विकासन्युज

राष्ट्रिय परीक्षा बोर्डले माग्यो ७३ जना कर्मचारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कर्मचारी माग गरेको छ । साउन ६ गते दरखास्त आह्वानको सूचना जारी गर्दै बोर्डले खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपुर्तिका गर्नका लागि अन्तर कार्यालयहरुमा रिक्त रहेका विभिन्न पदहरुमा खुला तथा आन्तरिक परीक्षाद्वारा पदपुर्तिका गर्नका लागि दरखास्त आह्वान गरेको हो । सूचनाअनुसार तोकिएको योग्यता पुगेका उम्मेदवारहरुले सो सूचना प्रथम पटक प्रकाशित भएको मितिले तीस दिन भित्र नियमित शुल्कमा र थप सात दिनभित्र दोब्बर शुल्कमा आवेदन दिन सकिने कुरा उक्त सूचनामा उल्लेख गरिएको छ । हेर्नुस् सूचना

निफ्राले सार्वजनिक गर्यो नयाँ ब्याजदर, आजैदेखि लागू हुने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन ६ गते शुक्रबारदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । जसअनुसार बैंकले दीर्घकालिन बचत खातामा न्यूनतम ६ दशमलव ५० प्रतिशतदेखि अधिकतम ७ दशमलव २५ प्रतिशतसम्म व्याज दिनेछ । जसमा ५ देखि १० वर्षसम्मको संस्थागत बचतमा ६.५० प्रतिशत र १० वर्षभन्दा बढीको संस्थागत बचत खातामा ६.६० प्रतिशत ब्याज दिने भएको छ । कम्पनीले व्यक्तिगत बचतमा भने ७.२५ प्रतिशत ब्याज दिने छ । त्यस्तै, बैंकले विभिन्न कर्जाको ब्याजदर समेत सार्वजनिक गरेको छ । जसमा न्यूनतम ११.५ प्रतिशतदेखि अधिकतम १४ प्रतिशतसम्म रहेको छ । निफ्राले ग्रीनफिल्ड प्रोजेक्टको लागि १२ देखि १४ प्रतिशतसम्म ब्याजदर तोकेको छ भने ब्राउनफिल्ड प्रोजेक्टको लागि ११.५ प्रतिशतदेखि १३.५ प्रतिशतसम्मको ब्याज दिने भएको छ । त्यसैगरी, ब्रिज ग्याप लोनमा भने प्रोजेक्ट लोनको थप ०.५० प्रतिशत बढी ब्याज दिइने निफ्राले जानकारी गराएको छ ।

ग्लोबल आईएमई बैंकले कमायो ५ अर्ब बढी नाफा, प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ बढी

काठमाडौं । काठमाडौं । ग्लोवल आईएमई बैंकले गत आर्थिक वर्षमा ५ अर्ब १८ करोड वितरण योग्य नाफा गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक गर्षको तुलनामा बैंकले ९२ करोड रुपैयाँ नाफा बढाएको हो । नाफा वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी १९ रुपैयाँ २५ पैसा भएकोमा यस पटक बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८८ पैसा भएको छ । पीई रेसियो ११.४९ प्रतिशत छ भने प्रतिसेयर नेटवर्थ पनि बढेर १५६.११ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको प्रतिसेयर नेटवर्थ १५१.११ रुपैयाँ थियो । बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ छ । कुल पूँजी कोष ३७ अर्ब ७८ करोड रुपैयाँ छ । असार मसान्तमा बैंकको वासलात ३ खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ भएको छ । असार मसान्तमा बैंकले सर्वसाधारणबाट २ खर्ब ७७ अर्ब निक्षेप परिचालन गरेको छ । याे रकम अघिल्लो वर्षको तुलनामा ९ अर्ब रुपैयाँ बढी हो । त्यस्तै, कर्जा २ खर्ब ५८ अर्ब रुपैयाँ परिचालन गरेको छ । यो रकम अघिल्लो वर्षको तुलनामा ३० अर्ब रुपैयाँले बढी हो । बैंकले विभिन्न कम्पनीको सेयरमा ४७ अर्ब रुपैयाँ लगानी गरेको छ । बैंकको खराव कर्जा घटेर १ दशलवम २२ प्रतिशतमा सीमित भएको छ । आर्थिक मन्दी, तरलता संकटकाे समयमा बैंककाे कर्जा असुली प्रभावित हुने अनुमान भैरहेकाे बेलामा ग्लोवल आईएमई बैंकले कर्जा असुली चुस्त बनाउकाे देखिएकाे छ । सीडी रेसियो ८९ दशमलव २१ प्रतिशत छ । राष्ट्र बैंकले सीडी रेसियो ९० प्रतिशत भन्दा कम सीमामा राख्नु पर्ने नियम बनाएको छ । बैंकको वेसरेट भने ह्वातै बढेको छ । गत वर्ष ६.६० प्रतिशत रहेको बेस रेट अहिले ९.४० प्रतिशत भएको छ । यसले कर्जाको व्याजदर वृद्धि गर्ने संकेत गर्दछ । बैंकको स्प्रेड दर ३.६५ प्रतिशतबाट बढेर ४.२६ प्रतिशत पुगेको छ । यसले बैंकको नाफा वृद्धिमा सहयोग पुर्याउँदछ ।

प्रधानमन्त्री देउवाको गभर्नरलाई प्रश्न : ४/१२ को नीति के गर्नु हुन्छ ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग ४/१२ करोडको नीतिको विषयमा जिज्ञासा राखेको बुझिएको छ । बिहीबार चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा ब्रिफिङ गर्न पुगेका गभर्नर अधिकारीसँग मार्जिन प्रकृतिको ४/१२ करोड रुपैयाँको को विषयमा जिज्ञासा राखेको बुझिएको हो । स्रोतका अनुसार प्रधानमन्त्री देउवाले धेरै समय नभएको भन्दै संक्षिप्त रुपमा मौद्रिक नीतिको ब्रिफिङ गर्न लगाएका थिए । गभर्नर अधिकारीले पनि मुख्य विषयहरु प्रधानमन्त्री देउवासमक्ष राखेका थिए । ‘गभर्नरज्यूले संक्षिप्त रुपमा यस्तो खालको मौद्रिक नीति आउँदैछ भनेर भन्नु भएको थियो, प्रधानमन्मन्त्रीज्यूले अहिलेको अर्थतन्त्रको माग अनुसारको नीति ल्याउन सुझाव दिनु भयो, अन्तिममा अहिले विरोध भइरहेको ४/१२ करोड रुपैयाँको मौद्रिक नीतिको विषयमा पनि प्रश्न गर्नु भएको थियो,’ स्रोतले भन्यो । जवाफमा गभर्नर अधिकारीले यसको अन्तिम रुप सञ्चालक समितिले दिने धारणा राखेका थिए । गभर्नरले सञ्चालकले अन्तिम रुपमा दिने भनेपछि प्रधानमन्त्रीले ४/१२ को नीति कायमै गर्दा र खारेज गर्दा पछाडिका. प्रभावको विषयमा पनि धारणा लिएका थिए । गभर्नरले त्यसको प्रभावको विषयमा बताएपछि प्रधानमन्त्रीले सकिन्छ भने पुनरावलोकन र सकिँदैन भने मिलाएर अगाडि बढ्न सुझाव दिएको स्रोतको भनाइ छ । उसो त ४/१२ को नीति खारेज वा पुनरावलोकन गर्न गभर्नर अधिकारी सकारात्मक छैनन् । तर, चौतर्फी रुपमा दबाब परेपछि र सञ्चालक समितिमा पनि बहुमत भएपछि उनी सो व्यवस्था खारेज गर्न वा पुनरावलोकेन गर्न बाध्य हुनेछन् । तर, उनले सञ्चालक समितिका सदस्यहरुलाई यस विषयमा कन्भिन्स गराउन सकेको खण्डमा भने ४/१२ को नीति परिवर्तन नहुने देखिन्छ । राष्ट्र बैंक आज (शुक्रबार) मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । अहिले राष्ट्र बैंकमा सञ्चालक समितिको बैठक बसिरहेको छ । बैठकले मौद्रिक नीति स्वीकृत गरे लगत्तै सार्वजनिक हुने बताइएको हो ।

आज मौद्रिक नीति आउने, के होला ४/१२ को नीति ?

काठमाडौं । आज (शुक्रबार) मौद्रिक नीति सार्वजनिक हुने भएको छ । अहिले राष्ट्र बैंकमा सञ्चालक समितिको बैठक बसिरहेको छ । बैठकले मौद्रिक नीति स्वीकृत गरे लगत्तै सार्वजनिक हुने बताइएको हो । चालु आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक हुने मौद्रिक नीतिलाई धेरैले महत्वका साथ हेरेका छन् । देशको अर्थतन्त्र दबाबमा परिरहेको बेला राष्ट्र मौद्रिक नीतिमार्फत् नीतिगत व्यवस्था गरेर अहिलेको अवस्थालाई सुधारको दिशामा लिनु पर्ने धेरैको धारणा छ । त्यसैले पनि मौद्रिक नीति कस्तो आउँछ भन्ने कौतुहलता सबैमा छ । उसो त यसअघि पनि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कसिलो मौद्रिक नीति आउन सक्ने धारणा सार्वजनिक रुपमै राख्दै आइरहेका छन् । तर, कसिलो कुन–कुन क्षेत्रमा गरिन्छ, के कस्ता नीतिगत परिवर्तन गरिने हो भन्ने विषय चासोका रुपमा हेरिएको छ । अहिले महत्वपूर्ण रुपमा लिइको मार्जिन प्रकृतिको ४/१२ करोड रुपैयाँको सेयर धितो कर्जा हो । यो नीतिलाई खारेज गर्नु पर्ने वा पुनरावलोकन गर्नु पर्ने दबाब राष्ट्रबैंकसामू चौतर्फि रुपमा छ । तर, राष्ट्र बैंक भने यस विषयमा माैन छ । यस्तै, धेरैले अहिले राष्ट्र बैंकले  पोलिसी रेट बढाउन सक्ने चर्चा पनि गरिरहेका छन् । राष्ट्र बैंकले अनिवार्य तरलता अनुपात (सिआरआर) र स्थायी तरलता सुविधा (एसएलएफ बढाउन सक्ने अनुमान गरेका छन् ।

कहिले खुल्छ हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार ?

काठमाडौं । पछिल्लो समय दोश्रो बजारमा अधिकांश कम्पनीको सेयर कारोबार रोक्का भइरहेको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले मर्जर तथा एक्विजिशनको प्रकृयामा गएका दुई दर्जन बढी कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो । जसमध्ये अधिकांश बीमा कम्पनीहरु रहेका छन् । १० वटा निर्जीवन र ८ वटा जीवन बीमा गरी कूल १८ वटा कम्पनीको सेयर कारोबार रोक्का भइरहेको छ । यी सबै कम्पनीले मर्जरमा जानको लागि प्रकृया शुरु गरेसँगै दोश्रो बजारमा कारोबार नभएको हो । जसमध्ये दुई हुन् हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनी । यी दुई कम्पनीको गत बैशाख २३ गतेदेखि सेयर कारोबार रोक्का छ । बैशाख २२ गते दुई इन्स्योरेन्सबीच एक आपसमा मर्जरमा जान प्रारम्भिक सहमति भएसँगै नेप्सेले भोलिपल्टदेखि सेयर कारोबार रोकिदिएको हो । हाल दुबै कम्पनीबीचको मर्जर प्रकृया सम्पन्न भइसकेको छ । र, साउन १ गतेदेखि नै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार शुरु भएको छ । सामान्यतः मर्जर तथा एक्विजिसनमा गएका कम्पनीबीच एकीकृत कारोबार शुरु भएपछि दोश्रो बजारमा रोक्का भएको सेयर कारोबार फुकुवा गराउने व्यवस्था छ । हिमालयन एभरेष्टको नामबाट एकीकृत कारोबार शुरु भएको करिब एक साता हुन लागेको छ । वित्तीय कारोबार शुरु भएपनि कम्पनीको सेयर कारोबार भने अझै खुला भएको छैन । यससँगै सेयरधनीले यी कम्पनीको सेयर खरिद बिक्री गर्न पाएका छैनन् । अर्थात यी कम्पनीका सेयरधनीको सम्पत्ति विगत २ महिनाअघिदेखि बन्धक भएको छ । यद्पि एकीकृत कारोबार भएपछि सेयर कारोबार छिट्टै खुल्ने आशमा लगानीकर्ताहरु रहेका छन् । तर कम्पनीको सेयर कारोबार खुल्न अझै कम्तिमा एक दुई साता लाग्ने हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रवक्ता धुव्र न्यौपानेले बताए । ‘कम्पनीको सेयर कारोबार खुलाउनको लागि हामीले प्रकृया शुरु गरिसकेका छौं, अझै दुई हप्ता लाग्ला’ उनले विकासन्युजसँग भने । उनका अनुसार दोश्रो बजारमा सेयर कारोबार खुलाउन इन्स्योरेन्सले दुईदिन अघि नै नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । अब बोर्डबाट स्वीकृत भएपछि नेप्से र सीडीएस एण्ड क्लियरिङमा पठाइने उपमहाप्रबन्धक समेत रहेका न्यौपानेले बताए । ‘कानुनी प्रकृया लामो हुने भएकाले समय लाग्ने भएको हो, अब धितोपत्र बोर्डले जति छिटो दियो त्यति छिटो कारोबार खुल्छ,’ उनले थपे । यता धितोपत्र बोर्डले पनि कम्पनीलाई स्वीकृति दिन केहि दिन लाग्ने बताएको छ । बोर्डका प्रवक्ता रुपेश केशीले इन्स्योरेन्सको पत्र पाइसकेको बताउँदै स्वीकृत दिन थप केहि दिन लाग्ने बताएका हुन् । ‘कम्पनीहरुको निर्णयहरु लगायत विभिन्न फाइलहरु दर्ता गर्नुपर्छ, त्यसको लागि थप एक दुई दिन अझै लाग्छ,’ उनले भने । यस्तो केशमा समान्यतयाः नेप्सेले पनि कम्पनीहरुको निवेदन पाएको भोलिपल्टदेखि सेयर कारोबार खुलाउने गरेको छ । नेप्सेका अनुसार कम्पनीहरुले दिएको निवेदन तथा विवरणहरु मापदण्ड अनुसारकै हुनुपर्ने हुन्छ । यदि मापदण्ड विपरितको विवरण भएमा सेयर कारोबार फुकुवा हुने समय थप केही दिनको लागि लम्बिने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको मर्जर बीमा क्षेत्रमै ऐतिहासिक अर्थात पहिलो मर्जर हो । दुई इन्स्योरेन्स मर्जर पश्चात बीमा क्षेत्रकै एउटा सबल र विश्वसनीय कम्पनीको रुपमा स्थापित हुने कम्पनीको दावी छ । कम्पनीका अनुसार यो मर्जरले कम्पनीको पुँजी वृद्धि हुने र जोखिम बहन क्षमता अभिवृद्धि हुनुको साथै लगानी समेत अभिवृद्धि हुनेछ ।

महानगरबासीलाई घर नम्बर प्लेट अनिवार्य, प्रत्येक घरलाई १००० कर

ललितपुर । ललितपुर महानगरपालिकाले नगरबासीको लागि घर नम्बर प्लेट अनिवार्य गरेको छ । नम्बर प्लेट लिनको लागि प्रत्येक घरधनीले महानगर पालिकालाई थप एक हजार रुपैयाँ कर बुझाउनु पर्नेछ । यो व्यवस्था आर्थिक वर्ष २०७९/८० साउनदेखि अनिवार्य लागू गरिएको महानगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७९/८० को सम्पत्ति कर बुझाउँदा घर नम्बर प्लेट अनिवार्य लिनु पर्ने र त्यसबापतको कर पनि भुक्तानी गर्नु पर्ने महानगरपलिकाले जनाएको छ । केही घरधनीले घर नम्बर प्लेट राखेको, केहीले नराखेको जनाउँदा महानगरले अब सबैले अनिवार्य राख्नु पर्ने जनाएको हो । सम्पत्ति कर तिर्न जाँदा घर नम्बर प्लेट राखेको प्रमाण र कर तिरेका प्रमाण अनिवार्य पेस गर्न पनि महानगरपलिकाले नगरवासीलाई निर्देशन दिएको छ ।

‘इन्टर्न’ माथिको चरम शोषण, कतिपय प्रतिष्ठानमा उल्टै शुल्क असुलेकाे जिकिर

काठमाडाैं । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले इन्टर्न (तालिमे) को नाममा श्रमिकमाथि शोषण भइरहेको भन्दै यसका विरुद्धमा अभियान चलाउने भएको छ । जिफन्टले आठौँ महाधिवेशनपछि सञ्चालन गर्ने एउटा मुख्य अभियान यसलाई नै बनाउने भएको हो । यसले श्रम बजारमा भइरहेको एउटा शोषणको अन्त्य हुने जिफन्टको निश्कर्ष छ । जिफन्टको यही साउन ७ गतेदेखि १० गतेसम्म हुने आठौँ राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले इन्टर्नका नाममा विनापैसा काममा लगाउने मात्र नभई कतिपय प्रतिष्ठानमा उल्टै शुल्क असुल्ने काम भएकाे जिकिर गरे । उनले इन्टर्नलाई पनि ज्याला दिनु पर्दछ भन्ने अभियान जिफन्टले सुरु गर्ने जानकारी दिँदै यसले प्रतिफलपूर्ण रोजगारीको विषयलाई अगाडि बढाउने बताए।  नेपालमा कति श्रमिक छन् भन्ने तथ्याङ्क नै नभएका कारण जिफन्टले श्रमिकलाई स्थानीय तहमा सूचीकरणका लागि दबाबकारी अभियान पनि सञ्चालन गर्ने भएको छ । यसका लागि हरेक पालिकामा जिफन्टले कम्तीमा तीन जना युनियनका नेता परिचालन गर्ने जनाएको छ । उनीहरुमार्फत सो पालिकामा रहेका श्रमिकलाई दर्ता गर्ने योजना बनाएको छ । “यसका लागि देशका ७५३ वटै पालिकामा जिफन्टका अगुवा नेताहरु परिचालित हुनेछन्”, अध्यक्ष श्रेष्ठले भने, “यसले देशव्यापीरूपमा एउटा अभियान सञ्चालन हुनेछ ।” ‘श्रमजीवी वर्गको सम्मान र समृद्धिका लागि सुदृढ र परिपूर्ण लोकतन्त्र’ भन्ने मूल नाराका साथ यही साउन ७ गते गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रको सूर्योदय हलमा सुरु हुने जिफन्टको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । बाँकी तीन दिनको बन्दसत्र राष्ट्रियसभागृहमा हुनेछ । चार दिनसम्म चल्ने महाधिवेशनमा जिफन्ट आबद्ध २१ वटा युनियन र जिफन्टका सातवटै प्रदेशका गरी ५१२ प्रतिनिधिले भाग लिनेछन् ।