्ष लाला र उपाध्यक्ष काफ्ले दुबैले आफ्नो पद तथा गोपनियताको सपथ खाएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमका बीच उनीहरुले पद तथा गोपनियताको सपथ खाएका हुन् । सपथ ग्रहणपछि कार्यक्रममा बोल्दै आइक्यानका अध्यक्षले आफ्नो कार्यकालमा समग्र लेखा व्यवसायको हितका लागि काम गर्ने बताउँदै यस काममा सबैलाई साथ दिन आह्वान गरेका छन् । उनले आफुलाई उपाध्यक्ष हुँदा सबैभन्दा बढी साथ सिने संस्थाका तत्कालीन अध्यक्ष युद्धराज ओली लगायत आइक्यानका सबै कर्मचारी, तथा अन्य सरोकारवालाहरुलाई धन्यवादसमेत दिएका थिए । आफुलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गराउन सहयोग दिने सबैप्रति आभार प्रकट गरेका उनले आफ्नो कार्यकाललाई उत्कृष्ट बनाउन आफुले कुनै पनि कसर बाँकी नराख्नेसमेत उद्घघोष गरेका छन् । साथै कार्यक्रममा बोल्दै संस्थाका उपाध्यक्ष सुजन कुमार काफ्लेले पनि आफुलाई संस्थाको उपाध्यक्ष पदमा निर्वाचित गराउने सबैलाई धन्यवाद दिएका छन् । संस्थाको उपाध्यक्ष भएसँगै जिम्मेवारी पनि बढेको आभाष भएको बताउँदै उनले आफुले भ्याएसम्मको काम गरेर आफ्नो कार्यकालमा लेखा व्यवसायको सेवा गर्ने बताएका छन् । उपाध्यक्ष काफ्ले अव आइक्यानका तर्फबाट नेपाल धितोपत्र बोर्डका संचालकसमेत हुनेछन् । धितोपत्र बोर्डमा आइक्यानका उपाध्यक्ष संचालकका रुपमा संस्थाको प्रतिनिधि भएर जाने चलन छ । कार्यक्रममा उत्कृष्ट वित्तीय प्रतिवेदन सार्वजनिक गर्ने संस्थाहरुलाई बेष्ट प्रिजेन्टेड अनुअल रिपोर्ट (बिपीए) अवार्डसमेत प्रदान गरिएको थियो । सो अवार्ड बैंकिङ क्षेत्र तर्फ सिद्धार्थ बैंकले पाएको छ भने मेगा बैंक लिमिटेड र सनराइज बैंकले क्रमशः दोश्रो र तेश्रो अवार्ड प्राप्त गरेका छन् । यस्तै फाइनान्सियल क्षेत्रतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदनको अवार्ड मुक्तिनाथ बिकास बैंकले पाएको छ । बैंकले तेश्रोपटक यो अवार्ड हात पार्न सफल भएको हो । यस्तै सो अवार्डमा ज्योति बिकास बैंक लिमिटेड दोश्रो बन्न सफल भएको छ । यता, इन्स्योरेन्सतर्फको सो अवार्ड सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्राप्त गरेको छ भने जनरल सेक्टरतर्फ बोटलर्स नेपाल तराई लिमिटेडले तेश्रो अवार्ड प्राप्त गर्न सफल भएको थियो । यस्तै जनरल सेक्टरतर्फ दोश्रो स्थानको अवार्ड कर्जा सूचना केन्द्र लिमिटेडले पाएको छ भने बुटवल पावर कम्पनी लिमिटेडले प्रथम स्थान हाँसिल गर्दै सो अवार्ड प्राप्त गरेको छ । साथै कार्यक्रममा २० बर्षभन्दा बढी आइक्यानमा रहेर काम गर्ने कर्मचारीहरुलाई दीर्घसेवा पदकले सम्मानसमेत गरिएको थियो भने संस्थामा सुरुवाती चरणदेखि नै महत्वपूर्ण भूमिका खेलेको भन्दै संस्थाका पूर्व कार्यकारी निर्देशक लगायतलाई सम्मानसमेत गरिएको थियो ।

नेपाल भित्रियो बिरामी राखेर उपचार गर्न मिल्ने बस, एउटाकै मूल्य १ करोड

काठमाडौं ।  नेपालमा सामान्य खालको स्टेचर र केही उपकरण भएका र मध्यम खालका बिरामीलाई ओसारपसार गर्न सक्ने एम्बुलेन्स चल्छन् । त्यही पनि भौगोलिक अवस्था, सडक जाम सुविधा अभावले बिरामीको बीच बाटोमै मृत्यु हुने अवस्थाको सामना गरिरहनुपरेको छ । तर अस्पतालमा मात्र प्राप्त हुने महत्वपूर्ण सेवा भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, इसिजी मेसिन, अल्ट्रासाउन्ड मेसिनलगायतका उपकरण कुनै एउटा गाडीमा हुन्छ । त्यसभित्र एउटा होइन छ/छवटा सुविधायुक्त शय्या र साथमा सिसीक्यामेरा । मिनी अस्पतालका रूपमा रहेका ती सुविधासहितका त्यस्ता गाडी विकसित मुलुकमा प्रयोगमा भइरहेका छन्, तर हाम्रोजस्तो विकासोन्मुख मुलुकमा त्यस्तो सेवा प्राप्त सवारीसाधन सञ्चालन होला ? हामी धेरैलाई विश्वास लाग्न गाह्रै हुन्छ । अब भने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्यस्ता सवारीसाधनलाई नेपालमा भित्र्याएर अविश्वासलाई विश्वासमा बदलिदिएको छ । एउटा जटिल बिरामीलाई अस्पतालले उपचार गर्ने सुविधासहितको सेवा प्राप्त हुने सवारीसाधन नेपालमा पहिलोपटक भित्रिएको हो । अबका विपत्तिमा ती गाडीले नेपालमा पनि सेवा थाल्नेछ र अकालमा हुने मृत्युलाई घटाउन सहयोग गर्नेछ । चिकित्सक नआइपुग्दा पनि टेलिमेडिसिनको रूपमा चिकित्सकलाई जोडेर उक्त गाडीभित्रै बिरामीको उपचार र निगरानी गर्नसमेत सकिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । उनले उक्त गाडीलाई मिनी अस्पताल वा गुड्ने अस्पतालका रुपमा लिइएको र विपद्मा परेका मानिसको ज्यान बचाउन सहयोगी हुने विश्वास रहेको बताए । उनले यस्तो प्रकारको गाडी नेपालमा पहिलोपटक भित्रिएको दाबी पनि गरे । यस्ता सुविधायुक्त आठ ठूला गाडी र आठवटा ‘ए क्लास’का एम्बुलेन्स सञ्चालन र व्यवस्थापनका लागि सशस्त्र प्रहरीले जिम्मेवारी प्राप्त गरेको छ । सरकारले उक्त गाडी मल्टी डोनर ट्रष्ट फण्ड र विश्व बैंकको व्यवस्थापन सहयोगमा प्राप्त गरेको हो । मुख्यतः उक्त फण्डमा अमेरिकी सहयोग नियोग (युएसएड), बेलायती सहयोग नियोग (एमसिडिओ), क्यानेडियन एड र स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पाेरेशनको पैसा परेको छ । गृहमन्त्री बालकृष्ण खाणले आजै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई ती गाडीको चाबी हस्तान्तरण गरे । उक्त गाडीहरू हरेक प्रदेशमा एक–एकवटा र केन्द्रमा एकवटा रहनेछ जनाइएको छ । विपत्तिमा परेका र गम्भीर घाइते भएका मानिसलाई अस्पताल ल्याउन नसक्ने अवस्था भएमा, तत्कालै उपचार जरुरी परेमा सोही गाडीमा राखेर उपचार गर्न सकिन्छ । गाडीभित्रै छ जनालाई सुविधायुक्त शय्यामा राखेर उपचार गर्न सकिन्छ भने केही बिरामीलाई अन्य कुर्सीमा समेत राखेर उपचार गर्न सकिने सुविधा छ । प्राकृतिक विपद्को चुनौती सामना गरिरहेको नेपालजस्तो मुलुकका लागि उक्त गाडीको प्रयोगले विपद्मा परेका मानिसको अकाल मृत्युबाट जोगाउने विश्वास गरिएको छ । नेपाल प्राकृतिक र अन्य विपद्को ठूलो जोखिममा रहेको तथ्य हामी सबैमा विदितै छ । कठिन भौगोलिक अवस्थाको कारणले भूकम्प, बाढी र पहिरो, डुबान, आगलागीजस्ता विपद् बल्झिरहन्छ । कोभिडजस्ता ठूला महामारीको सम्भावना पनि उत्तिकै छ । सडक, हवाई र निर्माणसम्बन्धी ठूला दुर्घटना भइरहेको छ । त्यसैले जनताको जीवनरक्षाका लागि यस्ता गाडी सहयोगी हुन्छ । सरकारसँगको सहमतिअनुसार अशोक लेल्याण्डले उक्त गाडी खरिद गरी सरकारलाई बेचेको हो । उक्त गाडीलाई विपद् सामूहिक उद्धार एम्बुलेन्सको नाम दिइएको छ । यसले बिरामी ओसारपसारमात्र गर्दैन, यसमा रहेको उपकरणले गाडीलाई मिनी अस्पताल वा गुड्ने अस्पताल नै बनाएको छ । डाक्टर र नर्सले बाटोमै बिरामीको उपचार र हेरचाह गरी बचाउन सक्छन् । जीवन बचाउने आधुनिक उपकरण, महत्वपूर्ण हेरचाह सुविधा यसमा छ । यसमा पोर्टेबल भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, इसिजी मेसिन, अल्ट्रासाउन्ड मेसिन, सिसीटिभी क्यामेरा छन् । उक्त गाडी एउटाको झण्डै एक करोड पर्ने बताइएको छ । ठूला घटनामा उद्धार गर्न मद्दत गर्नेछ । गृहमन्त्री खाणले गाडी निरीक्षण गर्दै यसले जुनसुकै विपत्तिमा परेका मानिसको ज्यान जोगाउन महत्वपूर्ण योगदान गर्नै विश्वस व्यक्त गरे । शनिबारै प्राधिकरणले अपाङ्गता भएकाहरूका लागि १५१ प्रकारका सहयोगी सामग्रीसमेत राष्ट्रिय अपाङ्ग कोषलाई हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण समारोहमा गृहमन्त्री खाणले अपाङ्गता भएकाहरूका लागि बजेट बढाउनुपर्ने आवश्यकता औँल्याउँदै हरेक क्षेत्र उनीहरुका विषयमा संवेदनशील हुनुपर्नेमा जोड दिए  । उनीहरुको जीवनयापनलाई कसरी सहज बनाउने भन्नेमा नै सरकारको ध्यान रहेको बताए । गृहसचिव टेकनारायण पाण्डेले उक्त सुविधायुक्त गाडीले मानवीय जीवनलाई सङ्कटबाट बचाउन सहयोग गर्ने विश्वास व्यक्त गरे । उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल उक्त गाडीलाई गुड्ने अस्पतालकै सङ्ज्ञा दिन्छन् । समारोहमा सशस्त्र प्रहरीलाई ६५ थान विपद् उद्धार सामग्रीसमेत हस्तान्तरण गरिएको थियो । उक्त अवसरमा प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराई, सहसचिव अनिता निरौला, सशस्त्र प्रहरी महानिरीक्षक अर्याल, राष्ट्रिय अपाङ्ग कोषका सभापति डेकराज भट्टराईले धारण राखेका थिए । रासस

अपाङ्गता भएकाहरुको लागि बजेटको मात्रा बढाउँछौं : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सरकारले अपाङ्गता भएकाहरुको लागि बजेटको मात्रा बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा भएको विपद्मा प्रयोग हुने सवारी साधन, उपकरण तथा अपाङ्गता सहायता सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन । गृहमन्त्री खाँणले नेपालमा अपाङ्गहरुको संख्या धेरै रहेको र अपाङ्ग नागरिकलाई सम्मानजनक जीवन जिउने कसरी बनाउने भन्ने कुरामा सरकार गम्भीर रहेको बताए । पछिल्लो समय सरकारले अपाङ्ग भएकाहरुलाई पनि जीवनवृद्धिका लागि सानो भएपनि मासिक केही रकम दिने निर्णय गरेको उल्लेख गर्दै रकम अपुग भएपनि बजेटअनुसार निर्धारण गरिएको उनले बताए । उनले प्रारम्भिक आधारशील सोचमा परिवर्तन ल्याउन जरुरी रहेको बताउँदै आर्थिक र शारीरिक रुपमा कमजोर रहेकालाई सम्मान स्तरमा ल्याउन सानैबाट स्कुलिङ हुन जरुरी रहेको बताए । नेपालका आधुनिक कार्यालयहरु अझैपनि अपाङ्गमैत्री हुन नसकेको भन्दै उनले सरकारले पछिल्लो समय सबै कार्यालयहरुमा अपाङ्गमैत्री भवन बनोस् भन्ने निर्देशन गरिसकेको बताए । सरकारले बिस्तारै अपाङ्गमैत्री भवन वा नीति निर्माण गर्ने कुरामा ध्यान दिन थालेको बताउँदै उनले राष्ट्रिय अपाङ्ग कोषको नयाँ भवनका लागि सरकारले सहयोग गर्ने बताए । उनले राष्ट्रिय अपाङ्ग कोष र समाज कल्याण परिषद्को स्टोर रुम आगलागी भएको घटनाको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंहलाई निर्देशन समेत दिए । कार्यक्रममा राष्ट्रिय अपाङ्ग कोषका अध्यक्ष डेकराज भट्टराईले नेपालमा अपाङ्गता भएको व्यक्तिलाई दोस्रो दर्जाको रुपमा लिने गरेको भन्दै यस्तो सोचबाट मुक्त समाजको निर्माण गर्न आवश्यक रहेको बताए ।

एक स्थानको फोहर अर्को स्थानमा सार्नु दीर्घ समाधान होइन

काठमाडौं । एक स्थानको फोहर अर्को स्थानमा व्यवस्थापन गरेर मात्र दीर्घ समाधान नहुने हुँदा सोहीअनुरुप कानुन निर्माण गरिनुपर्ने बताइएको छ । लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहर नुवाकोटको सिसडोलमा व्यवस्थापन गर्दै आएको र हाल बञ्चरेडाँडामा व्यवस्थापन गरिरहेको अवस्थाको स्मरण गर्दै जनप्रतीनिधिहरूको उक्त अभ्यास दीर्घ समाधान नरहेको बताएका छन् । ललितपुर महानगरपालिकाको प्रमुख चिरीबाबु महर्जन जुन स्थानमा फोहर उत्पादन हुन्छ सोही स्थानमा नै व्यवस्थापन गरिनुपर्ने भन्दै यसको लागि केन्द्र सरकारले पनि ध्यान दिनुपर्ने बताउँछन्। “फोहर व्यवस्थापनसम्बन्धी बन्न लागेको नयाँ कानुनमा सरकारको काम कारबाहीको तहगत स्पष्टरूपमा व्यवस्था हुनुपर्छ”, उनले भने । फोहरमैला व्यवस्थापन सङ्घ, प्रदेश र स्थानीय तहको जिम्मेवारी र समन्वयको प्रारुप, सहलगानीको ढाँचा, यससम्बन्धी सार्वजनिक निजी साझेदारी कसरी गर्र्ने भन्ने विषय, घरायसी, संस्थाजन्य, औद्योगिक, विद्युतीय र विपद्पश्चातको उत्पन्न हुने फोहरमैला व्यवस्थापन र उत्पादन गर्ने व्यक्तिको दायित्वका बारेमा कानुनमा स्पष्ट व्यवस्था हुनुपर्ने सुझाव प्रमुख महर्जनको छ । काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर अन्यत्र व्यवस्थापन गर्दा व्यवस्थापन गरिएका स्थानका नागरिकलाई नकरात्मक असर पर्ने भएकाले आगामी दिनमा उत्पादन भएकै स्थानमा फोहर व्यवस्थापन गर्र्ने गरी कानुनी व्यवस्था हुनुपर्ने छलफलमा सहभागी जनप्रतिनिधिहरूको पनि सुझाव छ । शक्रबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोजना गरेको फोहरमैला व्यवस्थापनसम्बन्धी नयाँ कानुनमा समावेश गरिनुपर्ने विषयवस्तुको छलफलमा काठमाडौँ उपत्यकाको स्थानीय तहका सहभागी जनप्रतिनिधिले उत्पादित स्थानमा नै फोहरको व्यवस्थापन गर्न सुझाएका छन् । त्यसैगरी विद्यमान सङ्घीय संरचनाअनुरुप फोहरमैला व्यवस्थापनमा प्रदेश सरकारको भूमिकालाई समेत समेटी परिवर्तित सङ्घीय परिवेश अनुकूल हुने गरी त्यससम्बन्धी नयाँ कानुनको तर्जुमा गर्नुपर्ने चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको सुझाव छ । अब बन्ने कानुनमा फोहरमैलाको उत्सर्जन, सङ्कलन विसर्जन र समग्र व्यवस्थापनमा तहगत सरकारको कार्यजिम्मेवारी र प्रभावकारी कार्यान्वयनको सवाल पनि समावेश हुनुपर्नेमा उनको जोड रहेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल उत्पादित स्थानमा नै फोहरको व्यस्थापन गर्नुपर्ने विषय नै फोहर व्यवस्थापनका लागि प्रभावकारी र बलियो आधार रहेको बताउँछन् । फोहर व्यवस्थापनको सम्बन्धमा कानुन निर्माण गर्दा आर्थिक आम्दानीको स्रोतको रूपमा यसलाई विकास गर्नुपर्ने प्रमुख पौड्यालको सुझाव छ । उनका अनुसार फोहरको वर्गीकरण पनि विभिन्न प्रकार सिसाजन्य, प्लास्टिकजन्य, कुहिने फोहर, फलामजन्य र अस्पतालबाट निस्कने फोहर फरक–फरक तरिकाले व्यवस्थापन गर्नुपर्ने पाटो कानुनमा नै स्पष्ट हुनुपर्छ । घरेलु, औद्योगिक र सेवा क्षेत्रलगायत सबै स्रोतबाट सिर्जित फोहरमैलाको व्यवस्थापनको विषय, फोहरमैलाबाट हुने वातावरणीय प्रदूषण र जनस्वास्थ्यमा पर्ने नकारात्मक असर कम गर्ने विषय, फोहरमैलाको समग्र व्यवस्थापनमा तहगत सरकारको जिम्मेवारी, अन्तर स्थानीय तह सहकार्य र यसलाई आर्थिक स्रोतको रूपमा विकास गर्ने विषय पनि अब बन्ने कानुनमा समावेश गर्नुपर्नेमा सहभागीको ध्यान केन्द्रित थियो । सो अवसरमा केन्द्रीय तथ्याङ्क विभागले सन् २०२० मा २७१ नगरपालिकामा गरेको सर्वेक्षणअनुसार फोहरमैलामा जैविक फोहरको अंश ५४ प्रतिशत रहेको र थोरै स्थानीय तहले मात्र फोहरको पुनःप्रयोग तथा प्रशोधनको विधि अपनाएको जानकारी गराइएको थियो । त्यसैगरी सामान्य प्रशासन मन्त्रालयले विसं २०७८ मा गरेको स्थानीय तहको क्षमता आवश्यकता पहिचानसम्बन्धी अध्ययनअनुसार २७ प्रतिशतले मात्र ल्यान्डफिल साइटको प्रयोग गरेको १२ प्रतिशतले सङ्गठन संरचनामा फोहरमैला व्यवस्थापनमा शाखा वा एकाइको प्रबन्ध गरेको र १२ प्रतिशतले व्यवस्थापनको सम्बन्धमा सार्वजनिक निजी साझेदारी अवधारणको अवलम्बन गरेको बताइएको छ । सो अध्ययनानुसार ४९ दशमलव चार प्रतिशत नगरपालिकाले नागरिकमा सचेतनाको कमी र ल्याण्डफिल साइट नहुनुलाई मुख्य चुनौतीका रूपमा लिएको जनाइएको छ । हाल फोहरमैला व्यवस्थापन ऐन २०६८ कार्यान्वयनमा रहेको छ । यस सम्बन्धमा कामपाले कुहिने फोहर उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको कार्यलाई तीव्रता दिएको जनाएको छ । सबै किसिमका फोहर बञ्चरेडाँडा पु¥याउँदा पटक–पटक समस्या आएकाले प्रभावकारीरूपमा फोहरको दीर्घ समाधानका लागि स्थान पहिचानमा सक्रियता बढाएको कामपाले जनाएको छ । बञ्चरेडाँडामा हानिकारक फोहर व्यवस्थापन नगर्ने योजनाअनुरुप कामपाले यस किसिमको अभ्यास सुरु गरेको हो । कामपाका प्रवक्ता नवीन मानन्धरका अनुसार हाल सम्भावित स्थान पहिचान गर्ने काम जारी छ । जसअन्तर्गत चन्द्रागिरि, दक्षिणकाली, नागार्जुन, तारकेश्वर र उपत्यका बाहिर बनेपासम्म पनि कामपाका प्रमुख बालेन्द्र साहको नेतृत्वमा स्थान खोज्ने काम भइरहेको छ । हालसम्म उपलब्ध भएका जग्गामा ५० रोपनीदेखि १५० सम्मको छ । अझै बढी उपयुक्त र कम खर्चिलो जग्गाको खोजीमा कामपा लागिरहेको प्रवक्ता मानन्धरले बताए । फोहर व्यवस्थापन गर्न कामपाले चालु आर्थिक वर्षका लागि करिब एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । “उपत्यकाको अन्य स्थानीय निकायका प्रमुखसँग पनि कुराकानी भइरहेको छ, उपयुक्त स्थान पाउनासाथ काम सुरू गर्ने सोचमा छौँ ।”, उनले भने । कामपाले यही १ गतेदेखि कामपाले कुहिने र नकुहिने फोहरको फरक–फरक तरिकाबाट व्यवस्थापनको काम पनि सुरु गरेको छ ।

शनिबार थपिए ३३५ संक्रमित, तीन हजार पुगे सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा ३३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १ हजार ८८ जनाको पीसीआर १ हजार ९०८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३३५ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा ८६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ६८ हजार ३९४ पुगेको छ। उक्त अवधिमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। देशभर हाल २ हजार ९७१ जना सक्रिय संक्रमित छन्।

१३ औं वर्षमा मेगा बैंक : थुप्रै वित्तीय सूचकहरुमा उत्साहमुलक उपलब्धि

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड १२ बर्ष पूरा गरी १३ बर्षमा प्रवेश गरेको छ । १२ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले बैंकलाई देशकै अग्रणी बैंक बनाउन अहम भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । आज भन्दा ठीक तेह्र बर्ष अगाडि १२ सय १९ जना संस्थापक शेयरधनीहरुको लगानीमा १४ जना संस्थापकहरु र ४ जनाको रणनीतिक समूहको अथक मेहनत र सहजीकरणमा मेगा बैंक नेपाल लिमिटेडको स्थापना भएको उनले बताए । अध्यक्ष शाहले मेगा बैंकले तर्जुमा गरेका रणनीतिक पञ्चवर्षीय योजना, बजेटको सही प्रक्षेपण र कार्यान्वयनले छोटो समय (१२ बर्षको अवधि) मै कतिपय विधाहरुमा अग्रणी बैंकको रुपमा स्थापित हुन पुगेको बताए । विगतमा विभिन्न बैंकसँग मर्जर र एक्वीजिशनको सन्दर्भलाई जोड्दै उनले मेगा बैंकले स्थापित गरेका मान्यताहरुमा विचलन नआउनेमा विश्वस्त रहेको बताए । ‘यस बैंकको व्यवसाय एवं कार्य क्षेत्र तथा दायरा विस्तार गरी र लगानीको दृष्टिकोणले भरपर्दो र विश्वासिलो बैंक बनाउन पश्चिमाञ्चल डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंक, गण्डकी विकास बैंक जस्ता आ–आफ्ना क्षेत्रका अब्बल बैंकहरुसँगको मर्जर तथा प्राप्तिले यस बैंक बैंकलाई वित्तीय बजारमा स्थापित गराउन अहम भूमिका खेलेकै कारण आज हामी यो स्थितिमा आइपुगेका छौं भने हाम्रा मान्यताहरुलाई कायम राख्दै देशको आवश्यकता, अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धा, कोरोनाका कारणले व्यवसायमा परेको प्रभाव आदि जस्ता कुराहरुले गर्दा ३७ बर्षको इतिहास भएको नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जरको लागि एमओयू भइ सैद्दान्तिक सहमति प्राप्त भइसकेको व्यहोरा यहाँहरुसमक्ष निवेदन गर्दै हामीले स्थापित गरेका मान्यताहरुमा विचलन आउने छैन भन्ने कुरामा हामी विश्वस्त छौं,’ उनले भने । मेगा बैंककी कायममुकायम सिइओ रविना देशराज श्रेष्ठले वित्तीय बजारमा मेगा बैंक एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकको रुपमा स्थापित भएको बताईन । उनले कामु सिइओ श्रेष्ठले दिगो विकासका साथ नयाँ प्रविधिसहित अघि बढ्दै मेगा बैंकलाई आधुनिक प्रविधिमैत्री ‘डिजिटलाइज्ड बैंक’ बनाइएको बताईन । ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको बितेको १२ बर्षमा पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत वृद्धि भएको छ । देशको २८ औं बाणिज्य बैंकका रुपमा स्थापना भएको मेगा बैंक चुक्ता पुँजीका हिसाबले ७ औं स्थानमा छ । २०७९ असार मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब १ खर्ब ५६ अर्ब र कुल कर्जा करिब १ खर्ब ५० अर्ब रहेको छ । मेगा बैंकले १८ सय भन्दा बढी कर्मचारीबाट देशभरका ६१ जिल्लामा फैलिएका २ सय ८ शाखा सञ्जाल, १ सय ४५ वटा एटीएम, २५ वटा एक्टेन्शन काउन्टर र ६० वटा शाखारहित बैंकिङ सेवामार्फत १४ लाख ७५ हजार भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । समता अस्पताललाई पाँच लाख सहयोग मेगा बैंक नेपाल लिमिटेडले १२ औं बार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौंको बौद्धस्थित समता सामुदायिक अस्पताललाई पाँच लाख रुपैंया सहयोग गरेको छ । बैंकका अध्यक्ष शाहले समता अस्पतालका अध्यक्ष उत्तर सञ्जेललाई पाँच लाख रुपैंयाको चेक हस्तान्तरण गरे । एक सय रुपैंयामा सर्वसाधारणको उपचार गराउँदै आएको उक्त अस्पतालबाट न्यून आय भएका सर्वसाधारणको उपचारमा मद्दत मिलोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको मेगा बैंकले जनाएको छ ।