विकासन्युज

टीआर कर्जामा कडाइ, रेमिट्यान्स पठाउनेलाई सुविधै सुविधा

काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रस्ट रिसिप्ट कर्जा (टीआर लोन) मा कडाइ गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् टीआर कर्जामा कडाइ गर्ने भएकाे हो । राष्ट्र बैंक स्रोतका अनुसार व्यवस्थापन समितिबाट टीआर कर्जा कडाइ गर्ने बुँदा राष्ट्र बैंक सञ्चालक समितिमा गइसकेको थियो । सम्भवतः समितिले पनि सो व्यवस्थालाई सदर गर्नेछ । राष्ट्र बैंकको अनुसन्धान विभागको नेतृत्वमा बनेको मौद्रिक नीतिको ड्राफ्टमा अत्यावश्यक बाहेकका व्यापारिक वस्तुको आयातमा कुनै पनि प्रकारको टीआर कर्जा प्रवाह नगरिने व्यवस्था गरेको थियो । सोही व्यवस्थालाई राष्ट्र बैंकको व्यवस्थापन समितिले पनि पारित गरेर बोर्डमा पठाएको थियो । यति बोर्डले पनि सो व्यवस्थालाई स्वीकृत गरेमा अब टीआर कर्जामा कडाइ हुनेछ । उसो त यसअघि पनि राष्ट्र बैंकले टीआर कर्जामा केही गरेको थियो । बैंकिङ क्षेत्रमा तरलता अभाव देशको भुक्तानी सन्तुलनको अवस्था निरन्तर बिग्रिएपछि राष्ट्र बैंकले टीआर कर्जामा थप कडाइ गर्न लागेको हो । यस्तो कर्जा बढीमा ९० दिनको लागि दिन सकिने व्यवस्था छ । विदेशबाट सामान आयात गर्नको लागि व्यवसायीहरुले टिआर कर्जा लिन्छन् । सामान आयात भएको ९० दिनमा भुक्तानी हुने आधारमा यस्तो खालको कर्जाको सिमा ९० दिन राखिएको हुन्छ । यस्तै, राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरूले विप्रेषण पठाउँदा लाग्ने लागतमा कमी ल्याउन विभिन्न सहुलियत दिने कार्यक्रम पनि ल्याएको छ । अनौपचारिक माध्यमबाट विदेशी विनिमय अपचलन सम्बन्धी कारोबार गर्नेलाई कडा कारवाही र औपचारिक च्यानलबाट रेमिट्यान्स पठाउनेलाई धेरै वटा सहुलियत प्रदान गर्ने कार्यक्रम रहेको स्रोतको भनाइ छ ।

मर्ज सम्बन्धि निर्देशनमा लघुवित्तहरुको अवज्ञा, सबैसँग प्रष्टिकरण लिँदै राष्ट्र बैंक

काठमाडौं । गत १९ पौषमा नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ (दोहोरो लगानी) भएका ‘घ’ वर्गका लघुवित्तहरुलाई असार मसान्सम्म मर्ज सम्बन्धि कार्ययोजना पेश गर्न निर्देशन जारी गरेको थियो । तर राष्ट्र बैंकले जारी गरेको उक्त निर्देशन अहिले वेवारिसे भएको छ । ‘इजाजतप्राप्त क, ख र ग बर्गका एउटा बैंक तथा वित्तीय संस्थाको १० प्रतिशत भन्दा बढी सेयर स्वामित्व भएका संस्थाहरुबीच एक आपसमा वा इजाजतपत्र प्राप्त एक भन्दा बढी क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशत भन्दा बढी सेयर स्वामित्व रहेका लघुवित्त वित्तीय संस्थाहरुले एक आपसमा गाभ्न–गाभिन वा प्राप्तिमा जान असार मसान्तसम्म राष्ट्र बैंक समक्ष कार्ययोजना पेश गर्नुपर्नेछ,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा लेखिएको छ । लघुवित्तको संख्या घटाउनको लागि राष्ट्र बैंकले यस्तो निर्देशन जारी गरेको थियो । तर कुनै पनि लघुवित्तले कार्ययोजना पेश नगरेका राष्ट्र बैंक स्रोतले बतायो । राष्ट्र बैंकले जारी गरेको निर्देशन अफ्ठ्यारो भएपछि उक्त विषय कार्यान्वयनमा नआएको लघुवित्तका सीईओहरु बताउँछन् । राष्ट्र बैंकले जारी गरेको उक्त निर्देशन लागू नहुने भन्दै लघुवित्तका सीईओहरुले विरोध गरेका थिए । नभन्दै अहिले आएर दोहोरो लगानी भएका लघुवित्त मर्जर गराउने राष्ट्र बैंकको प्रयास असफल भएको छ । राष्ट्र बैंकले ल्याएको क्रस होल्डिङ व्यवस्था भनेजस्तो सजिलो र व्यवहारिक नभएको लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सीईओ समेत रहेका नेपाल लघुवित्त बैंङ्कर्स संघ (एनएमबीए) का अध्यक्ष प्रकाशराज शर्माले बताए । उनले भने, ‘एउटा बैक तथा वित्त कम्पनीले दुई वटा मात्रै लघुवित्तमा लगानी गरेको भए मर्जर गर्न सम्भव हुने थियो, तर एउटै कम्पनीको ३ वटाभन्दा बढीमा लगानी छ भने मर्जर हुन गाह्रो छ ।’ दोहोरो लगानी नभएका लघुवित्त मर्जर गर्न त असम्भव भएका बेलामा तेहोरो लगानी भएका लघुवित्त मर्जर गर्न गाह्रो हुने उनले बताए । कुनै पनि लघुवित्तले आफ्नो कार्ययोजना पेश गरेको जानकारी एनएमबीएलाई नभएको अध्यक्ष शर्माले बताए । ‘राष्ट्र बैंकले कुनै पनि जानकारी दिएको छैन । यस विषयमा कुनै पत्राचार र सुझाव नै मागेको छैन् ।’ विजय लघुवित्तका सीईओ तथा एनएमबीएका पूर्व अध्यक्ष बसन्त लम्सालले राष्ट्र बैंकले निर्देशन जारी गरेपनि कार्यान्वयनमा नआएको बताए । ‘लघुवित्तहरुलाई कार्ययोजना पेस गर्न भनेको थियो तर कसैले पेश गरेका छैनन् । यो अफ्ठ्यारो र असहज देखिएको छ । यो निर्णय कार्यान्वयन भएन । राष्ट्र बैंकले यसलाई सहज रुपमा लिएको भएपनि गाह्रो विषय हो ।’ राष्ट्र बैंकले निर्देशन जारी गरेपश्चात् कुनै पत्राचार गर्ने वा सूचना पठाउने काम नगरेको सीईओ लम्सालले बताए । राष्ट्र बैंकले कुन बैंक तथा वित्त कम्पनीको कुन लघुवित्तमा कति प्रतिशत लगानी रहेको छ भनी अध्ययन गर्ने बताएको थियो । तर राष्ट्र बैंकले अध्ययन पनि गरेको छैन । राष्ट्र बैंकले अब सबै लघुवित्तहरुलाई लघुवित्तहरुलाई कार्ययोजना पेश गर्न अब ताकेता गर्ने भएको छ । ‘कार्ययोजना पेस गर्न असार मसान्तसम्मको समय दिएका थियौं । किन पेश गर्नुभएन ? भनेर अब पत्र काट्छौ’–स्रोतले भन्यो ।

सरकारी अस्पतालले सेवा सुधार गरेपछि निजी बन्द हुने अवस्थामा

गलकोट । कुनै दिन बागलुङको सरकारी स्वामित्वको धौलागिरि अस्पताल सुनसान हुन्थ्यो । सरकारी अस्पताल एउटा ‘रिफर सेन्टर’का रपमा मात्रै चिनिएको थियो । साविक धौलागिरि अञ्चलवासीलाई सेवा दिनका लागि सञ्चालित अस्पतालमा जिल्ला अस्पताल सरहकै सुविधा थिएन । अस्पतालमा आएका बिरामीहरुलाई पोखरा वा अन्यत्र पठाउनुपर्ने बाध्यता केही वर्ष अघिसम्म थियो नै । बागलुङका स्थानीयवासीले रकम तिरेर भए पनि उपचार पाउन सकेका थिएनन् । साविक धौलागिरि अञ्चलका मुस्ताङ, म्याग्दी, पर्वत र बागलुङ जिल्लाका जनतालाई आधारभूत स्वास्थ्य सेवा पनि दिन नसकेको यस अस्पतालले भने पछिल्लो समय काँचुली नै फेरेको छ । धौलागिरि अस्पतालको भौतिक पूर्वाधार, उपकरण तथा विशेषज्ञ सेवाका कारण बिरामीको चाप ह्वात्तै बढेको छ भने स्वास्थ्य बीमाको सफल कार्यान्वयनले समेत अस्पतालमा विरामी आकर्षित भएका छन् । अहिले टोकन लिने, नाम लेखाउने, बिल काट्ने र चिकित्सकलाई भेट्न पालो कुर्नुपर्ने अवस्था छ । अस्पतालमा चाप बढेसँगै फार्मेसी र प्रयोगशालामा बिरामी लामो लाइन बस्नुपर्ने अवस्था छ । पछिल्लो समय धौलागिरि अस्पतालमा निकै सुधार भएको र स्वास्थ्य बीमाको बागलुङमा सफल कार्यान्वयन भएका कारण अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको छ । दरबन्दीका चिकित्सक नभए पनि अस्पतालले करार र छात्रवृत्तिका चिकित्सकको भरमा अस्पतालमा सेवा दिँदै आएको छ । कुनै दिन निजी अस्पतालमा जाने बिरामी अहिले यस अस्पतालमा आउन थालेको धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र विक पोखरेलले बताए । अस्पतालमा दैनिक ३०० देखि ४०० बिरामी सेवा लिन आउने गरेको अस्पतालले जनाएको छ । डा पोखरेलले भने, ‘अहिले अस्पताल नागरिकको भरोसायोग्य बन्दै आएको छ, हामीले सकेसम्म नागरिकलाई सन्तुष्टि पार्ने गरी उपचार गरेका छौँ ।’ अस्पतालमा एक मेडिकल सुपरिटेन्डेन्टसहित १६ विशेषज्ञ र छ मेडिकल अधिकृतको दरबन्दी रहेकामा मेडिकल सुपरिटेन्डेन्टबाहेक अरु दरबन्दी रिक्त छ । अहिले पाँच मेडिकल अधिकृत, १० करार र छात्रवृत्तिका विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन् । अस्पतालको भौतिक संरचना तथा बाहिरी वातावरणसमेत कुनै निजी अस्पतालको भन्दा कम छैन । जिल्लामा २०१६ सालमा डिस्पेन्सरीको रुपबाट सेवा दिन थालेको यस अस्पताल २०३३ सालदेखि जिल्ला अस्पताल, २०६७ सालमा अञ्चलस्तरीय र धौलागिरिको सबैभन्दा ठूलो सरकारी अस्पतालको रुपमा सञ्चालित छ । गण्डकी प्रदेशले प्रदेशको उप–प्रादेशिक अस्पताल बनाउने गरी बजेट तथा कार्यक्रममा समावेशसमेत गर्दै आएको छ । अस्पतालमा २०७२ सालपछि डायलासिस सेवा थपिएको छ । अस्पतालले आफैँ अक्सिजन उत्पादन गर्दै आएको छ भने कोरोनाकालमा पाँच शय्याको आइसियु सेवासमेत सुरु गरेको थियो । अस्पतालमा अहिले आइसियु, बालबालिकाका लागि एनआइसियु, भेन्टिलेटरजस्ता अत्यावश्यक सेवासमेत थपिएका छन् । अस्पतालमा अपाङ्गमैत्री संरचना, विद्युतीय भ¥याङलगायतका सेवा रहेका छन् । हालै गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० मा सिटिस्क्यान सेवाका लागि अस्पताललाई रु १० करोड बजेटसमेत विनियोजन गरेको छ । अस्पतालमा अहिले धौलागिरिका चारै जिल्लालाई पुग्ने अक्सिजन उत्पादन गर्ने तीन करोड लागतको प्लान्ट निर्माणसमेत गरिएको छ । जिल्लामा मुक्तिनाथ अस्पताल, नीलगिरि अस्पताल र सफल पोलिक्लिनिक गरी तीनवटा अस्पताल छन् । सरकारी अस्पतालले सेवा सुधार गरेपछि निजी अस्पताल बन्द हुने अवस्थामा पुगेको निलगिरी अस्पतालका अध्यक्ष डिलबहादुर कार्कीले बताए । जिल्लाको सबैभन्दा पुरानो निजी अस्पतालको रुपमा रहेको मुक्तिनाथ अस्पताल पनि सञ्चालन गर्न कठिनाइ रहेको सो अस्पतालका सञ्चालक सुशील पन्तको भनाइ छ । बागलुङमा स्वस्थ्य बीमा कार्यक्रम प्रभावकारीरुपमा सञ्चालित छ । एकपटक बीमा गरेका परिवारले धौलागिरि अस्पतालबाट सबै सेवा निरन्तर पाउन थालेपछि बिरामी निजी छोडेर सहकारी अस्पताल आउन थालेका हुन् । स्वास्थ्य बीमाका कारण निःशुल्क उपचार पाएपछि निजी अस्पताल छोडेर सरकारी अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि भएको हो । जिल्लामा २०७३ असारदेखि सुरुआत गरिएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ८० हजार आवद्ध भएको स्वस्थ्य बीमा बोर्ड बागलुङ दर्ता अधिकारी नारायण शर्माले बताए । उनका अनुसार स्वस्थ्य बीमा गर्नेको सङ्ख्या दैनिकरुपमा वृद्धि भइरहेको र सरकारी अस्पतालले समेत सहजरुपमा सेवा दिइराखेको छ । उनले भने, ‘धौलागिरि अस्पतालको सेवा प्रभावकारी भएकै कारण बीमाप्रति आकर्षण बढेको छ ।’ सरकारले स्वास्थ्यमा सबै नागरिकको समान पहुँच पुगोस् भन्ने उद्देश्यले अगाडि सारेको उक्त कार्यक्रमले जिल्लामा आर्थिकरूपमा विपन्न र गरिब समुदायका बिरामीले औषधि उपचारमा ठूलो राहत महसुस गर्न थालेका छन् । पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक तीन हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएकाको हकमा प्रतिसदस्य ७०० का दरले शुल्क बुझाइ बीमा गरेपछि एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यको वार्षिकरूपमा रु एक लाखसम्मको औषधि उपचार निःशुल्क हुने व्यवस्था छ । सरकारले बीमा रकम तिर्न नसक्ने अतिगरीब तथा ७० वर्ष नाघेका वृद्धवृद्धालाई बीमा रकमबापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपिडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य शल्यक्रियालगायत उपचार गराउनाका साथै झण्डै ४८० प्रकारका निःशुल्क औषधि प्राप्त गर्न सक्नेछन् । रासस

मौद्रिक नीति चुहिएपछि सेयर बजारमा गिरावट, कम्पनीलाई मात्र ४/१२ को सीमा हट्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ४ बजे मौद्रिक नीति सार्वजनिक गर्दैछ । मौद्रिक नीति सार्वजनिक हुनुपूर्व नै सेयर बजारलाई प्रभावित गर्ने सूचनाहरु चुहिएका छन् । आजै शेयर बजारमा २७ अंकको गिरावट आएको छ । एउटै व्यक्ति, परिवार तथा कम्पनीले सेयर कर्जा एउटा बैंकबाट बढीमा ४ करोड र सबै बैंकबाट बढीमा १२ करोड लिन पाउने व्यवस्थालाई नयाँ मौद्रिक नीतिमा केही संशोधन गरिने भएको छ । उक्त व्यवस्था व्यक्ति तथा परिवारको लागि यथावत रहने भएको छ भने कम्पनीको हकमा उक्त सीमा नलाग्ने व्यवस्था गर्न लागिएको छ । संशोधित नयाँ व्यवस्थाले पुँजी बजारलाई सहयोग नगर्ने भएकोले शुक्रबारको बजारमा उच्च गिरावट आएको लगानीकर्ताहरु बताउँछन् । ‘कर्जा लिएर सेयरमा लगानी गर्ने गरी कम्पनीको संख्या नगन्य छ, व्यक्तिलाई दिने कर्जाको सीमा नबढ्ने भयो’ एक लगानीकर्ताले भने- ‘त्यहि भएर बजार घट्यो । मौद्रिक नीति मार्फत ४/१२ को सीमा हट्ने अनुमानसहित गत साता सेयर बजारमा मूल्य र कारोबार दुबै बढेको थियो । शुक्रबार भने नेप्से परिसूचक २७.२६ विन्दुले घटेर २०१७ अंकमा सीमित भएको छ । आज एक अर्ब ४४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । राष्ट्र बैंकले समग्रमा कर्जा विस्तार नियन्त्रण गर्ने, उत्पादन मुलक क्षेत्रमा जाने कर्जालाई प्रोत्साहित गर्ने र सेयर, घर जग्गा, गाडी लगायत अनुत्पादक क्षेत्रमा जाने कर्जा लगानी नियन्त्रण गर्ने नीतिगत व्यवस्थालाई जोड दिने भएको छ । यसले पनि आजको सेयर बजार प्रभावित गरेको लगानीकर्ताहरु बताउँछन् । सेयर लगानीकर्ता दवाद समूहका अध्यक्ष हरि ढकाल पनि शुक्रबारको बजार नचाहिने हल्लाले घटेको बताउँछन् । ‘बजारमा व्याजदर बढ्ने लगायतका नकारात्मक हल्ला खल्ला छ, त्यसैले घटीरहेको हो,’ उनले विकासन्युजसँग भने । नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियार भने बजारमा मौद्रिक नीति चुहियो भन्ने हल्ला रहेको बताएका छन् । तर आफ्नो जानकारीमा भने त्यस्तो केही पनि नभएको उनको भनाई छ । ‘मौद्रिक नीतिमा अनउत्पादक क्षेत्रको ब्याज रिटर्न बढाउने, तर उत्पादक क्षेत्रको ब्याजदर यथावत राख्ने अथवा १/२ प्रतिशत घटाउने होला,’ रौनियारले बताए ।

मेगा बैंकले ल्यायो ‘एक-से-एक बचत खाता’, ८.०३ प्रतिशत ब्याज पाइने

काठमाडौं । मेगा बैंक नेपालले ‘एक-से-एक बचत खाता’ नामक नयाँ आकर्षक बचत खाता योजना ल्याएको छ । बैंकले ‘एक-से-एक बचत खाता’ नाम दिएको यस बचत खातामा सगरमाथा, कञ्चनजञ्गा र ल्होत्से गरी तीन वटा हिमालको नामाकरण गरी फरक फरक सुविधाहरु ल्याएको हो । यी योजनाहरुमा ८.०३ प्रतिशत ब्याज पाइनुका साथै विभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको बैंकले जनाएकाे छ । यसैगरी, यी तीनै वटा योजनामा डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ चेक बुक र इ-कमर्श रजिष्ट्रेशन निःशुल्क गरिएको छ भने क्रेडिट कार्ड सुविधा पनि उपलब्ध छ । साथै, बैंकले रिटेल लोन प्रक्रिया शुल्कमा ०.२५ छुटसहित प्रिपेड डलर कार्ड, लकर लगायत विविध सेवामा छुटको व्यवस्था गरेकाे छ । मेगा बैंकले २ सय ८ वटै शाखा तथा २५ वटा एक्सटेन्सन काउन्टरहरुबाट यस योजना अन्तर्गत खाता खोल्न सकिने बैंकले जनाएको छ ।

द्रौपदी मुर्मु बनिन् भारतको पहिलो आदिवासी महिला राष्ट्रपति

नयाँदिल्ली । भारत सरकारले द्रौपदी मुर्मुलाई देशको पन्ध्रौँ राष्ट्रपति राष्ट्रपति घोषणा गरेको छ । बिहीबार राति मतगणना समाप्तिसँगै राज्यसभाका महासचिव एवम् राष्ट्रपति चुनावका निर्वाचन अधिकृत पिसी मोदीले द्रौपदी मुर्मुलाई दिल्लीस्थित उनको निवासमा राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेर आधिकारिक रूपमा देशको पन्ध्रांैँ राष्ट्रपति घोषणा गरेका हुन् । मतपरिणामअनुसार मुर्मुले दुई हजार आठसय २४ र उनका प्रतिद्वन्द्वी यशवन्त सिन्हाले एक हजार आठसय ७७ मत प्राप्त गरेका थिए । निर्वाचनमा चार हजार सातसय ५४ मत मत खसेको थियो जसमा ५३ मत बदर भएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले नवनिर्वाति राष्ट्रपति मुर्मुलाई उनको निवासमा भेटेर बधाई ज्ञापन गरेका थिए । अल्पसङ्ख्यक जातीय समुदायकी मुर्मु भारतको पहिलो आदिवासी महिला राष्ट्रपति भएकी छन् । आगामी सोमबार उनले पद तथा गोपनीयता शपथ लिने कार्यक्रम छ । भारतको संविधानअनुसार प्रधानमन्त्री कार्यकारी सरकार प्रमुख हुन् भने पदीय मर्यादाअनुसार प्रधानमन्त्रीभन्दा माथिको ठूलो औपचारिक पद हो । पूर्वी राज्य उडिसाकी ६४ वर्षिया मुर्मु सन् २०१५ देखि २०२१ सम्म झारखण्ड राज्यको राज्यपाल थिइन् । सन्थाल जातिकी अल्पसङ्ख्यक सदस्य उनको समुदायका मानिस पूर्वी नेपालको झापा र मोरङमा बसोबास गर्दै आएका समाचार संस्था एपीले जनाएको छ । राजनीतिमा प्रवेश गर्नु अघि उनी विद्यालय शिक्षिका थिइन् । प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीबाट दुई पटक सांसद भएकी उनका बुबा र हजुरबुवा उडिसाको मयुरभञ्ज जिल्लाको बैदापोसीमा गाउँका प्रमुख थिए ।

लास फर्काउने व्यापारी, रिवन काट्ने राष्ट्रपति

ब्लग राजधानीमा रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा केही दिन अघि एकदमै मन कुटुक्क पार्ने दृश्य देखियो । मलेशिया जान लागेका युवकको विमानस्थलमा चप्पल चुटिएपछि उनी खाली खुट्टै गए । पछिल्लो समय नेपालबाट विदेशिने क्रम बढ्दो छ । पैसावालका छोराछोरी पढ्नका लागि भनेर विकसित मुलुक छिरिरहेका छन् । तर, गरिब वर्गहरु चप्पल नै नलगाई खाडी छिर्न बाध्य छन् । सुःखी भविष्य देखेर खाडी छिर्नेलाई पनि कहाँ त्यति सजिलो छ र ! काम गर्दागर्दै दुर्घटनामा परेर कफिनमा फर्किनुपरेको छ । कतिको त लास अझै पनि विदेशमै छ । नेपाल सरकार तथा श्रम तथा रोजगार मन्त्रालयले उनीहरुको शव फिर्ता ल्याउन चासो देखाएको छैन् । व्यापारी दुर्गा प्रसाईले अस्तिका दिन एउटा शव ल्याए तर त्यहाँ पनि मिडियाबाजी भयो । मरेको व्यक्तिको लासमाथि पनि राजनीति भयो । बाहिर भएको नेपालीको शव नेपाल फर्काउन सहयोग गर्नु राम्रो विषय हो । तर, एउटा लास ल्याउदा विमानस्थलभरि सञ्चारकर्मी बोलाउनु र राजनीति गर्नु लज्जास्पद विषय हो । यसअघि दुर्गा प्रसाईले कति वटा लास फिर्ता ल्याए ? आफू चर्चामा आउनका लागि एउटा लास ल्याएर केके न गरे भन्न मिल्छ ? कि यसअघि पनि उनले नै लास ल्याउने गरेका थिए ? जिउँदोमाथि त राजनीति गरे तर मरेकालाई पनि छाडेनन् । श्रममन्त्री शेरबहादुर कुँवरले विदेशमा भएका नेपाली जनताको शव तुरुन्त फर्काउनुपर्यो । सरकारको खर्चमा तत्कालै विदेशीको शव फर्काऊ । कुनै नेपाली विदेशमा मर्दा आफन्तले शव फर्काउन नसकेर धुरुधुरु रोइरहेका छन् । तर, त्यही जनताले तिरेको करबाट राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, संसद्, मेयर, उपमेयरलाई लाज लागेन् । नेपाली सेना र नेपाल प्रहरी के हेरेर बसिरहेको छ ? सरकारले आफ्नो दायित्व बिर्सिएको हो ? काम गरेर घरपरिवार पाल्छु, राज्यलाई कर तिर्छु भनेर हिडेकाको शव ल्याउन नसकेर ऊसको परिवारको निद्रा गुमेको छ । यदि सरकारसँग पैसा छैन् भने हरेक नेपालीले १० रुपैंयाँ उठाएर दिन्छन् । जसरी हुन्छ नेपालीको शव फर्काउनुपर्छ । देशमा नाम मात्रका राष्ट्रपति र प्रधानमन्त्री छन् । रिबन काट्न र सेवासुविधा खुवाउनका लागि राष्ट्रपति बनाएको हो ? साँच्नै नै भन्ने हो भने हाम्रो देशका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीसँग एउटा डिल गर्ने क्षमतासमेत छैन । सरकारसँग त्यति क्षमता भएको भए नेपालीको शव सडेर बस्दैन्थ्यो । जो आए नि भ्रष्ट्राचार गर्ने, सेवासुविधा लिने र विभिन्न कार्यक्रममा रिबन काट्न जाने । नेपालीप्रति यिनीहरु कहिले जिम्मेवार बन्न सिक्लान् ? एक व्यापारीले एउटा फर्काउदा एयरपोर्टमा कत्रो रमिता भयो । सबै मिडियाहरु एयरपोर्ट घेर्न पुगे । दुर्गा प्रसाईले सरकारलाई भलिभाती भने । उनले गाली गरेका शब्दहरु सरकारले पनि सुनिरहेको थियो होला । त्यतिखेर सरकारलाई अलिकति पनि लाज लागेन् ? आफूमाथि घृणा महशुस भएन् ? नेपाली सेना र नेपाल प्रहरीको मन खिन्न भएन् ? सरकारले एउटा लास ल्याउन सकेन् त्यसैले मैले ल्याए भनेर दुर्गा प्रसाईले सरकारलाई खुला चुनौती दिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि त शव फर्काउन पहल गर्न सक्थे होला । कि त सधैं सत्तापक्षको विरोध गर्ने मात्र काम हो ? विपक्षको काम सत्तापक्षको खुट्टा तान्ने मात्र हो ? सिन्को पनि भाँच्ने अनि खाली भोटको कुरा गर्यो ? गुण्डा पालेर भोट पाइन्छ ? केपीले सबै लाश फिर्ता ल्याउन्, आउने चुनावमा सबै जनताले उनलाई भोट दिन्छन् । यति आँट छ केपीसंग । प्रधानमन्त्री शेरबहादुर देउवाले त सकेनन् तर केपीसँग क्षमता छ । पटकपटक प्रधानमन्त्री र मन्त्री भए तर कोही पनि जिम्मेवार बनेनन् । जनता जान्न जान्छन् भनेर कराइरहने ऋषि धमला कता पुगे ? टिभीको अगाडि बुरुकबुरुक उफ्रिने रवि लामिछाने कता हराए ? हामी जनताको लागि काम गर्छौ भन्छन् तर आखिरी हुन् सबै राजनीति दलका झोले । साँच्नै नै जनताको निम्ति काम गर्ने हो भने विदेशमा भएको नेपालीको लाश फर्काएर देखाऊ । जथाभावी कराउदैमा वरिष्ठ पत्रकारको दर्जा दिन मिल्छ ? कुनै नेपाली विदेशमा मर्दा आफन्तले शव फर्काउन नसकेर धुरुधुरु रोइरहेका छन् । तर, त्यही जनताले तिरेको करबाट राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, संसद्, मेयर, उपमेयरलाई लाज लागेन् । नेपाली सेना र नेपाल प्रहरी के हेरेर बसिरहेको छ ? यो विषयमा नागरिक अगुवा र बुद्धिजीवी वर्गहरु पनि बोल्दैनन् । विदेशका जेलमा पर्ने नेपालीहरु पनि उत्तिकै छन् । अधिकांश विदेशी जेल नेपालीले भरिएका छन् । हरेक मुलुकमा नेपाली राजदूतावास छ तर कसैले पनि ती नेपालीलाई रिहा गर्न पहल गरेको पाइदैन् । म्यानपावर कम्पनीहरुले नेपालीलाई भेडाबाख्राझै धमाधम बेचिरहेको छ । नेपाली भएर अर्को नेपालीलाई फसाउन म्यानपावरका दलालीहरु लागिपरेका छन् । नेपालका राजनीतिक दलको चुलोचौको त्यही दलालीले दिएको भन्दाबाट चलिरहेको छ । पार्टी सञ्चालन गर्न पनि उनीहरुले नै चन्दा दिएका छन् । हरेक म्यानपावर व्यवसायी राजनीतिक पार्टीको सदस्य छन् । राजनीतिक दलको आडमा यहाँ ठगीधन्दा मौलाएको हो । पर्दाभित्र बसेर राजनीतिक दलहरुले नेपालीलाई सखापै पारे । हिजो ठूल्ठूला भाषण दिएर भोट लिए । तर, जनताको लागि केही पनि गरेनन् । भन्छन् नि नुन खाएपछि सधैं सोझो गर्नु । तर, राजनीतिक दलले त त्यही पनि गर्न सकेनन् । देशमै रोजगारीको अवसर भएको भए चर्को घाममा अर्काको देशमा पसिना चुहाउन जानु पर्दैनथ्यो होला । देशमा भएको कलकारखाना पनि चोरहरुले बन्द गरे । आफ्नो छोराछोरी विदेशमा पढाएर ठूला मान्छे बनाए तर नेपाली जनताका छोरीछोरी बाहिर गएर अकालमा ज्यान गुमाइरहेका छन् । नागरिकता लिनेबित्तिकै अब विदेश जाने भनेर सोच्न सुरु हुन्छ । उनीहरुले आफ्नो भविष्य नै विदेशमा देखे । कारण के, यहाँ बस्यो भने बिहानबेलुका छाक टार्न पनि सकिदैन् । देशमै कलकारखाना खोलिदिएर रोजगारीको अवसर सिर्जना गरिदिएको भए मान्छे बेच्ने कामको अन्त्य हुन्थ्यो । सरकार नै नेपाली जनता बेचेर पैसा लिन तम्सिकेको छ । सरकार नै दलाली बनिदिदा नेपाली जनताले साह्रो दुःख पाए । हिजो चप्पल लगाउन नसक्ने नेताहरुको आज तीन रोपनी जग्गामा घर छ । त्यत्रो सम्पत्ति कहाँबाट आयो ? यो प्रश्न गर्न सक्ने क्षमता कुनै सञ्चारकर्मीसंग छ ? नेपालका पत्रकारहरु नेताकै अघिपछि दौडिएका छन् । नेपालका कुनै पत्रकार स्वतन्त्र र निष्पक्ष छन् ? व्यापार व्यवसाय, पेशा केही नभएको व्यक्तिको त्यत्रो सम्पत्ति कहाँबाट आयो ? नेताहरु हामी सेवा गरेको हौ भन्छन् । तर सेवा गर्नेको अबौंको सम्पत्ति कसरी भयो ? यो खोजतलास गर्ने कसले ? हिजो नेताको विरोध गरेर ल्यामलाइटमा आउनेहरु आज आफै नेता बन्न खोज्दै छन् । सरकारले तुरुन्त नेपाली जनताको लाश फिर्ता ल्याउने र जेलमा भएका नेपाली फर्काउन पहल नगर्ने हो भने जनता सडकमा उत्रिनुपर्छ । दैनिक हजारौंको संख्यामा विदेशिरहेका छन् । अकालमा ज्यान गुमाउने पनि त्यत्तिकै छन् । एउटा व्यक्तिले लाश ल्याएर यो समस्या समाधान हुदैन् । यदि श्रम मन्त्रालयले यो गर्न नसक्ने हो भने छुट्टै मन्त्रालय र विभाग खडा गर्नुपर्छ । किन कि श्रम मन्त्रालय पनि कमिशनको दलदल फस्यो । विदेश पठाइसकेपछि जिम्मेवारी सकियो भन्ने श्रम मन्त्रालयको सोचाइ छ । नेपालको हकमा यो रोकिनेवाला छैन् । किन कि न यहाँ रोजगारीको अवसर सिर्जना हुन्छ न विदेश जान छोड्छन् । यसलाई अझै पनि हलुका रुपमा लिने हो भने सरकार आफै जनताबाट नङगिन्छ । अझै पनि चासो नदिने हो भने उनीहरुको लाश त्यही कुहिन्छ । जिउँदो त फर्किएनन् तर मरेपछि पनि लाश हेर्न नपाउनु नेपालीका लागि कति दुःखको कुरा हो । बिहे गर्न दिने, बच्चा पनि जन्माउन दिने, नागरिकता पनि दिने अनि रोजगारीचाहि नदिने । भोट लिनका लागि मात्र नेपाली जनता चाहिएको हो ? काम गर्दागर्दै मर्नुपर्ने, भाष नबुझेर जेलमा बस्नुपर्ने यसलाई सरकारले कहिले रोक्ने ? नेपालीहरु दिनहु यसरी विदेश गइरहँदा सरकारलाई अलिकति पनि हिनताबोध हुदैन् ? सरकार कर असुल्ने र नेता भोट लिने काम बन्द गरौं ।

गुराँस लाइफले पोखराको गुरुङ परिवारलाई गर्यो २१ लाख रुपैयाँको बीमा दावी भुक्तानी

काठमाडौं । गुराँस लाईफ इन्स्योरेन्सले २१ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको क्षेत्रीय कार्यालय पोखराले आफ्ना बिमित यम प्रसाद गुरुङको उपचारका क्रममा निधन भएपछि मृतकको परिवारलाई २१ लाख दुई हजार रुपैयाँको बीमा दावी भुक्तानी गरेको हो । कम्पनीको क्षेत्रीय कार्यालय पोखरामा २०७८ साल भदौ ३० गते २० लाख बिमाङ्कको मृतक गुरुङले जीवन बिमा गरेका थिए । मृतक गुरुङको श्रीमती मोतिमाया गुरुङलाई कम्पनीका क्षेत्रीय प्रमुख हरि शर्मा पौडेल र बरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिलसिनाले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । सो अवसरमा क्षेत्रिय प्रमुख हरि शर्मा पौडेलले एक बत्तीले लाख बत्ती बाले जस्तै हरेक घरमा अभिकर्ताले जीबन बीमाको दियो बाल्नुपर्ने बताए । यस्तै, बरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिल्सेनाले जीवन बीमाले व्यक्तिनै फिर्ता ल्याउन नसकेपनि उसको आम्दानीलाई बचाइ राख्न जीवन बीमामा लगानी गर्नुपर्ने बताए ।