काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएर छोड्ने घोषणा गरेका छन् ।
शनिवार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन ।
उनले अहिले पनि देशको परिवर्तनकारी र बलियो शक्ति पुष्पलालले नै स्थापना गरेको पार्टी नेकपा एमाले रहेको दाबी गरे । पार्टी अध्यक्षको हैसियतमा आफू पुष्पलाल र अन्य अग्रजहरुले देखाएको बाटोबाट विचलित नहुने समेत उनले प्रण गरे । अध्यक्ष ओलीले देशको सबैभन्दा सचेत, संगठित, सबल, विस्तृत, परिवर्तनकारी शक्ति नेकपा एमाले नै रहेकोले पार्टीलाई अझै सशक्त बनाएर लैजनेमा जोड दिए ।
अध्यक्ष ओलीले नेपाली काँग्रेसले प्रजातान्त्रिक लडाईंमा शहीद भएकाहरुलाई उचित सम्मान दिन नसकेको आरोप लगाउँदै भीमदत्त पन्त दगायतका शहीदलाई कहिल्यै आफ्नो शहीद नमानेको भन्दै उनले काँग्रेसलाई भीमदत्त पन्तको नाम लिँदा पनि सिरिङ्ग हुने आरोप लगाए ।
अध्यक्ष ओलीले नेपाली काँग्रेसको तर्फबाट आन्दोलन गर्दा यज्ञबहादुर थापा, भीमनारायणहरु फाँसीको सजाय सुनाइएपनि काँग्रेसले एउटा विज्ञप्ती समेत निकाल्न नसकेको उनले आरोप लगाए । उनले सत्ता स्वार्थ र राजनीतिक स्वार्थका लागि काँग्रेसले आफ्नै अग्रजहरुको सम्मान गर्न नसकेको समेत आरोप लगाए ।
अध्यक्ष ओलीले गिरिजाप्रसाद कोईराला कम्युनिष्ट नेता मनमोहन अधिकारीबाट प्रेरित भएर कम्युनिष्ट कार्यकर्ताको रुपमा राजनीतिमा लाग्नुभएको दाबी गरे । ४४ औं स्मृति दिवसको अवसरमा अध्यक्ष ओलीले संस्थापक नेता श्रेष्ठको प्रतिमामा माल्यार्पण र पुष्पगुच्छा अर्पणसमेत गरेका थिए ।