उद्योगी व्यवसायीलाई दोहोरो कर लाग्नु हुँदैनः उद्योगमन्त्री बडु
काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले उद्योगी व्यवसायीलाई दोहोरो कर लगाउन नहुने बताएका छन् । नेपाल उद्योग परिसंघको १९औं वार्षिकोत्सवको अवसरमा बोल्दै बडुले उद्योगी व्यवसायीलाई दोहोरो कर लगाउन नहुने बताएका हुन् । मन्त्री बडुले सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । जग्गा लिजको अवधि बढाएको निजी क्षेत्रलाई राहात मिल्ने मन्त्री बडुले दाबी गरे । निर्यातकर्तालाई विभिन्न सहुलियतको व्यवस्था गरेको र विद्युत महसुलमा सरकारले छुट दिएको मन्त्री बडुले बताए । ‘विदेशी बजारमा बिजुली पुर्याउनका लागि पहल भईरहको छ, दोहोरो करलाई हटाएर लगानीको वातावरण सिर्जना गर्नुपर्छ ।’ उनले भने, ‘सिमेन्ट र छड निर्यात सुरु भएको छ । अझैं निर्यात बढाउन सरकार तयार छ ।’ निजि क्षेत्रलाई उत्पादन वृद्धिमा सहभागिता बढाउनका लागि अझै छलफल गर्न आवश्यक रहेको बताउँदै मन्त्री बडुले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकार तयार रहेको बताए ।
सीएनआई प्रेसिडेन्ट अवार्डबाट शर्मा पुरस्कृत
काठमाडौं । सीएनआई प्रेसिडेन्ट अवार्डबाट शर्मा पुरस्कृत भएका छन् । देशको अर्थतन्त्र र सीएनआईमा महत्वपूर्ण भूमिका खेलेको भन्दै हरिभक्त शर्मालाई नेपाल उद्योग परिसंघले पुरस्कृत गरेको हो । देउराली जनता फार्मास्युटिकल प्रालिका अध्यक्ष समेत रहेका हरिभक्त शर्मालाई सीएनआईको १९ औं वार्षिकोत्सवको अवसरमा पुरस्कृत गरेको हो । अध्यक्ष शर्माको कम्पनीले २३० प्रकारका औषधि उत्पादन गर्दै आएको छ । शर्मा सीएनआईका पूर्व अध्यक्ष समेत हुन् । शर्माको कम्पनी सन् १९९१ मा स्थापना भएको हो ।
रेणुजी मेयर मात्रै हैन प्रधानमन्त्री पनि बन्छिन्ः मन्त्री यादव
काठमाडौं । वन तथा वातावरण मन्त्री प्रदीप यादवले भरतपुर महानगरले लिएको विकासको तिव्रता अरु पालिकाले पनि अनुसरण गर्नुपर्ने बताएका छन् । भरतपुर महानगरपालिकाको कार्यालयमा महानगरकी प्रमुख रेणु दाहाल, चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्लगायतसँगको छलफलका क्रममा मन्त्री यादवले भरतपुर महानगरपालिकाले अपनाएको विकासको मोडल देशकै लागि नमूना भएको बताए । पछिल्लो पाँच वर्षमा भरतपुरमा अप्रत्याशित ढङ्गले भएको विकासले सबै आश्चर्यचकित भएको बताउँदै मन्त्री यादवले यसबाट अरु स्थानीय तहले पनि पाठ सिक्नुपर्ने उनको भनाई छ । महिला प्रमुख भएर उदाहरणीय एवम् नमुना काम गरेकै परिणामस्वरूप दोस्रो पटक पनि अत्यधिक मतका साथ भरतपुरका जनताले दाहाललाई जिताएको मन्त्री यादवको भनाई छ । उनले भने, ‘उहाँ मेयर बन्नुको पछाडि उहाँका बुबा प्रचण्डजीको कुनै आशीर्वाद थिएन, उहाँको निडर स्वभाव, दीर्घ इच्छा शक्ति र महानगरको विकासका लागि उहाँले देखेको सपना र डिजाइनका कारण महानगरबासीले उहाँलाई जिताएका हुन् ।’ मन्त्री यादवले थपे, ‘रेणुजीले गरेका कामले उहाँलाई अब मेयर मात्रै हैन प्रधानमन्त्री पनि बनाउने छ भन्नेमा म विश्वस्त छु ।’ यसअघि माडी र हुलाकी सडकको अनुगमन गरेको स्मरण गर्दै मन्त्री यादवले हुलाकी सडक बिस्तारमा वनबाट भएका अवरोधलाई हटाएर चितवन र पर्सालाई जोड्ने हुलाकी सडक निर्माणको गतिलाई तिव्रता दिनुपर्ने बताए । वन मन्त्रालयबाट अनुमति नपाएर अगाडि बढ्न नसकेका सम्पूर्ण काम आवश्यक अध्ययन र प्रक्रिया पश्चात फास्टट्र्याकमा गर्दै विकास निर्माणको काममा भएका वाधाहरूको समाधान गर्न मन्त्रालयका कर्मचारीहरूलाई उनले निर्देशन पनि दिएका छन् । हुलाकी सडक निर्माण भएसँगै पर्सा राष्ट्रिय निकुञ्ज भएर ठोरीसम्म पुग्ने पर्यटकहरूको सङ्ख्यामा वृद्धि हुने र यसले पर्यटन व्यवसाय गर्नेहरूलाई रोजगारीको सृजना गर्ने मन्त्री यादवको विश्वास छ । मन्त्री यादवले भरतपुर महानगरसहित समग्र चितवन जिल्लाको समृद्धिका लागि वन मन्त्रालयबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । भरतपुरकी मेयर रेणु दाहालले भरतपुरमा रहेको नगर वनको स्वामित्व महानगरपालिकालाई दिनुपर्ने प्रस्ताव राखिन । नगर वनलाई अन्तराष्ट्रिय स्तरको पार्क बनाउने आफ्नो योजना रहेको बताइन । त्यस्तै उनले भरतपुरको भविष्यसँग जोडिएको ट्र्याल सेन्टरसहित यातायात कार्यालय स्थापनाको काम पनि वन मन्त्रालयमार्फत काम अगाडि बढाउन अनुरोध गरिन । कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेम नारायण कँडेल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.रामचन्द्र कँडेल, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामवन्धु सुवेदीलगायतको उपस्थिति रहेको थियो ।
एनएलजी इन्स्योरेन्स र ओएसआर फिन्टेकबीच समझदारी, बीमाको रियल टाइम क्लेम सुविधा
काठमाडौं । निर्जीवन बीमा कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र बीमा एग्रेगेटर ओएसआर फिन्टेकबीच आइतबार एक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । एमओयूमा एनएलजीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र ओएसआर फिन्टेकका अध्यक्ष राजेन्द्र अर्यालले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार ओएसआर फिन्टेकले इन्स्योरेन्स एग्रेगेटरका रुपमा एनलएलजीको बीमा प्रडक्टहरुका लागि विद्युतीय प्लेटफर्म उपलब्ध गराउनुका साथै बीमा ब्रोकरको रुपमा उक्त कम्पनीको प्रडक्टहरुको मार्केटिङ गर्नेछ । एग्रेगेटर सेवाका लागि फिन्टेकले बीमामार्केट डट कम नामको वेबसाइट सुरु गर्दै छ । यो नेपालकै पहिलो रियल टाइम अनलाइन पोलिसी जारी गर्ने एग्रेगेटर हो । यसमार्फत ग्राहकले हरेक बीमालेखको विस्तृत विवरण बुझ्न सक्छन् । यसमा रियल टाइम क्लेम सुविधा उपलब्ध छ । यसले बीमाका विषयमा बुझ्न खोज्ने व्यक्तिका लागि सातै दिन २४ सै घन्टा कल सेन्टरको व्यवस्था गरेको छ । यसमार्फत खरिद, बिक्री र दाबीमा तुरुन्तै पहुँच स्थापित गर्न सकिने कम्पनीको भनाइ छ । कम्पनीले लघुबीमालाई समेत लक्ष्य बनाएको छ । समझदारीअनुसार एग्रेगेटरले एनएलजीलाई एपीआई लिंक गर्दै रियल टाइम बाइङ सलुसन प्रदान गर्नेछ । त्यसैगरी एलजीका पोलिसीहरुको खरिदबिक्रीको समीक्षाका लागि डेडिकेटेड पोर्टल उपलब्ध गराउनेछ । ओएसआरले बिक्री भएका सबै पोलिसीको रियल टाइम ट्र्याकिङ, पोलिसी नवीकरणसम्बन्धी नोटिफिकेसन, ग्राहकलाई बिमा दाबी र एलएलजीका पोलिसी खरिदमा सहयोग पनि गर्नेछ । समझदारीपत्र हस्ताक्षर कार्यक्रममा ओएसआर फिन्टेकका प्रमुख कार्यकारी अधिकृत निखिलराज बंका पनि उपस्थित थिए ।
देशले धान्नै नसक्ने आयात भयो, नाफा मात्रै नहेरेर मुलुक बचाउनतर्फ लाग्नुस् : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगीहरुलाई नाफा मात्रै नहेर्न आग्रह गरेका छन् । आइतबार नेपाल उद्योग परिसंघको १९औं वार्षिकोत्सवको अवसरमा बोल्दै देउवाले उद्योगीहरुलाई नाफा नहेरी मुलुक बचाउनतर्फ लाग्न आग्रह गरेका हुन् । ‘देशले धान्नै नसक्ने आयात भयो, नाफा मात्रै नहेरेर मुलुक बचाउनतर्फ लाग्नुस्,’ कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै उनले भने । समग्र आर्थिक विकासका लागि परिसंघले महत्वपूर्ण काम गर्दै आएको बताउँदै प्रधानमन्त्री देउवाले मेकइन स्वदेशी अभियान लगायतका कार्यक्रमले रोजगारी सिर्जनाका लागि महत्त्वपूर्ण काम गरेको उल्लेख गरे । साथै, जीडिपी र रोजगारी सिर्जना निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको समेत उनले बताए । ‘कोरोनाले अर्थतन्त्रमा चापेको छ, मुलुकले धान्नै नसक्ने व्यापार घाटा र विदेशी मुद्रा सञ्चितिको चाप छ, अब यसको सुधारका लाग सरकार र निजि क्षेत्रबीच समन्वय आवश्यक छ,’ उनले बताए । साथै, उनले महंगो वस्तु आयात नगरी स्वदेशी वस्तु प्रगोग र उत्पादन गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘महँगो वस्तु आयात गर्नु हुँदैन, स्वदेशी वस्तु प्रयोग र उत्पादन गर्नु पर्ने आवश्यकता रहेको छ, विदेशी कच्चा पदार्थमा आधारित उद्योगको विकास, विदेशी मुद्रा आर्जन गर्ने व्यवसाय गर्नु पर्ने, रेमिट्यान्स आप्रवाहलाई औपचारिक माध्यमबाट ल्याउनु पर्ने र पेट्रोलियम पदार्थको प्रयोग कम गर्नु पर्ने देखिन्छ,’ उनले बताए । त्यस्तै, बजेटलाई सघाउने माौद्रिक नीति आएको र यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने उनको भनाई छ ।
नेप्सेमा नेपाल इन्स्योरेन्सको ११ प्रतिशत बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ११ प्रतिशत बोनस सेयर वापतको १३ लाख ६६ हजार ५७२.४२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद गरी कूल ११.५७८९ प्रतिशत लाभांश वितरण गरेको थियो ।
ग्लोबल आइएमई बैंकले ल्यायो चक्रवर्ती मुद्दती निक्षेप योजना, निक्षेपलाई चौबर बनाउन सकिने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले “ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना” सार्वजनिक गरेको छ । बैंकले ग्राहकको मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोही अनुसार बनाउन सकिने योजना सार्वजनिक गरेको हो । सो मुद्दती निक्षेप योजनाअन्तर्गत तोकिएको समयावधिभित्र निक्षेप दोब्बर, तेब्बर, चौबर वा ग्राहकको चाहना बमोजिम त्योभन्दा अझ बढी हुने बैंकले जनाएको छ । बैंकको योजनामा निर्धारित ब्याजदरको लागि आवश्यक ब्याज प्रचलित दर अनुसार लागु हुने बैंकले जनाएको छ । तर उक्त मुद्दति निक्षेप खाता सञ्चालनका लागि न्यूनतम मौज्दात १० हजार रुपैयाँ हुनुपर्नेछ । बैंकले समयानुकूल उच्चतम प्रतिफल प्रदान गरी प्रत्यक्ष रुपमा लावान्भित हुने खालका योजना ल्याउने गरेको छ । मुलुकका ७७ जिल्लामा २८९ शाखा रहेको बैंकले २६२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढि सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकलाई सेवा दिँदै आएको छ ।
श्वेत-गंगा हाइड्रोको आईपीओमा १६ लाख बढीको आवेदन
काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओमा अन्तिम दिन माग भन्दा ८.०३ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको आईपीओमा आइतबार ५ बजेसम्ममा १६ लाख ३ हजार ७७२ जना आवेदकले १ करोड ८२ लाख ३९ हजार २७० कित्ताका लागि १ अर्ब ८२ करोड ३९ लाख २७ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । कम्पनीले साउन ४ गतेदेखि साउन ८ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका २३ लाख ८९ हजार ५ सय कित्ता साधारण सेयर बिक्री गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र २२ लाख ७० हजार २५ कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।