विकासन्युज

एसईई उत्तीर्ण एक हजार विद्यार्थीलाई नि:शुल्क पढाउँदै इसेवा

काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले एसईई परिक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई बम्पर अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत एक हजार जना विद्यार्थीहरुले नेपालका विभिन्न कलेजमा शतप्रतिशत स्कोलरसिपमा अध्ययन गर्न पाउनेछन् । यसका लागि विद्यार्थीहरुले इसेवाको अकाउन्ट खोलेको हुनुपर्नेछ । त्यसपछि इसेवा एप मार्फत आफुले अध्ययन गर्न चाहेको कलेज छानेर आफुले पढ्न चाहेको विषय रोज्नु पर्नेछ । यसका लागि विद्यार्थीले १० रुपैयाँ तिरेर आवेदन दिन सकिनेछ भने यसमा उनीहरुले १० प्रतिशत क्यासब्याक पाउनेछन् । यस योजनामा सहभागी हुन विद्यार्थीले आफ्नो वास्तविक मार्कसिट र चारित्रिक प्रमाणपत्र समावेश गर्नुपर्नेछ । कुन कलेजमा पढ्ने भन्ने कुरा ब्लग डट इसेवा डटकम डट एनपीमा हेर्न सकिनेछ । साथै, विद्यार्थीले इसेवाको कल सेन्टरमा सम्पर्क गरेर पनि थप जानकारी लिन सक्नेछन् । इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ । इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

सयपत्री हाइड्रोको आईपीओमा २०.३५ गुणा बढी आवेदन पर्याे, मंगलबार अन्तिम दिन

काठमाडौं । सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन हो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले मंगलबार आवेदन बन्द गर्ने कम्पनीले बताएको छ । सोमबारसम्म कम्पनीको आईपीओमा मागभन्दा २०.३५ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा सोमबारसम्म ५ बजेसम्ममा ११ लाख ९५ हजार ८७५ जना आवेदकले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार लगानीकर्ताले १ करोड ३६ लाख ४८ हजार ८ सय कित्ता सेयर खरिदका लागि १ अर्ब ३६ करोड ४८ लाख ८० हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । कम्पनीले साउन १३ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ७ लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि, २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ६ लाख ७० हजार ५८६ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको छ । कम्पनीको आईपीओमा मंगलबार, साउन १७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

मंगलबार बाँडफाँट हुने मन्दाकिनी हाइड्रोको आईपीओमा ८ जनालाई ११ कित्ता

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आईपीओ मंगलबार बाँडफाँट गरिने भएको छ । कम्पनीको आईपीओ मंगलबार अपरान्ह ४ बजे बाँडफाँट गरिने बिक्री प्रबन्धक बिओके क्यापिटलले जानकारी दिएको छ । कम्पनीको सेयर बाँडफाँट बिओके क्यापिटलको कार्यलय नारायणचौर नक्सालमा गरिनेछ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म मागभन्दा १६.५३ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरङका अनुसार कम्पनीको आईपीओमा १६ लाख १० हजार ९२६ जना आवेदकको आवेदन परेको हो । एक करोड ८० लाख ८१ हजार १८० कित्ताका लागि १ अर्ब ८० करोड ८१ लाख १८ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । कम्पनीले साउन ९ गतेदेखि साउन १२ गतेसम्म ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर निष्काशन गरेको थियो । जसमध्ये २३ हजार ५२१ कित्ता कर्मचारीहरुका लागि, ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषका लागि र १० लाख ९३ हजार ७४८ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिमार्फत १० कित्ताका दरले बाँडफाँट गरिनेछ । कम्पनीको सेयर १ लाख ९ हजार ३७४ जना आवेदकले मात्रै प्राप्त गर्नेछन् । १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा ८ कित्ता बाँकी रहन्छन् । ८ जना आवेदकलाई भने बाँकी रहेको ८ कित्ताबाट एकएक कित्ता थप गरेर ११ कित्ता दरले बाँडफाँट गरिनेछ । बाँकी आवेदन दिएका लगानीकर्ताको हात रित्तो हुने देखिन्छ ।

सिताराम डेरीको बिक्री केन्द्र किर्तीपुरको नयाँबजारमा, चाँडै फ्रन्चाइज मोडलमा जाने

काठमाडौं । सीताराम गोकुल मिल्क्स काठमाडौंले सिताराम दुध तथा दुधद्धारा उत्पादित दुग्धजन्य पदार्थहरुको बिक्री केन्द्र किर्तीपुरको नयाँबजारमा संचालनमा ल्याएको छ । कम्पनीले सोमबारबाट किर्तीपुरको नयाँबजारमा बिक्री केन्द्र संचालनमा ल्याएको हो । बिक्री केन्द्रको उद्घाटन निर्देशक एवं कलाकार दिपाश्री निरौला, दिपकराज गिरी र हास्य कलाकार जीतु नेपालले संयुक्त रुपमा गरेका थिए । कम्पनीले नयाँ बिक्री केन्द्र खुलेको अवसरमा महिनाभरी ५ प्रतिशत छुटको व्यवस्था गरेको छ । दुध तथा दुग्धजन्य पदार्थ उत्पादन र बिक्री वितरणको २७ वर्ष पुगी २८ वर्ष प्रवेश गरेको अवसरमायो सिताराम डेरीको चौथो तथा आफनै दोश्रो बिक्री केन्द्र रहेको अध्यक्ष सुमित केडियाले बताए । ‘यस किर्तीपुरमा खोलिएको सिताराम दुध बिक्री केन्द्रबाट आम ग्राहकहरुले सितारमा दुध तथा यसबाट बनेमा विभिन्न उत्पादनहरु गुणस्तरीय र ताजा पाउनुहुनेछ । हामी हरेक मानिसहरुलाई गुणस्तरीय उत्पादनहरु विगत २७ वर्षदेखि उपलब्ध गराइरहेका छौं र आज अनि भोलि पनि हामी यहिलाई निरन्तरता दिँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं,’ उनले भने । उनले चाँडै नै अन्य स्थानमा बिक्री केन्द्र खोल्ने र फ्रन्चाइज मोडलमा पनि जाने बताए ।

आइसीटीसी समूहको इन्ट्री अब हाउजिङमा पनि, अर्बौंको लगानीमा काठमाडौंसहित तीन शहरमा भव्य भवन

काठमाडौं । आइसीटीसी समूहले विभिन्न शहरह ज्ञमा हाउजिङ निर्माण गर्ने भएको छ । सो समूहले काठमाडौं, चितवन र निजगढमा भव्य हाउजिङ निर्माणको तयारी थालेको हो । आइसीटीसी समूह अन्तर्गतको आइसीटीसी रियल इस्टेट प्रालिले सोमबार एक सूचना जारी गर्दै तीन शहरमा भव्य व्यवसायिक भवन. तथा अपार्टमेन्ट निर्माण गर्ने बताएको हो । यी भवन निर्माणका लागि कम्पनीले अर्बौं लगानी गर्नेछ । भवन निर्माणका लागि इच्छुक कम्पनीहरुले योग्यताअनुसारको आशयपत्र पेस गर्नुपर्ने कम्पनीको सस्चनामा उल्लेख छ । कम्पनीले पेश भएका आशयपत्रहरुमध्ये उत्कृष्ट कम्पनीलाई छनोट गरेर काम अगाडि बढाउने सूचनामा उल्लेख गरेको छ । कम्पनीले भदौ १५ भित्र आशयपत्र बुझाउने म्याद दिएको छ । बीमा, होटल, जलविद्युत लगायतमा लगानी छ । अब हाउजिङ क्षेत्रमा पनि लगानी गर्ने भएको हो । सन् न् १९७५ मा एउटा सानो स्टेशनरीबाट व्यापार सुरु गरेको आईसीटीसी समूह अहिले एउटा ठूलो व्यवसायिक घरानाको नामले परिचित छ ।

गोर्खाज फाइनान्स र इन्फिकेयर बीच सफ्टवेयर खरिद सम्झौता

काठमाडौं । गोर्खाज फाइनान्स र इन्फिकेयरबीच कर्जा सफ्टवेयर खरिद गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार गोर्खाज फाइनान्समा कर्जा स्वीकृति, कानूनी कागजात तयारी लगायतका कार्यमा उक्त सफ्टवेयर प्रयोग हुने र उक्त सफ्टवेयर प्रयोग पश्चात् कर्जा स्वीकृति प्रक्रिया छिटो एवं छरितो हुने साथै जोखिम न्युनिकरण हुने बताइएको छ । सम्झौता पत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरे र इन्फिकेयरका सञ्चालक सविन मानन्धरले हस्ताक्षर गरेका छन् । हाल २६ शाखा र १ एक्स्टेन्सन काउण्टर सहित सातै प्रदेशमा शाखा सञ्जाल रहेको वित्तीय संस्थाले आगामी दिनमा जोखिम न्युनिकरण गर्न एवं वित्तीय संस्थाको कार्यलाई सहज एवं सरलीकृत बनाउन डिजिटाइजेसनलाई मुख्य प्राथमिकतामा राख्ने जानकारी प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले दिएका छन् ।

हेटौँडा–काठमाडौं जोड्ने सडकखण्ड अवरुद्ध

मकवानपुर । अविरल वर्षाका कारण पहिरो खस्दा हेटौँडा–काठमाडौं जोड्ने छोटो मार्ग भैँसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । आज दिउँसो भीमफेदी गाउँपालिका–२ मा माथिबाट लेदो माटोसहितको पहिरो खसेपछि सो सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । पहिरोका कारण सडक अवरुद्ध हुँदा काठमाडौंबाट कुलेखानी–भीमफेदी हुँदै हेटौँडातर्फ आउने र हेटौँडाबाट भीमफेदी हुँदै काठमाडौँतर्फ जाने सवारीसाधन रोकिएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिए । उनका अनुसार हेटौँडातर्फ आउने सवारीसाधन भीमफेदीमा र विपरीत दिशाबाट जाने सवारीसाधन भैँसेमा रोकिएका छन् । उक्त सडकखण्डमा खसेको पहिरो पन्छाउन शुरु गरिएको छ । जिल्लाको त्रिभुवन राजपथ, कान्तिलोकपथमा सबै सावारीसाधन सञ्चालन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रासस

वर्ल्ड बडिबिल्डिङ फेडेरेसनको विज्ञान तथा अनुसन्धान समिति अध्यक्षमा राजेशबाबु श्रेष्ठ

काठमाडौं । मनकामना केबुलकारको सञ्चालक कम्पनी मनकामना दर्शन प्रालिका निर्देशक राजेशबाबु श्रेष्ठ वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्टस् फेडेरेसनको विज्ञान तथा अनुसन्धान समितिको अध्यक्ष नियुक्त भएका छन् । श्रेष्ठ सोमबार विज्ञान तथा अनुसन्धान समितिको अध्यक्ष नियुक्त भएका हुन् । उनी नेपाल बडिबिल्डिङ एन्ड फिटनेस एसोसिएसनका अध्यक्ष समेत हुन् ।