काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका ९ नंखेलस्थित बायो ब्यागस नेपाल प्रालिले जैविक झोलाको उत्पादन सुरु गरेको छ । दीपेश वेजूले करिब एक करोड लगानीमा उक्त उद्योग सञ्चालनमा ल्याएको हुन् ।
मकैको स्टार्चबाट जैविक झोला बन्ने प्रविधि भित्र्याएका उद्योगी वेजूले जैविक झोलालाई बायो व्यागस नाम दिएको बताए ।
कम्पनीले पोखरामा उत्पादन बिक्री वितरण गर्न डिलरसमेत सञ्चालनमा ल्याइसकेको र एकदर्जन स्थानीय युवाहरुलाई रोजगारीसमेत दिएका उनले जानकारी दिए । ‘अन्य सहरमा समेत डिलर खोल्ने तयारी तीव्र रुपमा भइरहेको छ । प्लास्टिक झोलाको विकल्पको रुपमा जैविक झोला उत्पादन गर्ने बायो ब्यागस नेपाल प्रा लि नेपालमा पहिलो उद्योग हो’, सञ्चालक वेजूले भने ।
‘मकैको स्टार्चबाट बन्ने जैविक झोला प्रयोगपछि कम्पोष्ट मल बनाउन सकिन्छ । बान्दा पनि खरानी बन्छ, खरानी पनि मल नै हो,’ उनले थपे ।
उनले उद्योगबाट दैनिक जीवनमा प्रयोग हुने झोलासँगै औद्योगिक, सुपरमार्केट, होटल तथा रेस्टुराँ, किराना पसलमा प्रयोग हुने कभर, पाउच र रोल झोलाको उत्पादन धमाधम भइरहेको बताए । ‘दैनिक जीवनमा प्रयोग हुने प्लास्टिकका झोलाजस्तै १ केजी, २ केजी, ५ केजी र १० केजी क्षमताका जैविक झोला उत्पादन भइरहेको बताए । मागअनुसार जुनसुकै तौल र साइजका झोला उत्पादन गर्छौ,’ सञ्चालक वेजूले भने ।