रेणुजी मेयर मात्रै हैन प्रधानमन्त्री पनि बन्छिन्ः मन्त्री यादव 

<p>काठमाडौं । वन तथा वातावरण मन्त्री प्रदीप यादवले भरतपुर महानगरले लिएको विकासको तिव्रता अरु पालिकाले पनि अनुसरण गर्नुपर्ने बताएका छन् ।  भरतपुर महानगरपालिकाको कार्यालयमा महानगरकी प्रमुख रेणु दाहाल, चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्लगायतसँगको छलफलका क्रममा मन्त्री यादवले भरतपुर महानगरपालिकाले अपनाएको विकासको मोडल देशकै लागि नमूना भएको बताए ।  पछिल्लो पाँच वर्षमा भरतपुरमा अप्रत्याशित ढङ्गले [&hellip;]</p>

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रदीप यादवले भरतपुर महानगरले लिएको विकासको तिव्रता अरु पालिकाले पनि अनुसरण गर्नुपर्ने बताएका छन् । 

भरतपुर महानगरपालिकाको कार्यालयमा महानगरकी प्रमुख रेणु दाहाल, चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्लगायतसँगको छलफलका क्रममा मन्त्री यादवले भरतपुर महानगरपालिकाले अपनाएको विकासको मोडल देशकै लागि नमूना भएको बताए । 

पछिल्लो पाँच वर्षमा भरतपुरमा अप्रत्याशित ढङ्गले भएको विकासले सबै आश्चर्यचकित भएको बताउँदै मन्त्री यादवले यसबाट अरु स्थानीय तहले पनि पाठ सिक्नुपर्ने उनको भनाई छ ।

महिला प्रमुख भएर उदाहरणीय एवम् नमुना काम गरेकै परिणामस्वरूप दोस्रो पटक पनि अत्यधिक मतका साथ भरतपुरका जनताले दाहाललाई जिताएको मन्त्री यादवको भनाई छ । उनले भने, ‘उहाँ मेयर बन्नुको पछाडि उहाँका बुबा प्रचण्डजीको कुनै आशीर्वाद थिएन, उहाँको निडर स्वभाव, दीर्घ इच्छा शक्ति र महानगरको विकासका लागि उहाँले देखेको सपना र डिजाइनका कारण महानगरबासीले उहाँलाई जिताएका हुन् ।’ मन्त्री यादवले थपे, ‘रेणुजीले गरेका कामले उहाँलाई अब मेयर मात्रै हैन प्रधानमन्त्री पनि बनाउने छ भन्नेमा म विश्वस्त छु ।’ 

यसअघि माडी र हुलाकी सडकको अनुगमन गरेको स्मरण गर्दै मन्त्री यादवले हुलाकी सडक बिस्तारमा वनबाट भएका अवरोधलाई हटाएर चितवन र पर्सालाई जोड्ने हुलाकी सडक निर्माणको गतिलाई तिव्रता दिनुपर्ने बताए । 

वन मन्त्रालयबाट अनुमति नपाएर अगाडि बढ्न नसकेका सम्पूर्ण काम आवश्यक अध्ययन र प्रक्रिया पश्चात फास्टट्र्याकमा गर्दै विकास निर्माणको काममा भएका वाधाहरूको समाधान गर्न मन्त्रालयका कर्मचारीहरूलाई उनले निर्देशन पनि दिएका छन् । 

हुलाकी सडक निर्माण भएसँगै पर्सा राष्ट्रिय निकुञ्ज भएर ठोरीसम्म पुग्ने पर्यटकहरूको सङ्ख्यामा वृद्धि हुने र यसले पर्यटन व्यवसाय गर्नेहरूलाई रोजगारीको सृजना गर्ने मन्त्री यादवको विश्वास छ । मन्त्री यादवले भरतपुर महानगरसहित समग्र चितवन जिल्लाको समृद्धिका लागि वन मन्त्रालयबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । 

भरतपुरकी मेयर रेणु दाहालले भरतपुरमा रहेको नगर वनको स्वामित्व महानगरपालिकालाई दिनुपर्ने प्रस्ताव राखिन । नगर वनलाई अन्तराष्ट्रिय स्तरको पार्क बनाउने आफ्नो योजना रहेको बताइन । त्यस्तै उनले भरतपुरको भविष्यसँग जोडिएको ट्र्याल सेन्टरसहित यातायात कार्यालय स्थापनाको काम पनि वन मन्त्रालयमार्फत काम अगाडि बढाउन अनुरोध गरिन ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेम नारायण कँडेल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.रामचन्द्र कँडेल, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामवन्धु सुवेदीलगायतको उपस्थिति रहेको थियो ।

Share News