द ब्रिटिस कलेजमा ‘टिबिसी मार्केटप्लेस’ कार्यक्रम सम्पन्न
काठमाडौं । द ब्रिटिस कलेजले पहिलो वार्षिक ‘टिबिसी मार्केटप्लेस’ इभेन्ट सम्पन्न गरेको छ । कलेजले लेभल ३ बिबिए करिकुलमको एक भागको रुपमा डिजाइन गरेको उक्त कार्यक्रममा पहिलो वर्षका विद्यार्थीहरुद्वारा १८ वटा स्टलको राखेका थिए । सबै स्टलमार्फत स्थानीय व्यवसायीहरुका विभिन्न उत्पादानहरु बिक्री गरिएको थियो । थापाथलीस्थित ट्रेड टावरको भुई फ्लोरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरुलाई व्यवसायिक दृष्टिकोण, स्पोनसर्सिप प्राप्त गर्ने, ब्राण्ड डिजाइनिङ, उत्पादनको बिक्रिवितरण जस्ता कार्यहरु दिइएको थियो । उक्त इभेन्टले प्राक्टिकल एसाइनमेन्टबाट कुल ग्रेडको ४० प्रतिशत योगदान गर्ने कलेजले जनाएको छ । कार्यक्रममा रहेका स्टलहरुमा तातो खानादेखि डेजर्ट, गहना, कला, कस्मेटिक र मोबाइलका सामाग्रीहरुसम्म थिए । उक्त कार्यक्रममा आउने सबैलाई कलेजको दुवै द्वारबाट स्वागत गरिएको थियो । उक्त इभेन्टमा १५०० जनाभन्दा बढीको सहभागिता थियो । कलेजका मार्केटिङ प्रमुख अमरदी मण्डलले अध्ययनको पहिलो वर्षमा नै विद्यार्थीहरुले यतिधेरै एक्सपोजर पाउँदा निकै खुसी लागेको बताए । टिबिसीले आयोजना गरेको मार्केटप्लेसले एउटा ठुलो सफलता प्राप्त भएको उनी बताउँछन् ।
कुमारी जबको ‘फ्रन्ट अफिस म्यानेजमेन्ट एन्ड सेक्रेटरियल एटिक्वेट्स’ तालिम सुरु
काठमाडौं । कुमारी जबले फ्रन्ट अफिस म्यानेजमेन्ट एन्ड सेक्रेटरियल एटिक्वेट्सको लागि तालिम सुरु गरेको छ । कम्पनीले पूर्व मिस नेपाल तथा मेडिया पर्सन एवम् ट्रेनर सुगारिका केसी लगायत अन्य दक्ष प्रशिक्षकहरुको साथमा उक्त तालिम सुरु गरेको हो । कुनै पनि अफिस अथवा संस्थाको लागि फ्रन्ट अफिस र सेक्रेटरियल विभाग अत्यन्तै महत्वपूर्ण हुने र उक्त काममा आफ्नो करियर बनाउनको लागि एउटा निश्चित योग्यता, सीप अथवा तालिम चाहिने भएकाले तालिम संचालन गरिएको कम्पनीले जनाएको छ । कुमारी जबका म्यानेजिङ डिरेक्टर सन्देश भण्डारीले नेपालका विभिन्न शहरहरुमा ठूला–ठूला व्यापारिक संस्थाहरु खोल्ने र ती संस्थाहरुमा योग्य र तालिमप्राप्त उम्मेदवारहरुको उच्च माग रहेकाले तालिम संचालन गरिएको बताए । ‘फ्रन्ट अफिस एन्ड म्यानेजमेन्ट सेक्रेटरियल एटिक्वेट्स तालिम” सञ्चालन गरेका हौँ । आशा छ यस तालिममा सहभागी सम्पूर्णले कामको लागि आवश्यक ज्ञान र सीपहरु सिक्नुहुनेछ र आफुलाई एक योग्य उम्मेदवारको रुपमा प्रस्तुत गर्नुहुनेछ,’ उनले भने । फ्रन्ट अफिस र सेक्रेटरियल विभागमा आफ्नो करियर बनाउन चाहने व्यक्तिहरुको लागि यो तालिम अत्यन्तै उपयोगी हुने उनी बताउँछन् । बुधबारबाट शुरु हुने १२ दिनको यस तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूले https://cutt.ly/cLRpn5w मा लग–इन गरेर अथवा वा कुमारी जबको टेलिफोन नम्बरमा सम्पर्क गर्न सक्ने उनले बताए । ।
आइतबार कोरोनाको ३४७ संक्रमित थपिए, दुई जनाको मृत्यु
काठमाडौं । आइतबार कोरोनाको ३४७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आइतबार ३ हजार ८८८ जनामा परीक्षण गर्दा ३४७ जनामा संक्रमण देखिएको हो । गत २४ घण्टामा ९५ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ६८ हजार ४८९ पुगेको छ । उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको छ । देशभर हाल ३ हजार १७७ जना सक्रिय संक्रमित छन् ।
सोमबारदेखि मन्दाकिनी हाइड्रोपावरको आईपीओ खुल्दै, कति कित्ता आवेदन दिने ?
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले साउन ९ गते, सोमबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको आईपीओ सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो । जसमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी १० लाख ९३ हजार ७४९ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा साउन १२ गते र ढिलोमा साउन २३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
सुरु भयो अर्नाको सङ्ग कन्टेस्ट २०२२, विजेताले १० लाख पाउने
काठमाडौं । यति ब्रुअरीकाे उत्पादन अर्ना बियरकाे सङ्ग कन्टेस्ट २०२२ सुरु भएकाे छ । अर्नाले गत दुई वर्षदेखि निरन्तर रुपमा गर्दै आएकाे याे प्रतियाेगिता आइतबारबाट सुरु भएकाे हाे । अर्ना सङ्ग कन्टेस्टमा भाग लिन इच्छुकले बनाएको आफ्नाे गीतको अडियो फाइल अर्नाको फेसबुक पेज वा अर्नाको वेवसाइटमा पठाउन सक्नेछन् । १० लाख पुरस्कार राशी रहेको यस सङ्ग कन्टेस्टमा भदाै १५ गते भित्र आफ्नो गीत पठाइ सक्नुपर्नेछ ।
नाडा अटो शो स्थगित
काठमाडौं । आगामी भदौ ७ गतेदेखि काठमाडौंमा आयोजना गर्ने भनिएको नाडा अटो शो स्थगित भएको छ । आइतबार बसेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) कार्यसमिति बैठकले अटो शो स्थगित गर्ने निर्णय गरेको हो । सरकारले आगामी भदौ १४ गतेसम्म दुईपाँग्रे तथा चार पाँग्रे सवारी साधन आयातमा प्रतिबन्धलाई निरन्तरता दिएसँगै नाडाले अटो शो स्थगित गर्ने निर्णय गरेको हो । देशमा विदेशी मुद्रा सचिञ्तीमा कमी आएको भन्दै सरकारले गत बैशाखदेखि गाडी आयातमा प्रतिबन्ध लगाएको छ । यसअघि दुई वर्षसम्म कोभिड-१९ को संक्रमणको कारण गर्न नसकिएको अटो शो नाडाले यो वर्ष भदौ ७ गतेदेखि १२ गतेसम्म गरी पाँच दिन अटो शो भृकुटीमण्डपमा आयोजना गर्ने तयारी थालेको थियो । तर सरकारले दुई पाँग्रेदेखि चार पाँग्रे सवारी साधन आयात प्रतिबन्धलाई निरन्तरता दिएसँगै नाडाले अटो शो स्थगित गरेको हो । याे पनि ः धेरै बिक्री हुने गाडी र बाइकमा नै प्रतिबन्ध, अनिश्चित बन्यो नाडा अटो शो
बैंक अफ काठमाण्डूका ग्राहकलाई बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालमा छुट
काठमाडौं । बैंक अफ काठमाण्डू र बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालबीच सम्झौता भएबमे छ । बैंक र ल्याबबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहकलाई २५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो । यस सम्झौता पश्चात् ग्राहकहरुले बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालमा उपलब्ध हुने स्वास्थ्य सम्बन्धी सेवाहरुमा एकमुष्ठ २५ प्रतिशतको छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालले ललितपुरको ग्वार्को र काठमाण्डूको सुकेधाराबाट सेवाग्राहीहरुलाई ल्याब सम्बन्धी गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आईरहेको छ । हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
स्वदेशी वस्तुको प्रवद्र्धन गर्न केन्द्रित मौद्रिक नीति सकारात्मक : महासंघ
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले स्वदेशी वस्तुको प्रवद्र्धनका लागि कर्जालाई उत्पादनशील क्षेत्रमा लगाउन केन्द्रित भएको यस वर्षकाे मौद्रिक नीति सकरात्मक रहेकाे बताएकाे छ । आइतबार एक विज्ञप्ति जारी गर्दै महासंघले यस्ताे बताएकाे हाे । कोभिड–१९ महामारीबाट प्रभावित लघु, घरेलु, साना उद्यम र उत्पादनशील क्षेत्रलाई प्राथमिकता दिई सहुलियत दरमा प्रदान गरिँदै आएको पुनरकर्जा तथा सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई निरन्तरता दिनु मौद्रिक नीतिका सकारात्मक पक्ष भएको महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले बताए । लघु, घरेलु तथा साना र मध्यम उद्यमहरुको लागि कर्जा पहुँच बढाई कर्जाको अधिकेन्द्रीकरण क्रमशः कम गर्नेतर्फ मौद्रिक नीतिले जोड दिनु, बैंक तथा वित्तीय संस्थाबाट अधिकतम पाँच करोडसम्म कर्जा उपयोग गरेका उद्यम व्यवसायहरुले २०७९ असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज २०७९ असोज मसान्तसम्म भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाउने व्यवस्था गरिनु मौद्रिक नीतिको राम्रो पक्ष भएको अध्यक्ष सिंहको भनाई छ । बैंक तथा वित्तीय संस्थाले खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, निर्यातजन्य र शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारीत उत्पादनमूलक उद्योगका लागि दुई करोडसम्मको कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम दुई प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गरिनु जस्ता व्यवस्थाले स्वदेशी उद्योगको प्रवद्र्धन र विकासमा सहयोग पुग्ने देखिएको महासंघको ठहर छ । मूल्य र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै समष्टिगत आर्थिक स्थायित्व प्रवद्र्धन गर्ने र वित्तीय साधनलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई उत्पादकत्व अभिवृद्धि मार्फत आयात प्रतिस्थापन गर्दै निर्यात अभिवृद्धि गरी आर्थिक बृद्धिलाई सहयोग पु¥याउने कार्यदिशा सहितको आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले विगतको मौद्रिक नीतिले अवलम्बन गरेका सकारात्मक व्यवस्थाहरुलाई निरन्तरता दिनु स्वागतयोग्य भएको महासंघले जनाएको छ । समग्रमा मौद्रिक नीति ठिकै भएपनि कोभिड पीडित उद्योगको पक्षमा ब्याज छुट अपेक्षा गरिएको अनुसार हुन नसकेकोमा पीडित उद्योगीहरु केही निराश भएको महासंघले जनाएकाे छ ।