विकासन्युज

चौधरी ग्रुपको उत्कृष्ट व्यवस्थापनमा सञ्चालित प्रिमियर कलेज विद्यार्थीको आकर्षण बन्दै

काठमाडौं । स्कुल कलेजहरु विद्यार्थीको भविष्य निर्धारण गर्ने मुख्य खुट्किलोको रुपमा रहेका हुन्छन् । काँचो माटोलाई मानिसले आफ्नो विचार र मेहनतको संयोजनमार्फत कुनै आकारमा रुपान्तरण गर्नसक्छ । त्यस्तै, स्कुल कलेजहरुले विद्यार्थीहरुलाई शिक्षाको माध्यमबाट एउटा पूर्ण मानिसमा रुपान्तरण गर्ने भूमिका निर्वाह गर्दछन् । चौधरी ग्रुप नेपालमा परिचित सफल व्यवसायी घराना हो । सो ग्रुप व्यवस्थापकीय कुरामा कति क्षमतावान छ भन्ने कुरा उसको व्यवसायिक नतिजाले नै देखाएको छ । ग्रुपले १० वर्षदेखि काठमाडौंको बानेश्वरमा रहेको प्रिमियर कलेजको व्यवस्थापन गर्दै आएको छ । सो ग्रुपको व्यवस्थापनसँगै कलेजले आफूलाई नेपालको शैक्षिक क्षेत्रमा एउटा विशिष्ट पहिचान दिन सफल भएको छ । कलेजले बिएम ट्रेडा सर्टिफिकेस बडी युकेबाट आइएसओ ९००१ः२००८ प्रमाणपत्र प्राप्त गरेको छ । गुणस्तरीय व्यवस्थापन प्रणालीमार्फत कलेजलाई सञ्चालन गर्न सफल भएवापत सो प्रमाणपत्र प्राप्त गरेको हो । सो कलेजबाट उत्तिर्ण हुने विद्यार्थीहरुले प्राप्त गर्ने प्रमाणपत्र अन्तर्राष्ट्रिय स्तरमा नै मूल्यवान हुने कुरा कलेजका कार्यक्रम निर्देशक छविलाल पाण्डे बताउँछन् । के–के शैक्षिक कार्यक्रम सञ्चालन गर्छ प्रिमियरले ? प्रिमियर कलेजले राष्ट्रिय परिक्षा बोर्डबाट सञ्चालन हुने कक्षा ११/१२ र त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा स्नातक तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । साथै कलेजले आइक्यानमार्फत चाटर्ड एकाउन्टेन्ट कार्यक्रम पनि सञ्चालन गर्ने गरेको छ । कलेजले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र मानविकी संकाय अन्तर्गत निश्चित कोटामा विद्यार्थी भर्ना गरेर पठनपाठन गर्ने गर्छ । त्यस्तै स्नातक तहमा बि बि एम, बि बि एस, बिए एस डब्लु र एम बि एस पढाई हुने गरेको छ । एसईई दिएका विद्यार्थीको आकर्षण बढ्दो अहिले प्रिमियर कलेजमा एसईई दिएर बसेका सयौं विद्यार्थीहरु दैनिक रुपमा प्रवेश परिक्षा दिन आउने गरेका छन् । निर्देशक पाण्डेका अनुसार कक्षा ११ र १२ लाई विद्यार्थीको शैक्षिक एवं व्यवहारिक ज्ञानको मुख्य आधार निर्माण गर्ने तहको रुपमा लिइन्छ । जसकारणले विद्यार्थीहरुले सहि वातावरण, व्यवस्थापन, नतिजा र आफ्नो लागि भएको स्कुल कलेज रोज्नुपर्दछ । उनका अनुसार प्रिमियर कलेज यी सबै कुरामा उत्तम रहेको छ । कलेजले कक्षा ११ र १२ को विज्ञान, व्यवस्थापन र मानविकी संकायमा वर्षेनी ६ सय ४० जना मात्रै विद्यार्थीलाई पठनपाठन गराउन सकिने कोटा निर्धारण गरेको छ । जसमध्ये कलेजले ३ वटा स्किममा २०० जना विद्यार्थीलाई मेरिट बेस, निड बेस र सिजी स्क्लरसिपको नाममा छात्रवृत्ति उपलब्ध गराउने गर्दछ । त्यसरी छात्रवृत्ति प्राप्त गर्नको लागि यतिबेला एसइइ दिएर बसेका ३ हजार भन्दा धेरै विद्यार्थीले कलेजमा आएर प्रवेशिका परिक्षा दिइसकेका छन् । निर्देशक पाण्डेका अनुसार कलेजले यो परिक्षा एसईईको नतिजा आउने बेलासम्म जारी राख्नेछ । प्रवेशिका परिक्षा मार्फत विद्यार्थीहरुले १००, ८०, ७०, ६० र पचास प्रतिशत छात्रवृत्ति प्राप्त गर्न सक्नेछन् । कक्षा ११ र १२ पढ्ने विद्यार्थीलाई निरन्तर कक्षाको साथै कलेजले अतिरिक्त शैक्षिक क्रियाकलापलाई पनि विशेष जोड दिने गरेको छ । जुन कुरा कलेजको अर्को महत्वपूर्ण विशेषता हो । अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीको आगामी अध्ययन भविष्यलाई ध्यानमा राखेर प्रि मेडिकल र प्रि इन्जिनियरिङ कोर्ष सञ्चालन गर्ने गरिन्छ । सो अतिरिक्त पढाइको कारणले विद्यार्थीले एमबिबिएस र बिइ लेबलको प्रवेशिका परिक्षामा सजिलैसँग उत्तिर्ण भएर छात्रवृत्ति प्राप्त गर्न तथा अध्ययनको लागि सक्षम हुने गरेको निर्देशक पाण्डे बताउँछन् । त्यस्तै कलेजले अतिरिक्त क्रियाकलापमा खेलकुद क्षेत्रलाई पनि उत्तिकै प्राथमिकता दिने गर्दछ । खेलकुदमा केसिएम बास्केटबल, थर्ड रुस्लान बिग ओपेन बास्केटबल टुर्नामेन्ट, लगायतका धेरै प्रतियोगिताहरुमा कलेजबाट सहभागी समुहले एवार्ड जित्दै आएको छ । उत्कृष्ट भौतिक व्यवस्थापन पढाई राम्रो हुनका लागि व्यवस्थापन नै उत्कृष्ट हुनुपर्ने निर्देशक पाण्डेको भनाई छ । आधुनिक ढंगको पढाइका लागि कलेजले इ–लाइब्रेरी, फिजिकल लाइबे्ररी, डिजिटल बोर्ड, राम्रा भवन र उत्कृष्ट कोठाको व्यवस्था गरेको छ । सिमित विद्यार्थीहरुको लागि होस्टलको समेत सुविधा रहेको निर्देशक पाण्डेको भनाई छ । ‘तपाईंको सिकाइको क्षितिजलाई प्रिमियरबाट विस्तार गर्नुहोस’ भन्ने नारामा रहेर गुणस्तरीय शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको प्रिमियर कलेजको स्नातक स्तरका कार्यक्रमहरु पनि मुलतः आधुनिक एवं व्यवहारिक ढंगले सञ्चालन गरिएका छन् । कलेजले व्यवस्थापन संकाय अन्तर्गत सञ्चालन गरेका सबै कार्यक्रमहरु वर्तमान सन्दर्भमा विश्वमा विकसित भएका व्यवसायिक क्षेत्रको नेतृत्व गर्न उपयोगी हुने प्रकारको रहेको निर्देशक पाण्डेको भनाइ छ । निर्देशक पाण्डेकाअनुसार छोटकरीमा भन्दा कलेजले उत्कृष्ट व्यवस्थापन, अन्तर्राष्ट्रिय आइएसओ प्रमाणित, उच्च स्तरको नतिजा, धेरै विषयहरुको छनौट गर्ने अवसर, गुणस्तरीय संकाय, प्रविधीमैत्री उच्चस्तरीय प्रयोगशाला र पुस्तकालय, सिर्जनात्मक एवं प्रयोगात्मक अध्ययन विधि, छात्रवृत्ति र उचित शुल्क जस्ता विशेषता बोकेको छ । त्यसैले विद्यार्थीहरुले आफ्नो उज्वल भविश्यको लागि प्रिमियरलाई रोज्न आउने गरेको उनको तर्क छ ।

अब एक महिनाभन्दा बढी सेयर कारोबार रोक्का नहुने, कार्यविधि निर्माणमा जुट्यो बोर्ड

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिमा गएका कम्पनीको सेयर कारोबार रोक्का गर्ने व्यवस्था खारेज गरेपछि नेपाल धितोपत्र बोर्ड कार्यविधि बनाउनतर्फ लागेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमार्फत् बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्का गर्ने विद्यमान व्यवस्था खारेज गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी बोर्डलाई दिएको हो । सोही व्यवस्था बमोजिम अब धितोपत्र बोर्डले कार्यविधि तथा निर्देशिका निर्माण गरेर काम अगाडि बढाउने भएको हो । मर्जर तथा प्राप्तिमा गएका कम्पनीको सेयर कारोबार रोक्का राख्ने व्यवस्था नियामक निकाय धितोपत्र बोर्डले पाएसँगै कार्यविधि तथा निर्देशिका तयार गर्न बोर्डले कमिटि बनाएर अध्ययन गरिरहेको बोर्डले बताएको छ । कमिटिले छिट्टै प्रतिवेदन बुझाउने गरी काम गरिरहेको बताइएको छ । धितोपत्र बोर्डको नियमन तथा व्यवस्थापन विभागका कार्यकारी निर्देशक विनयदेव आचार्यको संयोजकत्वमा कार्यविधि निर्माण समिति बनेको छ । मर्जर तथा प्राप्तिका कारण सेयर कारोबार रोक्का गर्न हालसम्म धितोपत्र बोर्डले कुनै पनि व्यवस्था गरेको छैन । तर, राष्ट्र बैंकले गरेको उक्त व्यवस्थालाई कम्पनीहरूले अनुसरण गर्दै आएका थिए । तर, पछिल्लो समय कारोबार रोक्का हुँदा लगानीकर्तालाई ठूलो असर परेको भन्दै विरोध भएपछि यसमा राष्ट्र बैंक नै पछि हटेको हो । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले तत्कालै कार्यविधि बनाएर अघि बढ्ने बताए । मौद्रिक नीतिमा सेयर कारोबार रोक्का गर्ने व्यवस्था राष्ट्र बैंकले खारेज गरी बोर्डलाई सम्पूर्ण अधिकार दिएकाले कार्यविधि बनाएर अघि बढ्ने अध्यक्षको भनाइ छ । ‘कार्यविधि बनाउन धेरै समय लाग्दैन, कार्यविधि बनिसकेपछि त्यस विषयमा अध्ययन गरेर तत्काल कार्यान्वयनमा ल्याउँछौं,’ अध्यक्ष हमालले विकासन्युजसँग भने । उसो त यसअघि उनले साउन १ गतेदेखि मर्जर तथा एक्विजिसनमा जाने कम्पनीहरुको सेयर कारोबार रोक्का नहुने बताएका थिए । तर, अहिले उनी सो वक्तव्यबाट पछि हटेका छन् अर्थात् आफुले साउनदेखि कम्पनीको सेयर कारोबार रोक्का हुने नबताएको प्रष्ट पारे । ‘कारोबार रोक्का हुँदैन भनेको थिएन, कारोबार रोक्का हुने समय एक वर्षभन्दा लम्बिनु हुँदैन भनेको हुँ, अब लगातार एक वर्ष सेयर कारोबार रोक्का हुँदैन, यस विषयमा हामी काम थालनी गरिसकेका छौं,’ उनले भने । उनले मर्जरको नाममा सेयर बजारमा चलखेल हुन सक्ने बताउँदै त्यसमा बोर्ड सजग रहेको धारणा राखे । मर्जरका नाममा हुने चलखेल अन्त्य गर्न आफु तयार रहेको उनको भनाइ छ । ‘अधिकतम एक महिना सेयर कारोबार रोक्का हुनु स्वभाविक नै हो तर, निरन्तर सेयर रोक्का हुनु हुँदैन, अब सेयर कारोबार रोक्का हुने समय धेरै छोटो हुन्छ, अन्य देशहरुको अभ्यास पनि हेरेर कार्यविधि बन्छ,’ उनले भने । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र हाइड्रोपावर कम्पनीनहरु मर्जरमा गएका कारण हाल ३१ वटा कम्पनीको सेयर कारोबार रोक्का छ ।

पैसा नभएको बैंकको चेक काट्ने नुवाकोटका चन्द्र बहादुर पक्राउ, २६ लाख जरिवाना तिर्नुपर्ने

काठमाडौं । बैंकिङ कसुरका फरार प्रतिवादी नुवाकोटका चन्द्र बहादुर सुनार पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले (सीआईबी) ले ३६ वर्षिय सुनारलाई शनिबार काठमाडौंको बालाजुबाट पक्राउ गरेको हो । सुनारले निजलाई पैसा नभएको प्राइम कमर्सियल बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । उच्च अदालत पाटनले बैंकिङ कसुरमा गएको असार ६ गते फैसला गर्दै सुनारलाई बैकिङ कसुर अन्तरगत २६ लाख रुपैयाँ जरिवानासहित एक दिन कैद भुक्तानीको फैसला सुनाएको थियो ।

एनआईसी एशिया बैंकले माग्यो कर्मचारी

काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न पदमा केही मात्रामा कर्मचारीको माग गरेको छ । बैंकले शाखा प्रबन्धकका लागि विभिन्न तहमा कर्मचारी माग गरेको हो । बैंकले शाखा प्रबन्धककाे लागि अफिसर, सिनियर अफिसर, असिस्टेन्ट म्यानेजर , डिप्युटी म्यानेजर र म्यानेजर तहमा कर्मचारी माग गरेको छ । बैंककाे अनुसार अफिसर तहकाे शाखा प्रबन्धकका लागि कम्तीमा पनि स्नातक उर्तिण भई ५ वर्षको अनुभवसहित ४० वर्ष ननाघेको हुनुपर्ने छ भने असिसटेन्ट म्यानेजरभन्दा माथिल्लाे तहकाे लागि स्नातककाेत्तर तह पुरा गरेकाे, सम्बन्धित क्षेत्रमा दश वर्षको अनुभव र ५० वर्ष ननाघेको हुनुपर्ने बैंकले जनाएकाे छ । यि विभिन्न पदको लागि अनलाइनमार्फत आवेदन दिन सकिने बैंकले जनाएकाे छ ।

ब्लुबुक नवीकरण जरिवाना शुल्क घटाउने तयारी

काठमाडौं । गण्डकी प्रदेश भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालय नियमावलीको संशोधनमा जुटेको छ । प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको ऐनमा सवारी साधन दर्ताको प्रमाणपत्रको नवीकरण गर्दा विलम्ब शुल्क अस्वभाविक भएपछि त्यसको संशोधन गर्ने तयारीमा मन्त्रालय जुटेको मन्त्रालयका अधिकारीले बताएका छन् । प्रदेश सरकारले ०७६ कार्तिकमा ल्याएको प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको ऐनको दफा ३५ को उपदफा ४ मा म्याद नाघेर सवारी साधन दर्ताको नवीकरण गर्ने सम्बन्धी व्यवस्था रहेको छ । सो दफा अनुसार सवारी साधनको नवीकरण गर्ने म्याद सकिएका सवारी साधनका धनीले ३ महिनाभित्रमा नवीकरण गर्नुपर्ने हुन्छ । सोही ऐनको दफा ३५ को उपदफा ४ मा सवारी साधनको नविकरण सकिएका सवारी साधन धनीले म्याद नाघेको पहिलो आर्थिक वर्षमा नवीकरण गर्दा १ सय प्रतिशत, दोस्रो आर्थिक वर्षमा २ सय प्रतिशत, तेस्रो आर्थिक वर्षमा ३ सय प्रतिशत, चौथो आर्थिक वर्षमा ४ सय र पाँचौ आर्थिक वर्षमा ५ सय प्रतिशत नवीकरण दस्तुरको अतिरिक्त शुल्क बुझाउनु पर्ने व्यवस्था रहेको छ । सो व्यवस्था अनुसार समयमा नै नवीकरण गर्न छुटेका व्यक्तिहरुलाई जरिवाना तिर्न अस्वभाविक शुल्क लाग्ने भएपछि मन्त्रालयले त्यसलाई परिमार्जन गर्न तयारी गरेको मन्त्रालयका प्रवक्ता टिकाराम पौडेलले बताए । ‘अहिले मन्त्रालयले कर्मचारीतहबाट ड्राफ्ट बनाउने काम गरिसकेको छ, अब मन्त्रीस्तरको निर्णयबाट अगाडि बढ्छ होला, कानूनमार्फत् अगाडि बढाउने की अर्थमार्फत् भन्ने कुरामा छलफल भइरहेको छ,’ प्रवक्ता पौडेलले भने । ऐनमा भएको व्यवस्थालाले नवीकरणमा छुटेका सेवाग्राहीलाई मर्का पर्ने कुरामा मन्त्रालयले महशुस गरेको उनको भनाइ छ । ऐनअनुसार गत आर्थिक वर्षमा म्याद गुज्रिएर नवीकरण गर्न छुटेका सेवाग्राहीलाई साउन १ गतेबाट नै अतिरिक्त शुल्क लाग्छ । सेवाग्राहीलाई पर्ने मर्कालाई ख्याल गर्दै साउन महिनाभित्रमा नै ऐन संशोधन गर्ने तयारी गरेको मन्त्रालयले बताएको छ ।

मुक्तिनाथ विकास बैंकले पायो उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड

काठमाडौं । मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्रतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड पाएको छ । विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्र तर्फ आर्थिक वर्ष २०७७/०७८ को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरेवापत नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(एक्यान)को तर्फबाट बैंकले सो अवार्ड पाएको हो । यो पुरस्कारबाट मुक्तिनाथ विकास बैंक आर्थिक वर्ष २०७५/०७६ , २०७६/०७७ र २०७७/०७८ गरी लगातार तीन पटक पुरस्कृत भएको हो । एक्यानले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान प्रणाली मार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई अवार्ड प्रदान गर्दै आएको छ । मुक्तिनाथ विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्क मा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

हेटौँडामा एक वर्षमा ६ हजारले लिए पासपोर्ट

हेटौँडा । मकवानपुर जिल्ला प्रशासन कार्यालयबाट एक वर्षको अवधिमा साढे छ हजारभन्दा बढी व्यक्तिले राहदानी लिएका छन् । आर्थिक वर्ष २०७८/७९ मा छ हजार ५३२ जनाले राहदानी लिएका हुन् । विभागबाट प्रिन्ट भएर आएका ४१५ वटा राहदानी भने वितरण हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए । कार्यालयले विभागबाट बनाउने गरी छ हजार ९४७ राहदानीमा साधारण सिफारिस गरेको थियो भने चार हजार १३८ राहदानीमा द्रुत सिफारिस गरेको थियो । कार्यालयले आर्थिक वर्ष २०७७/८ मा तीन हजार ५२४ राहदानी वितरण गरेकामा ८५० वितरण हुन बाँकी थिए । उक्त आर्थिक वर्षमा चार हजार ३७४ राहदानीका लागि सिफारिस गरिएकामा दुई हजार ९५१ द्रुत सिफारिसमा परेका थिए । रासस

दार्चुलामा एक वर्षमा ४९९ उद्योग दर्ता

दार्चुला । जिल्लामा उद्योग दर्ता गर्ने क्रम बढेको छ । विभिन्न क्षेत्रबाट अनुदान रकम आउन थालेपछि पछिल्लो समय उद्योग दर्ता गर्ने क्रम बढेको हो । जिल्लाभर उद्योगको सङ्ख्या दुई हजार ३५३ पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा मात्रै ४९९ नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी गणेश गिरीले जानकारी दिए । आर्थिक वर्ष २०७७/७८ मा जिल्लामा एक हजार ८५४ उद्योग दर्ता भएको थियो । यस्तै आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा १३९ वाणिज्य पसल दर्ता भएको थियो । गत वर्ष ११२ उद्योग नवीकरण भएका थिए । सात वटा उद्योगको पुँजी वृद्धि, तीन उद्योग ठाउँसारी, १५ उद्योग नामसारी र सात उद्योगका उद्देश्य थप गरिएको थियो । वाणिज्यतर्फ २८७ पसल नवीकरण, २५ संशोधन, १३ खारेजी, ३९ प्रतिलिपि, चार ठाउँसारी र एकको शाखा स्थापना भएको सूचना अधिकारी गिरीले बताए । उक्त कार्यालयले गत आर्थिक वर्षमा १० लाख १३ हजार ७१५ राजस्व सङ्कलन गरेको थियो । कार्यालयको चालूतर्फ कूल दुई करोड पाँच लाख बजेट रहेकामा एक करोड ४६ लाख ३७ हजार ४१३ खर्च भएको थियो । यस्तै, पुँजीगततर्फ कूल ८१ लाख ४३ हजारमध्ये ७१ लाख ३० हजार ४४२ खर्च भएको कार्यालयले जनाएको छ । रासस